आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय
शिक्षा

बुटवलका सामुदायिक विद्यालयको लोभलाग्दो प्रगति, निजीलाई चुनौती

शनिबार, २३ असार २०८०, १४ : ३३
शनिबार, २३ असार २०८०

बुटवल ।  व्यवस्थित कक्षाकोठा । सुविधा सम्पन्न पुस्तकालय र विज्ञान प्रयोगशाला । त्यसमाथि स्तरीय खेल मैदान । रुपन्देहीको बुटवल उपमहानगरपालिका ११ स्थित नहरपुर माविको परिचय हो यो ।  केही वर्ष अघिसम्म शैक्षिक वातावरण ध्वस्त रहेको यो सामुदायिक विद्यालयले यति बेला स्तरीय पाठनपाठनसहित भौतिक प्रगतिमा फड्को मारेको छ । 

पुरानो र जीर्ण भवन विस्थापित गरेर अहिले भव्य र आकर्षक भवन निर्माण गरिएको छ ।  व्यवस्थित भौतिक पूर्वाधारसँगै विद्यालयको शैक्षिक गुणस्तरमा पनि सुधार भएपछि विद्यार्थी र अभिभावक उत्साहित भएका छन् । 

विद्यालयका प्राचार्य धनीश्वर गौतमले आफूहरूमाथि चुनौती थपिएको र शैक्षिक गुणस्तर कायम गर्न थप मिहिनेत गरिरहेको बताए ।  शैक्षिक गुणस्तर राम्रो हुन थालेपछि नहरपुर मावि विद्यार्थीको रोजाइमा पर्न थालेको छ । जसका कारण क्रमशः विद्यार्थीको सङ्ख्या बढ्न थालेको छ ।  पछिल्ला ४ शैक्षिक सत्रमा विद्यार्थीहरूको सङ्ख्या  वार्षिक एक सयको हाराहारीमा वृद्धि भएको विद्यालयले जनाएको छ । शैक्षिक सत्र  २०७६ मा १ हजार विद्यार्थीहरू रहेको विद्यालयमा अहिले  १४ सय पुगेका छन् । कक्षा ११ र  १२ पनि  गत वर्ष  शिक्षा सङ्कायमा एक सेसन थप गरेर पठनपाठन गराइएको छ । 

butwal-school (1)

उक्त विद्यालयको पूर्वाधार विकासमा बुटवल उपमहानगरपालिका सँगसँगै प्रदेश र सङ्घीय सरकारले लगानी गरेका छन् । गत वर्ष सङ्घीय सरकारले  ५० लाख  र प्रदेश सरकारले   ५० लाख  रुपैयाँ भवन निर्माणमा लगानी गरेका थिए ।  यस्तै  भारतीय दूतावासको सहयोगमा ४ करोडमा भवन निर्माण हुँदैछ । 

यस्तै उपमहानगरपालिकाको १५ लाख लगानीमा अहिले विद्यालय हाताभित्र टायल मार्बल लगाउने काम भइरहेको छ । यसअघि उपमहानगरपालिकाकै ३६ लाख रुपैयाँ लगानीमा सभा हलको ट्रस्ट राख्ने काम भएको थियो । नहरपुर मावि एक उदाहरण मात्रै हो, बुटवलका अरू सामुदायिक विद्यालयको पूर्वाधार विकास र शैक्षिक गुणस्तरमा निकै सुधार आएको छ । 

यसैको अर्को उदाहरण हो बुटवलको कान्ति मावि । सो विद्यालयले पनि दिनप्रतिदिन शैक्षिक प्रगति गरिरहेको सरोकारवालाको भनाइ छ।   बुटवल—५ मा रहेको कान्ति माविमा अहिले ५ हजार ३ सय विद्यार्थी अध्ययन गर्छन् । यस वर्ष गत वर्षभन्दा एक हजार विद्यार्थी बढेको प्राचार्य गोविन्द ज्ञवालीले बताए । 

दक्ष जनशक्ति, आवश्यक भौतिक संरचना र नतिजामा सुधारले विद्यार्थीको चाप बढेको उनको भनाइ छ ।   विद्यालयका व्यवस्थापन  समितिका अध्यक्ष हेमानन्द शर्माका अनुसार विद्यालयको छात्रावास सहितको भवन निर्माणको  लागि सङ्घीय र प्रदेश सरकारले २० करोड लगानी  गरेका छन् । यो भवन बनेपछि  पठनपाठन र छात्रावास व्यवस्थापन गर्न सजिलो भएको उनको भनाइ छ ।  उपमहानगरपालिकाले विज्ञान प्रयोगशालाको लागि ७ लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो । यस्तै  नगरपालिकाले छुट्याएको ५ लाख बजेटमा बगैँचा निर्माणको काम सम्पन्न भएको छ  । तीनै तहका सरकारको समन्वयमा भएको बजेट परिचालनले विद्यालयको पूर्वाधार विकास राम्रो भएको छ ।  

butwal-school (3)

लुम्बिनी प्रदेश सरकारले यो विद्यालयलाई विज्ञान नमुना विद्यालय बनाउने घोषणा गर्दै बजेट विनियोजन गरेको छ । सामुदायिक विद्यालयमा विज्ञान पढ्ने छात्रालाई प्रदेश सरकारले मासिक एक हजार रुपैयाँ छात्रवृत्ति दिन्छ । जुन छात्रवृत्तिले छात्रालाई विज्ञान पढ्न आर्कषित गरेको छ । 

कुनै बेला विद्यालयको भवन भनेको टिनको छाप्रो रहेको नवीन औद्योगिक कद्दरबहादुर रिता माविले पनि अहिले मुहार फेरेको छ  । राम्रो पूर्वाधार विकास गर्न सफल यो विद्यालयको शैक्षिक गुणस्तर पनि अब्बल बन्दै गएको छ ।

निजीलाई थपियो चुनौती

यहाँका सामुदायिक विद्यालयको गुणस्तर सुधार भएपछि निजी बोर्डिङ स्कुललाई चुनौती थपिएको छ । निजी स्कुल छाडेर सामुदायिकमा आउनेहरू बर्सेनि बढिरहेका छन् । ‘विद्यार्थीको चाप बढिरहेको छ, अहिले चाप अनुसार विद्यार्थी भर्ना गर्न हम्मे हम्मे परिरहेको छ, रिता माविका प्राचार्य प्रेमबहादुर बस्नेतले भने । बस्नेतका अनुसार विद्यालयमा कक्षा ८ देखि सिभिल इन्जिनियरिङ पढाइ हुन्छ । कक्षा ११ र १२ मा विज्ञान, व्यवस्थापन, होटेल व्यवस्थापन, कानुन र शिक्षा शास्त्र सङ्कायमा विद्यार्थीले पढ्न पाउँछन् । विद्यालयमा स्टाफ नर्सको व्यवस्थाले विद्यार्थीको आकस्मिक उपचारमा सहयोग पुगेको छ ।

कक्षा ८ को प्राविधिक कक्षामा पढ्छिन् कविता खड्का । उनले कक्षा ७ सम्म स्थानीय एक बोर्डिङ स्कुल पढेकी थिइन् । प्राविधिक पढ्ने रुचिले उनी यहाँ कक्षा ८ मा भर्ना भएकी हुन् । ‘विद्यालयको वातावरण राम्रो छ । प्राविधिक शिक्षा पढ्दा घरमा पनि अभिभावक खुसी हुनुहुन्छ,’ उनले भनिन् ।

नवीन औद्योगिक कद्दरबहादुर रिता माविको शैक्षिक सुधारका लागि ‘राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम’अन्तर्गत ४५ लाख रुपैयाँ आउने निश्चित भएको छ । विद्यालयमा अहिले  ४ वटा कोठा र  एउटा शौचालय निर्माणको काम भइरहेको बस्नेतले बताए । ‘बर्सेनि पूर्वाधार विकासलाई जोड दिइरहेका छौँ’, प्राचार्य बस्नेतले भने ।

उनका अनुसार अहिले कुल ९ करोड रुपैयाँको लागतमा भवन बन्दै छ । त्यसमध्ये प्रदेश सरकारको २ करोड रुपैयाँको बजेटमा काम भइरहेको छ । 

बुटवल उपमहानगरपालिका भित्रै पर्ने अर्को सामुदायिक विद्यालय हो, कालिका मानविज्ञान माध्यमिक विद्यालय । यो देशकै सबैभन्दा धेरै विद्यार्थी भएको विद्यालय पनि हो । भौतिक पूर्वाधार र शैक्षिक गुणस्तरले यो विद्यालयलाई सरकारले नमुना विद्यालय घोषणा गरेको छ । कक्षा ११ र १२ मा यहाँ शिक्षा, विज्ञान, कानुन, प्राविधिक शिक्षा र व्यवस्थापन सङ्कायमा पठनपाठन हुन्छ । वि.सं. २०७५ मा बुटवल– १० को मानव ज्ञान मावि कालिका माविसँग गाभिएको थियो । अहिले विद्यालयमा आठ हजार विद्यार्थी पढ्छन् । 

‘हामी विद्यार्थीलाई पढाउने भन्दा पनि आफै सिक्न प्रेरित गर्छौँ र प्रोजेक्ट कार्यमा विशेष जोड दिन्छौँ । यही नै हाम्रो सफलताको आधार हो’, प्राचार्य दिनेश थापाले भने । कालिका माविमा विपन्न विद्यार्थीले निःशुल्क खान र छात्रावासमा बस्न पाउँछन् । तर सिट सीमित भएकोले छात्रावासमा विद्यार्थीको चाप थेग्न हम्मे हम्मे परेको प्राचार्य थापाले बताए ।

उपमहानगरपालिकाको शिक्षा शाखाका अनुसार बुटवलमा कुल ३९ सामुदायिक विद्यालयमध्ये २२ वटा माध्यमिक विद्यालय छन् । संस्थागततर्फ ५९ वटा विद्यालयमध्ये ४९ वटा मावि विद्यालयहरू रहेका छन् । 

ती विद्यालयको शैक्षिक गुणस्तर बढाउन अभियानको रूपमा काम गरिएको शिक्षा शाखा अधिकृत यादव विष्टले बताए । उनका अनुसार बुटवलमा सामुदायिक र संस्थागत गरी ५५ हजार ७ सय २७ विद्यार्थी अध्ययनरत छन् । यसमा सामुदायिक तर्फ २५ हजार ९०३ र संस्थागत तर्फ २९ हजार ८२४ विद्यार्थी रहेका छन् ।   बुटवलका सामुदायिक विद्यालयको गुणस्तर वृद्धि अरूको लागि प्रेरणादायी भएको रुपन्देहीका पूर्व जिल्ला शिक्षा अधिकारी टेक बहादुर थापाले बताए । 

बुटवल उपमहानगरपालिकाले कुल बजेटको १५ प्रतिशत शिक्षामा विनियोजन गर्दै आएको छ । उपमहानगरपालिकाले प्रदेश र सङ्घीय सरकारले शैक्षिक गुणस्तर बढाउन चालेका कदमलाई बल पुग्ने गरी शिक्षा नीति तयार गरेको छ । उपमहानगरपालिका माध्यमिक शिक्षा शाखा प्रमुख टिकाराम पन्थीको भनाइमा सबै विद्यालयको भौतिक पूर्वाधार विकासमा जोड दिइएको छ । यस्तै दक्ष जनशक्तिको प्रबन्ध गर्न प्राथमिकता दिइएको छ भने विद्यार्थीका लागि एकै खालको पोसाकको व्यवस्था गरिएको छ । 

शैक्षिक गुणस्तर वृद्धिको अभियानअन्तर्गत अब अब्बल शिक्षकले कुनै एक विद्यालयमा मात्र नभई नगरका आवश्यक पर्ने सबै विद्यालयमा पुगेर पठनपाठन गराउनुपर्ने व्यवस्था मिलाइएको छ । यसले शैक्षिक गुणस्तर विकासलाई प्रभावकारी बनाउँदै लगेको पन्थीले बताए ।

बुटवलमा स्थानीय पाठ्यक्रममा आधारित स्थानीय पाठ्यपुस्तक ‘हाम्रो बुटवल’ कक्षा १ देखि ८ सम्म लागू भएको छ । शैक्षिक स्तर वृद्धिका लागि उपमहानगरको सहयोगमा सामुदायिक विद्यालयमा विज्ञान र कम्प्युटर प्रयोगशाला तयार  भएका छन् । शैक्षिक गुणस्तर विकासबाटै दक्ष जनशक्ति उत्पादन हुने र त्यसबाटै समुन्नत बुटवलको अवधारणालाई  साकार पार्न सहज हुने प्रमुख खेलराज पाण्डेयले बताए ।

उपमहानगरपालिका सबै विद्यालयमा कुनै न रूपमा बजेट छुट्याएर काम गरेको छ । लक्ष्मी मावि, नयाँ गाउँ मावि, मोतीपुर मावि, भवानी मावि र अमर माविमा विज्ञान प्रयोगशाला र कम्प्युटर तथा सूचना प्रविधि व्यवस्थापन कक्ष सञ्चालन भएका छन् ।  राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत बजेट लागि प्रत्येक वर्ष सिफारिस गर्ने काम गरेको थियो । अहिले पनि ६ वटा विद्यालयमा त्यसको लागि बजेट विनियोजन भएको छ । यो वर्ष गत वर्षभन्दा शिक्षामा बजेट बढाउने गरी काम गर्ने प्रमुख पाण्डेयले जानकारी दिए । 

यस क्षेत्रका सामुदायिक विद्यालयको भौतिक पूर्वाधार र गुणस्तरमा प्रगति देखिएपछि अभिभावक पनि उत्साहित  छन् ।  लक्ष्मी माविकी अभिभावक सीता थापाले उपमहानगरपालिकाले सबै विद्यालयको अवस्था र आवश्यकता बुझेर राम्रो लगानी गरेको बताइन् ।

उपमहानगरका शिक्षा तथा स्वास्थ्य महाशाखा प्रमुख उपसचिव मित्रमणि खनालको भनाइमा उपमहानगरपालिले २०७६ सालदेखि ०८१ सम्म लागि लिएको शिक्षा रणनीति महत्त्वपूर्ण रहेको छ ।  विद्यालय सुधार गर्नको लागि  भौतिक लगानीसँगै धेरै नीतिगत निर्णय भएका छन् । जसले विद्यालयको गुणस्तर बढाउन बल पुगेको उनले बताए ।  उनले विद्यालयका शिक्षक, कर्मचारी तथा बाल विकास केन्द्रका सहयोगी कार्यकर्ताको तलब तथा भत्ता मासिक रूपमा भुक्तानी गर्ने लगायतको परिवर्तन पनि सुरु गरिएको बताए । 

butwal-school (5)

सामुदायिक विद्यालयमा अध्ययनरत  २४  हजार विद्यार्थीका लागि आवश्यक पर्ने पाठ्यपुस्तकको पैसा विद्यालयको खातामा निकासा हुन्छ । पाठ्यपुस्तक समयमै विद्यार्थीको हातमा पु¥याउन प्राथमिकता दिइएको छ । यसअघि त्रैमासिक परीक्षा सकिँदासम्म विद्यार्थीले पुस्तक पाउन सक्दैनथे । ‘शिक्षाको नीतिगत र कानुनी मान्यतासहितको विकासका लागि नगर शिक्षा ऐन कार्यान्वयनमा आएको छ । यसले क्रमशः सुधारको बाटो फराकिलो बनाउँदै लगेको छ’, उनले भने ।

यस्तै संस्थागत विद्यालयमा पढ्ने बालबालिकाका लागि १० प्रतिशत जेहेन्दार तथा लक्षित समूहका विद्यार्थीहरूका लागि छात्रवृत्ति व्यवस्था गरिएको छ । निजी विद्यालयमा राम्रा पक्षहरूलाई सामुदायिक विद्यालयलाई अनुसरण गर्ने वातावरण तयार पारिएको छ । जसले निजी र सामुदायिक विद्यालय बिच स्वस्थ प्रतिस्पर्धाको वातावरण बनेको उपमहानगरपालिको दाबी छ । 

शिक्षा मन्त्रालयले  सार्वजनिक गरेको शैक्षिक सत्र २०७९ को विवरण अनुसार  देशभरका सबै भन्दा बढी विद्यार्थी रहेका १५ सामुदायिक विद्यालय मध्ये बुटवलका कालिका मावि पहिलो र कान्ति मावि दोस्रो नम्बरमा छन् । शैक्षिक गुणस्तरकै कारण विद्यार्थी सङ्ख्या राम्रो भएको  र शैक्षिक गुणस्तरलाई अझै माथि उकास्न उपमहानगरपालिका योजनाबद्ध रूपमा लागेको प्रमुख पाण्डेले बताए । 

 

butwal-school (13)

butwal-school (15)

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

तेजेन्द्र के.सी.
तेजेन्द्र के.सी.

केसी रातोपाटीका प्रदेश नम्बर ५ का संयोजक हुन् । 

लेखकबाट थप