बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय
कर्णाली एमालेमा कचिङ्गल

कर्णाली एमालेमा विवाद : अध्यक्ष ओलीसँग शाह पक्षधरको गुहार

शुक्रबार, २१ वैशाख २०८१, १३ : ३६
शुक्रबार, २१ वैशाख २०८१

सुर्खेत । कर्णालीमा एमालेभित्र देखिएको विवादबारे पार्टी अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेलसमक्ष विनोद कुमार शाह लगायतका नेताले गुहार मागेका छन् । उनीहरूले बिहीबार एमाले अध्यक्ष ओली र महासचिव पोखरेललाई भेटेर प्रदेशमा देखिएको विवादको नालीबेली ‘ब्रिफिङ’ गरेका छन् ।

शाहसँगै सांसद तुलसा मल्ल, दक्षिणा शाही तथा स्थायी कमिटी सदस्य गोखर बोगटी, नेता विष्णु रिजाल, नगेन्द्र शाही लगायतले ओली र पोखरेलसँग छलफल गरेका हुन् ।

कर्णाली एमालेभित्र ‘गोरख बोगटी–विनोद कुमार शाह’ र यामलाल कँडेल समूह छ । मंगलबार सरकार विस्तारका क्रममा मुख्यमन्त्री कँडेलले एकलौटी गरेको, पार्टी केन्द्रको निर्देशन नमानेको भन्दै कृषिमन्त्रीमा नियुक्त गरिएका शाहले शपथ बहिष्कार गरेका थिए ।

पार्टी केन्द्रले गठबन्धनमा एमालेको भागमा परेको भौतिक मन्त्रालयमा शाह, केन्द्रीय सदस्यसमेत रहेकी दक्षिणा शाहीलाई कृषि र कँडेल पक्षधर नेता शेरबहादुर बुढालाई कानुन मन्त्री बनाउन भने पनि कँडेलले त्यस विपरीत काम गरेको उनीहरूको आरोप छ ।

कँडेलले कानुन मन्त्रालय आफैँसँग राखेर शेरबहादुर बुढालाई भौतिक मन्त्री बनाए भने शाहलाई कृषिमा राखेर आफू निकट सांसद गमता विकलाई भौतिक राज्यमन्त्री बनाए । प्रदेशका राज्यमन्त्रीको औचित्य खासै हुँदैन । मन्त्रिपरिषद्मा महिलालाई देखाउनका लागि कँडेलले राज्यमन्त्री बनाएको चर्चा छ ।

कँडेलले पार्टी केन्द्रको निर्देशन नमानेको, शपथ लिने बेलासम्म पनि मन्त्रालय कुन हो भनेर नभनेको भन्दै शाहले शपथ बहिष्कार गरेका थिए । तर, बुधबारसम्म पनि कँडेलले उक्त विषय समाधानबारे कुनै छलफल नगरेपछि शाह प्रदेशको विवादको विषय लिएर पार्टी केन्द्रमा पुगेका हुन् । 

छलफलका क्रममा अध्यक्ष ओलीले उपयुक्त निकास खोज्ने जवाफ दिएको शाहले रातोपाटीलाई बताए । ‘महासचिव र अध्यक्ष दुवैसँग भेट भएको हो, मैले प्रदेशको यथार्थ रिपोर्टिङ गरेको छु,’ शाहले भने, ‘वास्तविकता के हो भनेर सोध्नु भएको थियो । मैले पार्टी केन्द्रबाट तपाईंहरु एउटा निर्णय गर्ने, तल अर्को हुने हुँदा हामी अलमलमा पर्‍यौँ भनेको छु ।’

शाहले आफूलाई कृषि मन्त्रालयमा आपत्ति नभएको, कँडेलले पार्टी केन्द्रको अवज्ञा गरेको र दलभित्र कुनै छलफल नगरेको आरोप लगाएका छन् । आफूले मन्त्रालयभन्दा पनि मन्त्री नियुक्तिको प्रक्रिया र नियतमाथि आपत्ति जनाएको उनको भनाइ छ । ‘मैले पार्टी अध्यक्षको निर्देशन र लाइनलाई फलो गर्ने हो,’ शाहले भने ।

अध्यक्ष ओलीले शाह पक्षधर नेताहरूलाई समस्या समाधान गर्ने जवाफ दिएको एक नेताले बताए । ‘सायद् मुख्यमन्त्रीलाई अध्यक्षले काठमाडौँ बोलाउनुहुन्छ,’ ती नेताले भने ।

शाह पक्षधर नेताले राज्यमन्त्री आवश्यक नभए पनि आफ्नो स्वार्थसिद्धका लागि मुख्यमन्त्रीले राज्यमन्त्री नियुक्र गरेको कुरा ओलीसमक्ष राखेका छन् ।

yamlal-binod

पूर्वमन्त्री समेत रहेका कँडेल पक्षधर सांसद जीतबहादुर मल्ल दलको बैठकबाट सरकार विस्तार, मन्त्री नियुक्त गर्ने लगायतका सबै जिम्मेवारी दलका नेतालाई दिइसकेको भन्दै दलको नेताले गरेको निर्णयलाई सबैले मान्नुपर्ने बताउँछन् । यद्यपि अहिले एउटा एजेण्डा बनेर विवाद सतहमा आएको भन्दै उनले यो समस्यालाई दलभित्रैबाट समाधान गरिनुपर्ने प्रस्ट पारे ।

यता शाह पक्षधर सांसदहरू दलको नेताले पार्टीभित्र छलफल गरेको भए यस्तो खालको विवाद नै ननिस्कने दाबी गर्दछन् । सांसद तुलसा मल्ल मुख्यमन्त्री कँडेलको व्यवहार देखेर अचम्म लागिरहेको बताउँछिन् ।

‘पहिलो कुरा त एउटै क्षेत्रका दुई जनालाई मन्त्री किन बनाएको ? यो सबैको मनोभावना विपरीत गर्नुभयो । हामीसँग छलफल नै गर्नु भएन,’ उनी भन्छिन्, ‘मेरो बाध्यता यस्तो हो, यसलाई मान्नुहोस् भने पनि हुन्थ्यो । उहाँ त हामीसँग छलफल नै गर्न चाहनुहुन्न ।’ गत वर्ष मन्त्रालय घटाउन दबाब दिने मुख्यमन्त्रीले अहिले राज्यमन्त्री थपेको भन्दै उनले आपत्ति जनाइन् ।

एकदुई दिनमा छलफल गराउँछुः इञ्चार्ज भट्ट

एमाले कर्णाली प्रदेश ईञ्चार्ज लेखराज भट्टले एक दुईदिन भित्र छलफल गराइ समस्याको समाधान निकालिने बताए । रातोपाटीसँग कुरा गर्दै उनले भने, ‘म बिरामी भएर बसेको छु, अब एकदुई दिनभित्र छलफल गराउँछु, अनि समस्या समाधान होला ।’

आफू उपचारमा भएकाले छलफल गराउन नपाएको उनले बताए । भट्ट पनि पार्टी केन्द्रको सल्लाह बमोजिम नै अघि बढ्नुपर्ने पक्षमा छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पंखबहादुर शाही
पंखबहादुर शाही
लेखकबाट थप