कर्णालीका पूर्वमुख्यमन्त्री शर्माद्वारा संसद् अवरुद्ध
सारांश
- कर्णालीका पूर्वमुख्यमन्त्री राजकुमार शर्माले राष्ट्रियताको सवाल उठाउँदै संसद् अवरुद्ध गरेका छन् ।
- उनले केन्द्रमा प्रधानमन्त्रीले भारतको भूमिबारे दिएको अभिव्यक्तिको प्रदेश सभामा छलफल नभएको बताए ।
- शर्माको अडानपछि सभामुखले १५ मिनेटका लागि बैठक स्थगित गरेकी छन् ।
सुर्खेत । कर्णालीका पूर्वमुख्यमन्त्री राजकुमार शर्मा एक्लैले संसद् अवरुद्ध गरेका छन् । बुधबार संसदमा प्रस्तुत नीति तथा कार्यक्रममाथि छलफलका लागि बसेको आजको बैठकमा शर्माले सुरुमै राष्ट्रियताको सवाल उठाउँदै संसद् अवरुद्ध गरेका हुन् ।
केन्द्रमा प्रधानमन्त्री बालेन साहले भारतको भूमि पनि नेपालले मिचेको भनाइको विषयमा प्रदेश सभामा कुनै छलफल नभएको शर्माले बताए ।
‘हिजो अस्ति यस्ता राष्ट्रियताका विषयमा छलफल हुनुपर्थ्यो,’ उनले भने, ‘ तर हिजो एक्कासि छापामार शैलीमा नीति तथा कार्यक्रम ल्याइयो । राष्ट्र नै नरहेपछि केको नीति, कार्यक्रम ?’
नेकपाले कारबाही गरेपछि अदालत पुगेका शर्मालाई अदालतले प्रदेशसभा सदस्य नै कायम राखेको छ । सभामुख नन्दा गुरुङले सरकारको आधिकारिक धारणा आउने बताइरहे पनि शर्माले मानेनन् ।
३८ मिनेट संसदमा उभिएका शर्माले नमानेपछि सभामुख गुरुङले १५ मिनेटका लागि बैठक स्थगित गरिन् ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण