आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय
राजनीति

मंसिरदेखि तल्लो तहका अधिवेशन थालेर फागुनमा महाधिवेशन गर्ने रास्वपाको तयारी

वडादेखि प्रवाससम्म कमिटी विस्तार
सोमबार, ०१ साउन २०८०, ०६ : ५५
सोमबार, ०१ साउन २०८०

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी मंसिरदेखि तल्ला कमिटीको अधिवेशन थाल्ने तयारी सुरु गरेको छ । रास्वपाले आगामी मंसिरमा वडा अधिवेशन सुरु गरेर विभिन्न तहको अधिवेशन सकी फागुनमा पहिलो महाधिवेशन सम्पन्न गर्ने भएको हो ।

रास्वापाका सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले रातोपाटीलाई भने, ‘मंसिरबाट महाधिवेशनको चरणमा प्रवेश गर्छौँ । सुरुमा हाम्रो वडा अधिवेशन हुन्छ । त्यसपछि पालिका अधिवेशन हुन्छ ।’

पार्टीको संगठन विभाग प्रमुखसमेत रहेका बुर्लाकोटीका अनुसार पालिका अधिवेशनले प्रदेश र केन्द्रीय अधिवेशनका लागि प्रतिनिधि छान्ने छ । पालिकाभित्रका साधारण सदस्यले महाधिवेशन प्रतिनिधि छनोट गर्ने उनको भनाइ छ ।

बुर्लाकोटीका अनुसार गाउँपालिकाबाट एक जना, नगरपालिकाबाट दुई जना, उपमहानगरपालिकाबाट तीन र महानगरपालिकाबाट चार जनाका दरले महाधिवेशन प्रतिनिधि छनोट हुनेछ । यसरी ७५३ पालिकाबाट १ हजार ६९ जना महाधिवेशन प्रतिनिधि छानिने छन् ।

जस अनुसार ६ वटा महानगरपालिकाबाट २४ जना, ११ वटा उपमहानगरपालिकाबाट ३३ जना, २७६ वटा नगरपालिकाबाट ५५२ जना र ४६० गाउँपालिकाबाट ४६० जना प्रतिनिधि छानिने छन् ।

‘अहिलेसम्म प्रदेश र केन्द्रीय महाधिवेशन प्रतिनिधि छुट्याइएको छैन । महाधिवेशन प्रतिनिधिले नै सम्बन्धित प्रदेशको नेतृत्व चयन गर्नुहुन्छ,’ बुर्लाकोटीले भने । रास्वपाले केन्द्रीय सभापतिको चयन पार्टी सदस्यबाट गर्ने बताउने गरेको छ । तर पहिलो महाधिवेशनमा प्रतिनिधिबाट चयन गर्ने सम्भावना रहेको उनी बताउँछन् ।

‘हाम्रो स्प्रिटचाहिँ साधारण सदस्यको मतदानबाट सभापति चयन गर्ने भन्ने हो । तर डकुमेन्टमा महाधिवेशन प्रतिनिधिले चयन गर्ने भन्ने छ,’ बुर्लाकोटी भन्छन्, ‘सोही अनुसार नै नेतृत्व चयन गर्ने गरी अगाडि बढेका छौँ ।’

उनका अनुसार साधारण सदस्यले पनि भोट हाल्ने व्यवस्थाका लागि डिजिटल सिस्टम त्यति राम्रो बनिसकेको छैन । पहिलो महाधिवेशन भएकाले रास्वपाले सर्वसम्मत नेतृत्व चयनका लागि जोड गर्ने छ ।

‘अधिकांश ठाउँमा सहमतिको खोजी हुन्छ । तर, केन्द्रीय वा प्रदेश नेतृत्वबाट टीका लगाउने अभ्यास हुँदैन,’ बुर्लाकोटीले भने, ‘पालिका र वडा तहमै रहेका साथीहरुबीच सहमतिको प्रयास हुन्छ ।’ अहिले पनि सोही अनुसार वडा र पालिका कमिटी निर्माण भइरहेको उनको भनाइ छ ।

भदौमा बस्ने केन्द्रीय समिति बैठकमा महाधिवेशनको तालिका र मोडालिटीबारे प्रस्ताव लैजाने रास्वपाको तयारी छ । ‘कार्यतालिका र मोडालिटी केन्द्रीय समितिले टुङ्ग्याउने कुरा रह्यो । वडा अधिवेशन प्रदेशगत सुरु गर्ने कि भन्ने छ,’ उनी भन्छन्, ‘हामी नयाँ पार्टी भएकाले एकै पटक वडा अधिवेशन गर्दाको जोखिम विश्लेषण गर्नुपर्ने हुन्छ । प्रदेशगत रुपमा सुरु गरेर जाने कि भन्ने पनि छ । वडाको पनि कसरी गर्ने ? हाम्रो पहल कति लाग्छ ? एउटा विधि अपनाउनुपर्छ होला ।’

बुर्लाकोटीका अनुसार पहिला सबै पालिकाको एक नम्बर वडाको अधिवेशन गर्न सामान्य खाका बनेको छ । त्यसैगरी अरु वडाको पनि अधिवेशन हुने उनले बताए । ‘यसरी अधिवेशन गर्दा हामीलाई केही समय लाग्छ । वडा अधिवेशनका लागि एक महिना राखेर पालिका अधिवेशन प्रारम्भ गर्ने तयारी छ । त्यसपछि प्रदेश अधिवेशनमा जान्छौँ होला,’ बुर्लाकोटीले भने ।

उनका अनुसार साउनमा केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्ने छ । कार्यसम्पादन समितिले पास गरेको एजेण्डामाथि छलफल गर्न भदौमा रास्वपाको केन्द्रीय कार्यसमिति बैठक बस्ने छ ।

वडादेखि प्रवाससम्म संगठन विस्तार

रास्वपामा वडा तहदेखि क्रमशः स्थानीय तह, संघ÷प्रदेश निर्वाचन क्षेत्र, जिल्ला, प्रदेश हुँदै केन्द्रसम्म प्रतिनिधि चुनिने व्यवस्था गरिएको छ । करिब १ हजार वडामा संगठन विस्तार भइसकेको रास्वपाको दाबी छ ।  वडा र पालिका दुवैको आकार ११ सदस्यीय छ ।

७ सय ५३ मध्ये करिब २ सय ९० पालिकामा समिति बनाइएको बुर्लाकोटी बताउँछन् । जसमा सभापति, उपभापति, सचिव, कोषाध्यक्षसहित सदस्य रहने व्यवस्था छ । पार्टी सदस्यहरुको भेलाबाट वडा र पालिका कमिटी गठन गर्ने गरिएको छ ।

‘पार्टीका सदस्यको भेला हुन्छ । पार्टीको समसामयिक कुरामाथि छलफल हुन्छ । त्यसपछि कमिटीमा बस्न इच्छुक साथीहरुले आवेदन दिनुहुन्छ,’ उनी भन्छन्, ‘आवेदन दिनेको संख्या धेरै भयो भने छलफल गरेर टुङ्ग्याइन्छ । छलफलबाट पनि टुङ्गिने अवस्था भएन भने मतदानमा जाने गरेका छौँ ।’

बुर्लाकोटीका अनुसार असोजसम्म देशभरका सबै वडा र पालिकामा कमिटी गठन गरिसक्ने रास्वपाको लक्ष्य छ । पालिकासम्मै विभिन्न विभाग पनि राखिएका छन् । १ सय ६५ मध्ये १ सय ५४ निर्वाचन क्षेत्रमा निर्वाचन क्षेत्र समिति गठन भइसकेको रास्वपाले जनाएको छ ।

७७ मध्ये ७४ जिल्लामा जिल्ला समिति बनेका छन् । डोल्पा, हुम्ला र रुकुम पश्चिममा जिल्ला संयोजक र सहसंयोजक तोक्न बाँकी रहेको बुर्लाकोटीले बताए । रास्वपाले जिल्लामा अन्य पदाधिकारी रहने व्यवस्था गरेको छैन भने निर्वाचन क्षेत्रमा क्षेत्रीय समिति हुने सांगठनिक संरचना छ ।

रास्वपाले सातै प्रदेशमा प्रदेश समिति गठन गरिसकेको छ । रास्वपाले कोशीमा राजेश तिम्सिना, मधेशमा तपेश्वर यादव, बागमतीमा अचुतम लामिछाने, गण्डकीमा राजन गौतम, लुम्बिनीमा देवराज पाठक, कर्णालीमा धिरजबहादुर वली र सुदूरपश्चिममा प्रकाश विष्टलाई सभापति बनाएको छ ।

बुर्लाकोटीका अनुसार कर्णालीमा ३०, बागमतीमा ८०, सुदूरपश्चिममा ४०, कोशीमा ५७, मधेशमा ७७, लुम्बिनीमा ३६ र गण्डकीमा ४६ सदस्यीय प्रदेश समिति बनेको छ । प्रदेशस्तरमा ३३ विभाग पनि गठनको प्रक्रियामा रहेको रास्वपाले जनाएको छ ।

प्रदेशभित्र रहेको निर्वाचन क्षेत्रको संख्याअनुसार प्रदेश समितिको संख्या यकिन गरेको छ । प्रदेश निर्वाचन क्षेत्रबाट अनिवार्य रूपमा प्रतिनिधि चयन हुने गरी संघीय निर्वाचन क्षेत्र समिति बन्छ । त्यही समितिका आधारमा प्रदेश समिति बनाउने रास्वपामा व्यवस्था छ ।

रास्वपामा १ सय २१ सदस्यीय केन्द्रीय कार्यसमिति हुने व्यवस्था रहे पनि अहिलेसम्म ३९ जना केन्द्रीय सदस्यमात्र मनोनीत भएका छन् । आगामी केन्द्रीय कार्यसमिति बैठकबाट केन्द्रीय सदस्य थप्ने रास्वपाको तयारी छ । केन्द्रमा ३६ विभागको गठन र जिम्मेवारी बाँडफाँट भने भइसकेको छ ।

केन्द्रमा लेखा, अनुशासन, विवाद समाधान र निर्वाचन आयोग रहने व्यवस्था गरिएको छ । यस्तै रास्वपाले विदेशमा पनि संगठन विस्तार गरिरहेको छ । प्रवासी नेपाली समन्वय विभागका रूपमा विभिन्न देशमा कमिटी गठन भइरहेका छन् । बुर्लाकोटीका अनुसार अहिलेसम्म मलेसिया, दुबई, कतार, साउदी, जापान, कोरिया, युके र अमेरिकामा विभाग गठन भइसकेका छन् । बाँकी देशमा पनि गठन हुने क्रममा छ ।

विदेशमा रहेकाहरुले आफ्नो पासपोर्ट अपलोड गरेर अनलाइनबाटै सदस्यता लिन सक्ने व्यवस्था छ । उनका अनुसार विदेशमा रहेका पार्टी सदस्यले पनि संगठनको आन्तरिक निर्वाचनमा भाग लिन पाउने व्यवस्था छ । पार्टी समिति चुन्दा ३३ प्रतिशत महिला र ५१ प्रतिशत ४५ वर्षमुनिका युवा हुनुपर्ने प्रावधान राखिएको छ । अहिलेसम्म साढे ३५ हजारले रास्वपाको सदस्यता लिसकेका छन् । सदस्यताका लागि डेढ लाखले दिएको आवेदन रुजुको प्रक्रियामा रहेको रास्वपाले जनाएको छ ।  यस्तै २७ हजार ४ सय ३६ जना रास्वपाको साधारण सदस्य बनिसकेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लोकेन्द्र भट्ट
लोकेन्द्र भट्ट

भट्ट रातोपाटीका लागि राजनीति तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् । 

लेखकबाट थप