बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

डेंगु नियन्त्रणका लागि भरतपुर महानगरपालिकाले थाल्यो अभियान

शनिबार, १४ भदौ २०७६, १२ : ४१
शनिबार, १४ भदौ २०७६

चितवन । भरतपुर महानगरपालिकाले डेँगु रोग नियन्त्रण तथा रोकथाम अभियानको थालनी गरेको छ । अभियान अन्तर्गत महानगरपालिकाले शनिबार बृहत जनचेतनामूलक प्रभातफेरी कार्यक्रम गरेको हो ।

सचेतनासहित महानगरको कार्यालयबाट निस्किएको प्रभातफेरी, सहिदचोक, कमलनगर, न्युरोडहँुदै पुलचोक र त्यहाँबाट पोखराबसपार्कमा पुगी कार्यक्रममा परिणत भएको थियो । 

औपचारिक कार्यक्रममा महानगर प्रमुख रेनु दाहालले अध्यक्षताको भूमिका निर्वाह गरेकी थिइन् । कार्यक्रममा बोल्दै फिजिसियन डा भोजराज अधिकारीले डेँगु नियन्त्रणको लागि सबैभन्दा सजिलो उपाय नै हरेक नागरिक सचेत रहनु पर्ने र आफ्ना घर, टोल, छिमेकमा पानी जम्न दिन नहुने र यसको केही लक्ष्ण देखा परे तुरुन्त स्वास्थ्य संस्थामा गइहाल्नु पर्ने बताए । 

यो रोग नियन्त्रणका लागि बेलैमा चनाखो नभए यसले महामारीको रुप लिन सक्ने भन्दै उनले यसमा सबै सचेत हुनु पर्ने बताए ।  

चितवनका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले डेँगु नियन्त्रण र रोकथाममा सबै नागरिकको बराबरी दायित्व रहेको बताउँदै यसको रोकथामका लागि खोज र नष्ट अभियान थाल्ने समेत बताए । उनले आफ्नो घर, आँगन, होटल, बसपार्क, गाडी ग्यारेज सबैतिर बिशेष निगरानी गरी यस्तो लामखुटे रहने स्थानहरुमा सरसफाई गरी यसलाई हुर्कन नदिन आग्रह गरे । 

भरतपुर महानगर प्रमुख रेनु दाहालले सबै नगरवासीको साथ र सहकार्य भए यसलाई महामारीको रुप हुन नदिने बताउँदै यसको न्यूनिकरणमा महानगर निकै चनाखो रहेको बताइन् । 

उनले  हरेक घरघर टोलटोललाई सक्रिय बनाएर यो अभियानमा सबैलाई सहभागी बनाएर यसलाई रोकथाम गरिछाड्ने प्रतिवद्धता जनाइन् । 

कार्यक्रममा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाल आर्मी, जनप्रतिनिधि, सर्वसाधारण नगरवासीको सहभागिता रहेको थियो । 

चितवनमा डेंगु र स्क्रबटाईफसका कारण तीन जनाको मृत्यु भइसकेको छ । जिल्ला स्वास्थ्य कार्यालय चितवनले दिएको जानकारी अनुसार मृत्यु हुनेमा दुई जना चितवन र एक जना रौतहटका छन् । कार्यालयका अनुसार साउन यता डेंगुको संक्रमणका कारण एक वृद्धको मृत्यु भएको छ भने स्क्रबटाईफसका कारण एक युवाको मृत्यु भएको छ । डेंगु र स्क्रब टाइफस दुवैको संक्रमणबाट एक किशोरीको मृत्यु भएको छ । 

चालु आर्थिक वर्षमा १ हजार ३ सय ५६ जनाको परीक्षणमा ४ सय ५० जनामा डेंगुको संक्रमण देखिएको बताइएको छ । जिल्लामा हरेक ३ ÷३ वर्षमा डेंगुको महामारी हुँदै आएको कार्यालयको तथ्यांकले देखाएको छ ।

अहिले लामखुट्टे कम भए पनि डेंगुको संक्रमण गराउने लामखुट्टेको संख्या बढिरहेको र यसको संक्रमणको अत्याधिक जोखिम रहेको चिकित्सकहरुले बताएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप