शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

चार दिनदेखि बन्द पोखरा अन्तर्राष्ट्रिय विमानस्थल खुल्यो

बिहीबार, २० वैशाख २०८१, १० : २७
बिहीबार, २० वैशाख २०८१

काठमाडौँ । बाक्लो तुवाँलोका कारण ‘भिजिबिलिटी’ नपुग्दा बन्द भएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल खुलेको छ । विगत चार दिनदेखि रोकिएका उडान आज बिहानदेखि नियमित भएका बुद्ध एयरका सूचना अधिकारी दीपेन्द्रकुमार कर्णले जानकारी दिएका हुन् । 

“विगत चार दिनदेखि पोखरा विमानस्थलमा उडान भएको थिएन । आज भिजिबिलिटी पुगेकाले उडान सुरु भएको छ । चार दिनमा दुई दिन त कुनै पनि उडान भएनन् भने दुई दिन आंशिक मात्रै उडान भए,’ सूचना अधिकारी कर्णले भने । 

मौसममा सुधार आएसँगै आज बिहानैदेखि उडान नियमित भएका उनले बताए ।  पोखरा आसपासका क्षेत्रमा डढेलो लागेको र तुवाँलोका कारण भिजिबिलिटी नपुग्दा विमानस्थल बन्द भएको जनाइएको छ । चार दिनसम्म उडान नहुँदा यात्रीले वैकल्पिक मार्ग प्रयोग गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप