शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
बेथिति

गेटा आँखा अस्पतालमा कर्मचारी र प्रशासनबिच किन भइरहेको छ लडाइँ ?

शुक्रबार, २२ जेठ २०८३, ०८ : ००
शुक्रबार, २२ जेठ २०८३

सारांश

  • कैलालीको गेटा आँखा अस्पतालमा प्रशासन र कर्मचारीबीच सेवा-सुविधा र वृत्ति-विकासलाई लिएर विवाद छ ।
  • कर्मचारीहरूले महँगी भत्ता, आइतबारको बिदा कार्यान्वयन, र दरबन्दी सुनिश्चितताको माग राखेका छन् ।
  • विवाद समाधानको प्रयास भइरहेको प्रशासनको दाबी छ, तर कर्मचारीहरूले माग सम्बोधन नभएको भन्दै विरोध जारी राखेका छन् ।

धनगढी । कैलालीको गेटामा रहेको गेटा आँखा अस्पतालमा यतिबेला आन्तरिक विवाद बढेकाे छ । अस्पतालमा अहिले प्रशासन र कर्मचारीबिच विवाद देखिएको हो ।

नेपाल नेत्रज्योति संघअन्तर्गत सञ्चालित यो अस्पतालमा विवादको मुख्य जड सेवा–सुविधा र कर्मचारीको वृत्ति–विकाससँग जोडिएको बताइएको छ । वर्षौंदेखि इमानदारीपूर्वक काम गर्दै आएका कर्मचारीहरूले आफ्ना न्यूनतम माग पनि पूरा नभएको भन्दै आक्रोश पोखेका छन् ।

उनीहरूको मुख्य माग गत वर्षको बजेटमा वृद्धि गरिएको महँगी भत्ता उपलब्ध गराउनुपर्ने भन्ने छ । केन्द्रबाट निर्णय भइसकेको भत्तासमेत अस्पताल प्रशासनले रोकेर राखेको कर्मचारीको आरोप छ ।

नेपाल सरकारले आइतबार सार्वजनिक बिदा लागु गरेको तर गेटा आँखा अस्पतालमा कार्यान्वयन नभएको भन्दै कर्मचारीले आइतबार बिदा दिन वा सोबापत सट्टा बिदा र अतिरिक्त भत्ता दिनुपर्ने माग गरेका छन् ।

अस्पतालको संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओएनएम) गरी दरबन्दी र सेवा–सुविधा सुनिश्चित गर्नुपर्ने माग लामो समयदेखि ओझेलमा परेको कर्मचारीको गुनासो छ । लामो समयदेखि काम गर्दै आएका कर्मचारीलाई अहिले कामबाट समेत निकाल्न लागेको कर्मचारी ओपी रानाले जानकारी दिए ।

‘स्थानीय नियुक्ति भनेर राखेको कर्मचारीसमेत अहिले निकाल्न खोजिरहेका छन्, हामीले बिरामीलाई सेवा दिन कहिल्यै कञ्जुस्याइँ गरेनौँ । हाम्रो हकहितको कुरा आउँदा व्यवस्थापनले उल्टा हामीमाथि अन्याय गरेको हो,’ उनले भने ।

कर्मचारीहरूले आफ्ना माग सम्बोधन नभएको भन्दै जेठ ४ गते अस्पताल प्रमुखको कार्यकक्ष र प्रशासन शाखामा तालाबन्दी गरेका थिए । आफूहरूले विरोधका कार्यक्रम गर्दा पनि बिरामीको सेवा भने प्रभावित हुन नदिएको कर्मचारीहरुको भनाइ छ ।

प्रशासनले भने समस्या समाधान गर्नुको सट्टा आन्दोलन दबाउन कर्मचारीलाई मानसिक दबाब दिने, स्पष्टीकरण सोध्ने र प्रहरी–प्रशासन लगाएर तर्साउने काम गरेको कर्मचारीहरूको आरोप छ ।

कर्मचारीहरू न्यायका लागि राष्ट्रिय मानव अधिकार आयोगको सुदूरपश्चिम प्रदेश कार्यालयसमेत पुगेका छन् । आयोगले पनि यस विषयमा गम्भीर चासो देखाउँदै अस्पताल प्रशासनसँग जवाफ मागेको छ । आयोगका निमित्त प्रमुख मानबहादुर कार्कीका अनुसार अस्पतालले जबाफ पठाए पनि यो मूलतः आन्तरिक व्यवस्थापकीय विवादकै रूपमा देखिएको छ ।

यता अस्पतालका प्रमुख चिकित्सा निर्देशक डा. सुरेशराज पन्त भने विवाद समाधान भइसकेको जिकिर गर्छन् । केन्द्रबाट पत्र प्राप्त भइसकेकाले अब कुनै समस्या नरहेको उनको दाबी छ ।

‘संस्थाको नियम र मर्यादा पालना गराउनु प्रशासनको दायित्व हो, सोहीअनुसार स्पष्टीकरण मागिएको हो,’ उनले भने ।

प्रशासनको यो दाबीलाई कर्मचारीहरूले स्वीकार गरेका छैनन् । प्रशासनले कुरामात्र गर्ने तर व्यवहारमा केही नगर्ने परिपाटीले आफूहरुका समस्या वर्षौंदेखि जस्ताको तस्तै रहेको उनीहरुको भनाइ छ ।

गेटा आँखा अस्पतालमा देखिएको यो विवादले स्थानीयवासी र संस्थाका आजीवन सदस्यहरूलाई पनि चिन्तित बनाएको छ । मंगलबार त स्थानीयहरू नै अस्पताल पुगेर वास्तविकता बुझ्न प्रशासनलाई दबाब दिएका थिए । केहीबेर अस्पताल परिसर तनावग्रस्त समेत बन्यो ।

स्थानीय भरत खड्काका अनुसार यस्तो प्रतिष्ठित संस्थामा पटक–पटक विवाद हुनु दुःखद् कुरा हो ।

‘तल्लो र माथिल्लो तहका कर्मचारीबिच संवादको कमी देखिन्छ । यसलाई व्यवस्थापन समिति र नेत्रज्योति संघले बेलैमा नसुल्झाए अस्पतालको साख गिर्न सक्छ,’ उनले भने ।

अर्का स्थानीय गिरिराज भण्डारी पनि कर्मचारीमाथि हुने मानसिक दबाबले सेवा प्रवाहमा नकारात्मक असर पर्न सक्ने चेतावनी दिन्छन् । उनले यो समस्या सम्बोधन भएर छिटै अस्पतालमा सहज रुपमा सेवा सुचारु गर्न पनि सम्बन्धित निकायलाई अनुरोध गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सविता बुढा
सविता बुढा
लेखकबाट थप