शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

विमानको गतिले उछिनिसकेको ध्वनिको गतिबारे माथापच्ची

ध्वनि पनि तातोमा छिटो, चिसोमा ढिलो हिँड्छ !
आइतबार, २२ भदौ २०७६, ०६ : ५०
आइतबार, २२ भदौ २०७६

तीन चार दिन पहिलाको कुरा हो, भारतीय चन्द्रयान-२ को 'ल्यान्डिंग'बारे एउटा लेखमा गतिका विषयसम्बन्धी सामान्य चर्चा  गरेको थिए । "ल्याण्डर विक्रम ओर्लिने बेलामा पहिला २०० मिटर प्रति सेकेण्डको गतिले संचालित हुन्छ, अर्थात ५ सेकेण्डमा १ किमी, भनौं १ घण्टामा १२ किमि ।" र, यस गतिले यसलाई प्रारम्भिक २९ किमिको दूरी पार गर्न १४५ सेकेण्डको समय लाग्छ ।

यसैगरी बाँकी रहेको ६ किमिको दूरी पार गर्न, गति अति कम अर्थात " २ मिटर प्रति सेकेण्डमा सीमित राख्नुपर्छ।२ मिटर प्रति सेकेण्डले १ किमी दूरी तय गर्न विक्रमलाई ५०० सेकेण्डको समय लाग्छ । हिसाब गर्दा अंतिमको ६ किमि दूरी पार गरेर चन्द्रमाको धरातल टेक्न चन्द्रयान-२ लाई ६ किमि * ५०० सेकेण्ड = ३००० सेकेण्ड अर्थात ५० मिनटको समय लाग्छ ।" यो 'ल्याण्ड' गर्नुभन्दा पहिलाको गणितीय अनुमान हो ।

यो लेख तपाईंका आँखा सामुबाट  गुज्रिनुभन्दा केही घण्टा पूर्व नै विक्रमको 'ल्यान्डिंग' भएर वास्तविक तथ्यांक  आइसकेका  हुन्छन् ।

वास्तवमा यस लेखको केंद्रबिन्दू चन्द्रयान वा 'मून ल्यान्डिंग' नभएर  गति विषयक हो ।अतएव  वास्तविक 'ल्यान्डिंग डाटा' र पूर्वको अनुमानित डाटामा केही सामान्य फरक आए पनि यस लेखसंग त्यसको खासै तारतम्य छैन । यो  साइन्सको 'पपुलर' श्रेणीको एउटा रोचक लेख लेख्ने चेष्टा हो, हेरौं  कतिको सफलता पाइन्छ ? चन्द्रयानको चर्चा विषय उठानका सन्दर्भमा मात्रै गरिएको हो ।

माथि वर्णित लेख कै कुनै  ठाउँमा  चन्द्रयान विक्रमले २ किमि प्रति सेकेण्डको गतिले परिक्रमा गरिरहेको प्रसंग उल्लेख भएको थियो । । २ किमि प्रति सेकेण्ड अर्थात १ मिनटमा १२० किमि अथवा १ घण्टामा  ७२०० किमि । यो गति भनेको हाम्रा व्यवसायिक विमानको गतिभन्दा अत्यधिक गति हो । व्यावसायिक विमानको गति सामान्तया ८००-१००० किमि प्रति घण्टा मै सीमित हुन्छ । हामी सामान्य मानिसलाई यो भन्दा बढ़ी गतिले यात्रा गर्ने अवसर प्राप्त भएको छैन ।

उपर्युक्त वर्णित  लेख पढेर एकजना पाठकले सोधे, के हाम्रा विमानको सर्वाधिक गति यति नै (८००-१००० ) हो, अथवा संसारमा यो भन्दा बढ़ी गतिले उड़ने विमान प्रचलनमा छन् ?
प्रश्न मलाई पनि रमाइलो लाग्यो, म यसको जानकारी बटुल्नतिर लागे । परिणाम यस्तो आयो >>>

हेर्नुस् प्रकाशको गतिबारे चर्चा गर्नु भौतिक विज्ञानको अनिवार्यता हो, तर तपाईं हाम्रो स्तरमा बुद्धिविलास मात्रै हो । २९ करोड़, ९७ लाख, ९२ हज़ार, ४ सय, ५८ मिटर प्रति सेकेण्डको गति… भैगौ छाँड़िदिऔं, सात अर्ब मध्ये ९० प्रतिशत मानिसले आफ्नो जीवनकालमा यतिका कागजी नोट त  देख्न पाउँदैन ! यतिको गतिबारे चर्चा 'किम कारण उधौ !!'

भौतिक विज्ञानले आफूले  आर्जित गरेको गतिको तुलना  ध्वनिको गतिसंग गर्ने गरेको छ । अचम्म न मान्नु होला, यो जुन ध्वनि हुन्छ नि,चाहे जस्तो सुकै होस्, गीतको होस् व गालीको, रुदनको होस अथवा तालीको !   मौसममाथि निर्भर गर्छ ।   गर्मीमा छिट्टै  हिँड्छ तर जाड़ोमा भने यसको पनि गति तपाईंको गति केही सुस्तरी भएजस्तै अलिक ढिला हुन्छ । ध्वनिको गति, 'तापमानअनुसार' घटबढ़ भइरहन्छ । ध्वनिबारे बृहद चर्चा अर्को कुनै प्रसंगमा मौका मिल्यो भने गरौंला, अहिलेको चर्चा यसको गति मै सीमित राख्छु ।

मानीलिनुस् तपाईंको वरिपरिको तापक्रम २० डिग्री सेल्सियस छ, यतिखेर तपाईंले  गरेको कुनै पनि ध्वनि, तपाईंको प्रेमिकासम्म  ३४३ मिटर प्रति सेकेण्डको गतिले पुग्छ । अब अर्को परिस्थितिको कल्पना गर्नुस्, तपाईंको वरिपरिको तापक्रम जीरो डिग्री सेल्सियस छ, यस अवस्थामा तपाईंले गरेको उच्चारणको ध्वनि तपाईंको प्रेमिकाको कानसम्म पुग्न १२ दशमलब ५ मिटर कम गतिले पुग्छ अर्थात् जीरो डिग्री तापक्रममा ध्वनिको गति ३३० दशमलब ५  मिटर प्रति सेकेण्ड मात्रै हुन्छ । तपाईंलाई विश्वास गर्न अप्ठेरो लागे पनि यो विज्ञानले प्रतिपादित गरेको सत्य र तथ्य हो ।
 यसका सँगै यो पनि प्रमाणित कुरा हो, ध्वनिको गति हावा भन्दा द्रव पदार्थ  ( liquids) र ठोस पदार्थ  (solids) मा कैयौं गुना बढ़ी हुन्छ । ध्वनि हावाभन्दा द्रव पदार्थमा ४ गुना बढ़ी र ठोस पदार्थमा १५ गुना बढ़ी गतिले सञ्चारित  हुन्छ ।

सामान्यता २० डिग्री सेल्सियस तापमान भएको हावामा उड्ने विमानको गति  ध्वनिको सापेक्ष  मापन गरिन्छ । यस परिस्थितिमा ध्वनिको गति ३४३ मिटर प्रति सेकेण्ड अथवा ११२५ फिट प्रति सेकेण्ड  अथवा १२३५ किमि प्रति घण्टा अथवा ७६७ माइल प्रति घण्टा  हुन्छ । अझ स्पष्टसंग बुझ्नुस् - ध्वनिलाई २० डिग्री सेल्सियस तापमानमा १ किमिको गति गर्न झन्डै २ दश्मलब ९२  सेकेण्डको लाग्छ।  १ माइल दूरी तय गर्न भने झन्डै ४ दश्मलब ७ सेकेण्डको समय लाग्छ ।

भौतिक विज्ञानको भाषामा ३४३ मिटर प्रति सेकेण्डको गतिलाइ १ 'म्याक' (mach)  भन्ने गरिन्छ । 'ऐरोडायनमिक्स' ले विमान को गति मापन ' म्याक'  नंबरले गर्छ ।  कुनै विमान कंपनीले आफ्नो विमानको गति ज़ीरो दशमलब ६५ ' म्याक '  भन्छ भने यस विमानको गति ध्वनिको गतिको ६५ प्रतिशत मात्रै हो । कसैले ज़ीरो  दशमलब ९० 'म्याक'  भन्छ भने विमान को गति ध्वनि को गति को ९० प्रतिशत हो ।

शून्य दशमलब  ८० भन्दा कम  'म्याक'  नंबर भएका विमान 'सबसोनिक' श्रेणीमा आउछन् । नॉटस  (knots) मा यसलाई ५३० नॉट्स प्रति घण्टा  भनिन्छ, माइलमा यो गति भनेको ६०९ माइल प्रति घण्टा हो र किमिमा यो गति ९८० किमि प्रति घण्टा हो । तपाईंलाई मिटर प्रति  सेकेण्डमा पनि यो गति जान्न मन लाग्यो होला । यो भनेको २७३ मिटर प्रति सेकेण्ड हो ।

शून्य दशमलब  ८० देखि १ दशमलब ३०  'म्याक'  नंबर भएका विमान 'ट्रांसोनिक' (transonic) वर्गमा राखिएका छन् । यस वर्गका विमान ५३० देखि ७९४ नॉट्स प्रति घण्टा वा ९८० देखि १४७० किमि प्रति घण्टासम्म उड्न सक्छन् । यो गति भनेको २७३ देखि ४०९ मिटर प्रति सेकेण्डसम्मको गति हो ।  याद गर्नुस् ध्वनिको गतिको सीमा विमान गतिले उछिनिसक्यो ।

यात्रा अझै बाँकी छ ।१ दशमलब ३० देखि ५ 'म्याक'  नंबर भएका विमानलाई  'सुपरसोनिक' (supersonic) भनिन्छ । यो भनेको ध्वनिभन्दा ५गुणा बढ़ी गति हो । यस श्रेणीअन्तर्गत गति ६१७५ किमि प्रति घण्टा हुन जान्छ।

हेर्नु भयो ५ 'म्याक'  नंबरले पनि २ किमि प्रति सेकेण्डको गति छुन सकेको छैन ।

५ देखि १० 'म्याक' नंबरलाइ 'हाइपरसोनिक' (hypersonic) भनिन्छ । १० देखि २५ 'म्याक'  नंबरलाई 'हाई हाइपरसोनिक' (high  hypersonic) नामाकरण गरिएको छ ।

विकिपीडियाका अनुसार  नासाको  एक्स-४३ सबैभन्दा बढ़ी 'म्याक'  नंबर भएको 'एयरक्राफ्ट' हो । यसलाई ९ दशमलब ६ 'म्याक'  नंबरको 'एयरक्राफ्ट' भनिएको छ । यो भनेको झन्डै ११८५० किमि प्रति  घण्टाको गति हुन आउछ । भनौ १ मिनटमा १९७ दशलमभ ५  किमि अथवा १ सेकंडमा  ३ दशलमभ २९  किमि । तर के तपाईंलाई थाहा छ, पृथ्वी भन्दा झन्डै ४०० किमिमाथि रहेका जुनसुकै   वस्तु झन्डै ७ किमि प्रति सेकेण्डका गतिले घुमिरहेका हुन्छन् ।यी वस्तुले त्यो गति पृथ्वीको गुरुत्वाकर्षण बलले गर्दा पाएका हुन्छन् ।

विश्वका सर्वाधिक गति भएका विमान हेर्नुस्

sukhoi -  27  flanker


यस रुसी लड़ाकू विमानको गति २ पॉइंट ३५ म्याक रहेको थियो ।
 

general  dynamics  f -111  aardvark


यस अमेरिकन  बमवर्षक विमानको गति २ पॉइंट ५ म्याकसम्म रहेको छ।

mc  donnell  douglas  f -15  eagle ,


अमेरिकन एयरफोर्समा सम्मिलित रहेको यस f -15 को गति २ पॉइंट ५ म्याक भन्दा बढ़ी छ ।

mikoyan  mig -31  foxhound



२ पॉइंट ८३ म्याकसम्मको गति रहेको मिग -३१ रुसी 'इंटटसेप्टर एयरक्राफ्ट 'हो ।

Xb -70  valkyrie


६ वटा इंजन रहेको xb -70  को निर्माण रुसी 'इंटरसेप्टर मिग-३१' को प्रतिष्पर्धामा भएको थियो ।२ लाख ४० हज़ार किलोग्राम को 'पेलोड' बोकेर उडनसकने यस विमानको गति ३ म्याक रहेको छ ।

bell  x  starbuster



यस युध्दक विमानको गति ३ पॉइंट १९६ म्याक रहेको थियो ।  

mikoyan  mig -25  foxbat


यस रुसी लड़ाकू विमानको क्षमता ३ पॉइंट २ म्याक गतिले उड़ने रहेको थियो ।

lockheed  yf -12


यस अमेरिकन 'इंटरसेप्टर' विमानको गति ३ पॉइंट ३५ म्याक थियो। अमेरिकाले जम्मा तीनवटा yf -१२ विमान बनाएको थियो ।

lockheed  SR -71  blackbird



अमेरिका ले yf -१२ को परिमार्जित रुपमा SR -७१ विमान बनाएको थियो। जम्मा ३० वटा निर्माण गरिएका यस विमानको क्षमता ८५ हज़ार फिटमाथि ३ पॉइंट ३५ म्याक भन्दा बढ़ी गतिले उड़ने रहेको थियो ।

north american  x -१५



सबैभन्दा तीव्र गतिले उड़ने विमानको अग्रपंक्ति ओगटेको x -१५ ले ६ पॉइंट ७ म्याक गतिले उड़न भरछ । आकाशमा सबैभन्दा माथि ,१०० किमी सम्मको उचाईमा पुगेको यस विमानको विश्व रेकार्ड अझै कायम छ ।

र अन्त्यमा, x -43 A


नासाको x -43 A  सबैभन्दा बढ़ी गतिले उडेको मानवरहित विमान हो । 'टेस्टिंग फ्लाइट' का क्रममा यसले ९ पॉइंट ६ म्याक गतिले उड़ने सफलता पाएको थियो ।

सबै तस्विर: इन्टरनेटका विभिन्न साइटहरु

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ज्ञानमित्र
ज्ञानमित्र
लेखकबाट थप