शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

५६ जिल्लामा फैलियो डेंगु, ६ जनाको मृत्यु

स्वास्थ्य सेवा विभाग भने महानिर्देशकविहीन
सोमबार, २३ भदौ २०७६, १४ : ०४
सोमबार, २३ भदौ २०७६

काठमाडौँ । देशका ५६ जिल्लामा डेंगुको संक्रमण फैलिएको समयमा स्वास्थ्य क्षेत्रको महत्वपूर्ण जिम्मेवारी बोकेको निकाय स्वास्थ्य सेवा विभाग भने नेतृत्वबिहीन बनेको छ । विभागका महानिर्देशक डा. सुशीलनाथ प्याकुरेल कार्यकाल सकिएसँगै विभाग नेतृत्वबिहीन बनेको हो । 

असार अन्तिममा महानिर्देशकको रुपमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्याकुरेललाई महानिर्देशकको जिम्मेवारी प्रदान गरेको थियो । तर, कार्यकाल सकिएसँगै भदौ २१ देखि प्याकुरेल बिदा भएका छन् । 
 दुई साताअघि मन्त्रालयले डा. प्याकुरेलको एक वर्ष म्याद थप गर्न मन्त्रिपरिषदमा प्रस्ताव दर्ता गराएपनि स्वीकृत नभएपछि उनले अनिवार्य अवकास पाएका हुन् । 

अनिवार्य अवकाश सम्वन्धी दफा ४५ को उपदफा १ ले ६० वर्ष उमेर पुरा भएको व्यक्तिलाई अनिवार्य अवकाशको व्यवस्था गरेको छ । तर, सोही दफाको उपदफा २ ले उपदफा १ मा जुनसुकै कुरा लेखिएको भएता पनि नेपाल सरकारलाई विशेषज्ञ सेवा अत्यावश्यक भएमा ६० वर्ष पूराभई अवकाश हुने कर्मचारीलाई बढीमा तीन बर्षको अवधि थप्न सकिने उल्लेख छ । सोही नियम अनुसार डा. प्याकुरेलको समय थप गर्ने प्रस्ताव अघि सारिएको थियो । तर अहिलेसम्म कुनै पनि निर्णय नआएको हुँदा आफू घरमै बसिरहेको डा. प्याकुरेलले रातोपाटीलाई बताए । 

अहिले विभाग निमित्तको भरमा चलिरहेको छ।  विभागमा निमित्त निर्देशकको जिम्मेवारीमा परिवार योजना महाशाखाका प्रमुख डा. भिम सिंह टिङकरी रहेका छन् ।   

५६ जिल्लामा डेंगुको संक्रमण
वैशाख अन्तिम साताबाट सुनसरीको धरानदेखि फैलिएको डेंगुको संक्रमण अहिले सम्म ५६ जिल्लामा फैलिसकेको छ ।  स्वास्थ्य सेवा विभागको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार अहिलेसम्म प्रदेश नं. १ को ९ , प्रदेश नं. २ को ७, प्रदेश नं. ३ को १२, गण्डकी प्रदेशको १०, प्रदेश नं. ५ को ११, कर्णाली प्रदेशको २ र सुदूरपश्चिम प्रदेशको ५ जिल्ला गरी देशभर ५६ जिल्लामा डेंङ्गुको संक्रमण फैलिएको छ । 

अहिले सम्म डेंगुको संक्रमणबाट ६ जनाको मृत्यु भएको महाशाखाले जनाएको छ । मृत्यु हुने मध्ये काठमाडौँमा २ र सिन्धुपाल्चोक, सुनसरी, चितवन र डोटीमा एक—एक जना रहेका छन् । 
साउन १ गते देखि भदौ २२ गते सम्म ३ हजार ८ सय ९९ जना डेंगुको नयाँ बिरामी थपिएको महाशाखाले जनाएको छ । 

थपिएको यो संख्या सँगै वैशाखदेखि यता बिरामीको संख्या ७ हजार नाघेको जनाइएको छ ।  साउन १ देखि २२ सम्म प्रदेशगत रुपमा हेर्ने नै भने सबै भन्दा धेरै संक्रमित र मृत्यु हुनेको संख्या प्रदेश नं.३ मा देखिएको छ ।

 प्रदेश नं. ३ मा अहिलेसम्म ४ जनाको मृत्यु भएको छ भने साउनदेखि यता २ हजार १० जना नयाँ बिरामी थपिएका छन् । यस्तै साउनदेखि यता प्रदेश नं. १ मा ८३१, प्रदेश नं.२ मा ३९, गण्डकी प्रदेशमा ८९६, प्रदेश नं. ५ मा ९७, कर्णाली प्रदेशमा ३ र सुदूरपश्चिम प्रदेशमा २३ मा डेंगुको संक्रमण देखिएको छ । 

चिकित्सकका अनुसार डेंगुको संक्रमण फैलिएपछि अहिले शुक्रराज ट्रफिकल तथा सरुवा रोग अस्पताल टेकुमा स्वास्थ्य परीक्षण गर्ने नागरिकको चाप बढ्दै गएको छ ।  

डेंगु एडिस जातको लामखुट्टेको टोकाइबाट सर्ने एक प्रकारको सरुवा रोग हो । डेंगुको भाइरसबाट संक्रमित लामखुट्टेको टोकाइले यो रोग सार्दछ । यो लामखुट्टेले विशेषगरी दिउँसो मात्र टोक्ने गर्दछ । वर्षाको समय सुरुभएपछि  डेंगु ज्वरोको प्रकोप बढ्न थाल्दछ । 
ज्वरो आउने, बेस्सरी टाउको दुख्ने, आँखाको गेडी दुख्ने, शरीरमा डाबरहरु आउने, अरुचि हुने, जोर्नी तथा मांसपेशीहरु बेस्सरी दुख्ने, रातो बिबिरा देखिनु डेंगुका लक्षणहरु हुन् । 

सूचना प्रवाहमा सरकारी संचार माध्ययम मात्रै 
तीब्र रुपमा फैलिएको डेङ्गु नियन्त्रणमा प्रचार प्रसारको ठूलो भूमिका हुन्छ । तर डेंगु नियन्त्रणका लागि सरकारले सरकारी संचार माध्यम रेडियो नेपाल र नेपाल टेलिभिजनको मात्रै उपयोग गरेको छ । राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्रका निर्देशक कुञ्ज जोशीले अहिलेसम्म बजेट पास नभएको हुँदा सूचना तथा प्रचार प्रसारमा दुई वटा सरकारी संचार माध्ययमलाई प्रयोग गरिएको बताए । 

साथै जोशीले डेंगुको बारेमा जानकारी दिने ब्रोसरहरु गत वर्षकै बाट काम चलाएको पनि बताए । केन्द्र, प्रदेश र स्थानीयतहको संचार माध्ययमलाई पनि सूचना तथा प्रचार–प्रसारको जिम्मा दिए प्रभावकारी हुन सक्ने सरोकारवालाहरु बताउँछन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप