cover-story
Seattle

सिएटल स्टेडियम (लुमेन फिल्ड)

यहाँ विश्वकपका ६ खेलहरू हुनेछन्। खुला प्रकारको र अस्थायी प्राकृतिक घाँसको पिच रहेको यसको क्षमता ६५,१२३ छ। यो सन् २००४ मा खुलेको हो। 

जुन महिनाको औसत तापक्रम २२ डिग्री सेल्सियस रहने सिएटल, क्यानडाको सिमानाबाट १०० माइल दक्षिणमा अवस्थित छ।  यो अमेरिकी सहरमा अत्यधिक गर्मी हुने सम्भावना निकै कम छ। घोडनालको आकारमा बनेको यस रंगशालाको उत्तरी भाग खुला छ जहाँबाट सहरका गगनचुम्बी भवनहरू देखिन्छन्। 

यो एनएफएल टोली सिएटल सीहक्स र एमएलएस टोली सिएटल साउन्डर्सको घरेलु मैदान हो। धेरै प्रयोग हुने भएकाले यहाँ सामान्यतया कृत्रिम घाँस प्रयोग गरिन्छ। सन् २०२५ को क्लब विश्वकपअघि बिछ्याइएको अस्थायी प्राकृतिक घाँसको पिच खराब सावित भएको थियो। 

पानी अडिन पर्याप्त गहिराइ नभएकाले पिच छिट्टै सुकेको थियो, जसका कारण पेरिस सेन्ट-जर्मेनका प्रशिक्षक लुइस एनरिकले ‘बल खरायो जस्तै उफ्रियो’ भन्दै गुनासो गरेका थिए। विश्वकपको लागि भने महिनौँ अगाडि सिँचाइ प्रणालीसहितको पिच तयार गरिने हुनाले अवस्था राम्रो हुनेछ। अमेरिकाको दोस्रो समूह चरणको खेलसहित यहाँ ६ वटा खेल हुनेछन्।