शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

साहो समीक्षाः ‘बाहुबली’ प्रभासको नयाँ फिल्ममा एक्सन छ, कहानी छैन

शनिबार, १४ भदौ २०७६, १० : १६
शनिबार, १४ भदौ २०७६

अर्णब बनर्जी फिल्म समीक्षक

एउटा भनाई छ, ‘खनियो पहाड निस्कियो मुसा’ । साहो हेर्न गएका मानिसहरुले  फिल्म हेरेपछि यही भनाई  सम्झिरहेका होलान् ।

बाहुबली फिल्मपछि अभिनेता प्रभासको धमाकेदार इन्ट्रीको आशा लिँदै जब हामी ‘साहो’ हेर्न पुग्यौं तब केवल निराशा मात्र हात लाग्यो ।

यो फिल्म चार भाषामा एकैसाथ रिलिज भएको छ । सबैलाई थाहा भएकै कुरा हो प्रभासका यति धेरै प्रशंसक छन् । उनीहरुले हरेक शहरमा पहिले नै फिल्मको बुकिङ गरेर राखेका थिए ।

धेरैले यो फिल्म ‘बाहुबली’ जस्तै बक्स अफिसमा खरो उत्रने अनुमान गरेका थिए ।

Photo: PRABHAS INSTAGRAM

यस्ता फिल्ममा हुनेपर्ने मसाला यो फिल्ममा कम भएको भने होइन । फिल्ममा साथी कलाकारको रुपमा ज्याकी श्रोफ, टिनू आनन्द, चंकी पाण्डे, मन्दिरा बेदी, अरुण विजय, प्रकाश बेलावाडीजस्ता थुप्रै माझिएका कलाकार छन् । तर उनीहरुसँग फिल्ममा केही विशेष गर्नका लागि खासै केही पनि छैन ।

एक तरिकाले हेर्ने हो भने उनीहरु सबै केही पात्रलाई पूर्ण गर्नका लागि राखिएका थिए ।

फिल्म एक काल्पनिक शहर वाजीपुरबाट सुरु हुन्छ । जहाँ ज्याकी श्रोफले रोय नामको साम्राज्य चलाउँछन् । उनी कालो धन्धा गर्छन् र त्यसका शाखा देश–विदेशमा फैलिएका हुन्छन् । तर केही इज्जत कमाउनका लागि उनी स्टिलको एक फ्याक्ट्री बनाउन चाहन्छन् जसको लागि उनलाई केही राजनीतिज्ञको मद्दत चाहिन्छ ।

उनका दलका केही सदस्य यस्ता छन् जो उनीहरुसँग बदला लिन चाहन्छन् । यो षड्यन्त्रमा ज्याकी श्रोफको हत्या हुन्छ । त्यसपछि कहानी विभिन्न देशमा घुम्छ । जसमा चीन, अफ्रिका र केही भारतीय पनि समावेश छन् ।

Photo: PRABHAS INSTAGRAM

अर्कोतर्फ बम्बईमा केही पुलिस अधिकारी छन् जसलाई रोय साम्राज्यको फैलिएको धन्धाबाट समस्या हुन्छ । यसमा संलग्न छन् मुरली, श्रद्धा र प्रभास ।

जब प्रभासले रोय साम्राज्य समाप्त गर्ने सोच बनाउँछन् तब सुरु हुन्छ पुलिस र अन्डरवर्ल्डबीचको लडाईं । रोय साम्राज्य एक ब्ल्याकबक्सको खोजीमा हुन्छ जुन यदि भेटिए उनीहरुको हातमा अत्यधिक धन हात लाग्नेछ । तर यो ब्ल्याकबक्सबारे पुलिसलाई पहिले नै थाहा हुन्छ ।

त्यसपछि फिल्मको कहानी रोकिन्छ र मुसा–बिरालोको खेलजस्तै पुलिस र अन्डरवर्ल्डबीच तनाव सुरु हुन्छ । यसबाहेक फिल्मको प्लट शुन्य छ ।


यद्यपि, फिल्मको गती त तिब्र हुन्छ तर त्यतिबेला हामीले थुप्रै गाडी उडिरहेको मात्र देख्छौं । अत्यधिक एक्सनका कारण केही पात्र आएको र गएको मात्र देख्छौं । यसैबीच फिल्ममा दुई– तीनवटा गीत र नाच जबर्जस्ती घुसाइएका छन् ।

 प्रभाससँग श्रद्धाको रोमान्सलाई फिल्ममा जोड्नु आवश्यक थियो । यति नै बेला हामीले निल नितिन मुकेशलाई पनि देख्छौं । उनी पुलिस पक्षका हुन् वा अन्डरवर्ल्डका हुन् भन्ने शंका कायम रहन्छ ।

प्रभास फिल्मभरी छाइरहन्छन् तर हामीलाई अन्त्यसम्म पनि थाहा भएन कि उनी साँच्चै नै पुलिस हुन् कि होइनन् । यस्ता थुप्रै दृश्य छन् जसमा डायलगको कमी महसुस हुन्छ ।

सायद उनको हिन्दी खासै राम्रो छैन त्यसकारण उनले अत्यधिक एक्सन गरिरहेका छन् ।

Photo: PRABHAS INSTAGRAM

फिल्ममा सिजिआई (कम्प्युटर जेनेरेटेड इमेजरी) मार्फत् केही रोमाञ्चकले भरिपूर्ण दृश्य पक्कै छन् जो वास्तविकता भन्दा निकै टाढा छन् र दर्शकलाई खुसी बनाउनका लागि मात्रै राखिएका छन् ।

प्राविधिक रुपमा हेर्ने हो भने यी दृश्य कुनै पनि हलिउड फिल्मलाई टक्कर दिने खालका छन् । कमी छ त मात्र कहानीको । किनभने एक्सनको बलमा मात्रै तीन घण्टाको फिल्मलाई झेल्न मुश्किल हुन्छ ।

प्रभासले एक लोकप्रिय बलिउड निर्देशकका फिल्मबाट सुरु गर्नुपर्दथ्यो । तर सायद बाहुबलीको प्रभाव उनीमाथि यति धेरै छ कि उनी आफूलाई त्यसैमा ढाल्न चाहन्छन् ।

यसबाहेक उत्तर भारतमा आफ्नो रंग जमाउने उद्देश्यसहित उनले यस्तो फिल्मको चयन गरेका छन् जसमा उनको सिक्स प्याक एब्स, एक लाइनको कहानी, तीन गीत र अत्यधिक एक्सनका फिल्ममात्रै समावेश हुन्छन् । फिल्म हेरेपछि एउटा मात्रै कुरा मनबाट निस्कन्छ, फिल्ममा एउटा कथा मात्रै पनि भैदिएको भए...

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप