आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय

सुदूरपश्चिममा ओल्के पर्व मनाइँदै

बुधबार, ०१ भदौ २०७९, ११ : ०२
बुधबार, ०१ भदौ २०७९

कैलालीकी मनिषा विकको माइतीघर महेन्द्रनगर हो । उनी ओल्के पर्व मनाउन छोराछोरीसहित मङ्गलबार नै माइत जाने तयारीमा जुटेकी छन्। उनले ओल्केस्वरुप माइत लैजान आफ्नो बारीमा रहेका तरकारी कर्कलो, चिचिन्डा, भिन्डी, भान्टालगायतका तरकारीको पोको पारिन् । बिहानै माइत हिँडेकी उनले मान्यजनको सम्मानस्वरुप सो पर्वका अवसरमा कोसेली लगेर जाने गरिएको प्रचलन गरेको जानकारी दिइन् । “माइत जाने अवसर पनि मिल्छ, घरमा भएका तरकारी तथा फलपूmल लगेर जाने गरिन्छ”, विक भन्छिन्, “माइत गएर मीठो खाने, भेटघाट हुने र रमाइलो गर्ने गरिन्छ ।”

टीकापुरकी रमा देवकोटा पनि ओल्के पर्वका अवसरमा कोसेली बोकेर मामाघर हिँडेकी छन् । उनी हरेक वर्षजसो ओल्के पर्वको अवसरमा मामाघर जान्छिन् । “मामाघर जान्छु, मीठो खानपान गर्ने र रमाइलो गरिन्छ”, उनले भनिन्, “ओल्के लिएर गएपछि मामाघरमा दान–दक्षिणा तथा लुगाकपडा दिने चलन छ । आफूले सकेको दिने चलन छ ।”

वर्षात्को समयमा बाढी, पहिरोजस्ता विपद्का घटना धेरै हुन्छन् । ओल्के पर्वमा विपद्बाट ज्यान र सम्पत्ति जोगिएको भन्दै खुसीयाली स्वरुप मनाउने गरिएको पनि बताइन्छ । ओल्के पर्व सुदूरपश्चिमको आफ्नै मौलिक पर्व हो । आफूभन्दा ठूलाबडा, मान्यजन र ज्येष्ठ नागरिकलाई सम्मानस्वरुप ‘ओल्को’ अर्थात् उपहार दिने चलन छ । उपहारमा हरियो सागपात तथा फलफूल अनिवार्य दिइन्छ ।

वर्षायामका वैशाखदेखि साउनसम्मको समयमा रोगब्याधी तथा महामारी फैलने जोखिम रहन्छ । यही समयमा विभिन्न प्राकृतिक विपत्ति आउनसक्ने समय मानिन्छ । यस्तो सङ्कटग्रस्त समयमा मरिन्छ कि भनेर वैशाख सङ्क्रान्तिमा विशु मनाउने र बाँचेको खुसीयालीमा भदौ सङ्क्रान्तिमा ओल्के मनाउने प्रचलन रहिआएको अगुवाहरु बताउँछन् ।

साउनको अन्तिम दिन र भदौको पहिलो दिनमा विशेष महत्वका साथ ओल्के पर्व मनाइने परम्परा रहिआएको संस्कृतिका जानकार तथा वीरेन्द्र विद्या मन्दिरका प्रधानाध्यापक फणिन्द्रराज रेग्मी बताउँछन् । “साउन मसान्तसँगै सुदूरपश्चिममा ओल्के पर्वको रमझम सुरु हुन्छ । यो पर्वसँग सुदूरको परम्परा, संस्कृति र एक अर्काप्रतिको सम्मान जोडिएको छ”, उनी भन्छिन्, “हरेक पर्वले मानिसलाई सभ्य र एकअर्काप्रतिको सम्मान बढाउँछ ।” पर्वका अवसरमा आज सुदूरपश्चिम प्रदेश सरकारले सार्वजनिक बिदा दिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप