शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

नेता कार्यकर्तालाई सक्रिय बनाउने गरी शक्ति प्रदर्शनको तयारीमा नेकपा

आइतबार, १५ भदौ २०७६, १६ : ३८
आइतबार, १५ भदौ २०७६

काठमाडौँ– सङ्घीय र प्रदेशसभाको चुनाव अगाडि २०७४ असोजमा तत्कालीन एमाले र माओवादी केन्द्रबीच चुनावी गठबन्धन बनेपछि दुवै पार्टीका नेता–कार्यकर्तामा ऊर्जा देखिएको थियो । यो ऊर्जाको असर चुनावी नतिजामा देखियो । तत्कालीन बामगठबन्धनलाई झन्डै दुई तिहाइ बहुमत मिल्यो ।

चुनावी जितको उत्साह क्रमशः त्यतिबेला कम हुँदै गयो, जब पार्टी एकतामा ढिलाइ भयो । ‘अब एकता हुँदैन’ कि भन्नेसम्मको अवस्था आएपछि फेरि तत्कालीन दुवै पार्टीका नेता–कार्यकर्तामा ऊर्जा थपियो २०७५ जेठ ३ । त्यस दिन पार्टी एकता भयो र एकीकृत पार्टीका नेता–कार्यकर्तामा विश्वास जाग्यो– अब सरकार र पार्टीले आर्थिक समृद्धि र विकासको सपना पूरा गर्छ ।

तर नेकपा नेतृत्वको सङ्घीय, प्रदेश र स्थानीय सरकारले अपेक्षाकृत काम गर्न सकेन । पार्टी एकताका काम लगातार ढिलाइ हुँदै गयो । पार्टी र सरकारबीच समन्वयको अभाव देखियो । शीर्ष नेताबीच सत्ता र वैचारिक मतभेद सतहमा आयो । यी घटनाक्रमले नेकपाका नेता–कार्यकर्तामा फेरि एक पटक निराशा दियो ।

तर २ जेठदेखि ९ भदौसम्म आउँदा नेकपाले नाटकीय रूपमा सङ्गठनात्मक एकताका काम टुङ्ग्यायो । १५ महिनादेखि रोकिएका काम धेरैजसो सहमतिमै भए । यद्यपि केहीमा फरक मत पनि देखियो । यहीबीचमा दुई अध्यक्षबीच कार्यविभाजनमा सहमति जुट्यो । पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा पार्टीको वैठक बस्न थाल्यो । प्रचण्डकै अध्यक्षतामा बसेका बैठकले धमाधम निर्णय लिन थाल्यो ।

यिनै घटनाक्रमका बीचमा नेकपाले भदौ १३ गते प्रचण्डको हस्ताक्षर रहेको अन्तरपार्टी निर्देशिका–२ जारी गर्यो । अन्तरपार्टी निर्देशिका–२ र प्रचण्डले रातोपाटीसँगको छोटो कुराकानीलाई एकै ठाउँ राखेर हेर्दा नेकपाले दुई वर्ष अगाडिको अर्थात बामगठबनधन हुँदाको ऊर्जा अहिले आफ्ना नेता–कार्यकर्तामा भर्ने प्रयास गरेको छ । त्यसैले यसलाई बुझ्न अन्तरपार्टी निर्देशिका–२ र प्रचण्डले हामीसँग व्यक्त गरेको विचार सिलसिलाबद्ध तरिकारले हेर्नुपर्छ ।


‘नेपाली कम्युनिस्ट आन्दोलनलाई मात्र होइन, राष्ट्रिय राजनीतिलाई नै नयाँ ढङ्गले दिशाबोध गर्ने र अन्तर्राष्ट्रिय कम्युनिस्ट तथा श्रमिक आन्दोलनलाई समेत ऊर्जा र उत्साह भर्ने हैसियतका साथ पार्टी एकता सम्पन्न भएको करिब १५ महिना व्यतित भएको छ । हामीले एकता–एकीकरणका बाँकी कामहरू तीन महिनाभित्र सम्पन्न गर्ने निर्णय गरेका थियौँ ।’

नेकपाको अन्तरपार्टी निर्देशिका–२ सुरुमै छ, ‘राष्ट्रिय राजनीतिले सिर्जना गरेका नयाँ–नयाँ जिम्मेवारी र मूलतः सहमतिका साथ एकता–एकीकरणका बाँकी काम सम्पन्न गर्ने हाम्रो उत्कट चाहनासमेतका कारणले गर्दा पूर्वघोषित तीन महिनाभित्र एकता–एकीकरणको काम सम्पन्न गर्न सम्भव भएन । अपेक्षा गरेभन्दा बढी नै समय लिएर तर मूलतः सहमति र समझदारीका साथ एकता–एकीकरणको काम अघि बढेको छ र अन्तिम चरणमा आइपुगेको छ ।’

त्यसपछि नेता–कार्यकर्तामा ऊर्जा भर्ने गरी नेकपाको अन्तरपार्टी निर्देशिका–२ भनिएको छ, ‘हामीले छिट्टै एकता–एकीकरणका बाँकी कामहरू सम्पन्न गर्नेछौँ । यथासक्य चाँडो पार्टी स्थायी कमिटी र केन्द्रीय कमिटीको बैठक आयोजना गर्नेछौँ । अब पार्टीले समस्त नेता, कार्यकर्ता एवं सदस्यहरूलाई जनतासँग जोड्ने र आम जनसमुदायलाई सरकारद्वारा सञ्चालित विकास, समृद्धि र सामाजिक न्यायसहितको महाअभियानसँग जोड्ने गरी विशेष राष्ट्रिय अभियान सञ्चालन गर्छौ ।’

*****

नेकपाले नेता–कार्यकर्तामा ऊर्जा भर्ने सूत्रसहित पार्टी सङ्गठनलाई पनि चुस्त रूपमा अगाडि बढाउने योजना पनि बनाएको छ । जस्तो अन्तरपार्टी निर्देशिकामा भनिएको छ, ‘निर्णयहरूको महत्त्वलाई गम्भीरतापूर्वक आत्मसात गर्न र आआफ्नो कार्यक्षेत्रमा प्रभावकारी रूपमा कार्यान्वयन गर्न निर्देशित गरिन्छ ।’

*****

त्यसो भए नेकपाले कस्तो राष्ट्रिय अभियान चलाउने हो त ? रातोपाटीसँगको छोटो कुराकानीमा अध्यक्ष प्रचण्डले भनेका छन्, ‘अब ढिला नगरी एकीकरणका बाँकी काम टङ्ग्याउँछाँै । हामी सातै प्रदेशमा विशेष अभियान सञ्चालन गर्छौँ । यो हामीले पार्टी सचिवालयमा निर्णय नै गरिसकेका छाँै । अब ढिला गर्दैनौँ । प्रधानमन्त्री ओलीजी फर्केलगत्तै हामी सुरु गर्छौँ ।’

यसबाहेक नेता–कार्यकर्तामा ऊर्जा थप्ने विषयमा प्रचण्डले थपेका छन्, ‘पार्टी एकता ढिला हुँदा हाम्रा आठ दस लाख कार्यकर्तामा निराशा जस्तो देखियो । लामो समय हाम्रो यो फोर्स निष्कृय हुँदा पार्टीले गति नलिए जस्तो देखियो । हाम्रा ती लाखाँै कार्यकर्ता जम्मा गरेर ऊर्जा भर्ने गरी नै अभियान चलाउछाँै । उहाँहरुलाई सक्रिय बनाउँछाँै ।’

नेकपाले नेता–कार्यकर्तामा ऊर्जा भर्ने सूत्रसहित पार्टी सङ्गठनलाई पनि चुस्त रूपमा अगाडि बढाउने योजना पनि बनाएको छ । जस्तो अन्तरपार्टी निर्देशिकामा भनिएको छ, ‘निर्णयहरूको महत्त्वलाई गम्भीरतापूर्वक आत्मसात गर्न र आआफ्नो कार्यक्षेत्रमा प्रभावकारी रूपमा कार्यान्वयन गर्न निर्देशित गरिन्छ ।’

साउन ३१ देखि भदौ ९ गतेसम्मको बैठकमा नेकपाले पार्टी सङ्गठनसम्बन्धी धेरै निर्णय लिएको छ । यही बीचमा ७७ जिल्ला कमिटीका इन्चार्ज तथा सहइन्चार्ज, जनवर्गीय सङ्गठनको एकीकरण र तिनका इन्चार्ज–सहइन्चार्ज, विभागका प्रमुख–उपप्रमुख, उपत्यका विशेष कमिटीका पदाधिकारी, सम्पर्क समन्वय कमिटीका इन्चार्ज–सहइन्चार्ज, वरिष्ठ नेताको मर्यादाक्रम र केन्द्रीय कमिटीमा उपाध्यक्षको व्यवस्था, केन्द्रीय सदस्य मनोनय लगाएका काम टुङ्गिएका छन् । नेतृत्व टुङ्गिएपछि कमिटी, विभाग र मोर्चा सक्रिय भइसकेका छन् ।

नेकपाले पार्टी नेता–कार्यकर्तामा ऊर्जा भर्ने योजनासँगै अनुशासनको पाटोमा पनि उत्तिकै ध्यान दिएको छ । त्यसैले अन्तर पार्टी निर्देशिका–२ म अनुशासनको पालनाको विषय छ ।

जहाँ भनिएको छ, ‘बैठकले पार्टीका सबै तहका नेता, कार्यकर्ता तथा सदस्यहरूलाई पार्टीको नीति एवं नेतृत्वका सम्बन्धमा असहमति, आलोचना वा विरोध भएमा पार्टी विधानको व्यवस्था बमोजिम प्रस्तुत हुन, अन्तरपार्टी जनवादको भरपुर उपभोग गर्न र पार्टीको नीति एवं नेतृत्वका सम्बन्धमा सार्वजनिक रूपमा विरोध वा आलोचना नगर्न निर्देशित गरेको छ । पार्टीको नीति एवं नेतृत्वका विरुद्धमा लेख्ने, बोल्ने वा गतिविधि गर्नेहरूप्रति पार्टी विधानबमोजिम स्पष्टीकरण सोध्ने र कारबाहीको प्रक्रिया अघि बढाउने पनि निर्णय गरेको छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

बबिता शर्मा
बबिता शर्मा
लेखकबाट थप