चेकियाका गोल मेसिन प्याट्रिक सिक
सारांश
- चेक गणतन्त्रका प्रमुख स्ट्राइकर प्याट्रिक सिक यस विश्वकपमा टोलीको मुख्य खेलाडीको रूपमा मैदान उत्रनेछन्।
- सिकले यूईएफए युरो २०२० मा क्रिस्टियानो रोनाल्डोसँगै ५ गोल गरी संयुक्त शीर्ष गोलकर्ता बनेका थिए र स्कटल्याण्डविरुद्ध सनसनीपूर्ण गोल गरेका थिए।
- क्लब फुटबलमा बायर लेभरकुजेनसँग निरन्तर उच्च प्रदर्शन गर्दै आएका सिकले यस सिजन बुन्डेसलिगामा १६ गोल र २ असिस्ट गरेका छन्।
काठमाडौँ । चेकिया फुटबल टोलीका भरपर्दा र प्रमुख स्ट्राइकर प्याट्रिक सिक यस विश्वकपमा टोलीको मुख्य खम्बाका रूपमा मैदान उत्रिँदै छन्।
लामो समयको प्रतीक्षापछि विश्वकपमा पुनरागमन गर्न लागेको चेकियाको अग्रपङ्क्तिको पूर्ण जिम्मेवारी ३० वर्षीय यी खेलाडीको काँधमा छ। जर्मन क्लब बायर लेभरकुजेनबाट व्यावसायिक फुटबल खेल्ने सिक विश्व फुटबलकै सबैभन्दा उत्कृष्ट, चलाख र खतरनाक स्ट्राइकरमध्ये एक मानिन्छन्।
विश्वकपमा सिकलाई विशेष नजर राख्नुपर्ने खेलाडीका रूपमा हेरिनुका पछाडि केही बलियो आधारहरू छन्। उनले यूईएफए युरो २०२० मा क्रिस्टियानो रोनाल्डोसँगै ५ गोल गर्दै संयुक्त रूपमा शीर्ष गोलकर्ता बनेर विश्व मञ्चमा आफ्नो बलियो उपस्थिति देखाएका थिए। त्यस प्रतियोगितामा स्कटल्याण्डविरुद्ध ५० यार्ड टाढाबाट उनले गरेको सनसनीपूर्ण गोल आज पनि फुटबल इतिहासकै एक उत्कृष्ट गोलका रूपमा स्मरण गरिन्छ।
१९१ सेन्टिमिटर अग्ला सिक उत्कृष्ट शारीरिक संरचनाका कारण ‘एरियल बल’ मा हाबी हुन सक्छन् भने बललाई आफ्नो नियन्त्रणमा राख्दै विपक्षीको रक्षापङ्क्ति तोड्न र बायाँ खुट्टाले शक्तिशाली प्रहार गर्न खप्पिस छन्। मैदानभित्र खाली ठाउँको पहिचान गर्ने र सही समयमा सही निर्णय लिने उनको प्रवृत्तिका कारण उनी यस समरको विश्वकपमा निकै आत्मविश्वासी देखिन्छन्।
सन् २००६ पछि चेकिया पहिलो पटक विश्वकपमा छनोट भएको हो। यस ऐतिहासिक छनोट यात्रामा सिकले सन् २०२६ को विश्वकप छनोट खेलहरू अन्तर्गत १४ खेलमा सहभागिता जनाउँदै ८ गोल गरे। उनको हालैको फर्म पनि निकै लोभलाग्दो छ। विश्वकपको अन्तिम तयारीका रूपमा ग्वाटेमालाविरुद्ध खेलिएको मैत्रीपूर्ण अभ्यास खेलमा चेकिया ३–१ ले विजयी हुँदा उनले सानदार गोल गरेका थिए।
क्लब फुटबलमा पनि सिकको प्रदर्शन उच्च र निरन्तर छ। बायर लेभरकुजेनसँग सन् २०३० सम्मका लागि सम्झौता नवीकरण गरिसकेका उनी टोलीका सबैभन्दा भरपर्दा अग्रपङ्क्तिका विकल्प हुन्। जारी २०२५–२६ को सिजनमा उनले बुन्डेसलिगाका २८ खेलमा १६ गोल र २ असिस्ट गरिसकेका छन्।
त्यसैगरी, युईएफए च्याम्पियन्स लिगका ९ खेलमा ४ गोल र १ असिस्ट तथा डिएफबी–पोकलका ५ खेलमा २ गोल आफ्नो नाममा लेखाइसकेका छन्। यसअघिको २०२४–२५ को सिजनमा उनले बुन्डेसलिगामा २१ गोलसहित क्लबका सबै प्रतियोगिताहरूमा गरी कुल ३० गोलको सानदार रेकर्ड बनाएका थिए। क्लबमा जमाएको यही बलियो साख र लयलाई निरन्तरता दिँदै सिक यसपटक चेकियालाई विश्वकपमा ऐतिहासिक सफलता दिलाउने दाउमा छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेक्सिकोमा फिफा विश्वकप २०२६ को भव्य उद्घाटन समारोह सुरु
-
ट्रम्पद्वारा इरानमाथि गर्ने भनिएको सैन्य आक्रमण रद्द
-
वाल्मीकि विद्यापीठको नक्ली पत्र बनाएर विदेशीलाई भिसा दिलाउने विरुद्ध लिखत किर्तेमा अनुसन्धान
-
बागमती प्रदेश खेलकुद प्रतियोगिता असार ३ गतेदेखि, १५ विधाका खेलमा प्रतिस्पर्धा हुने
-
तापक्रम ह्वात्तै घट्यो, ठाउँठाउँमा भारी वर्षा
-
सन् २०२६ विश्वकप: खेलकुदमा ‘ट्रम्पवाद’को युग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण