बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

पशुपतिमा व्यवस्थित तीज, २ बजेसम्म चार लाख भक्तजन

सोमबार, १६ भदौ २०७६, १५ : ३५
सोमबार, १६ भदौ २०७६

काठमाडौं– पशुपतिनाथ मन्दिरमा यस वर्ष दर्शनार्थीले सहज रुपमा दर्शन गर्न सक्ने गरी व्यवस्थित गरिएको पाइएको छ । आज बिहान ३ बजेदेखि नै पशुपतिनाथका चारै ढोका खुला गरिएको थियो । 

बिहान १५ मिनेटमै मूल मन्दिरभित्र प्रवेश गरेर दर्शन गर्न सकिन्थ्यो भने १० बजेपछि आधा घण्टासम्ममा दर्शन गर्न सकिएको पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव डा.प्रदीप ढकालले बताए । मूल मन्दिर प्रवेश गर्न पशुपति क्षेत्र जाने स्थानमा चार ठाउँबाट लाम लाग्ने व्यवस्था गरिएको छ । उत्तरतिर गुह्येश्वरी र दक्षिण एयरपोर्ट तिलगङ्गा क्षेत्रमा मूल मन्दिर प्रवेश गर्ने लाम लामो देखिन्छ । 

पश्चिम जयवागेश्वरीबाट छिर्ने लाम भने सहज रहेकाले भक्तजनलाई त्यताबाट पस्न उनले आग्रह गरे । यस वर्षदेखि पूर्वतर्फको मूल ढोका पनि तीजका भक्तजनलाई प्रवेश गर्न वैकल्पिक रुपमा खुला गरिएकाले चाँडो दर्शन गरेर फर्कन सकिएको भक्तपुरको साँगाबाट आएकी रश्मिला ढुङ्गानाले बताइन् । विगत वर्षभन्दा यस वर्ष लामबाट मन्दिर प्रवेश गरी दर्शन गर्न सहज भएको उनको प्रतिक्रिया थियो । 

दिउँसो २ बजेसम्म करिब चार लाख भक्तजनले पशुपतिनाथको मूल मन्दिरभित्र प्रवेश गरी दर्शन गरेको सदस्यसचिव ढकालले जानकारी दिए । तीजको दिन आज सोमबार पनि परेकाले भक्तजनको बढी भीड लागेको हो । भक्तजनको स्वास्थ्यलाई ध्यान दिएर मूल मन्दिर परिसरमै तीन स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । निःशुल्क पानी वितरण गर्ने संस्था पनि पशुपति क्षेत्रमा खटिएका छन् । यस वर्ष उल्लेख्य रुपमा महिला प्रहरी पशुपति क्षेत्रमा खटाइएको छ । तीस प्रतिशत महिला प्रहरी खटाइएको महानगरीय प्रहरी वृत्त गौशालाका प्रमुख प्रदीप सिंहले बताए । भक्तजनको सुरक्षाका लागि चार हजारभन्दा बढी सुरक्षाकर्मी पशुपति क्षेत्रमा परिचालन गरिएको छ । 

 मन्दिर दर्शन गरेका भक्तजन हंसमण्डप, वनकाली, गौशाला, मित्रपार्कलगायत स्थानमा भक्ति सङ्गीतसहित गीत एवम् नाचगान गरेर बसेका छन् । अपराह्न ४ बजेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले पशुपतिनाथ मन्दिर गई पूजा एवम् दर्शन गर्नुहुने कार्यक्रम रहेको कोषले जनाएको छ । 

यसैगरी पेप्सीकोलास्थित नागेश्वर मन्दिरमा पनि बिहानैदेखि महिला भक्तजनको भीड लागेको छ । मन्दिर व्यवस्थापन समितिका अध्यक्ष प्रकाशजङ्ग रायमाझीका अनुसार नागको मणिलगायत बहुमूल्य वस्तु मूर्तिको गर्भगृहमा रहेकाले यहाँ भक्तजनको लाम लाग्ने गरेको छ । उपत्यकाका वसन्तपुरस्थित महादेव मन्दिर, गोकर्णेश्वर, डोलेश्वर, सन्तानेश्वरलगायत देशभरका शिवालयमा महिला भक्तजनको उल्लेख्य भीड छ । दिनभर व्रत बसेका महिलाले बेलुकी पूजा लगाउने वा मङ्गलबार बिहान गौदान र पूर्णपात्र गरी हरितालिका तीज व्रत उद्यापन गर्छन् ।

तीजको व्रत गरेमा पारिवारिक सुख, शान्ति एवम् मनोकामना पूरा हुने धार्मिक विश्वास छ । सत्ययुगमा हिमालय पुत्री पार्वतीले पानीसमेत नपिएर भाद्र शुक्ल तृतीयाका दिन व्रत बस्दा महादेव स्वामी पाएको चर्चा पौराणिक धार्मिक ग्रन्थमा उल्लेख छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप