शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

मोरङमा गठबन्धन कतै सफल, कतै असफल

सोमबार, १२ मङ्सिर २०७९, ०६ : २७
सोमबार, १२ मङ्सिर २०७९

मोरङको प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्ष र समानुपातिक मत हेर्दा सत्ता गठबन्धन दलहरुबीच मत ‘ट्रान्सफर’ नभएकै कारण मोरङ–५ मा पराजय व्यहोर्नु परेको देखिन्छ ।

मोरङको क्षेत्र नम्बर ५ मा सत्ता गठबन्धनबाट उम्मेदवार भएका माओवादीका शिवकुमार मण्डलले कांग्रेसको आधा मत पनि नपाएको देखिन्छ । सो क्षेत्रमा समानुपातिकतर्फ कांग्रेसले २४ हजार ६२९, माओवादीले ७ हजार २२३ र नेकपा एकीकृत समाजवादीले ३६५ मत गरी सत्तारुढ गठबन्धनले ३२ हजार ५१७ मत पाएको देखिन्छ । जबकि प्रतिनिधिसभाको प्रत्यक्षतर्फ गठबन्धनको साझा उम्मेदवार रहेका मण्डलले जम्मा १७ हजार ४८६ मतमात्रै प्राप्त गरे । उनले गठबन्धनबाट १४ हजार ७३१ मत प्राप्त नगर्दा पराजित हुनुपर्‍यो ।

सोही क्षेत्रमा नेकपा एमालेले समानुपातिकतर्फ ९ हजार ४२८ र जसपाले १२ हजार ७३१ मत प्राप्त गरेका छन् । यी दुई दलको गठबन्धनको कुल मत २२ हजार १५९ हुन्छ । तर, एमालेको समर्थन पाएका जसपाका उम्मेदवार राजकुमार यादवले भने १७ हजार ३१७ मतमात्रै प्राप्त गरे । जबकि सो क्षेत्रमा एमालेबाट विद्रोह गरी उम्मेदवारी दिएका योगेन्द्र मण्डल २१ हजार ८२० मतका साथ निर्वाचित भए । उनले यति धेरै मत प्राप्त गर्नुमा एमाले र सत्ता गठबन्धनका दलको मत पनि गएको सहजै अनुमान गर्न सकिन्छ ।

मोरङको क्षेत्र नम्बर ४ मा समानुपातिकतर्फ नेपाली कांग्रेसले १९ हजार ५५५, माओवादीले ९ हजार ७६० र एकीकृत समाजवादीले ४०१ मत प्राप्त गरेका छन् । उक्त मत जोड्दा सत्ता गठबन्धनको २९ हजार ७१६ हुन्छ । तर गठबन्धनबाट प्रत्यक्षतर्फ उम्मेदवार बनेका अमनलाल मोदी ३० हजार ६१२ मत ल्याएर विजयी भए । उनले गठबन्धनको समानुपातिक मतभन्दा ८९६ बढी मत प्राप्त गरेका छन् ।

यसैगरी एमाले गठबन्धनका उम्मेदवार विनोद ढकालले २४ हजार ४६३ मत प्राप्त गरेकोमा सो क्षेत्रमा समानुपातिकतर्फ एमाले–जसपाको मत आधाभन्दा पनि कम छ । एमालेले ९ हजार ७६० मत प्राप्त गर्दा जसपाले १ हजार २८४ मत पाएको छ ।

मोरङको क्षेत्र नम्बर ६ मा नेपाली कांग्रेसका उम्मेदवार डा. शेखर कोइरालाले भने गठबन्धनको भोट पाएको परिणामले देखिन्छ । कोइरालाले ३५ हजार ४२४ मत प्राप्त गरी विजयी हुँदा एमालेका लालबाबु पण्डितले २२ हजार ९४६ मत प्राप्त गरे । सो क्षेत्रमा प्रतिनिधिसभातर्फ समानुपातिकमा कांग्रेसको भोट २३ हजार ७१०, माओवादीको ८ हजार १८५ र एकीकृत समाजवादीको ६९५ छ । सो क्षेत्रमा समानुपातिक मत जोड्दा सत्ता गठबन्धनको ३२ हजार ५९० पुग्छ । कोइरालाले गठबन्धनको समानुपातिक मतभन्दा २ हजार ६३४ बढी मत प्राप्त गरेका छन् ।

यस्तै एमालेले सो क्षेत्रमा १९ हजार ३७९ र जसपाले ११३१ मत समानुपातिकतर्फ पाएका छन् । एमाले गठबन्धनको मत २० हजार ५२० पुग्दा सो गठबन्धनका साझा उम्मेदवार पण्डितले त्यो भन्दा २ हजार ४२६ मत बढी प्राप्त गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन आचार्य
अर्जुन आचार्य
लेखकबाट थप