हामी के हौँ ?
रातोपाटी न्युज नेटवर्कद्वारा सञ्चालित समाचार पोर्टल www.ratopati.com को तीन भाषा- नेपाली, अङ्ग्रेजी र हिन्दी संस्करण छन्। रातोपाटी डटकम पत्रकार ओम शर्माको नेतृत्वमा २७ जेठ २०७० देखि सुरु भएको हो।
राष्ट्रिय राजनीतिक, सामाजिक र आर्थिक मुद्दाहरूमा विशेष केन्द्रित रातोपाटी डटकमका तीनवटै संस्करणमा छिनछिनमै ताजा समाचार, खोजमूलक रिपोर्टहरूका अतिरिक्त शिक्षा, विज्ञान प्रविधि, सांस्कृतिक गतिविधि, जीवनशैली, स्वास्थ्य, खेलकुद, मनोरञ्जन र साहित्यसँग सम्बन्धित सामग्रीहरू पोस्ट हुन्छन्। त्यसैगरी, विश्वभर फैलिएका नेपाली ‘डायोस्परा’का सुखदुःखका हालखबर र अन्तर्राष्ट्रिय समाचार पनि यिनमा पोस्ट हुन्छन्।
रातोपाटी डटकम सङ्घीय स्वरूपको र चौबिसै घण्टा सामग्री ‘अपडेट’ गरिने नेपालकै अग्रणी समाचार पोर्टल हो।
डिजिटल अक्षर, स्वर, तस्बिर र श्रव्य दृश्यको माध्यमबाट वर्तमानको अभिलेख राख्ने रातोपाटी डटकम इतिहासको एउटा हिस्सा र भावी इतिहासको रेखांकनकर्मी दुवै हो।
नेपाली जनताको दशकौँदेखिको सङ्घर्ष र त्याग तथा नेपाल आमाका हजारौँ सर्वोत्तम छोराछोरीको बलिदानको बदलामा हामीले सङ्घीय लोकतान्त्रिक गणतन्त्र पाएका छौँ। यो युगीन परिवर्तनको रक्षा र नेपाली नागरिकको भलोका पक्षमा अहोरात्र पहरेदारी गर्न हामी प्रतिबध्द छौँ।
राष्ट्रियता, सङ्घीय लोकतान्त्रिक गणतन्त्र, समावेशिता, नागरिक अधिकार, सुशासन, प्रेस स्वतन्त्रताका पक्षमा हामी अग्रमोर्चामा अविचलित छौँ। राष्ट्रिय अखण्डताको रक्षा तथा क्षेत्रीय, जातीय र धार्मिक सद्भाव संवर्द्धनप्रति हामी समर्पित छौँ।
हाम्रो देश सुन्दर छँदै छ, यो सुशासनयुक्त र समृद्धसमेत बनोस् भन्ने जनआकांक्षा हो र राष्ट्रिय आवश्यकता पनि। तर व्यवस्था परिवर्तनबाट अनेक उपलब्धि हासिल भए पनि सुशासन र समृद्धि प्राप्ति अझैँ अधुरै छन्। त्यसका लागि जिम्मेवारीपूर्ण ढङ्गले समर्पित हुनैपर्नेमा हामी स्पष्ट छौँ।
हामी के गर्छौँ ?
जनमानसमा सामान्यतया के छाप छ भने पत्रकारहरू नराम्रा विषयका, बेथितिका, भ्रष्टाचारका, बिग्रेका, भत्केका, मरेका, लथालिंग र भताभुङ्ग भएका मात्र समाचार लेख्छन्, राम्रो कामको समाचार नै लेख्दैनन्। तर रातोपाटी डटकमले त्यसोमात्र गर्दैन। हामी राम्रो काम गर्न खोज्नेलाई शुभ साइतको रातो टीका लगाइदिन्छौँ। राम्रो काम सफलतापूर्वक सम्पन्न गर्नेलाई विजयको रातो अबीर लगाइदिन्छौँ। हो, कसैले नराम्रो काम गर्छ वा समाजमा नराम्रा घटना भएका छन् भने हामी बिना हिचकिचाहट रातो चिन्ह पनि लगाइदिन्छौँ।
प्रलोभनमा परेर नराम्रोलाई राम्रो र पूर्वाग्रह राखेर राम्रोलाई नराम्रो भन्दैनौँ हामी। जो कसैले गरेको भएपनि राम्रो कामलाई राम्रो भन्छौँ अनि जो कसैले गरेको किन नहोस्, नराम्रो काम छ भने नराम्रो नै भन्छौँ। पेसाप्रतिको अविचलित निष्ठाका कारण जे, जे हो त्यो भन्ने नैतिक बल हामीसँग छ।
हामी हेक्का राख्छौँ, नागरिकको पनि कर्तव्य हुन्छ र राष्ट्रप्रमुखको पनि अधिकार हुन्छ। हाम्रो मुख्य दायित्व भने आवाजहीन आम नागरिकको हक-अधिकारको रक्षा गर्नु र सार्वजनिक ओहोदाधारी वडा सदस्यदेखि प्रधानमन्त्री एवम् राष्ट्रपतिसम्मलाई आआफ्नो कर्तव्य र अधिकारप्रति सजग, सक्रिय र जिम्मेवार तुल्याउनु हो। नागरिकले तिरेको करबाट पालिएका जङ्गी हुन् कि निजामती कर्मचारी, आआफ्नो कर्तव्य र जिम्मेवारीमा- मुलुकको सुरक्षा गर्न, समाजमा अमनचयन राख्न, नागरिकलाई सेवा प्रवाह गर्न, विकास-निर्माण तीब्र पार्न- इमान र लगनका साथ क्रियाशील हुन नचुकुन् भन्नेमा हाम्रो सत्प्रयास हुन्छ। निजी क्षेत्रका गतिविधिमाथि पनि हामी निरन्तर निगरानी गर्छौँ। भुईँफुट्टा वर्गको ज्यादतीबाट भुइँमान्छेलाई जोगाउनु हाम्रो अहिलेको चुनौतीपूर्ण जिम्मेवारी हो।
पत्रकारिताको प्रमुख हतियार हो प्रश्न। हामी पनि प्रश्न गरेरै जुनसुकै घटना र विषयमा के, कहाँ, कहिले, किन, कसरी र कस्तोको सांगोपांगो जवाफ खोज्छौं। के भयो मात्र हैन, तिनको पृष्ठभूमि र तिनबारे विश्लेषण प्रस्तुत गरी अब के हुँदैछ भन्ने आङ्कलन पनि गर्छौँ हामी।
त्यसैले पत्रकारिताको सर्वमान्य चरित्र अर्थात् तथ्यपूर्ण, सन्तुलित र विश्वसनीयताको कसीमा हामी उम्दा ठहरिँदै आएका छौँ।
तपाईंबाट हामी के चाहन्छौँ ?
रातोपाटी डटकमका मेरुदण्ड भनेकै तपाईंसहित विश्वभर फैलनु भएका हाम्रा लाखौं लाख पाठक श्रोता दर्शक हुन्। तपाईं विश्वको जुनसुकै ठाउँबाट सिधै www.ratopati.com लगइन गरेर वा एक्स, फेसबुक, युट्युवलगायतका सामाजिक सञ्जालबाट समेत हामीसँग जोडिन सक्नुहुन्छ।
तपाईं पनि सूचना दिएर, तस्बिर, भिडियो, अडियो पठाएर, विचार वा प्रतिक्रिया व्यक्त गरेर रातोपाटी परिवारमा सामेल हुन सक्नुहुनेछ। तर राष्ट्रिय एकतामा खलल पुग्ने, साम्प्रदायिक, जातीय र धार्मिक सद्भावना बिथोलिने, गैर कानुनी, मिथ्या आरोप र गालीगलौजपूर्ण, अश्लील, कसैको बेइज्जती वा मानहानि हुने खालका र दुष्प्रचार गर्ने नियतले कुनै पनि सामग्री रातोपाटी डटकममा नपठाउनु होला।
तपाईंले रातोपाटी डटकममा गर्ने कमेन्ट वा पठाउने सामग्री मौलिक, सत्य तथ्यमा आधारित, सृजनात्मक र शिष्ट हुनुपर्छ। नक्कली परिचय, अश्लील वा अपमानजनक युजर नेमहरूको प्रयोग नगर्नु होला । एउटा सामग्री धेरै पल्ट वा उस्तै सामग्री बारम्बार वा कुनै छलफलमा विषय बाहिरका सामग्री पनि नपठाउनु होला।
यो पोर्टलका सामग्रीहरूको सम्पूर्ण कपीराइट, ट्रेडमार्क, डिजाइनको अधिकार, पेटेन्ट र अन्य बौद्धिक सम्पत्तिमाथिको अधिकार रातोपाटी डटकम र यसबाट अनुमति प्राप्त निकाय वा संस्थाहरूमा निहित रहेकाले यसका सामग्री कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रूपमा पुनर्उत्पादन गर्नुअघि अनुमति लिनु होला।
रातोपाटी डटकमका सामग्री सामाजिक संजालमा शेयर गर्न पाइन्छ तर गैरव्यापारिक निजी प्रयोजनमा बाहेक रातोपाटी डटकमका सामग्री नक्कल गर्न, तोडमोड गरेर वा हुबहु फेरि प्रकाशित गर्न अथवा डाउनलोड गर्न, पोस्ट गर्न, प्रसारण गर्न वा अन्य कुनै पनि गैर कानुनी कार्य गर्न पाइँदैन। रातोपाटी डटकमको पूर्व स्वीकृति बिना ती कार्य गरिएमा कपीराइटसम्बन्धी नेपालको वा अन्तर्राष्ट्रिय कानुन वा अन्य प्रचलित कानुनबमोजिम कारबाहीको भागिदार हुनुपर्नेछ।
तपाईं रातोपाटी डटकमका नियम र सर्तहरू पालना गर्न तयार हुनुहुन्न भने यो वेबसाइटमा एक्सेस वा यसमा आफ्ना कुराहरू पठाउने कष्ट नगर्नुहोला। तर, हाम्रो विश्वास के छ भने तपाईं एक अनुशासित नागरिकका रूपमा हामीसँग सदा जोडिइरहनु हुनेछ।
सबैको र सबैभन्दा राम्रो हुन प्रयत्नरत समाचार पोर्टल रातोपाटी डटकममा तपाईंलाई हार्दिक स्वागत छ। तपाईं-हाम्रो सहयात्रा अविरल होस् !