बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय
सत्ता राजनीति

प्रधानमन्त्री बन्न माधवको ‘मुभ’, सत्तामा फर्किन कांग्रेसका तीन ‘कार्ड’

बुधबार, १९ वैशाख २०८१, १९ : ४१
बुधबार, १९ वैशाख २०८१

काठमाडौँ । नेकपा एमालेसहितको सत्ता समीकरण बनेको दिनदेखि नै उत्पन्न आशङ्का र अविश्वासले नयाँ कोर्स लिने सङ्केत देखिएको छ । एमाले–कांग्रेस सत्ता समीकरण बन्न खोजेको चर्चाका बिच एकीकृत समाजवादी रणनीतिक रूपमा ‘मुभ’ हुन खोजेको छ ।

एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल प्रधानमन्त्री बन्ने परिस्थिति निर्माणको प्रयासमा जुटेको पाइएको हो । एमाले अध्यक्ष केपी शर्मा ओलीको इसाराले सशङ्कित बनेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अगाडि बढ्न ‘ग्रीन सिग्नल’ दिएको स्रोतको दाबी छ ।

गत चैत ३० मा प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिँदा एमाले अध्यक्ष ओलीले संसदबाटै कांग्रेस सभापति शेरबहादुर देउवालाई संवादको निम्तो दिएका थिए । गत वैशाख १० मा नेकपाको ७५ स्थापना दिवसमा पनि ओलीले ‘सहारा दिन्छु’ भन्दै सहकार्यका लागि तयार रहेको सन्देश दिए ।

देउवालाई ‘मेरा प्रिय मित्र’ भन्दै ओलीले व्यङ्ग्यात्मक शैलीमा सहकार्यको सङ्केत गरेको देखिन्थ्यो । ‘मेरा आदरणीय मित्र शेरबहादुर देउवाजी । विपक्षी दलका नेता, पूर्वप्रधानमन्त्री । पूर्वप्रधानमन्त्री पनि पाँच पटक जति भन्नुपर्छ, पूर्वपूर्व भनेर..... । काफी धेरै पटक प्रधानमन्त्री भइसक्नुभो । अहिले पनि जोस तगडै छ । यसो समातेर सिँढीबाट साथ दिन्छुभन्दा पर्दैन, म सक्छु भन्नुहुन्छ । जे होस् जवान जोस छँदैछ,’ ओलीको भनाइ थियो ।

ओलीले देउवालाई गरेको सहकार्यको शाब्दिक इसाराले माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्डको मनमा चिसो पसेको देखिन्थ्यो । प्रचण्डले सम्बोधनका क्रममा ओलीप्रति विश्वस्त रहेको भनाइ तीन पटक व्यक्त गरेका थिए ।

गठबन्धनकै मुख्यघटक एमाले कांग्रेससँग संवादमा रहेको सूचना पाएपछि प्रचण्ड झस्किएका छन् । प्रचण्डले पुरानै गठबन्धन (कांग्रेस–माओवादी)मा फर्किने मनस्थिति बनाइसकेको जनता समाजवादी पार्टी (जसपा) नेपालका एक नेताले रातोपाटीलाई बताए ।

‘गठबन्धनको विषयमा प्रचण्डजी र माधवजीबिच गम्भीर छलफल भइरहेको छ,’ जसपा स्रोतले भन्यो, ‘त्यही अनुसार एकीकृत समाजवादी पार्टीका नेताहरू मुभ भएको हामीले पाएका छौँ । एकीकृत समाजवादीका नेताहरूले कांग्रेस र हामीहरूसँग नियमितजसो संवाद गरिराख्नु भएको छ ।’

ती नेताका अनुसार सत्ता राजनीति ‘सेफ ल्याण्ड’का लागि प्रधानमन्त्री प्रचण्ड एकीकृत समाजवादीका अध्यक्ष नेपाललाई प्रधानमन्त्री बनाएर कांग्रेससहितको गठबन्धन बनाउन लचक देखिन्छन् ।

वर्तमान गठबन्धनमा नेपाललाई प्रधानमन्त्री बनाउन एमाले अध्यक्ष ओली सकारात्मक नदेखिएपछि नयाँ तरिकाबाट छलफल सुरु भएको नेताहरू बताउँछन् । एकीकृत समाजवादीका नेताहरूले प्रधानमन्त्रीमा आलोपालोको सहमति भएको बताएपछि ओलीले संसदमै खण्डन गरेका थिए ।

आफूहरूसँग गरिएका सहमति र बाचा कार्यान्वयनमा ओली अनुदार बनेको एकीकृत समाजवादीको निष्कर्ष छ । यसको सङ्केत अध्यक्ष नेपाल स्वयंले वैशाख १७ गते सार्वजनिक रुपमै गरेका थिए ।

एमाले अध्यक्ष ओलीलाई लक्षित गर्दै एकीकृत समाजवादीका अध्यक्ष नेपालले आफू प्रधानमन्त्री बन्ने कुराले कतिपयलाई पोल्ने गरेका बताएका थिए । ‘हामी प्रधानमन्त्री बन्छौँ भनेर कतिपयलाई पोल्न थालेको छ । कतै प्रधानमन्त्री बनिहाल्छ कि भनेर पोल्न थालेको छ । पोल्ने मान्छेहरू पनि छन् यो समाजमा, पोले पोलोस्, दनदनी आगोले पोलोस्, त्यस्ता प्रवृत्ति बोक्नेहरूलाई धिक्कार छ । त्यो भएकाले परिस्थिति हाम्रो अनुकूल बनाउने कुरामा ध्यान जानुपर्छ,’ उनको भनाइ थियो ।

त्यसपछि १८ गते प्रधानमन्त्री प्रचण्डले नेपाललाई बालुवाटार बोलाएर अगाडि बढ्न ‘ग्रीन सिग्नल’ दिएको स्रोतको दाबी छ । प्रधानमन्त्री प्रचण्डलाई विश्वासमा लिएर एकीकृत समाजवादीले वैकल्पिक गठबन्धनका लागि अग्रसरता लिएको देखिन्छ । प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष नेपालको चासोमा एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले भेटवार्तालाई तीव्रता दिएका छन् ।

पुरानो गठबन्धन बिउँताएर माधव नेपाललाई प्रधानमन्त्रीमा अगाडि सार्ने विषयमा मंगलबार सिंहदबारस्थित जसपाको संसदीय दलको कार्यालयमा पाण्डेले जसपाका एक शीर्ष नेतासँग भेटवार्ता गरेका थिए । जसपाका ती नेता र पाण्डेबिच मंगलबार दिउँसो पुरानो गठबन्धन बिउँताउने विषयमा छलफल भए पनि जसपा अध्यक्ष उपेन्द्र यादव अमेरिका भ्रमणमा रहेकाले निष्कर्ष निस्किएन ।

‘ओलीजी माधव नेपाललाई प्रधानमन्त्री बनाउन बाधक बन्ने देखियो । त्यसैले उपयुक्त समयमा हामीले सरकार छोड्छौँ । जसपा पनि हामीसँग बाहिरिँदा सरकार अल्पमतमा पर्छ,’ एकीकृत समाजवादीका एक नेताले भने, ‘त्यसपछि नयाँ ढङ्गले कोर्स अगाडि बढ्छ । पुरानो गठबन्धन बिउँताएर जान प्रचण्डजी पनि तयार देखिनु भएको छ ।’

प्रधानमन्त्री प्रचण्डले पुरानो गठबन्धन बिउँताउने सङ्केत गरेपछि एकीकृत समाजवादीले जसपाको साथ खोजेको देखिन्छ । अध्यक्ष यादव अमेरिकाबाट फर्केपछि एकीकृत समाजवादीलाई ठोस जवाफ दिने जसापाका नेताहरू बताउँछन् । मंगलबारको छलफलमा पनि जसपाका तीन नेताले पाण्डेलाई सोही आशयको जवाफ दिएका थिए ।

सत्तामा फर्किन कांग्रेसका तीन कार्ड

यता कांग्रेसले पनि सत्ता समीकरण भत्काउन तीन कार्ड प्रयोग गरिरहेको छ । फागुन २१ मा प्रधानमन्त्री प्रचण्डले एमालेसहितको समीकरण बनाएपछि विपक्षी कित्तामा पुगेको कांग्रेसले सत्तामा फर्किन तीन कार्ड अगाडि सारेको हो ।

कांग्रेसको शेखर कोइराला–गगन थापा समूह कांग्रेस–एमाले सत्ता सहकार्यका लागि काफी तागत लगाइराखेको छ । नेता कोइराला, महामन्त्री थापा, नेता मिनेन्द्र रिजाल, गोविन्द पोखरेल लगायतले एमालेका नेताहरूसँग संवाद गरिरहेका छन् । उनीहरूले एमाले अध्यक्ष ओलीका साथै दोस्रो तहका नेतासँग पनि संवाद गरिरहेका छन् ।

केही दिनअघि ओलीलाई भेटका कांग्रेस नेता रोमी गौचनले एमालेसँग सत्ता सहकार्यका लागि संवाद भइरहेको बताए । संविधान संशोधनको एजेण्डासहित कांग्रेस र एमाले एक ठाउँमा आउने कोसिस भइरहेको देखिन्छ । नेता कोइरालाले संविधान संशोधन गर्न दुई तिहाइ आवश्यक पर्ने भन्दै कांग्रेस र एमाले मिल्नुको विकल्प नभएको बताए ।

‘कांग्रेस र एमाले मिलेकै कारण संविधान सभाबाट संविधान जारी भयो । अब देशलाई केन्द्रबिन्दुमा राखेर दुई वटा दल मिल्नुपर्छ । स्थिरताका लागि निर्वाचन प्रणाली संशोधन गर्नुपर्छ,’ कोइरालाले रातोपाटीसँग भने ।

संविधान संशोधनका लागि कांग्रेस र एमाले मिल्नुपर्नेमा महामन्त्री थापाको पनि जोड छ । एमालेका नेतासँग थापाले संवाद पनि गरिरहेका छन् । कांग्रेसका नेताहरूसँगको संवादमा प्रदेश सभाबाट समानुपातिक हटाएर मुख्यमन्त्री प्रत्यक्ष निर्वाचनबाट चयन गर्ने र प्रतिनिधि सभाका समानुपातिकलाई राष्ट्रिय सभामा राख्ने तथा राष्ट्रिय सभाको अध्यक्षता उपराष्ट्रपतिलाई गर्न लगाउने गरी संविधान संशोधन गर्ने प्रस्ताव एमालेको रहेको स्रोतले दाबी छ ।

समानुपातिक निर्वाचन प्रणाली हटाउने विषयमा कांग्रेस र एमाले एकमत देखिएका छन् । तर, कार्यकारी प्रमुख प्रत्यक्ष चुनावबाट चयन गर्ने विषयमा फरक मत छ । देउवा र ओलीबिच सघन संवाद हुन नसकेकाले एमाले–कांग्रेस सहकार्यले मूर्तरुप बनाउन सकेको छैन ।

शेखर–गगनले एमालेसँगको सहकार्यमा जोड दिए पनि आजका दिनसम्म देउवा एमाले, माओवादी र रास्वपा बाहेकको सत्ता समीकरण बनाउन उपयुक्त हुने पक्षमा छन् । कांग्रेसका ८८, राप्रपाका १४, जसपाका १२, एकीकृत समाजवादीका १०, जनमतका ६, लोसपाका ४, नाउपाका ४, जनमोर्चाको १ गरी बहुमत पुग्ने देउवाको हिसाब छ ।

चैत अन्तिम साता एकीकृत समाजवादीका अध्यक्ष नेपालसँग छलफलपछि देउवाले एमाले, माओवादी र रास्वपाका बाहेकको वैकल्पिक गठबन्धन बनाउने कुरामा बढी ध्यान दिएको बुढानीलकण्ठ स्रोतले रातोपाटीलाई बतायो । ‘सभापतिजी एमाले, माओवादी र रास्वपा बाहेकको गठबन्धन बनाएर सत्तामा फर्किने कोसिसमा हुनुहुन्छ । भ्यागुत्ताको धार्नी पुर्‍याउनु जस्तै भए पनि सभापतिजीको ध्यान त्यसमै छ,’ ती नेताले भने ।

राष्ट्रियसभा कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद सिटौला माओवादीसहितको पुरानो गठबन्धन बिउँताउन प्रयत्न गरिरहेका छन् । सिटौलाले प्रधानमन्त्री प्रचण्डसँगको संवादलाई पछिल्लो समय तीव्रता दिएका छन् । प्रधानमन्त्री प्रचण्ड माधव नेपाललाई सरकारको नेतृत्व दिन सकारात्मक रहेकाले सिटौलाको संवादले सार्थकता पाउन सक्ने कांग्रेस नेताहरू बताउँछन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लोकेन्द्र भट्ट
लोकेन्द्र भट्ट

भट्ट रातोपाटीका लागि राजनीति तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् । 

लेखकबाट थप