सुरक्षाको माग गर्दै छिन्नमस्ता गाउँपालिकाका कर्मचारीले बुझाए प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र
सारांश
- सप्तरीको छिन्नमस्ता गाउँपालिकाका कर्मचारीहरूले कार्यस्थलमा असुरक्षा बढेको भन्दै प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र बुझाएका छन् ।
- कर्मचारीहरूका अनुसार एक समूहले कार्यालयमा प्रवेश गरी हुलहुज्जत, तोडफोड र प्रमुख प्रशासकीय अधिकृतमाथि दुर्व्यवहार गरेका थिए ।
- कर्मचारीहरूले दोषीमाथि कारबाही र गाउँपालिकाको सुरक्षा व्यवस्था कडा पार्न माग गरेका छन् ।
सप्तरी । सप्तरीको छिन्नमस्ता गाउँपालिकाका कर्मचारीहरूले कार्यस्थलमा असुरक्षा बढेको भन्दै जिल्ला प्रशासन कार्यालय, सप्तरीमा ध्यानाकर्षण पत्र बुझाएका छन् ।
जेठ २० गते गाउँपालिका कार्यालयमा एक समूहबाट अराजक र उच्छृङ्खल गतिविधि भएको भन्दै उनीहरूले शान्ति सुरक्षा र दोषीमाथि कानुनी कारबाहीको मागसहित ध्यानाकर्षण पत्र बुझाएका हुन् ।
गाउँपालिकाका कर्मचारीहरूका अनुसार बुधबार एक समूहले कार्यालयमा प्रवेश गरी नियोजित रूपमा हुलहुज्जत र तोडफोड गरेका थिए । सो क्रममा उक्त समूहले सार्वजनिक सेवा प्रवाहमा अवरोध सिर्जना गर्नुका साथै गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत केशव कुमार झामाथि दुर्व्यवहार गरेको पत्रमा उल्लेख गरिएको छ । कर्मचारीहरूले प्रशासकीय अधिकृतलाई मानसिक दबाब दिने र कार्यालयको भौतिक सम्पत्तिमा समेत क्षति पुर्याइएको बताएका छन् ।
प्रमुख जिल्ला अधिकारीलाई सम्बोधन गरिएको उक्त पत्रमा यस प्रकारका गतिविधिले राष्ट्रसेवक कर्मचारीहरूको मनोबल कमजोर बनाएको र स्थानीय तहको सुशासन तथा कानुनी राज्यको अवधारणामाथि गम्भीर चुनौती खडा गरेको उल्लेख छ ।
यस्ता घटनालाई समयमै नियन्त्रण र कानुनी कारबाहीको दायरामा नल्याइए भविष्यमा सार्वजनिक संस्थामाथि थप आक्रमण र अराजकता बढ्न सक्ने जोखिम रहेको तर्फ कर्मचारीहरूले सचेत गराएका छन् ।
ध्यानाकर्षण पत्रमार्फत कर्मचारीहरूले घटनामा संलग्न मुख्य योजनाकार र अन्य व्यक्तिहरूको तत्काल पहिचान गरी प्रचलित कानुन बमोजिम कडा कारबाही गर्न माग गरेका छन् । त्यसैगरी, गाउँपालिका कार्यालय, जनप्रतिनिधि र कर्मचारीहरूको सुरक्षा सुनिश्चित गर्न आवश्यक सुरक्षा व्यवस्था र निगरानी बढाउन समेत उनीहरूले प्रशासनसँग आग्रह गरेका छन् ।
भविष्यमा यस्ता हिंसात्मक गतिविधि दोहोरिन नदिन सुरक्षा निकायमार्फत उच्च सतर्कता अपनाउन र विधिको शासन कायम गरी नागरिकमा विश्वास जगाउन कर्मचारीहरूले जोड दिएका छन् ।
छिन्नमस्ता गाउँपालिका विधिको शासन र लोकतान्त्रिक मूल्य मान्यताको पक्षमा दृढ रहेको स्पष्ट पार्दै उनीहरूले आवश्यक सहयोग र समन्वयका लागि प्रशासनसँग प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एआईले बनाएको ‘विश्वकै पहिलो’ खोपको सफल परीक्षण
-
बिदा सकिएर पनि कार्यक्षेत्रमा नफर्कने कर्मचारीलाई ३ दिनभित्र हाजिर नभए कारबाही गर्ने चेतावनी
-
हिमालय एअरलाइन्सद्वारा शेन्जेन–काठमाडौँ सिधा उडान सुरु, एकै दिन आए १७५ चिनियाँ पर्यटक (तस्बिरहरू)
-
आज पनि घट्यो सुनचाँदीको मूल्य
-
विद्युत् नियमन आयोगको अध्यक्षमा १० जनाको दरखास्त, सदस्यमा २२ जना
-
प्रधानमन्त्रीको राजीनामा माग्दै नेविसंघको प्रदर्शन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण