शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

बाँचे तलब मरे पेन्सन !

आइतबार, २९ पुस २०८०, १२ : २७
आइतबार, २९ पुस २०८०

सानु म ढलिसकेँ
किन ढलेँ, कसले ढाले
कसका लागि ढलेँ 
प्रत्येक प्रश्नहरू
बिनाउत्तर अनुत्तीर्ण हुँदै छ ।

जिन्दगीको परीक्षामा
कोरा सपनाका खाकामा
विवासता र बाध्यताको छन् आलो हस्ताक्षर 
आधा बाटोमा पुगिनसकेको जिन्दगी 
मौलाएर फुल्न र फक्रिन बाँकी रहेको हाम्रो प्रेम
सबै सबै कुराबाट
विछोडिइसकेको छ ।
कहिल्यै भेट नहुने पक्का भइसकेको छ ।
मैले ख्यालै ख्यालमा 
बनाएर गाएको गीत 
सत्य साबित भएको छ ।
सानु नमाने टेन्सन...।
सानु कहाँ मन थियो र ?
तिमीलाई छोडेर टाढाको 
ढुङ्गे मन भएका मान्छेको छेउ पर्न
आफ्नो स्वाभिमान होइन 
उनको स्वाभिमान बचाउन 
खुब लडे, लड्दा लड्दै
म मात्रै होइन 
म जस्तै धेरै सपनाहरू बोकेको
नेपाल आमाको छोराहरू भकाभक ढले
कति सस्तो भएको छ हाम्रो मृत्यु 
हाम्रो मृत्युभन्दा उनका देशको 
कुकुर बिरालोको मृत्यु महँगो भएको छ ।
सानु... ।

मेरो दुःखद मृत्युको खबरले 
बालाई भन्दा आमालाई धेरै दुःखाउने छ 
नौ नौ महिना कोखमा 
थुप्रै वर्ष साथ र काखमा राखेर हुर्काएको 
मलाई यत्ति छिट्टै गुमाउनु पर्दा 
खै कसरी समाल्ने हुन् 
आफैँले आफैँलाई विचरी उनले
सानु नमाने टेन्सन... ।
         ०००००
पूरा हुन नसकेको अधुरो सपनाहरू
कलेँटी परेको बुढी आमाको ओठ
डाँडा पारि पुगेको घाम जस्तै बा
बाआमा चिन्न नपाएको स्यानी छोरी
थुप्रै थुप्रै कुराबाट 
म टाढिए सदाको निम्ति 
मेरो जिद्धिका कारण 
निम्तिएको भवितव्य दुर्घटनाको सिकार
तिमी पनि हुने भयो ।
सानु... ।

स्वदेशमै जीवन धान्ने रोजगारी मिलेको भए
सायद म यसरी बिदेसिने थिएन,
परदेशी माटोमा 
मेरो रगत पोखिने थिएन
अन्जान ठाउँमा भएको मेरो मृत्यु 
लावारिस लास बनेर 
अन्जान सहरको नामसमेत नचिनेको 
अस्पतालको मुर्दाघरमा चिरनिन्द्रमा सुतेर
पर्खिरहेको छ ।
स्वदेश फर्कने आशा 
अत्तोपत्तो नभएको मिति कुरेर 
सानु नबाँचेर तिम्रो टेन्सन दुर गर्न तलब पठाउन सकेँ
म मरेर पाउने पेन्सन पट्टा तिम्रो हातमा पर्ला नपर्ला
अज्ञात छ, थाहा छैन ...।
मरिसकेको लास झिकाउन महिनौँ लगाउने सरकारले 
के कुरा गर्लान् र तिमी र म जस्तोको
बिछोडको, पीडाको, पेन्सनको कुरा
सानु नमाने टेन्सन... ।
        ००००
पाँचखाल, काभ्रेपलाञ्चोक
हाल– लिमासोल, साइप्रस
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुशील लामा
सुशील लामा
लेखकबाट थप