शनिबार, ०५ साउन २०८१
ताजा लोकप्रिय
अन्तरवार्ता

‘केपी ओली छाया प्रधानमन्त्री बन्न थालेपछि गठबन्धन भत्कियो’

संसद् भङ्ग गर्नु जायज भनेपछि उहाँलाई बोक्न सकिएन : गिरिराजमणि पोखरेल
शनिबार, २० फागुन २०७९

नेकपा माओवादी केन्द्रले राष्ट्रपतिमा राष्ट्रिय सहमति हुनुपर्ने अडान लिएपछि नेकपा एमालेसहितको गठबन्धन भत्किएर कांग्रेससहितको आठ दलीय गठबन्धन बनाएको छ । आगामी राष्ट्रपतिमा आठ दलीय गठबन्धनबाट नेपाली कांग्रेसका रामचन्द्र पौडेल र एमालेबाट सुवासचन्द्र नेम्वाङ उम्मेदवार छन् । राष्ट्रपति र उपराष्ट्रपतिको चुनावपछि प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिने र मन्त्रिपरिषद्लाई पूर्णता तयारी छ । राष्ट्रपतिको चुनाव, नयाँ गठबन्धन र माओवादी पार्टीका अवस्थाका विषयमा रोहित दाहालले माओवादी केन्द्रका उपमहासचिव गिरिराजमणि पोखरेलसँग गरेको कुराकानीको सम्पादित अंशः

एमालेसँगको गठबन्धन दुई महिनामै किन टुटाउनुभयो ?

अहिले देशको परिस्थिति जस्तो छ, त्यो संसद्मा प्रतिबिम्बित भएको छ । संसद्मा कसैको बहुमत छैन । हाम्रा अगाडि केही निश्चित जिम्मेवारीहरू छन् । यो संसद्लाई पूर्ण अवधिसम्म चलाउनुपर्ने छ । सरकारले स्थायित्व प्राप्त गरोस् भन्ने छ । सरकारले जनताको ठिक ढंगले सेवा प्रवास गरोस् । एउटा विधि सहितको प्रणाली निर्माण गरोस् र शान्ति प्रक्रियाका कार्यभारहरू पुरा गरोस् भन्ने छ । यी पुरा गर्न कुनै पार्टी वा गठबन्धनको पनि बहुमत छैन । यो बेला मिलेर काम गर्नुपर्ने अवस्था छ ।

एमालेलाई दिने अवस्थामा माओवादी किन पुग्यो ?

पूर्वसहमति विपरीत राष्ट्रपति र प्रधानमन्त्री कांग्रेसले लिने भएपछि एमालेसँग सहकार्य गर्ने अवस्था आयो । कांग्रेसले धोका दिएपछि स्वाभाविक ढंगले विकल्प खोज्ने अवस्थामा पुगियो । त्यसपछि हामी एमालेसहितको सात दलीय गठबन्धन बनायौँ । त्यही क्रममा राष्ट्रले प्रधानमन्त्री प्राप्त गर्‍यो । राष्ट्रले सभामुख, उपसभामुख र राष्ट्रिय सभाको उपाध्यक्ष प्राप्त गर्‍यो ।

सरकारको प्रोटोकलबाट हेर्दा उहाँ नारायणकाजी श्रेष्ठ उपप्रधानमन्त्री हुनुहुन्थ्यो । उहाँलाई मानमर्दन गरियो ।

यो प्रक्रियामा अघि बढ्ने क्रममा केही दृश्यहरू देखिए । जस्तै राप्रपाका मन्त्रीहरू सरकारमा छन् । तर, संविधान विपरीत अभिव्यक्ति दिइराख्ने काम गरे । प्रधानमन्त्री राप्रपाका मन्त्रीलाई यसो गर्न मिल्दैन भन्नुभयो । तर राप्रपाका मन्त्रीहरूले संविधान विपरीत अभिव्यक्ति दिएको सन्दर्भमा एमाले अध्यक्ष केपी ओलीले खण्डन गरेको सुनिएन । कतै संविधानको रक्षा गर्नुपर्छ भनेर अभिव्यक्ति दिएको सुन्नु सुनिएन ।

तपाईंलाई सच्चाइपूर्वक सुनाउनु पर्दा हाम्रो पार्टीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ लगायत साथीहरूले यो गठबन्धन बनाउँदै मुलुकलाई एउटा दिशा दिन लगातार प्रयत्न गर्नु भएको थियो । ओलीजीसँगको गठबन्धन यत्तिकै भएको थिएन । कतिपय मान्छेलाई केपी ओलीको कारणले मात्र बनेको हो भन्ने लाग्न सक्छ । तर अरू थुप्रै नेताहरूसँग छलफल गरेर राजनीति त्यो कोर्समा गएको हो ।

सरकारको प्रोटोकलबाट हेर्दा उहाँ नारायणकाजी श्रेष्ठ उपप्रधानमन्त्री हुनुहुन्थ्यो । उहाँलाई मानमर्दन गरियो । केपीजी रविलाई गृहमन्त्री बनाउन र राप्रपालाई उपप्रधानमन्त्री बनाउन लाग्नुभयो । अहिले त मर्यादामा ध्यान दिनुभएन भएन, एउटै पार्टी हुँदा समेत ध्यान दिनु भएन । मन्त्रालय भागबन्डा गर्दा पनि ध्यान दिनुभएन । स्वार्थ जोडिएका व्यक्तिलाई मन्त्री बनाउनु हुन्थेन ।

प्रचण्ड कमरेडलाई सरकारको नेतृत्व दिने भएपछि ठिक ढंगले पहल र प्रयत्न गर्नु पर्थ्यो । हामी धेरै लामो लडाइँ लडेर जनयुद्ध जनआन्दोलन सहित विभिन्न संघर्षबाट २०७२ सालको संविधान ल्याएको हो । तर उहाँले पश्चगामी शक्तिहरूलाई काखी च्यापेर अग्रगामी र परिवर्तनगामी शक्तिहरूसँग दुरी कायम गरेर अघि बढ्नु भयो । उहाँले आफूलाई शक्ति केन्द्रको रूपमा प्रस्तुत गर्न खोज्नुभयो ।

गठबन्धन चलाउन लचकता र दृढतापनि चाहिन्छ । सबैलाई मिलाउनु पर्छ । नेकपा टुटेको कडीलाई जोडेर अगाडि बढाउनु पर्ने आवश्यकता थियो । उहाँ त्यतातिर हुन्थेन । प्रचण्डजीलाई अगाडि राखेर माओवादीलाई कमजोर बनाउने वामपन्थीहरूलाई कमजोर बनाउने गरी अरू खेलमा हुनुहुन्थ्यो ।

तपाईं देखिराख्नु भएको छ एकतातिर हामीसँग गठबन्धन गरेका छन्, अर्कोतिर अर्को अभियान चलाएको देखिन्छ । झापाको घटना, मन्त्रीका अभिव्यक्ति सुनिराख्नु भएको छ । 

कांग्रेसले प्रचण्डलाई प्रधानमन्त्री नदिएर बालुवाटारबाट लखटेपछि प्रधानमन्त्रीको कचौरा थापेर ‘मलाई प्रधानमन्त्री बनाई दिनुस् केपी ओलीजी’ भन्दा उनले आफै प्रधानमन्त्री बनाएपछि यति गर्दैनन् त ? प्रधानमन्त्री नपाएको झोकमा गएर त्यति बेला लामो समय गएको गठबन्धनलाई तोड्नु प्रचण्डको कुनै राजनीतिक नैतिकता हो ?

यो त्रिशङ्कु संसद् छ । कसैको बहुमत छैन । यो स्थितिमा माओवादी पार्टी आफ्नो कोणबाट कमजोर भए पनि संसद्मा निर्णायक ठाउँमा छ । त्यस्तो अवस्थामा प्रचण्ड कमरेडलाई विश्वासको मत लिने क्रममा ९९ प्रतिशत कसरी प्राप्त भयो ? यो हाम्रो आवश्यकता र बाध्यता हो । हामीले कांग्रेससँग सङ्घर्ष गर्नुपर्ने थियो । त्यो हुन सकेन । देशलाई निकास दिन कांग्रेस, एमाले माओवादी सबै मिलेर दिनुपर्ने थियो । हामीले मिलेर जान संयुक्त मोर्चाको कोणबाट देशले माग गरेको कोणबाट हेर्दा हामीले ठिक गरेका छौँ । यो लोभी पापी प्रश्न पनि हुन सक्छ । देशका जनताको आवश्यकतालाई हेर्दा कस्तो ढंगले काम गर्दा नेतृत्व दिन सकिन्छ ? एकातिर संविधान, संसद् र लोकतन्त्रको रक्षा गर्नु छ । अर्कोतिर प्राप्त उपलब्धिको जगेर्ना गर्नुपर्ने छ ।

तपाईं देखिराख्नु भएको छ एकतातिर हामीसँग गठबन्धन गरेका छन्, अर्कोतिर अर्को अभियान चलाएको देखिन्छ । झापाको घटना, मन्त्रीका अभिव्यक्ति सुनिराख्नु भएको छ । देशलाई अघि बढाउन सबै मिल्नुपर्ने अवस्था छ । अहिले कसैले गुमाएको छ भने माओवादीले सबैभन्दा बढी गुमाएको छ । एमालेले सभामुख पाएकै छ । कांग्रेसले केही दिनमा राष्ट्रपति प्राप्त गर्छ । केपीजीको दम्भ र अहङ्कार र त्यसमा पनि आफूलाई छाया प्रधानमन्त्रीको रूपमा प्रस्तुतीकरण गर्न थालेपछि कांग्रेससँग विश्वासको मत मागौँ भनेकै हो । हिजो केपी ओलीलाई जसरी चिनेका छौँ, कांग्रेसलाई पनि चिनेका छौँ । सबै पार्टीका सकारात्मक र नकारात्मक दुवै गुणहरू छन् । सकारात्मक पक्षलाई लिएर अघि बढौँ भन्न खोजेका हौँ ।

यो दुई महिनामा एकातिर सरकारको सुशासन कायम गर्ने, उपलब्धिको जगेर्ना गर्ने, मुलुकको विकास निर्माणको प्रक्रियालाई अगाडि लैजाने भन्ने हो । हिजोको टुटेको कडी जोड्ने दिशातिर जान्छ भन्ने थियो त्यो गएन । यो अवस्थामा अरू शक्तिसँग मिलेर सरकार र संसद्लाई पूर्णकालसम्म चलाऔँ मात्रै बन्न खोजिएको हो ।

माओवादीको सत्ता स्वार्थ अथवा प्रचण्डको प्रधानमन्त्री बन्ने चाहनाले गर्दा मुलुकमा राजनीतिक अस्थिरता भयो । जसले प्रधानमन्त्री दिन्छ टिप्यो लिएर हिँड्यो, फेरि प्रधानमन्त्री दिएपछि त्यसैलाई छोडेर हिँड्यो । छेपारो पनि माओवादीलाई देखेर लजाइक्यो भनेर आजभोलि टिप्पणी गर्छन् । हामीले गल्ती गर्‍यौँ भन्ने कहीँ कतै लाग्दैन ?

अहिले मुख्य संविधानको कार्यान्वयनको सवाल हो । अहिलेको परिवर्तन ल्याउने मुख्य नेतृत्व प्रचण्ड कमरेड हो । अहिले देशका थुप्रै समस्याहरूलाई हल गर्न थुप्रै प्रकारका अप्ठ्यारा छन् । यो देशका शक्तिहरूसँग सन्तुलन कायम गर्नुपर्ने छ । भूराजनीतिलाई ध्यान दिनुपर्ने छ । हामीले ल्याएका मुद्दाको रक्षा गर्नुपर्ने छ । जनतालाई परिवर्तनको अनुभूति गराउने गरी काम गर्नुपर्ने छ । अहिलेको राष्ट्रको सङ्कटको नेतृत्व गर्ने अर्थमा प्रचण्ड त्यो ठाउँमा उभिनु भएको छ, पार्टी त्यो ठाउँमा उभिएको छ । एक गठबन्धनबाट अर्को गठबन्धन बनाउने रूपमा मात्रै लिनुहुँदैन । यी विभिन्न शक्तिहरूलाई लिएर जनतालाई केन्द्रविन्दुमा राखेर अघि बढ्ने सन्दर्भमा चालिएका जायज कदम हुन ।

तर जब केपी जीले संसद् विघटन ठिक थियो भनेर जान थाल्नुभयो । त्यसपछि त्यो बोकेर जान सक्दैनौँ भन्ने भयो ।

अहिलेको गठबन्धन टुटाएर प्रचण्ड कमरेडले के पाउनुभयो ? उता पनि एमालेले प्रधानमन्त्री दिएकै थियो । समीकरण फेरेर देशले के पायो ?

अहिले देशका जुन खालका समस्याहरू छन् । ती सबै समस्या हल गर्न नेकपा बनाएर ठुलै अभ्यास गरियौँ । त्यति बेला केपी ओली प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै हुनुहुन्थ्यो । त्यो पार्टी जोगाउने मुख्य जिम्मेवारी उहाँकै थियो । उहाँले अन्तर सङ्घर्ष खप्न सक्नु भएन । संसद् २ पटक भङ्ग गर्नुभयो ।

अहिले केपीजी सहितको गठबन्धन अघि बढ्यो । त्यसपछि संसद्मा बोल्ने क्रममा हिजो संसद् भङ्ग गर्नु जायज थियो भनेर बहस उठाउनुभयो । उहाँको अन्तर्यमा के छ भन्ने बुझ्न सकिने कुरा भयो । उहाँ नयाँ सिराबाट आउनु हुन्छ भन्ने थियो त्यो आउन सक्नु भएन । एमाले र केपी कमरेडको दृष्टिकोणलाई एकै ठाउँमा राख्दिनँ । सबै एमालेका साथीहरू त्यो ठाउँमा हुनुहुन्छ भन्ने ठान्दिनँ ।

तर जब केपी जीले संसद् विघटन ठिक थियो भनेर जान थाल्नुभयो । त्यसपछि त्यो बोकेर जान सक्दैनौँ भन्ने भयो । देशमा देखिएका समस्या समाधान गर्न वाम लोकतान्त्रिक शक्तिहरूको एकता हुन जरुरी छ । यसभन्दा अघि जुन कांग्रेसले गल्ती गर्‍यो । रामचन्द्रजीले शेरबहादुर देउवाबाटै गल्ती भयो भनेर भनिसक्नु भएको छ । अर्को गठबन्धन शेरबहादुर देउवाकै कारणले बनेको थियो । उहाँहरु पनि सच्चिएर आउनुभयो । विश्वासको मत दिने क्रममा भोट दिनुभयो । मिलेर जानुपर्छ भन्ने सन्देश उहाँले दिनुभयो । त्यसपछि यो गठबन्धन बन्यो ।

सबै माओवादी पार्टीहरूले अलि गम्भीर ढंगले सोच्नुपर्ने अवस्था छ । हिजो माओवादी जुन मुद्दा उठाएर यो ठाउँमा आयो । त्यो ठाउँ कसैले लिएको छैन । त्यो खाली छ ।

माओवादीको नजरमा एमालेभन्दा कांग्रेस अलि प्रगतिशील,अग्रगमनकारी हो ?

अहिलेको परिस्थितिको चुनौतीको सामना गर्न वाम लोकतान्त्रिक शक्तिहरू मिलेर जानुपर्छ । हिजो कांग्रेससँगै मिलेर लडेका हौँ । संविधान बनाउँदा होस् वा भूकम्पको बेला होस् वा संसद् विघटन विरुद्धको आन्दोलनमा होस् मिलेर गएका थियौँ । अब कांग्रेसले पनि आफ्नो विचारमा पुनर्विचार गर्नपर्छ । हिजोकै कांग्रेसको रूपमा जानु हुँदैन । कांग्रेसको राष्ट्रियता, प्रजातन्त्र, समाजवाद जान मार्मिक ढंगले सोच्नुपर्छ । एमाले पनि नयाँ ढंगले आउनुपर्छ । यो देशमा अस्थिरता सृजना गर्न खोजी राखेका छन् । हाम्रो ध्यान अस्थिरता हुन नदिएर ५ वर्ष संसद् चलाएर र टुटेका कडीहरूलाई जोडेर अघि बढ्नुपर्छ । तपाईंले भने जस्तै त्यो दिशातिरै आउँछ भनेरै सहकार्य गरिएको हो ।

माओवादी संगठिनक रूपमा यति कमजोर भयो निर्वाचनको नतिजाबाटै हेर्न सकिन्छ । माओवादीको २०६४ साल यतादेखि हेर्ने हो भने निरन्तर घट्दो अवस्थामा छ । कुनै न कुनै पार्टीसँग नमिलेर चुनाव लड्न सक्ने अवस्था छैन । मुद्दाका दृष्टिकोणले हेर्ने हो भने पहिचानका नाममा जातीय राज्य बाँड्यो । अहिले प्रदेश एकमा कोसी प्रदेश राखियो । त्यहाँ किरात राज्य भनेर घोषणा गर्न भएको थियो । आज सबै प्रदेशका नामहरू तपाईंकै सांसदले भोट दिएर खोलानालाको नाममा राखियो । अब माओवादी यो देशमा किन चाहियो ?

तपाईंले राम्रो प्रश्न गर्नुभयो । सबै माओवादी पार्टीहरूले अलि गम्भीर ढंगले सोच्नुपर्ने अवस्था छ । हिजो माओवादी जुन मुद्दा उठाएर यो ठाउँमा आयो । त्यो ठाउँ कसैले लिएको छैन । त्यो खाली छ । लामो समय खाली रहँदैन । बरु मुद्दा हामीले छोड्दा जनतामा निराशा छाएको छ । अर्थतन्त्रको अवस्था नाजुक छ । युवाहरूले रोजगारी पाउन सकेका छैनन् । कृषिका समस्या एकपछि अर्को गर्दै बढ्दै गएका छन् । पहिलो संविधान सभाबाट पारित भएको पहिचान सहितको संघीयता दिन सकेनौँ । त्यो एउटा डिजाइनमा विफल बनाइयो ।

अहिले तपाईंहरुका सांसदहरूलाई फरक ठाउँमा उभ्याउन कुन तत्त्वले राखेको थियो ? यो कतै सत्ता मोहले रोकेको होइन ?

हामी त्यो बारेमा समीक्षा गरौँला । प्रदेशको सन्तुलनलाई आधार बनाएर निर्णय गर्नु भएको हुन सक्छ । कतै स्थानीय तहमा हामीले भनेका पहिचानका एजेन्डाहरू समेटिएका छन् ।

हामी हिजो मूल पार्टी बनेको अवस्थामा एक खालको स्थिति थियो । देशलाई संविधान दिनु थियो । देशलाई प्रदेशमा लगेर संघीयता लिनुपर्ने थियो । देशमा सुशासन दिनुपर्ने थियो । हामीले कतिपय विषयमा सम्झौता गर्नुपर्ने थियो ।

यदि माओवादी सम्झौता नै सम्झौता गर्ने हो भने माओवादीको औचित्य के रह्यो ? कि कांग्रेसतिर लागे भयो कि एमालेतिर लागे भयो ।  किन माओवादी पार्टी राखिराख्नु पर्‍यो ?

अहिले यसरी हेर्नु हुँदैन । जनवादी क्रान्ति गर्न सशस्त्र र शान्तिपूर्ण आन्दोलन मार्फत अघि बढेका थियौँ । आफ्नै विशेषतामा पुँजीवादी क्रान्ति पुरा भएको छ । त्यसको उपज संविधान छ । संविधानमा धेरै महत्त्वपूर्ण मौलिक हकको रूपमा संविधानमा समेटिएको छ । अब प्राप्त उपलब्धिलाई कार्यान्वयन गर्दै समाजवादी क्रान्तिमा लाग्नुपर्छ ।

रामचन्द्र जीको भोट घट्दैन अझ बढ्छ भन्ने छ ।

मधेसमा प्रतिनिधि सभा तर्फ माओवादी शून्य भयो । पार्टी यस्तो हुनुमा तपाईंको मुख्य भूमिका छ भन्ने आरोप छ नि ?

निश्चित रूपमा संघीय संसद्मा एक सिट पनि ल्याउन सकेनौँ । हामीलाई आलोचना गर्नु जायज छ । त्यसमा केही कारणहरू छन् । मलाई हराउन ठुलै ग्राण्ड डिजाइन भएको छ भन्ने बुझ्नुपर्छ । अध्यक्ष चितवनबाट गोरखा जानुभयो पूर्व अनुमान गरेरै हो । महासचिव नै चुनाव हार्नुभयो । मैले चुनावमा पैसासँग प्रतिस्पर्धा गर्न सकिनँ । यो निर्वाचन प्रणाली संविधान बनाउने क्रमै उपयुक्त छैन भनेका थियौ । निर्वाचन प्रणाली सुधारको अभियान चलाउन सकेनौँ । मधेसको चुनावमा एकातिर जातीयता र अर्कोतिर पैसा धेरै हाबी भएको छ । भोलि अरूको लागि समेत प्रश्न भयो । मधेसमा हाम्रो पार्टी कमजोर भयो । हामी पहिला जसरी संगठनको तागतमा चुनाव लडेका थियौँ त्यो हुन सकेन । हाम्रो पार्टी कमजोर भएर गएको छ । मेरो क्षेत्रमा ३७ हजार भोट छ । मैले २२ हजार भन्दा माथि भोट ल्याए । समानुपातिकमा १५ हजार भोट आएकै छ । गठबन्धनको भोट कहाँ गयो ? यसो भन्दा गठबन्धनको भोट ट्रान्सफर  भएन ।

मधेसमा हामी २६ र २७ गते बैठक बस्दै छौँ । हाम्रा कमजोरी कहाँ भयो भन्ने विषयमा चर्चा परिचर्चा गर्दै छौँ । हामी गुटहरू भत्काएर व्यवस्थित प्रणालीमा लैजान खोजेका छौँ । मधेसलाई माथि उठाउन म लगायत साथीहरूले जुन भूमिका खेल्नु पर्ने थियो त्यसमा कमजोरी भयो । त्यसबाट पाठ सिकेका छौँ । मधेसलाई विकास गर्ने विषयमा नयाँ सिराबाट सोच्नुपर्छ ।

अब राष्ट्रपतिको चुनाव हुन केही दिन मात्रै बाँकी छ । राष्ट्रपतिमा एमालेका सुवास नेम्वाङ जित्छन् भन्ने दाबी गरिएको छ । यसमा के समीकरण फेरबदल हुन्छ ?

रामचन्द्र पौडेल र सुवासचन्द्र नेम्वाङ दुवै सम्मानित व्यक्तित्व हुनुहुन्छ । जो आए पनि संविधान अनुरूप राष्ट्रपति दिनुपर्ने आवश्यकता छ । विगतका राष्ट्रपतिले दलभन्दा माथि उठ्न नसक्दा सरकारलाई अप्ठ्यारो पारेको प्रष्टै छ । अहिले यो गठबन्धनमा दलहरू थपिँदै गएका छन् । जुन सहमति भएको छ । यो गठबन्धनको भोट रामचन्द्र जीलाई नै जान्छ । माओवादी राष्ट्रिय सहमति गर्न पहल गरेको पार्टी हो । काँग्रेस गल्ती गरेको ठाउँबाट ब्युँतेर आएको छ । उसले पनि आफ्नै ढंगले मेहनत गर्ने छ । छुटेका पार्टीहरू एक ठाउँमा आएका छौँ । रास्वपाले सरकारलाई समर्थन दिएकाले राष्ट्रपतिमा सोच्नु हुने छ । रामचन्द्र जीको भोट घट्दैन अझ बढ्छ भन्ने छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया