आइतबार, २० जेठ २०८१
ताजा लोकप्रिय

११ उपमहानगरपालिकामा एमालेको शक्ति परीक्षण, ६ हजार १०९ जना मैदानमा

बुधबार, २१ वैशाख २०७९, १५ : २६
बुधबार, २१ वैशाख २०७९

वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा सत्तारुढ गठबन्धन तालमेलका गरेर चुनावी मैदानमा होमिदा प्रतिपक्षी दल नेकपा एमाले भने एकल उम्मेदवारीका साथ  मैदानमा खडा भएको छ । सत्ता गठबन्धनसँग एकल रूपमा खडा भएको एमालेलाई उपमहानगरपालिकामा यो निर्वाचन उसको शक्ति परीक्षणको रूपमा हेरिएको छ।  उसो त देशका ६ ​महानगरपालिकामध्ये ४ महानगरपालिकामा पनि एमाले एक्लै चुनावी मैदानमा छ । एमालेले भरतपुर र वीरगन्ज महानगरपालिकामा भने तालमेल गरेको छ । भरतपुरमा राप्रपा र वीरगन्जमा लोसपासँग तालमेल भए पनि उपमहानगरमा भने एमालेले कसैसँग तालमेल नगरेको हो ।

निर्वाचन आयोगका अनुसार ११ उपमहानगरपालिकामा सबै पार्टी र स्वतन्त्र गरी १८१ जनाको उम्मेदवारी परेको छ भने उपमेयरमा ११० जनाको उम्मेदवारी परेको छ । यस्तै मेयर र उपमेयरसहित सबै पदमा गरी कुल ६ हजार १०९ जनाको उम्मेदवारी परेको छ । तुलनात्मक रूपमा मधेस क्षेत्रमा उम्मेदवारी दिनेको चाप धेरै देखिन्छ ।

इटहरी र धरानमा काँग्रेसको नेतृत्वमा गठबन्धन

धरान उपमहानगरपालिकामा ४४७ जनाले उम्मेदवारी दिएका छन् । कुल २० वडा रहेको धरानमा सत्ता गठबन्धन रहेको छ भने सो उपमहानगरपालिकामा नेपाली काँग्रेसले मेयर र माओवादी केन्द्रले उपमेयर पद पाएको छ । धरानमा मेयर पदमा २० जनाको उम्मेदवारी परेको छ भने उपप्रमुखमा १० जनाको उम्मेदवारी परेको छ । धरानमा गठबन्धनबाट किशोर राई मेयर पदको उम्मेदवार रहेका छन् भने एमालेबाट मञ्जु भण्डारी सुवेदी रहेका छन् । यस्तै उपप्रमुखमा गठबन्धनबाट अइन्द्र विक्रम बेघा र एमालेबाट पदमप्रसाद लिम्बु उम्मेदवार रहेका छन् ।

यसैगरी इटहरी उपमहानगरपालिकामा कुल ४९३ जनाले उम्मेदवारी दर्ता गराएका छन् । सत्ता गठबन्धन रहेको इटहरीमा एमाले भने एक्लै चुनावी भिडन्तमा रहेको छ ।  गठबन्धनबाट काँग्रेसले मेयर उम्मेदवारी दिएको यो उपमहानगरपालिकामा एकीकृत समाजवादी पार्टीले उपमेयर पाएको छ ।

इटहरीमा मेयर पदमा १६ जनाको उम्मेदवारी परेको छ । जसमा काँग्रेसबाट हेमकर्ण पौडेल उम्मेदवार रहेका छन् । यसैगरी उपप्रमुखमा एकीकृत समाजवादीका केशव कुमार विष्टको उम्मेदवारी रहेको छ । यता एमालेबाट मेयर पदमा यामकुमार सुब्बाको उम्मेदवारी रहेको छ भने उपप्रमुखमा संगीता कुमारी चौधरीको उम्मेदवारी रहेको छ । इटहरीमा उपमेयर पदमा ७ जनाको उम्मेदवारी रहेको छ ।

जनकपुरधाम उपमहानगरपालिकामा १ हजार बढीको उम्मेदवारी

मधेस प्रदेशको राजधानी समेत रहेको जनकपुरधाम उपमहानगरपालिकामा १ हजार ३९ जनाले आफ्नो उम्मेदवारी दिएका छन् । जसमा मेयर पदमा मात्रै ३९ जनाले आफ्नो उम्मेदवारी दिएका छन् । यस्तै उपमेयरमा २७ जनाले उम्मेदवारी दिँदा स्वतन्त्र उम्मेदवारको लर्को नै लागेको छ । यो प्रदेशमा स्वतन्त्र उम्मेदवारको संख्या धेरै देखिन्छ ।

जनकपुरमा उपमहानगरपालिका सत्ता गठबन्धन बीच तालमेल रहेको छ । जसमा गठबन्धनबाट जसपाले मेयर र काँग्रेसले उपमेयर पाएको छ । मेयर र उपमेयरमा स्वतन्त्र उम्मेदवारी पनि उल्लेख्य परेको छ । जनकपुरमा एमालेबाट मेयरको उम्मेदवारमा शिवशंकर साह रहेका छन् भने उपमेयरमा रुणादेवी झा रहेकी छन् । यसैगरी सत्ता गठबन्धनबाट जसपाका लालकिशोर साह मेयरको उम्मेदवार रहेका छन् भने उपमेयरमा काँग्रेसबाट किशोरी शाह उम्मेदवार रहेका छन् भने लोसपाबाट मेयरको उम्मेदवारमा मनोज चौधरी उम्मेदवार रहेका छन् । लोसपालगायतका दलले पनि आफ्नो उम्मेदवार खडा गरेका छन् ।

कलैया उपमहानगरपालिका र जीतपुरमा कति उम्मेदवार ?

कलैया उपमहानगरपालिकामा कुल ७५६ जना उम्मेदवारमध्ये मेयर पदका १३ र उपमेयर पदका ९ जना उम्मेदवार रहेका छन् । यो उपमहानगरपालिकामा सत्ता गठबन्धनबीचको तालमेल हुँदा काँग्रेसले मेयर र जनता समाजवादी पार्टीले उपमेयर पाएको छ । कलैयामा काँग्रेसबाट राजेश राय यादव मेयरका उम्मेदवार रहेका छन् भने एमालेबाट विनोद प्रसाद साह उम्मेदवार रहेका छन् । यस्तै उपमेयरमा जसपाबाट प्रमोद प्रसाद गुप्ता र एमालेबाट रौशन परविन उम्मेदवार रहेका छन् ।

यसैगरी मधेस प्रदेशको अर्को उपमहानगरपालिका जीतपुर सिमरा उपमहानगरपालिकामा कुल ५४३ जना उम्मेदवार रहेका छन् जसमा मेयर पदका ११ र उपमेयर पदका ४ जना उम्मेदवार रहेका छन् । जीतपुरमा सत्ता गठबन्धनमा भएको तालमेल अनुसार माओवादी केन्द्रका राजन पौडेल मेयर पदका उम्मेदवार रहेका छन् । यस्तै एमालेबाट सरस्वती देवी चौधरी उम्मेदवार रहेकी छन् ।

यस्तै उपमेयरमा गठबन्धनबाट काँग्रेसका मेघा साही उम्मेदवार हुँदा एमालेबाट भोला प्रसाद अधिकारी उम्मेदवार रहेका छन् ।

हेटौँडामा गठबन्धन भर्सेस एमाले

बागमती प्रदेशको एकमात्र उपमहानगरपालिका हेटौडामा सत्ता गठबन्धन र एमालेबीच चुनावी भिडन्त हुँदैछ । गठबन्धनबाट एकीकृत समाजवादीबाट मीना कुमारी लामा मेयरको उम्मेदवार रहेकी छन् भने एमालेबाट अनन्त प्रसाद पौडेल उम्मेदवार रहेका छन् ।

यस्तै उपमेयरमा गठबन्धनबाट नेपाली काँग्रेका राजेश बाँनिया उम्मेदवार रहँदा एमालेबाट सुमित्रा काफ्ले उम्मेदवार रहेकी छन् । यो स्थानीय तहमा कुल ३८७ जनाले आफ्नो उम्मेदवारी दिएका छन् । हेटौंडामा समाजवादीको उम्मेदवार भएकाले प्रतिस्पर्धा रोचक हुने ठानिएको छ ।

विष्णु पौडेलको गृह जिल्लामा एमालेलाई गठबन्धनको टक्कर

यसअघि एमाले विजयी भएको बुटवल उपमहानगरपालिका एमाले उपाध्यक्ष विष्णु पौडेलको गृह नगर पनि हो । त्यहाँ एमालेलाई टक्कर दिन सत्ता गठबन्धन एक भएका छन् भने गठबन्धनबाट काँग्रेसका उम्मेदवार चुनावी मैदानमा छन् । मेयरमा काँग्रेसका खेलराज पाण्डेय उम्मेदवार हुँदा एमालेबाट बाबुराम भट्टराई उम्मेदवार रहेका छन् ।

यस्तै उपमेयरमा एकीकृत समाजवादीका चीनबहादुर गुरुङ उम्मेदवार हुँदा एमालेले सावित्रादेवी अर्याललाई उम्मेदवार बनाएको छ । बुटवलमा मेयरका उम्मेदवार १३ जना रहेका छन् भने १२ जना उपमेयरका उम्मेदवार रहेका छन् । बुटवल उपमहानगरपालिकामा सबै पदमा गरी ४५१ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

घोराही र तुल्सीपुर माओवादी र काँग्रेसबीच भागबण्डा

दाङको दुई उपमहानगरपालिकामध्ये घोराहीमा कुल ४२२ जना उम्मेदवार रहेका छन् । जहाँ मेयर पदमा १४ र उपमेयर पदमा जम्मा ८ जनाले उम्मेदवारी दिएका छन् । घोराहीमा सत्ता गठबन्धनबीच चुनावी तालमेल भएको छ भने एमाले एक्लै चुनावी भिडन्तमा रहेको छ।  घोराहीको मेयरमा गठबन्धनबाट माओवादी केन्द्रका हेमराज शर्मा पोख्रेल उम्मेदवार रहेका छन् भने एमालेबाट नरुलाल चौधरी उम्मेदवार छन् यस्तै उपमेयरमा नेपाली काँग्रेसका भुप बहादुर डाँगी क्षेत्री उम्मेदवार हुँदा एमालेबाट हुमा कुमारी डीसी उम्मेदवार छिन् ।

यस्तै तुल्सीपुरमा भने सत्ता गठबन्धनबाट काँग्रेसले मेयर र एकीकृत समाजवादी पार्टीले उपमेयर उठाउँदा एमाले एक्लै प्रतिस्पर्धामा छ । तुल्सीपुरमा काँग्रेसले गेहेन्द्र गिरीलाई मेयरको उम्मेदवार बनाउँदा एमालेले टिकाराम खड्कालाई उम्मेदवार बनाएको छ । यस्तै उपमेयरमा समाजवादीले गठबन्धनबाट जोगबहादुर राना मगरलाई उम्मेदवार बनाउँदा एमालेका स्यानी चौधरी उम्मेदवार रहेकी छन् । तुल्सीपुरमा कुल ४०७ जना उम्मेदवार रहेका छन् ।

नेपालगन्जमा त्रिपक्षीय भिडन्त

यसअघि राप्रपाले जितेको नेपालगन्जमा यो पटक त्रिपक्षीय भिडन्त हुने देखिएको छ । नेपालगन्जमा मेयर पदमा १६ जनाको उम्मेदवारी रहेको छ भने उपप्रमुख पदमा ९ जनाको उम्मेदवारी रहेको छ । यो उपमहानगरपालिकामा ७७२ जनाले आफ्नो उम्मेदवारी दर्ता गराएका छन् । नेपालगन्जमा राप्रपाले मेयरमा नन्दलाल वैश्य र उपमेयरमा बिन्दु चर्ति मगरलाई उम्मेदवार बनाएको छ । यस्तै सत्ता गठबन्धनबाट काँग्रेसले प्रशान्त विष्टलाई उम्मेदवार बनाउँदा जनता समाजवादी पार्टीले गठबन्धनबाटै उपमेयरमा कमरुद्दीन राईलाई उम्मेदवार बनाएको छ ।

यस्तै एक्लै लडेको एमालेले शान्तिदेवी ढकाललाई उपमेयर र मेयरमा पशुपति दयाल मिश्रलाई उम्मेदवार बनाएको छ ।

धनगढीमा स्वतन्त्रको चुनौती

सुदूरपश्चिम प्रदेशको एकमात्र उपमहानगरपालिका धनगढीमा स्वतन्त्र उम्मेदवार गोगन हमालसहित ९ जनाको मेयर पदमा उम्मेदवारी परेको छ । यसैगरी उपमेयरमा ६ जनाको उम्मेदवारी रहेको छ ।

धनगढीमा सत्ता गठबन्धनबाट नेपाली काँग्रेसले मेयर पद पाएको छ जसमा नृपबहादुर वड उम्मेदवार रहेका छन् भने उपमेयरमा माओवादी केन्द्रबाट शान्तिकुमारी अधिकारीको उम्मेदवारी परेको छ ।

यस्तै एक्लै लडेको एमालेले मेयरमा रणबहादुर चन्द र उपमेयरमा कन्दकला कुमारी रानाको उम्मेदवारी रहेको छ । धनगढीमा कुल ४७७ जनाको उम्मेदवारी रहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप