बिहीबार, २० मङ्सिर २०८१
ताजा लोकप्रिय
छिटोछिटो सरकार फेरबदलको प्रभाव खेलकुदमा
११ औँ वार्षिकोत्सव विशेषाङ्क : राजनीतिक स्थायित्वको तृष्णा

छिटोछिटो सरकार फेरबदलको प्रभाव खेलकुदमा

आइतबार, २७ जेठ २०८१

नेपालमा संस्थागत रूपमा खेलकुद विकासको थालनी भएको साढे ६ दशकभन्दा लामो समय बितिसकेको छ । २०१५ सालमा ‘राष्ट्रिय स्वास्थ्य तथा खेलकुद परिषद्’ गठन भएपछि संस्थागत रूपमा खेलकुद विकासको जग बसेको हो । 

त्योभन्दा अघिदेखि नै नेपालमा पर्याप्त खेलकुद गतिविधि हुने गरेको इतिहास पाइन्छ । राणाकालमा त खेल गतिविधि सर्वसाधारणको पहुँचभन्दा टाढाको विषय थियो । त्यतिबेला खेलकुद भनेको केही निश्चित घरानियाँको वरपर मात्र घुम्ने गथ्र्यो । 

खेलकुद विकासको थालनी भएको लामो कालखण्ड बितिसक्दा पनि नेपाली खेलकुदको गति भने निकै सुस्त देखिन्छ । विश्व खेलकुदसँग तादात्म्यता मिलाउँदै अगाडि बढ्नुपर्ने २१औँ शताब्दीको यो क्षणसम्म आइपुग्दा नेपाली खेलकुद भने अझै पनि निराशाकै घेराभित्र रुमलिएको देखिन्छ । 

राजनीति र खेलकुदबिच नङ र सामुझैँ सम्बन्ध रहेको हुन्छ । विश्वभर खेलकुदमा राजनीतिको गहिरो प्रभाव देखिन्छ । खेल राजनीति र खेल गतिविधि दुई फरक विषय हुन् । खेल राजनीति र खेल गतिविधिबिच तादात्म्यता मिलाउन नसक्दा यसले विकृति निम्त्याउने हो ।

बेला बखत नेपाली खेलकुदले आफ्नो सफलतामा गर्व गर्न सक्ने क्षण नआएको भने होइन, तर आम नेपाली खेल समर्थकले यस्तो अवसर निकै कम मात्र पाएका छन् । विगतको तुलनामा यतिबेला नेपाली खेलकुदको दायर केही फराकिलो पनि बनेको छ । 

देशभित्र हुने खेल गतिविधि उल्लेख्य रूपमा बढेका छन् । अन्तर्राष्ट्रिय खेल गतिविधिमा सहभागिता र सफलताका क्रम पनि क्रमशः बढेको छ, तर अझै पनि आम खेल समर्थकले चाहेअनुरूप नेपाली खेलकुद अगाडि बढ्न सकिरहेको छैन । 

एकपछि अर्को सफलता हासिल गर्दै जानुपर्नेमा नेपाली खेलकुद अझै पनि आपसी विवाद र समस्यामा अल्झिएर बसेको छ । खेलकुदलाई अनुत्पादक क्षेत्रका रूपमा हेर्ने सरकारी दृष्टिकोणमा अझै पनि परिवर्तन आउन सकेको छैन । 

ठुलो लक्ष्य प्राप्तिका लागि एकापसमा हातेमालो गर्दै अगाडि बढ्नुपर्नेमा नेपाली खेलकुदमा सक्रिय अघिकांश खेल सङ्घ आपसी विवाद र खुट्टा तानातानमा अल्झिएका छन् । भौतिक पूर्वाधारको अवस्था दयनीय छ । 

देशको कुल बजेटको एक प्रतिशत हिस्सा पनि खेलकुदको भागमा पर्न नसकेको दयनीय अवस्था छ । खेलाडीको हकहित र सुविधाको विषयमा चाहेजस्तो प्रगति हुन सकेको छैन । पक्कै पनि नेपाली खेलकुदका लागि यो दुःखद पक्ष हो । 

  • राजनीति र खेलकुद

राजनीति र खेलकुदबिच नङ र सामुझैँ सम्बन्ध रहेको हुन्छ । विश्वभर खेलकुदमा राजनीतिको गहिरो प्रभाव देखिन्छ । खेल राजनीति र खेल गतिविधि दुई फरक विषय हुन् । खेल राजनीति र खेल गतिविधिबिच तादात्म्यता मिलाउन नसक्दा यसले विकृति निम्त्याउने हो । 

हाम्रो देशमा पनि भएको यही हो । जब खेल राजनीति विकृत बन्न पुग्छ, त्यसले देशको समग्र खेल गतिविधिलाई नै विषाक्त तुल्याउँछ, तर खेल राजनीति सही बाटोमा अगाडि बढ्यो भने त्यसले देशको खेलकुदलाई सफलताको शिखरमा पु¥याउँछ । 

राजनीतिक हस्तक्षेप भने फरक पाटो हो । नेपाली खेलकुदमा खेल राजनीतिभन्दा प्रत्यक्ष राजनीतिक हस्तक्षेप बढी देखिन्छ । नेपाली खेलकुदमा विगतदेखि नै राजनीतिको गहिरो प्रभाव रहँदै आएको छ, तर विगतमा राजनीतिक संलग्नताले खेलकुदलाई फाइदा पनि पुग्ने गरेको थियो । 

नेपाली खेलकुदलाई राजनीतिक दलका कार्यकर्ताको भर्ती केन्द्रका रूपमा परिणत गर्न थालियो । जुन दल सरकारमा आयो, त्यही दलका कार्यकर्तालाई राजनीतिक नियुक्ति दिने स्थलको रूपमा विकास हुँदै गयो । जसले गर्दा राष्ट्रिय खेलकुद परिषद्मा खेलकुद गतिविधिभन्दा राजनीतिक गतिविधि बढी हुन थाल्यो ।

पहिले–पहिले उच्च सरकारी ओहोदामा रहेका व्यक्ति खेलकुद सङ्घमा बस्थे । त्यसले गर्दा खेलकुद गतिविधिलाई अगाडि बढाउन फाइदा पनि पुग्थ्यो । त्यतिबेला खेल पदाधिकारीहरू आफ्नो व्यक्तिगत र पारिवारिक स्वार्थभन्दा पनि खेलकुद विकासमा बढी चिन्तित देखिन्थे । 

यसको ज्वलन्त उदाहरण हो, नेपाल एथलेटिक्स सङ्घ । नेपाली खेलकुदको नेतृत्वदायी निकाय राष्ट्रिय खेलकुद परिषद् स्थापना हुनुभन्दा अगाडि नै केही खेल सङ्घहरू स्थापना भइसकेका थिए । नेपाल एथलेटिक्स सङ्घ पनि त्यसैमध्ये पर्छ ।

एथलेटिक्स सङ्घको स्थापना २००७ सालभन्दा अगाडि नै भएको हो । त्यतिबेला ब्रिगेडियर जनरल सुशीलशमशेर जबरा एथलेटिक्स सङ्घका अध्यक्ष थिए । त्यो सङ्घको उपाध्यक्षमा तत्कालीन प्रहरी उपरीक्षक फत्तेबहादुर सिंह र गणेश शेरचन रहेका थिए ।

यसैगरी सचिवमा द्वारिकारामभक्त माथेमा, सहसचिवमा बलराम पराजुली, कोषाध्यक्षमा मोहनराज जोशी तथा सदस्यमा जनरल नरशमशेर जबरा, लक्ष्मण शाह, नरेश अधिकारी र विदुर ढुंगाना रहेका थिए । उनीहरू सबै त्यतिबेला उच्च ओहोदामा रहेका व्यक्ति थिए । 

एथलेटिक्स मात्र होइन, त्यतिबेला भर्खरै बामे सर्दै गरेको नेपाली खेलकुदको विकासमा उनीहरूले महत्त्वपूर्ण योगदान गरेका थिए । पञ्चायतकालमा पनि खेलकुदमा राजनीतिको गहिरो प्रभाव थियो । राजपरिवारका सदस्य प्रत्यक्ष रूपमा खेलकुदसँग जोडिन्थे । 

युवा र विद्यार्थीको ध्यान खेलकुदतर्फ मोडन सकियो भने उनीहरू राजनीतिबाट टाढा रहनेछन् भन्ने बुझाइ थियो । त्यसैले त्यतिबेला ‘विद्यार्थी खेल मण्डल’जस्ता संस्था पनि खोलिएका थिए । खेलकुद क्षेत्रमा लगानी पनि राम्रै गरिन्थ्यो । 

निकै पछिसम्म राजपरिवारका सदस्य नेपाली खेलकुदको संरक्षकका रूपमा प्रावधान थियो । देशमा २०४६ सालको परिवर्तनपछि पनि राजपरिवारकै सदस्य राष्ट्रिय खेलकुद परिषद्को संरक्षक हुन्थे । देशमा गणतन्त्र आएपछि भने प्रधानमन्त्री परिषद्को संरक्षक बन्ने परम्परा सुरु भएको हो । 

  • स्वार्थ थियो, हस्तक्षेप थिएन 

पञ्चायती व्यवस्थामा खेलकुद क्षेत्रमा प्रत्यक्ष राजनीतिक हस्तक्षेप खासै थिएन । राजपरिवार र व्यवस्थाको भने विरोध गर्न पाइँदैनथ्यो । यसतर्फ सरकारी अधिकारी निकै सचेत थिए । विरोध गर्नेहरूलाई रसातलमा पु¥याइन्थ्यो । 

तर, पञ्चायती व्यवस्थामा नेपाली खेलकुदमा ‘खेल राजनीति’को कसरत भने निकै हुन्थ्यो । खासमा पञ्चायती व्यवस्थाका हिमायती युवा वर्ग राजनीतिमा सक्रिय नहोऊन् भन्ने चाहन्थे । उनीहरू युवा वर्गको ध्यान राजनीतिभन्दा पनि खेलकुदतर्फ मोड्न चाहन्थे ।

युवा र विद्यार्थीको ध्यान खेलकुदतर्फ मोडन सकियो भने उनीहरू राजनीतिबाट टाढा रहनेछन् भन्ने बुझाइ थियो । त्यसैले त्यतिबेला ‘विद्यार्थी खेल मण्डल’जस्ता संस्था पनि खोलिएका थिए । खेलकुद क्षेत्रमा लगानी पनि राम्रै गरिन्थ्यो । 

त्यतिबेला खेलकुदको नेतृत्वकर्ता पनि निकै चतुर थिए । उनीहरू दरबारलाई खुसी पारेर खेलकुदमा पर्याप्त बजेट ल्याउँथे । त्यसैको प्रतिफल हो, पञ्चायतकालमा खेलकुदका पूर्वाधार पनि निकै तयार भएका थिए । प्रत्येक जिल्लामा बहुउद्देश्यीय कभर्डहल र खेल मैदान बनाइएको थियो ।

अधिकांश जिल्लामा अहिले पनि खेलकुदको त्यही पूर्वाधार प्रयोगमा आइरहेका छन् । दक्षिण एसियाली महासङ्घीय खेलकुद प्रतियोगिता (साफ) को योजनाकार पनि नेपाल नै हो । दक्षिण एसियाकै सबैभन्दा ठुलो यो प्रतियोगिताको बिउ पनि पञ्चायतकालमै रोपिएको हो ।

त्यसैले साफ खेलकुदको पहिलो संस्करण पनि नेपालमै आयोजना भएको थियो । देशको सबैभन्दा ठुलो बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिता पनि पञ्चायतकालमै सुरु भएको हो । त्यतिबेला अन्तरनगर खेलकुद आयोजना हुन्थ्यो । 

२०४६ सालको राजनीतिक परिवर्तनसँगै देशमा बहुदलीय व्यवस्थाको उदय भयो । यसबाट नेपाली खेलकुद क्षेत्र पनि उत्साही बन्यो । खेल क्षेत्रमा सक्रिय व्यक्तिहरूमा नेपाली खेलकुदको आयाम अझ फराकिलो बन्दै जाने विश्वास पनि पलायो ।

राजपरिवारका सदस्यहरू खेलाडीको हौसला बढाउन खेल मैदानसम्मै पुग्थे । त्यसैले नेपाली खेलकुदमा अहिले पनि त्यो समयलाई ‘स्वर्ण युग’को रूपमा हेरिन्छ । यसका बाबजुद खेलकुदमा यति धेरै लगानी गरिनुको पछाडि पञ्चायती व्यवस्थाका हिमायतीको आफ्नै स्वार्थ थियो । 

उनीहरू देशको सबैभन्दा ऊर्जाशील वर्ग युवालाई राजनीतिबाट टाढा राख्न चाहन्थे । युवा वर्गबाट पञ्चायतविरोधी गतिविधि सञ्चालन नहोस् भन्ने उनीहरूको उद्देश्य थियो । समग्रमा त्यतिबेला खेलकुदमा प्रत्यक्ष राजनीतिक हस्तक्षेप थिएन, तर पञ्चायती शासकहरू ‘खेल राजनीति’मा भने खप्पिस थिए । 

यद्यपि, त्यतिबेला पनि खेलकुद क्षेत्रलाई प्रयोग गरेर केही प्रभावशाली व्यक्तिले सत्ता र शक्तिको आडमा गलत गतिविधि गरेको आरोप भने बेला–बखतमा लाग्ने गरेको थियो । 

  • प्रत्यक्ष राजनीतिक हस्तक्षेप

२०४६ सालको राजनीतिक परिवर्तनसँगै देशमा बहुदलीय व्यवस्थाको उदय भयो । यसबाट नेपाली खेलकुद क्षेत्र पनि उत्साही बन्यो । खेल क्षेत्रमा सक्रिय व्यक्तिहरूमा नेपाली खेलकुदको आयाम अझ फराकिलो बन्दै जाने विश्वास पनि पलायो ।

देशमा बहुदलीय व्यवस्थाको आगमनपछि पनि खेलकुद क्षेत्रमा खासै परिवर्तन आउन सकेन । खेलकुद क्षेत्रलाई चलायमान बनाउने स्पष्ट नीति आएन । नेपाली खेलकुदमा ‘खेलकुद राजनीति’भन्दा पनि प्रत्यक्ष राजनीतिक हस्तक्षेप बढ्न थाल्यो ।

नेपाली खेलकुदलाई राजनीतिक दलका कार्यकर्ताको भर्ती केन्द्रका रूपमा परिणत गर्न थालियो । जुन दल सरकारमा आयो, त्यही दलका कार्यकर्तालाई राजनीतिक नियुक्ति दिने स्थलको रूपमा विकास हुँदै गयो । जसले गर्दा राष्ट्रिय खेलकुद परिषद्मा खेलकुद गतिविधिभन्दा राजनीतिक गतिविधि बढी हुन थाल्यो ।

खासमा खेलकुद भनेको प्राविधिक क्षेत्र हो । अन्तर्राष्ट्रिय जगतमा देशको गौरव बढाउने प्रभावकारी माध्यम पनि हो । यति महत्त्वपूर्ण स्थानमा खेलकुद नबुझेका व्यक्तिहरूको हालिमुहाली बढ्न थाल्यो । खेलकुद सङ्घहरूमा पनि खेलकुद बुझेका व्यक्तिभन्दा राजनीतिक दलका कार्यकर्ताकै बाहुल्य रहन गयो ।

नेता–कार्यकर्ताका नाममा सीमित साधन–स्रोतको पनि व्यापक दोहन हुन थाल्यो । खेलकुद सङ्घहरू खेलाडी उत्पादन गर्ने र खेल गतिविधि सञ्चालन गर्नेभन्दा पनि दलका कार्यकर्ताबिच अस्वस्थ प्रतिस्पर्धा र बल प्रयोग गर्ने थलोको रूपमा विकास हुन पुग्यो । 

त्यसैको प्रतिफल हो, नेपाली खेलकुदमा खेल सङ्घहरूको संख्या निकै बढ्न पुग्यो । राजनीतिक दबाबको भरमा खेल सङ्घ स्थापना र दर्ता हुन थाले । नेपाली खेलकुदमा क्षमता र आवश्यकताभन्दा राजनीतिक स्वार्थ हाबी हुन पुग्यो । 

अन्तर्राष्ट्रिय प्रतियोगिताहरू खेल सङ्घका पदाधिकारी र राजनीतिक दलका कार्यकर्ताको विदेश भ्रमण गर्ने गतिलो माध्यमका रूपमा विकास हुँदै गयो । खेलकुद प्रतियोगिता सञ्चालन गर्ने नाममा राजनीतिक दलका कार्यकर्तालाई पैसा बाँड्ने परम्परा सुरु भयो । 

  • खेलकुदमा राजनीतिक अस्थिरताको असर

देशको हरेक क्षेत्रमा राजनीतिको प्रभाव हुन्छ । खेलकुद क्षेत्र पनि यसबाट अछुतो रहने कुरै भएन । जुन दल सरकारमा आयो, त्यही दलका नेता–कार्यकर्तालाई खेलकुद परिषद्को सदस्यसचिवका रूपमा नियुक्त गर्ने प्रचलन छ, नेपाली खेलकुदमा ।

खेलकुद क्षेत्रको नेतृत्व गर्ने व्यक्तिले खेलकुद बुझेको हुन आवश्यक छैन । अर्कोतिर नेपालको राजनीतिक कहिल्यै स्थिर हुन सकेन । छोटो समयमा सरकार फेरबदल हुने क्रम निरन्तर चलिरहन्छ । यसको प्रभाव खेलकुदमा पनि पर्छ । 

देशभित्र खेलकुद गतिविधि बढेका छन् । अन्तर्राष्ट्रिय सहभागिताको दायरा फराकिलो बन्दै गएको छ । क्रमशः अन्तर्राष्ट्रिय सफलताका कथा पनि लेखिँदै छन् ।

सदस्य–सचिव नियुक्त भएर आउने व्यक्ति आफैँलाई आफ्नो वास्तविक कार्यकाल थाहा हुँदैन । यस्तो स्थितिमा सदस्यसचिवहरू पनि ठोस कार्यक्रम बनाएर अघि बढ्न खासै रुचि देखाउँदैनन् । उनीहरू खेलकुद विकासभन्दा आफ्नो स्वार्थमा बढी केन्द्रित हुन्छन् ।

एउटा सदस्यसचिवले ल्याएको नीति–कार्यक्रम राम्रो भए पनि नयाँ आउने सदस्यसचिवले त्यसलाई निरन्तरता दिने चासो देखाउँदैन । विगतमा ल्याइएका भिजन ट्वान्टी–ट्वान्टी, नेपाली खेलकुदमा स्वर्ण काल, स्पोर्टस सिटीजस्ता कार्यक्रम कस्तो अवस्थामा छन् ? कसैलाई चासो हुँदैन । 

समग्रमा नेपाली खेलकुदमा न नयाँ कार्यक्रम आउँछन् न त पुराना कार्यक्रमलाई नै निरन्तरता दिइन्छ । अर्कोतिर खेलकुद क्षेत्रलाई हेर्ने सरकारी दृष्टिकोण पनि स्पष्ट छैन । अझै पनि खेलकुदलाई अनुत्पादक क्षेत्रकै रूपमा हेर्ने परम्परा छ । अन्तर्राष्ट्रिय जगत्मा खेलकुद अर्थतन्त्रले आफ्नो जरा फराकिलो बनाइरहँदा नेपालमा भने यसतर्फ सरकारको खासै ध्यान पुगेको पाइँदैन । 

  • आशा मरेको छैन, भविष्य उज्ज्वल छ

थुप्रै समस्याका बाबजुद नेपाली खेलकुदले पछिल्लो समय अन्तर्राष्ट्रिय जगत्मा आफ्नो प्रभाव विस्तार गर्दै लगेको छ । अन्तर्राष्ट्रिय जगत्सँग तादात्म्यता मिलाउन नसके पनि बदलिँदो समयसँगै नेपाली खेलकुद पनि क्रमशः अगाडि बढिरहेको छ ।

देशभित्र खेलकुद गतिविधि बढेका छन् । अन्तर्राष्ट्रिय सहभागिताको दायरा फराकिलो बन्दै गएको छ । क्रमशः अन्तर्राष्ट्रिय सफलताका कथा पनि लेखिँदै छन् । सुस्त रूपमै भए पनि नेपाली खेलकुदलाई समय सापेक्ष बनाउँदै लैजाने कार्य भइरहेका छन् । 

खेलकुदका भौतिक पूर्वाधार निर्माणमा सरकारले बिस्तारै चासो देखाउन थालेको छ । तल्लो स्तरसम्म खेलकुद गतिविधिले निरन्तरता पाउन थालेका छन् । खेलकुद क्षेत्र पनि देशको अर्थतन्त्रको बलियो खम्बा हो भन्ने अवधारणा विकास हुँदै गएको छ । 

खेलकुदलाई सामाजिक जीवनका विभिन्न पक्षसँग जोडेर अगाडि बढाउने योजना निर्माण भइरहेका छन् । खेलकुद सम्बन्धित ऐन, कानुन, नीति, नियम बन्ने क्रमले पनि निरन्तरता पाएको छ । पक्कै पनि यो नेपाली खेलकुदका लागि सुखद पक्ष हो । 

(खेलविज्ञ दिवाकरलाल अमात्यसँग रातोपाटीकर्मी रोशन राउतले गरेको संवादमा आधारित ।)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया