शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय
अर्थ–वार्ता

‘डिजिटल बैङ्किङले ‘अन्डर टेबल’ कारोबार घटाउँदै कर छलीसमेत रोक्छ’

क्यूआर प्लेटफर्ममा गरेको लगानीबाट आम्दानी छैन– सीईओ भुजु
आइतबार, ३१ असार २०८०

सन् २००१ मा स्थापना भएर २००३ देखि कारोबार सुरु गरेको स्मार्ट च्वाइस टेक्नोलोजी (एससीटी) ले नेपालको डिजिटल बङ्किङको विकासमा महत्त्वपूर्ण भूमिका खेल्दै आएको छ । कम्पनीले नेपालमै पहिलो पटक स्वदेशी ब्रान्डको एससीटी कार्ड प्रयोगमा ल्याएको थियो ।

हाल एससीटीले वाणिज्य बैङ्क, विकास बैङ्क, फाइनान्स, सहकारीलगायत कबि ८० कम्पनीलाई क्यूआर प्लेटफर्मसमेत उपलब्ध गराइरहेको छ । नेपाल सरकारले नै डिजिटल नेपाल फ्रेमवर्क बनाएर डिजिटल कारोबारलाई प्रोत्साहन गर्ने लक्ष्य लिएको समयमा रातोपाटीले एससीटीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) नारायण प्रकाश भुजुसँग गरेको कुराकानीको सम्पादित अंश–

–एससीटी भनेको कस्तो कम्पनी हो, खुलाइदिनोस् न ?

स्मार्ट च्वाइस टेक्नोलोजीलाई सर्टफर्ममा एससीटी भन्छौँ । यो कम्पनी एउटा विशुद्ध रूपमा बैङ्क तथा वित्तीय संस्थाहरूलाई डिजिटल बैङ्किङ सर्भिस दिन भनेर सन् २००१ मा स्थापना भएर सन् २००३ देखि वित्तीय संस्थाहरूलाई एटीएम कार्ड उपलब्ध गराइरहेको छ । नेपालमा यो पहिलो पटक एटीएम कार्ड सुरु गर्ने पहिलो कम्पनीसमेत हो । यसले एउटा प्लेटफर्मबाट मल्टिपल बैङ्कहरूलाई एटीएमकार्ड उपलब्ध गराउँदै आइरहेको छ ।

एससीटीलाई नेपालमा एटीएम कार्ड प्रयोग गर्न सिकाउने संस्थाभन्दा पनि फरक पर्दैन । आजको दिनमा एससीटीले डिजिटल बैङ्किङका सबै सेवा सुविधा प्रदान गर्दै आएको छ । यो नेपाल राष्ट्र बैङ्कबाट पब्लिक सर्भिस अपरेसनको लाइसेन्स प्राप्त संस्था हो । 

–सन् २००३ देखि नै तपाईंहरूले सेवा सुरु गर्नुभयो । यसको सुरुवात कसरी भयो ?

त्यो समयमा यस्तो प्रकारको सेवा सुरु गर्नु कठिन काम नै हो । आजको दिनमा नेपालमा डिजिटल पेमेन्टमा आएको विकासमा एससीटीको महत्त्वपूर्ण भूमिका छ भन्न रुचाउँछु । निजी कम्पनीका रूपमा स्थापित कम्पनी आज सार्वजनिक बनिसकेको छ । यसमा अहिले बैङ्क तथा वित्तीय संस्थाहरूको लगानी छ । आजको डिजिटल बैङ्किङको अवस्थामा आइपुग्न धेरै मेहनत गरेका छौँ ।

कार्ड स्किममा चाहिँ अन्तर्राष्ट्रिय ब्रान्डसँग सहकार्य गरिरहेका छौँ । मोबाइल बैङ्किङको क्षेत्रमा चाहिँ आन्तरिक प्राविधिक क्षमता बढाएर सेवा दिइरहेका छौँ ।

–तपाईंहरू विदेशी ब्रान्डसँग पनि सहकार्य गरिरहेको दाबी गर्नुहुन्छ । कुन कुन विदेशी कम्पनीसँग सहकार्य छ ?

अहिले विदेशी संस्थाहरू भनेको चीनको युनियन पेसँग सहकार्य गरिरहेका छौँ । पाँच वर्षअघिसम्म एससीटीको आफ्नै ब्रान्ड बनाएर कार्ड स्किम चलाएका थियौँ । त्यो समयमा पनि एससीटी ब्रान्डलाई अपरेट गरेर भुटानसम्म आफ्नो सेवा विस्तार गरिसकेका थियौँ । अहिले एटीएम कार्ड उद्यममा आएको प्रविधि र सुरक्षा व्यवस्थाको मापदण्ड तोकिएपछि युनियन पेको प्रविधि चलाइरहेका छौँ । यस्तै डिस्कभर कार्ड र भारतको रूपे कार्ड पनि स्वीकार्न थालिसकेका छौँ । यसबाहेक भिसा र मास्टरकार्डसँग पनि सहकार्य गरिरहेका छौँ ।

कार्ड स्किममा चाहिँ अन्तर्राष्ट्रिय ब्रान्डसँग सहकार्य गरिरहेका छौँ । मोबाइल बैङ्किङको क्षेत्रमा चाहिँ आन्तरिक प्राविधिक क्षमता बढाएर सेवा दिइरहेका छौँ ।

–अहिले डिजिटल बैङ्किङको विषय धेरै अघि आइसकेको छ । नेपालमा यसको सुरुवात कसरी भयो ?

सुरुमा बैङ्किङ इन्डस्ट्रीमा सन् २००२ मा इन्टरनेट बैङ्किङ आएको थियो । त्योभन्दा अघि निश्चित क्रेडिट कार्ड मात्रै थियो र सन् २००३ मा एटीएम कार्ड आउन थाल्यो । सन् २००४ देखि एसएमएस बैङ्किङ सुरु भएको थियो । यस्तै सन् २००९ बाट मात्रै मोबाइल बैङ्किङ सुरु भएको हो । त्यसपछि मोबाइल बैङ्किङका रूपमा आउन थालेको थियो । सन् २०१४ देखि चाहिँ डिजिटल बैङ्किङ सुरु भएको हो । कार्ड, मोबाइल र इन्टरनेटलगायतका जुनसुकै विद्युतीय प्रणालीबाट गरिने कारोबार डिजिटल बैङ्किङ हो ।

अब विस्तारै बैङ्कहरूले परम्परागत कारोबार प्रणालीबाट डिजिटल बैङ्किङमा जानुपर्छ । किनकि अहिले बैङ्कको पहुँचसँगै मोबाइल बैङ्किङको सेवासमेत विस्तार भइरहेको छ । अबको दिनमा बैङ्कहरूले डिजिटल सेवा उपलब्ध गराउन सकेमा धेरै ग्राहकलाई सेवा दिन सकिन्छ । यही हेतुले बैङ्कहरूले डिजिटल बैङ्किङलाई ग्रहण गर्दै आइरहेका छन् ।

–डिजिटल बैङ्किङका माध्यमबाट हामी ‘क्यासलेस’ कारोबारसम्म पुग्न सम्भव छ कि छैन ?

क्यासलेसभन्दा पनि लेसक्यासमा चाहिँ पुगिसकेका छौँ । कार्डबाट सुरु भएको डिजिटल बैङ्किङ अब विस्तारै मोबाइल बैङ्किङमा गइसकेका छौँ । आजको दिनमा मोबाइल बैङ्किङ प्रयोग गर्ने प्रयोगकर्ताको सङ्ख्या दुई करोड पुगिसकेको छ र कार्ड प्रयोगकर्ताको सङ्ख्या १ करोड १० लाख हाराहारीमा मात्रै छ ।

मोबाइल बैङ्कका प्रयोगकर्ता धेरै भए पनि कारोबार कार्डबाटै धेरै हुन्छ । अहिले मासिक पाँच लाख ट्रान्ज्याक्सन मोबाइल बैङ्किङबाट हुन्छ भने कार्डबाट एक करोडभन्दा बढीको ट्रान्ज्याक्सन हुन्छ ।

मोबाइल बैङ्किङले गरिरहेको ग्रोथबाट नेपालमा डिजिटल बैङ्किङका प्रयोगकर्ता बढ्दै छन् भन्ने देखिन्छ । अबको दिनमा सबै बैङ्कहरूले सबै सेवा मोबाइलबाटै गर्ने लक्ष्य तय गरिसकेका छन् । यसमा ऋण आवेदनदेखि, डिपोजिट, रकम भुक्तानी र डिपोजिट झिक्नेसम्मका काम मोबाइलबाटै हुन थालेको छ । यस्तै क्रेडिट कार्डसमेत अनलाइनबाटै दिन थालिएको छ । अहिले सामान किन्दादेखि बत्तीको पैसा तिर्दासम्म मोबाइलबाट भुक्तानी हुन थालेको छ । यी काम अहिले क्यूआर स्क्यानबाटै हुन थालेको छ । सन् २०१८ देखि क्यूआर सुरु भएको छोटो समयमै यसको बजार फराकिलो बनेको छ ।

त्यसोभए पछिल्लो समय क्यूआर प्रयोगकर्ता बढ्दो अवस्थामा र कार्डका प्रयोगकर्ता घट्दो अवस्थामा हो ?

मोबाइल बैङ्क प्रयोग गर्ने सबै ग्राहकले क्यूआर प्रयोग गर्न पाउँछन् । कार्डको चाहिँ निश्चित समयावधि हुन्छ । निश्चित अवधिभित्र यसलाई नवीकरण गर्नुपर्ने हुन्छ । आजको दिनमा दुई करोड मोबाइल बैङ्क प्रयोगकर्ता छन् र एक करोड १० लाख कार्ड प्रयोगकर्ता छन् । जबकि कुल जनसङ्ख्याको ६० प्रतिशत मात्रै वित्तीय पहुँचमा छन् । तर करिब जनसङ्ख्याको हाराहारीमै मोबाइल बैङ्कका प्रयोगकर्ता पुगेका छन् । यसमा डुप्लिकेसन छ । बैङ्क खाता खोल्ने जनसङ्ख्या नै पाँच करोड पुगिसक्यो ।

मोबाइल बैङ्कका प्रयोगकर्ता धेरै भए पनि कारोबार कार्डबाटै धेरै हुन्छ । अहिले मासिक पाँच लाख ट्रान्ज्याक्सन मोबाइल बैङ्किङबाट हुन्छ भने कार्डबाट एक करोडभन्दा बढीको ट्रान्ज्याक्सन हुन्छ । गत वर्षदेखि हेर्दा क्यूआरको ट्रान्ज्याक्सन प्रत्येक वर्ष तीन गुणासम्मले बढेको छ ।

–अहिले बजारमा सीमित कम्पनीहरूले क्यूआर स्क्यान प्लेटफर्म सेवा दिइरहेका छन् । यसबाट भावि दिनमा कस्ता समस्या आउँछन् ?

नेपालमा फोनपेले सबैभन्दा सुरुमा क्यूआर स्क्यानको सेवा सुरु गरेको हो । अहिले नेपालमा एससीटी र नेपाल क्यूआरसहित तीनवटा यस्ता प्लेटफर्म छन् । क्यूआरमा आउने हामी दोस्रो र नेपाल पे तेस्रो कम्पनी हो । आजको दिनमा विभिन्न स्थानमा क्यूआरका लागि मर्चेन्ट अक्वायार गरिरहेका छौँ । बैङ्कले मात्रै नभई मोबाइल वालेटहरूले समेत स्मार्ट क्यूआर गर्न सक्ने बनाइएको छ । सीमित कम्पनी हुँदा भावी दिनमा समस्या आउन सक्छ । उसको सिस्टम बिग्रियो भने समस्या आउन सक्छन् ।

अहिलेसम्म हामीले क्यूआर प्लेटफर्म उपलब्ध गराएबापत शुल्क लिने गरेका छैनौँ । अहिलेसम्म सेवाग्राहीलाई बानी पार्न र चेतना फैलाउन मात्रै गरिएको लगानी हो ।

हाल नेपालमा क्यूआरका प्रयोगकर्ता मोबाइल बैङ्किङ सबैले प्रयोग गर्न सक्छन् । आजको दिनमा स्मार्ट क्यूआरले साढे दुई लाख र नेपाल क्यूआरले साढे तीन लाख मर्चेन्ट अक्वायार गरिसकेको छ । फोनपेका आफ्नै मर्चेन्ट छन् । आजको दिनमा सबै बैङ्क तथा मोबाइल वालेटले हाम्रो क्यूआर प्रयोग गरिरहेका छन् ।

–क्यूआर सर्भिस प्रोभाइडरले आफ्ना सेवाग्राहीबाट कमिसन लिने गरेका छैनन् । तर लगानी बढेको बढ्यै छ । यस्तो अवस्थामा कसरी सस्टेन हुन्छन् ?

अहिलेसम्म हामीले क्यूआर प्लेटफर्म उपलब्ध गराएबापत शुल्क लिने गरेका छैनौँ । अहिलेसम्म सेवाग्राहीलाई बानी पार्न र चेतना फैलाउन मात्रै गरिएको लगानी हो । क्यूआर प्लेटफर्मबाट सेवाप्रदायकले आम्दानी गर्न सकेका छैनन् । अब अर्को वर्षदेखि शुल्क लगाउने तयारी छ । तर क्यूआर पेमेन्ट सर्भिस ग्राहकलाई नभई मर्चेन्टलाई लगाउने हो । मर्चेन्टले सेवा लिएबापत मर्चेन्टलाई नै शुल्क लगाउने हो । प्रयोगकर्ता यसबाट प्रभावित बन्दैनन् ।

डिजिटल बैङ्किङले वित्तीय कारोबारमा पारदर्शिता ल्याउँछ । कारोबारका बारेमा प्रष्ट जानकारी हुन्छ ।

–एक महिनाअघि नेपाल क्लियरिङ हाउस र नेसनल पेमेन्ट कर्पोरेसन आफ इन्डियाबीच क्रसबोडर्स पेमेमन्ट सम्झौता भयो । यसको अर्थ भारको रूपे नेपाली बजारमा आउँछ । फल खान ठिक्क पर्नुभएका तपाईं सेवाप्रदायकहरूलाई यसबाट कस्तो प्रभाव पर्छ ?

हाम्रो अध्ययनले प्रतिस्पर्धी धेरै भएमा यसबाट हुने बजार विस्तार पनि प्रभावशाली रूपमा हुने गरेको छ । एउटा सेवाप्रदायक हुँदाको तुलनामा तीन वटा प्रतिस्पर्धी हुँदा बजार हिस्सा बढ्दो अवस्थामा छ । यस कारण रूपे आउँदा बजार हिस्सा झनै बढ्न सक्छ । नेपालको आन्तरिक प्रयोगका लागि भने नियामकले रूपेलाई आउन दिन हुँदैन । यसो भएमा नेपाली प्लेयरलाई समस्या पर्न सक्छ । तर हामीले यसलाई चुनौतीका रूपमा भन्दा अवसरका रूपमा हेर्नुपर्छ ।

–डिजिटल बैङ्किङ बढ्दो अवस्थामा छ । यसका फाइदा पनि धेरै छन् । ती फाइदाहरू के–के हुन् ?

डिजिटल बैङ्किङले वित्तीय कारोबारमा पारदर्शिता ल्याउँछ । कारोबारका बारेमा प्रष्ट जानकारी हुन्छ । यसले सरकारी तवरमा हुने कारोबारलाई पनि स्वच्छ बनाउँछ र यसबाट ‘अन्डर टेबल’ हुने कारोबार घट्दै जान्छ । डिजिटल पेमेन्टबाट फिजिकल क्यासको आवश्यकता र कारोबार नै घट्छ । यस्तै दैनिक अर्बौंको कारोबार डिजिटल माध्यमबाट हुन थालिसकेको छ । त्यसैले डिजिटल बैङ्किङलाई सबै सरकारी तवरमा लागु गर्नुपर्छ र यसलाई प्रोत्साहन गर्नुपर्छ । कर छल्ने र क्षमताभन्दा धेरै कारोबार गर्ने कारोबारीको वास्तविकता पनि बाहिर आउँछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया