सोमबार, ०३ असार २०८१
ताजा लोकप्रिय
टी-२० विश्वकप

सन्दीपबारे आईसीसीसँग क्यानको यस्तो सहमति

वेस्ट इन्डिजमा भए पनि खेलाउने सोचिरहेका छौँ : क्यान
शनिबार, १२ जेठ २०८१, १४ : ४७
शनिबार, १२ जेठ २०८१

काठमाडौँ । टी–२० विश्वकपमा क्रिकेटर सन्दीप लामिछानेले सहभागी हुन पाउने या नपाउने भन्ने विषयमा अझै पनि अन्योल कायमै रहेको छ । विश्वकपका लागि १५ सदस्यीय टोलीको नामावली बुझाउने अन्तिम समय नजिकिँदै गर्दा पनि लामिछानेको भिसाको विषयमा टुङ्गो लाग्न नसकेको हो ।

बलात्कारको मुद्दामा उच्च अदालत पाटनबाट सफाइ पाएसँगै नेपाल क्रिकेट संघ (क्यान) ले लामिछानेको निलम्बन फुकुवा गर्दै उनलाई विश्वकप खेल्ने राष्ट्रिय टोलीमा समावेश गराउने पहल सुरु गरेको थियो । तर, अमेरिका जानका लागि लामिछानेको भिसा स्वीकृत हुन सकेन ।

क्यान अध्यक्ष चतुरबहादुर चन्दका अनुसार यतिबेला सरकारले नै लामिछानेको भिसाको विषयमा पहल गरिरहेको छ । युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठ र नेपाल क्रिकेट सङ्घ (क्यान) का सचिव पारस खड्कासँगको कुराकानीपछि बिहीबार खेलकुद मन्त्रालयले परराष्ट्र मन्त्रालयलाई सन्दीपलाई भिसा उपलब्ध गराउन आवश्यक सहजीकरणका लागि अनुरोध गर्दै पत्र पठाइसकेको छ । 

यता लामिछानेको विषयमा संघ र अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) बिच पनि एक खालको सहमति भएको उनले रातोपाटीलाई जानकारी दिए । ‘हाललाई बुझाउनुपर्ने १५ जना खेलाडीहरूको अन्तिम सूचीमा १४ जना खेलाडीहरूको सूची मात्र बुझाउने र लामिछानेको विषयमा टुङ्गो लागेपछि १५ औँ खेलाडीको टुङ्गो लगाउने आईसीसीसँग एक खालको सहमति भएको छ,’ चन्दले भने ।

यस विषयमा संघको दोषभन्दा पनि अमेरिकाले भिसा नदिँदा समस्या भएको उनको जिकिर छ । त्यही भएर अन्तिम समयमा भिसा आयो भने पनि लामिछानेलाई टोलीमा सहभागी गराउन सकिने आईसीसीले बताएको चन्दले जानकारी दिए ।

यता अमेरिकाको भिसा नआए वेस्ट इन्डिजमा मात्र भए पनि लामिछानेलाई खेलाउने विषयमा कुराकानी भइरहेको चन्दको भनाई छ । नेपालले दक्षिण अफ्रिका र बंगलादेशविरुद्धको खेल वेस्ट इन्डिजमा खेल्ने तालिका छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप