बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

सुन तोलाको ९ सयले घट्यो

मङ्गलबार, १० भदौ २०७६, १३ : ११
मङ्गलबार, १० भदौ २०७६

काठमाडौं– पछिल्लो डेढ महिनादेखि निकै उतार चढावका बीच कारोवार हुँदै आएको सुनको मूल्य स्थानीय बजारमा सामान्य गिरावट आएको छ ।  नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुनको मूल्यमा रु ९०० ले गिरावट आई प्रतितोला रु ७२ हजार ६०० कायम भएको छ । सोमबार छापावाल सुन प्रतितोला ७३ हजार ५०० रुपैयाँमा कारोवार भएको थियो । सो मूल्य नेपालको इतिहासमा अहिलेसम्मकै उच्च हो । 

यस्तै तेजाबी सुनको मूल्य पनि प्रतितोला रु ९०० का दरले घटेको छ । तेजाबी सुनको मूल्य प्रतितोला रु ७२ हजार ३०० कायम भएको छ । सोमबार तेजाबी सुनको मूल्य प्रतितोला रु ७३ हजार २०० पुगेको थियो । सुनको मूल्य केही घटेपनि चाँदीको मूल्य भने यथावत रहेको छ । स्थानीय बजारमा चाँदी प्रतितोला रु ८६० मा कारोवार भइरहेको महासङ्घले जनाएको छ । 

गत साउनको शुरुआतदेखि नै सुनको मूल्य तीव्र गतिमा उकालो लाग्न थालेको हो । साउन महिनामा सुनको मूल्य प्रतितोला रु सात हजार र चाँदीको मूल्य प्रतितोला रु ९५ ले वृद्धि भएको थियो । भदौ महिना लागेपछि पनि लगातार सुनको मूल्यमा उच्च वृद्धि भइरहेको छ । भदौमा छापावला र तेजाबी सुन प्रतितोला रु दुई  हजार ५०० ले वृद्धि भएको छ । तीव्र वृद्धिका बीचमा सुनको मूल्य आज प्रतितोला रु ९०० ले घटेको हो । 

साउन १ गते छापावाला सुन प्रतितोला रु ६४ हजार ५००, तेजाबी सुन रु ६४ हजार २०० र चाँदी प्रतितोला रु ७४५ कारोवार भएको थियो । पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा पनि सुनको मूल्य बढ्ने क्रम रोकिएको छैन् । विश्व बजारमा आज सुनको मूल्य सोमबारको तुलनामा केही घटेको छ । मङ्गलबार सुनको मूल्य प्रतिऔँस एक हजार ५३०.३५ अमेरिकी डलर कायम भएको छ । सोमबार सुनको मूल्य प्रतिऔँस एक हजार ५३२.७५ अमेरिकी डलर पुगेको थियो । 

अन्तर्राष्ट्रिय बजारमा बढ्दो क्रममा रहेको सुनको मूल्यले स्थानीय बजारलाई दबाबमा राखेको हो । अमेरिकी डलरको सटही दर बढेसँगै सुनको मूल्य पनि प्रभावित भएको हो । चीन–अमेरिका व्यापार टकराव, इरान–अमेरिका विवादले पनि सुनको भाउ बढाउन सहयोग गरेको बताइन्छ । 

सुनको मूल्यमा उतारचढाव देखिएपछि सुनको खपत भने ह्वात्तै घटेको छ । दैनिक २०/२५ किलो सुन खपत हुने नेपाली बजारमा पछिल्लो समय बिक्री ह्वात्तै खुम्चिएको महासङ्घले जनाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप