आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय

‘मानार्थ महारथी’ सैन्य डिप्लोमेसी कि परम्पराको निरन्तरता मात्रै ?

दशकौँ देखिको परम्पराले कति सुधार भयो आपसी सम्बन्ध ?
बिहीबार, २० कात्तिक २०७७, २० : १४
बिहीबार, २० कात्तिक २०७७

काठमाडौं । तीन दिने नेपाल भ्रमणका रहेका भारतीय स्थल सेनाध्यक्ष जनरल मनोज मुकुन्द नरवणे नेपाली सेनाको ‘मानार्थ महारथी’ बनेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले नरवणेलाई नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी प्रदान गरेकी छिन् । नरवणे नेपाली सेनाको मानार्थ महारथी पाउने १८ औं भारतीय स्थल सेनाध्यक्ष हुन् ।

दशकौँदेखि परम्परा धान्ने नाममा यस्तो अभ्यास जारी रहे पनि दुई देशबीचको सम्बन्धमा बारम्बार उतारचढाव आउने गरेको छ । कतिसम्म भने, नेपाली भूभाग कालापानीमा भारतीय सेनाले क्याम्प नै खडा गरेको छ । भारतीय सेनाको क्याम्प आसपास नेपाली नागरिकको त परै जाओस्, हाम्रा सुरक्षाकर्मीको समेत पहुँच छैन ।

परम्परा धान्नकै लागि एक अर्का मुलुकका सेना प्रमुखलाई मानार्थ महारथीको दर्जा दिइरहने तर समस्या ज्यूँका त्यूँ रहने हो भने यस्तो परम्परालाई किन निरन्तरता दिइरहनु भन्ने प्रश्न स्वाभाविक रुपमा उठ्न थालेको छ । दुई पटकसम्म नाकाबन्दी, लामो समयदेखि अल्झिएको सीमा विवाद र भारतीय सेना प्रमुखबाटै सीमा सम्बन्धमा विवादास्पद अभिव्यक्तिका बाबजुद दुई देशबीचको यस खालको सैन्य सम्बन्ध र परम्पराले आपसी सम्बन्धलाई कति सुधार गरेको छ भन्ने प्रश्न पनि आफैमा महत्वपूर्ण छ । भारतीय स्थल सेनाध्यक्ष नेपाली सेनाको पनि मानार्थ महारथी भएकै कारण हामीले कालापानीमा भारतीय सेनालाई परेड खेल्न दिनु परेको हो त ? होइन भने यो परम्पराले एक अर्को मुलुकको सार्वभौमिकता, आत्मसम्मानलाई कति महत्व दिएको छ भन्नेबारे पनि मूल्यांकन गर्नुपर्ने समय आइसकेको देखिन्छ ।

सुरक्षा मामलाका जानकार इन्द्र अधिकारी सेनामा मानार्थको परम्परा ब्रिटिसहरुकैै पालामा सुरु भएर आधुनिक भारत र नेपालले सहमतिमै निरन्तरता दिएको बताउँछिन् । यसरी परम्पराहरुले निरन्तरता पाउनुमा दुवै देश लाभान्वित भएका छन् भनेर बुझ्नुपर्ने उनको भनाइ छ । सैन्य कुटनीतिकै अवधारणाको कुरा गर्ने हो भने पनि अरु देशमा सैन्य कुटनीतिको अवधारणाले काम गर्छ तर नेपाल र भारतबीचको सम्बन्धलाई सैन्य कुटनीतिभन्दा पनि सैन्य भ्रातृत्वको सम्बन्धजसरी विकसित भएको उनले बताइन् ।

‘भारतले नेपालमा लगाएको नाकाबन्दी र जसलाई हामीले मानार्थ महारथी दियौँ, उनले केही समयअघि सीमाबारे दिएको अभिव्यक्तिका कुरा पनि नभएका होइनन्,’ उनले भनिन्, ‘नाकाबन्दीका बेलामा हाम्रा थुप्रै कुटनीतिक च्यानलहरु प्रयोग भएका थिए तर ती च्यानलहरुसँगै सैन्य च्यानल पनि प्रयोग भएको थियो ।’

त्यसबेला सैन्य च्यानल नै प्रभावकारी र विश्वसनीय देखिएको र त्यसैको परिणामस्वरुप नाकाबन्दी खुलेको उनले बताइन् । नेपाली सेनाले भारतीय सेना हुँदै त्यहाँको सरकारसँग पु¥याएको कुराले अर्थ राख्ने गर्छ भनेर यसबाट पनि बुझन् सकिने उनको भनाइ छ । ‘जहाँसम्म नरवणेको प्रसंग छ, उनले नेपाल–भारत सीमाबारे दिएको अभिव्यक्तिको कुरा छ, त्यो गैरजिम्मेवार र अमर्यादित थियो । उनी हाम्रा मानार्थ जनरल हुँदै थिए,’ उनले भनिन्, ‘त्यो पनि को भन्दा एक सैन्य अधिकारी, जो उनले पेशागत भन्दा बाहिर गएर राजनीतिक प्रतिकृया दिएका थिए, त्यो शोभनीय थिएन ।’ तर आज उनले त्यो कुरा रियलाइज गरेर आएको हुनुपर्ने सैन्यविद अधिकारीको विश्वास छ । ‘नेपालको सम्बन्धमा गैरपेशागत वक्तव्यवाजी गर्ने भारतीय सेनाप्रमुखलाई नेपालले किन स्वागत ग¥यो भन्ने एउटा प्रश्न रहन्छ,’ उनले भनिन्, ‘तर त्यो प्रश्न भनेको छोटो विचारबाट निर्देशत हुन्छ । किनभने डिप्लोमेसीमा जसरी राजनीतिज्ञहरु अलिकति फाइदा लिनु छ भने लचक्क पर्ने र चित्त दुख्दा ठसक्क गर्ने गर्दा सम्वन्ध सुधारको साटो बिग्रने गर्छ । तर सेनाले राजनीतिक वक्तव्यवाजी गर्दैन, यद्यपि नरवणेले गरे । त्यो हाम्रा लागि प्रतिकृयात्मक पनि भयो ।’

सायद उनको यो उपस्थिति त्यसैको रियलाइजेसन र कोर्स करेक्सन गर्ने मौका हो भन्ने आफ्नो बुझाइ रहेको उनले बताइन् । ‘जस्तो कि, हाम्रो नेपाल आर्मीले त्यही ढंगको प्रतिकृया किन दिएन त ? भन्दा नेपाल आर्मीले आफ्नो पेशागत मर्यादा बुझ्यो र त्यस्तो वक्तव्यवाजी गरेन,’ उनले भनिन्, ‘सीमाकै विषयमा पनि एक वर्षदेखि नेपाल र भारतबीच कुटनीतिक वार्ता किन हुन सकेन त ? हालै रअ प्रमुख पनि आए, त्यसबारेमा पनि हामीले विवादास्पद कुरा ग¥यौँ, तर उनी यिनै नरवणेको भ्रमणका लागि भूमिका बनाउन आएका थिए ।’

यस्तो बेलामा नेपालले आफ्नो अडान प्रस्तुत गर्ने अवसरका रुपमा लिनुपर्ने उनले प्रस्ट पारिन् । सैनिक इतिहासका जानकारहरुका अनुसार राणा प्रधानमन्त्री वीर शमशेरको पालामा दुई देशबीच सेनामा ‘मानार्थ’ दिने चलन शुरु गरिएको थियो । सेनाका अवकाश प्राप्त सहायकरथी प्रेमसिंह बस्न्यातका अनुसार तत्कालीन ब्रिटिस इन्डियाले वीर शमशेरलाई ‘लेफ्टीनेन्ट कर्णेल’को सम्मान दिएको थियो । त्यसपछि, सो परम्परा सुरु भएको उनले बताए ।

सन्, १८१५ मे १५ मा बडाकाजी अमरसिंह थापा र डेविड अक्टर लोहनीका बीचमा ‘ब्रिटिस आर्मीमा भर्नाका लागि बहालवाला नेपाली सेना र कुनै पनि नेपाली नागरिकलाई नरोक्ने’ सम्झौता भयो । तर, जंगबहादुरले सो सम्झौता तोडेर ब्रिटिस सेनामा भर्ना हुन रोक लगाए । जंगबहादुरका भाई रणदीपले पनि नेपाली युवालाई ‘लाहुर’ जान रोक्ने नीतिलाई निरन्तरता दिएका थिए ।  

ब्रिटिस आर्मीमा भर्ना हुन जानुलाई त्यतिबेला ‘लाहुर जाने’ भनिन्थ्यो । पछि, वीर शमशेर सत्तामा पुगे । उनी तक्मा र पदका भोगी थिए । वीर शमसेरलाई मानार्थको सम्मान दिएर ब्रिटिस इन्डियाले नेपाली युवालाई ब्रिटिस आर्मीमा भर्ना खुल्ला गर्नेगरी नेपालको ‘परराष्ट्र नीति’ नै परिवर्तन गराएको बताउँछन् पूर्व सहायकरथी बस्न्यात ।  नेपालले पनि ब्रिटिस आर्मीलाई मानार्थ जर्नेलको सम्मान दिन थाल्यो । यसरी,  नेपालको परराष्ट्र मामलामा कन्ट्रोल गर्न र लाहुरे भर्ना लिन ब्रिटिस इन्डियाले सुरु गरेको परम्पराको निरन्तार हो ‘मानार्थ महारथी’को सम्मान ।

सैन्य डिप्लोमेसी 

नेपाली सेनाले छिमेकी राष्ट्रका उच्च पदस्थ सैनिक अधिकारीहरुको भ्रमणले दुई देशबीचको सैनिक सम्बन्धलाई सुमधुर र बृहत्तर पार्न मद्दत पुग्ने भन्दै परम्परालाई निरन्तरता दिँदै आएको छ ।  नेपाल भ्रमणमा रहेका भारतीय सैन्य प्रमुख नरवणेले नेपाल–भारत सीमा विवादमा विवादास्पद अभिव्यक्ति दिएपछि नागरिकस्तरबाट उनलाई ‘मानार्थ महारथी’को सम्मान दिन नहुने माग उठेको थियो ।  तर, देहरादुनस्थित ‘भारतीय सैनिक एकेडेमी’को एक कार्यक्रममा नरवणेले सो अभिव्यक्ति सच्याएको हुनाले उनलाई नेपाल भ्रमणमा बोलाउन प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधान सेनापति पूर्णचन्द्र थापालाई भनेको नेपाली सेनाका एक उच्च अधिकृतले रातोपाटीलाई बताए । 

‘मानार्थ महारथीको सम्मान सैन्य डिप्लोमेसी अन्तर्गत हो,’ नेपाली सेनाबाट अवकाश पाएका सहायकरथी उमेश भट्टराई भन्छन्, ‘सैन्य डिप्लोमेसी आईसोलेशनमा हुँदैन, किनकि सेना भनेको कुनै पनि राष्ट्रको बलियो संगठन हो ।’ 
सैनिक संगठनले राजनीतिमा मल्टिप्लेयर भूमिका खेल्ने हुनाले समग्र राष्ट्रको डिप्लोमेसीमा यसको भूमिका हुन्छ । नरवणेको भ्रमणले नेपाल–भारत सम्बन्ध राम्रो बनाउन भूमिका खेल्ने बताउँछन् पूर्व सहायकरथी भट्टराई । उनी भन्छन्, ‘तर, नेपालको सन्दर्भमा सैन्य डिप्लोमेसी नै सबैकुरा होइन, राष्ट्रिय कुटनीतिको सप्लीमेन्ट्री पार्टमात्र हो ।’ 

दिल्लीसँग संवादको ढोका 

लिपुलेक र कालापानीबाट मानसरोवर जाने बाटो भारतले नेपाली भूमि मिचेर बनाएपछि नेपाल र भारतबीच सीमा विवाद चर्किएको छ । राजनीतिक तहमा दुई देशबीच त्यसबारे संवाद हुन सकेको छैन । कालापानीमा भारतीय सेना तैनाथ रहेको भन्दै नेपाली नागरिकले विरोध गर्दै आएका छन् । तर नेपाली सेनाको मानार्थ महारथी दर्जा पाएपछि नरवणेले नेपाली जनताको उक्त भावनालाई कसरी हेर्लान् भन्ने प्रश्न पनि अनुत्तरित नै छ ।

नरवणेको नेपाल भ्रमणले दुई देशबीचको संवादहीनता अन्त्य गर्दै राजनीतिक तहमा संवाद गर्ने बाटो खुल्ने सैन्य जानकारहरु बताउँछन् । यस्तो भ्रमण आफ्नो राष्ट्रहितको कुरा राख्ने अवसर भएको बताउँछन् नेपाली सेनाका अवकाश प्राप्त उपरथी बिनोज बस्नेत । 

‘नेपालको राष्ट्रिय हितमा र कालापानीमा भारतीय सेना खटाएको सम्बन्धमा नेपालका प्रधानसेनापतिले कुरा राख्ने अवसर हो,’ पूर्व उपरथी बस्नेत भन्छन्, ‘अन्तिम निर्णय गर्ने सरकारले हो, तर सैन्य नेतृत्वले चासो राखेर सो कुरा भारतीय नेतृत्वसम्म पु¥याउने अवसर हो ।’

यद्यपि दशकौँदेखि नेपालको कालापानी क्षेत्रमा भारतीय सैनिक तैनाथ छ । त्यहाँ नेपाली नागरिकको पहुँचसमेत छैन । यस अवधिमा कयौँ भारतीय स्थल सेनाध्यक्षले नेपाली सेनाको मानार्थ महारथीको दर्जा पाए भने नेपालका कयौँ प्रधान सेनापतिले भारतीय सेनाबाट पनि यस्तो सम्मान पाइसकेका छन् । यद्यपि आजसम्म कालापानीको विषय किन समाधान हुन सकेन भन्ने प्रश्न अनुत्तरित नै छ ।

‘मानार्थ महारथी’को सम्मान सहित भएको भारतीय सेनाध्यक्षको भ्रमणमा दुई देशका सेनाले एक–अर्काको नाडी छाम्न सक्ने बताउँछन् नेपाली सेनाका पूर्व सहायकरथी उमेश भट्टराई ।  ‘नरवणेको भ्रमणले सीमा विवादमा राजनीतिक तहमा कुरा गर्ने ढोका खोल्न सक्छ,’ भट्टराई भन्छन्, ‘तर, निर्णय गर्ने भनेको कार्यकारीले नै हो, सेनाध्यक्षसँगको संवादले वातावरण सहज बनाउनेमात्र हो ।’

दुई देशबीचको सैनिक परम्परा 

तत्कालीन भारतीय सेनाध्यक्ष जनरल केएम करिअप्पाले नेपालमा आएर पहिलो मानार्थ महारथीको सम्मान लिएका थिए । भारतका सेनाध्यक्ष राजेन्द्र सिंहजी जडेजा, सत्वन्त मल्ल्ना (एमएम) श्रीनागोस, कोडान्डेरा सुबर्या थिमैया, प्राणनाथ थापार, जयन्तनाथ चौधरी र विपीन रावतले मानार्थ महारथीको सम्मान लिइसकेका छन् ।

तत्कालीन राजा त्रिभुवन र महेन्द्रले भारतीय सैनिकको मानार्थ जनरलको सम्मान लिए । १९६९ मा प्रधान सेनापति सुरेन्द्रबहादुर शाहले पहिलोपटक भारतीय सेनाको मानार्थ सेनाध्यक्षको दर्ज्यानी चिन्ह लगाएका थिए ।  नेपालका तत्कालीन प्रधान सेनापतिहरु सिंहबहादुर बस्न्यात, गुण शमशेर जबरा, सिंहप्रताप शाह, अर्जुननरसिंह राणा, गडुल शमशेर जबरा, धर्मपालवरसिंह थापा, प्रज्वल शमशेर जबरा, प्यारजंग थापा, रुक्माङ्गद कटवाल, छत्रमानसिंह गुरुङ, गौरव शमशेर जवरा, राजेन्द्र क्षेत्री र पूर्णचन्द्र थापा समेत १४ जनाले भारतीय सैनिकको मानार्थ सेनाध्यक्षको सम्मान पाएका छन् ।

मानार्थ महारथी सम्मानस्वरुप दिइने पद्वी हो, जसको कार्यकारी भूमिका हुँदैन । ‘हाम्रो सम्बन्ध राम्रो छ भनेर देखाएको हो,’ पूर्व सहायकरथी उमेश भट्टराई भन्छन्, ‘हाम्रो राष्ट्रका लागि राम्रो भूमिका खेल्ने र राम्रो सोच राख्ने जसलाई दिए पनि हुन्छ, एउटा सद्भावबाहेक केही पनि होइन ।’
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजेश भण्डारी
राजेश भण्डारी

भण्डारी रातोपाटीका लागि सुरक्षा/अपराध बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप