सोमबार, ०७ साउन २०८१
ताजा लोकप्रिय
११ औँ वार्षिकोत्सव विशेषाङ्क : राजनीतिक स्थायित्वको तृष्णा

नीतिगत स्थायित्वका लागि पत्रकारिता जाग्नुपर्छ

आइतबार, २७ जेठ २०८१

नेपाल र विश्वकै परिदृश्य हेर्ने हो भने मिडियाहरू संक्रमणको स्थितिबाट गुज्रेका छन् । पहिलेका मान्यता र परिभाषाहरू ‘रिडिफाइन’ हुने फेजमा छन् । अहिलेको सन्दर्भमा ‘मेनस्ट्रिम’ कसलाई भन्नेमै अन्योल छ । स्मार्टफोनको जमानामा रातोपाटी हेर्ने मान्छेले त्यही मोबाइलबाट न्युयोर्क टाइम्स पनि हेरेको होला, अर्को कुनै सञ्चारमाध्यम हेर्नेले वासिङ्टन पोस्ट पनि हेरेको होला, ध्रुव राठीको ब्लग पनि हेरेकै होला । त्यसकारण अहिले को–सँग कसको प्रतिस्पर्धा भन्ने कुराहरू नै ‘ब्लर’ हुँदै गएको अवस्था छ । 

पत्रकारिता रिडिफाइन हुने क्रममा रहेकाले यसले कस्तोखालको आकार लिन्छ या कुन चिज मेनस्ट्रिम हुन्छ भन्नेकुरा अहिले यसै भन्न सकिने अवस्था छैन ।

नेपालको सन्दर्भमा कुरा गर्दा हामी राजनीतिक पत्रकारिता गर्ने धेरै भयौँ । त्यसले गर्दा बदनाम पनि भएका छौँ । कहिलेकाहिँ पाठकहरूले यस्तो पत्रकारितालाई नरुचाएको स्थिति पनि छ । अरुखालको पत्रकारिता चाहियो, अरु क्षेत्र समेट्नुपर्यो भन्ने पनि छ । यद्यपि देशको राजनीतिक स्थायित्व छ कि छैन भन्ने कुराले फेरि समग्र समाजलाई जस्तै पत्रकारलाई पनि पर्ने नै भयो । त्यसले गर्दा चासो पत्रकारलाई पनि हुने भयो । 

पत्रकारिता र राजनीतिक स्थायित्वको कुरा गर्दा मुलरूपमा हामी पत्रकारले रिपोर्टिङमार्फत आफ्नो कर्म मात्रै गर्ने हो । यसहिसाबले हामी त एउटा माध्यम मात्रै हौँ । दर्शक अथवा पाठकको र कुनै घटनाको, कुनै वस्तुको, कुनै व्यक्तिको बीचको कुरालाई लैजाने र सम्प्रेषण गर्ने हो । पहिलो कुरा त राजनीतिक क्षेत्रमा के भइरहेको छ भन्ने कुरालाई नै हामीले बाहिर ल्याउने हो । राजनीति कहाँ गइरहेको छ भनेर सम्हाल्न सक्ने या टाउको दुखाउने क्षमता त हाम्रो बुताभन्दा बाहिरको कुरा होला । तर, नेपालको कानुन र संवैधानिक व्यवस्था हेरियो भने जुनखालको निर्वाचन पद्धति हामीले अपनाएका छौँ त्यसले राजनीति स्थायित्व हुन दिने अथवा कुनै पार्टीको बहुमत आएर सरकार चलाउने, अनि हामीले परिकल्पना गरेजस्तो राजनीतिक स्थायित्व भएर चलिराख्न खालको दिँदैन ।

नेपालमा जस्तै जापान र अरु धेरै देशमा सरकार चेन्ज भइरहेको देखिन्छ, तर उनीहरूकहाँ एउटा नीति बनेपछि त्यसलाई निरन्तरता दिइन्छ अर्थात् नीतिगत स्थायित्व हुन्छ ।

हाम्रो निर्वाचन पद्धति एउटा पार्टीले नै बहुमत ल्याउन सक्ने अवस्था छैन । त्यसले गर्दा एउटै पार्टीले बहुमत पाएर पाँच वर्ष सरकार चलाउने, हामीले सोचेजस्तै आदर्श हिसावले स्थायित्व हुने मलाई लाग्नैन । हाम्रो जुन प्रणालीमा आधारभूत परिवर्तन या संविधानमै संशोधन गरियो भने अर्को कुरा हुन सक्छ । तर, त्यसो गर्न पनि ठीक होकि होइन भन्नेबारे अर्को बहसको विषय बन्न सक्छ । तर, मलाई के लाग्छ भने राजनीतिक स्थायित्व भन्दा पनि हामीलाई अहिले चाहिएको नीतिगत स्थायित्व हो । जापान वा अरु धेरैवटा विकसित देशमा अहिले हेर्नुभयो भने सधैँ राजनीतिक स्थायित्व भइरहेको देखिँदैन । नेपालमा जस्तै सरकारहरू चेन्ज भइरहेको देखिन्छ । तर, उनीहरूकहाँ एउटा नीति बनेपछि त्यसलाई निरन्तरता दिइन्छ अर्थात् नीतिगत स्थायित्व हुन्छ । ब्युरोक्रेसी, कर्मचारीतन्त्र र आउने सरकारले पनि त्यसलाई जसरी निरन्तरता दिन्छ । त्यस्तै सिस्टम हाम्रोमा जरुरी छ ।

हाम्रोमा एउटा सरकार परिवर्तन भएपछि त्यो नीति नै परिवर्तन हुने, राष्ट्रको प्राथमिकता नै परिवर्तन हुने जुन अवस्था छ त्यो बिडम्बना हो । नीतिगत स्थायित्व र आधारभूत कुराहरूमा प्रमुख राजनीतिक दलहरूले जुनसुकै सरकारले आएपनि एउटै नीति लिन जरुरी छ । विकासका कुराहरू, विदेश नीतिका कुराहरू, देशभित्रको गरिबी हटाउने कुराहरू, पूर्वाधार बनाउने जस्ता विषयमा प्रमुख राजनीतिक दलहरूले साझा सरोकार तय गर्ने र त्यसलाई सबैले मान्ने प्रतिबद्धता जनाउने नीतिगत स्थायित्वको हामीलाई खाँचो छ । कि हामीले एकदमै साँच्चै आइडल मानेको जस्तो राजनीतिक स्थायित्व दिन सक्नुपर्यो र त्यो धेरै ठुलो कुरापनि भयो । त्यसका लागि निर्वाचन पद्धतिनै परिवर्तन गर्नुपर्ने हुन सक्छ । त्यो नहुने हो भने कम्तीमा पनि नीतिगत स्थायित्वतिर चाहिँ हामी जानुपर्छ । 

Sudheer-Sharma-1

  • राजनीतिक स्थायित्वमा पत्रकारिताको स्थान

पत्रकारिताबाट हामीले राजनीतिक या नीतिगत स्थायित्व किन जरुरी छ भन्ने कुराहरूमा विचार अथवा कतिपय रिपोर्टिङहरू दिन सक्छौँ । नीतिगत स्थायित्व नहुँदा आम मान्छेको जीवनमा के असर परेको छ ? भन्नेखालको चिजहरू रिपोर्टिङ वा पत्रकारिताको माध्यमबाट दिन सकियो भने मलाई लाग्छ त्यसले चाहिँ एउटा बसहको पनि सिर्जना गर्छ । त्यो जरुरी पनि छ । 

विगतमा आधारभूत रूपमा प्रजातान्त्रिक अधिकारहरूका साथै लेख्ने र मान्छेको बोल्ने स्वतन्त्रतामै जुन धावा बोलियो, त्यसपछि प्रजातन्त्र र लोकतन्त्र चाहिन्छ भनेरचाहिँ पत्रकारिता एउटा अभियानमा होमिएको हो । यो हिसाबले मात्रै पत्रकारिता राजनीतिक परिर्तनका भएको आन्दोलनमा सँगसँगै भएको हो । 

पत्रकार हुन खोज्ने, न्युजरुममा आउन खोज्ने र पत्रकारिता पनि एउटा राम्रो पेसा हुन सक्छ है भन्ने सोच थियो पहिले । अहिले नयाँ पुस्ता किन पत्रकार बन्न चाहिरहेको छैन ? यो त हामीले घोत्लिनु पर्ने कुरा हो ।

अहिले पनि हाम्रो मूलभूत दायित्व भनेको निर्भिकरूपमा जनतालाई सुसूचित गराउने हो । त्यसका लागि स्वतन्त्र रूपमा पत्रकारिता हुने वातावरण बन्नुपर्छ । जुन प्रतिबद्धता दलहरूले चुनावको बेलामा या राजनीतिक परिवर्तन हुँदा जनाएका थिए त्यो पुरा गर्नुपर्यो । त्यो पूरा नहुँदा नै फेरि समस्या भइरहेको छ । मानिसहरूमा निराशा छ, आम निराशा फेरि आक्रोशतिर रूपान्तरित भइरहेको छ । यो अवस्था रहिरह्यो भने त समाजका लागि राम्रो हुँदैन र हामीले पनि प्रगति गर्न सक्दैनौँ । यस्तो पृष्ठभूमिमा घचघच्याउने काम पत्रकारिताले गर्नसक्छ । 

घचघच्याउने, प्रश्न उठाउने, कहीँ भएको समस्या देखाउने, कहिलेकाहिँ सुझाव दर्शाउने कुराहरू भन्दा फेरि बियोण्ड गएर राजनीतिक दल र राजनीतिक नेतृत्व जस्तो पत्रकारिताले पनि ‘म पनि त्यही पात्र हुँ’भन्ने ठान्यो भने त त्यो भ्रम मात्रै हो । त्यो चाहिँ हुन हुँदैन । 

  • समाचारमा राजनीतिक घटनाक्रम मात्रै आए

पत्रकारितामा राजनीतिक समाचार त आउनुपर्छ । तर, जुनखालको राजनीतिक विषय आउनुपर्ने हो त्यो चाहिँ आउँदैन । घटनाक्रम मात्रै आउँछ, पार्टीका बैठकका कुरा आउँछन्, मन्त्रिपरिषद्का बैठकका कुरा आउलान्, कुन नेताले कहाँ भाषण गर्यो अथवा कुन मन्त्री/प्रधानन्त्रीले कहाँ के बोले भन्ने कुराहरू आउलान् । तर, कोर त्योभित्र के हो त ? किन यो कुरा डेलीभरी गर्न सकिरहेको छैन ? उनीहरूले गरेको कमिटमेन्ट किन पुरा भइरहेको छैन ? जनताको आक्रोश नेताहरूप्रति किन लक्षित भइरहेको छ ? भन्ने कुराको जवाफ, त्यसको कारकतत्वहरू खोज्नेतिर हाम्रो कमजोरी छ । 

Sudheer-sharma-2

त्यही भएर पत्रकार, पत्रकारिताप्रति, पत्रकारिताका संस्थाहरूप्रति पनि प्रश्नहरू उठ्न थाले । कारण के हो भने हामीले पनि जनताको अपेक्षाअनुसार काम गर्न सकेका छैनौँ । मलाई के लाग्छ भने राजनीतिक स्थायित्व त हुनुपर्यो, नीतिगत स्थायित्वहरू पनि हुनुपर्यो । कुनै निर्णय भएपछि त्यो हिसाबले अगाडि बढ्नुपर्यो । एकदमै अस्थिर भयो भनेर पनि भएन । तर मूलभूत कुराचाहिँ के हो भने जुन कमिटमेन्ट राजनीतिक दलहरूले निर्वाचनका बेला, अरु बेला जनताप्रति गरेका हुन्छन् त्यो उनीहरूले पूरा गरे कि गरेनन् त ? बाचा गरेका कुराहरू पूरा गरे कि गरेनन् भन्नेमा प्रश्न गर्ने, घचघच्याउने, खोतल्ने र बुझ्ने त्यो जिम्मेवारी हाम्रो हो । त्यो निर्वाह गर्नुपर्छ जस्तो लाग्छ । 

राजनीतिले दिन नसकिरहेको कुरा वा राजनीतिले जुन कुरा समाजका लागि दिनुपथ्र्यो त्यो किन हुन सकिरहेको छैन भन्नेकुराको खोजबिनमा चाहिँ चुकिरहेका छौँ जस्तो लाग्छ । 
  • आर्थिक मन्दीको छाया पत्रकारितामा

नेपालको अहिलेको अर्थराजनीतिक अवस्था जुन छ, अहिले अर्थतन्त्र नै नराम्रो अवस्था छ । हुन त तथ्यांकहरू मात्रै हेर्ने हो भने त एकदम राम्रो र भयंकर राम्रो भइरहेको भन्ने पनि देखाउन सकिएला । रिजर्भ यति छ, फरेन रिजर्भ यति छ, यति रेमिट्यान्स आयो भन्न सकिएला । तर सटरहरू नजिकैको बन्द भएको उदाहरणहरू मात्रै हेर्नुभयो भने या मान्छेको दैनिक जीवनयापन गर्नमै समस्या देखापर्न थालेको हेर्नुभयो भने एकदम अप्ठेरो अवस्था देखिन्छ । र, यसको असर पत्रकारितामा पनि देखिन थालेको छ ।

पत्रिकाहरू या सञ्चारगृहहरू चलाउन पहिले जस्तो सजिलो पनि छैन। त्यसमाथि व्यापारिक स्वार्थ पनि हाबी हुन थाले होला । त्यो भन्दा बढी त राजनीतिक स्वार्थ, राजनीतिक रुचि भन्दा पनि बाहिर गएर पत्रकारिता हुनसक्छ भन्ने उदाहरणहरू देखाउन हामी चुकेको पो छौँ कि ? त्यसले गर्दा हामी एकदमै राजनीतिककै वरिपरी हामी बढी घुमेका छौँ । तर, राजनीतिले दिन नसकिरहेको कुरा वा राजनीतिले जुन कुरा समाजका लागि दिनुपथ्र्यो त्यो किन हुन सकिरहेको छैन भन्नेकुराको खोजबिनमा चाहिँ चुकिरहेका छौँ जस्तो लाग्छ । 

जुनखालको अहिलेको अवस्था छ र जुनखालको निराशा विस्तारै आक्रोशमा परिणत भइरहेको छ, यो चिजहरूको कारणहरू खोज्ने दायित्वचाहिँ पत्रकारिताको दायित्वभित्र पर्छ । 
  • आशा जगाऔँ 

पत्रकारिताले आशा पनि जगाउनुपर्छ । तर आशा जगाउन फेरि हामीले एकदमै कृतिम हिसाबले गर्यौँ भने त्यो राम्रो हुँदैन । जे हो त्यो रियालिटी त दिनुपर्छ । यहाँ प्लस टु गर्नेबित्तिकै बिदेश जाने नै पहिलो लक्ष्य हुन्छ, त्यो त रियालिटी हो । त्यो चिजलाई हामीले ढाकछोप गर्ने कुरा पनि भएन । जे हो त्यो त देखाउन पनि पर्यो । र, यो किन भइरहेको छ भन्नेकुराको चाहिँ जवाफ हामीले खोज्नुपर्यो ।

विदेश जानलाई नै आफैँमा गलत कुरा त भएन नि, जान चाहन्छ भने जान्छ । तर किन ऊ यहाँ बस्न चाहिरहेको छैन ? किन उसको लक्ष्य नै त्यो भइरहको छ त ? किन समग्र राज्यप्रति, समाजप्रति, तपाईं हामीले चलाउने मिडियाप्रति, तपाईंहरू जस्ता मान्छेप्रति किन अविश्वास जागिरहेको छ ? नेताहरूप्रतिमात्रै त लक्षित छैन नि यो विषय ! आममान्छेमा आक्रोश किन बढिरहेको छ भन्नेकुराको जवाफचाहिँ खोज्नुपर्छ पत्रकारिताले । जुनखालको अहिलेको अवस्था छ र जुनखालको निराशा विस्तारै आक्रोशमा परिणत भइरहेको छ, यो चिजहरूको कारणहरू खोज्ने दायित्वचाहिँ पत्रकारिताको दायित्वभित्र पर्छ । 

  • नयाँ पुस्तालाई पत्रकारितामा ल्याउन चुनौती

पत्रकार हुन खोज्ने, न्युजरुममा आउन खोज्ने र पत्रकारिता पनि एउटा राम्रो पेसा हुन सक्छ है भन्ने सोच थियो पहिले । फलस्वरूप धेरै मान्छे पत्रकारितामा आउन चाहन्थे । तर, अहिले नयाँ पुस्ता किन पत्रकार बन्न चाहिरहेको छैन ? अहिले किन नयाँ पत्रकार जन्माउन सकेका छैनौँ ? किन आकर्षण हुन सकेको छैन ? यो त हामीले घोत्लिनु पर्ने कुरा हो । पत्रकारितामा केही न केही समस्या त भएको छ । सायद यहाँ तलब कम होला या नपाउने अवस्था होला । अथवा विश्वसनीयताकै विषयमा प्रश्नहरू होलान् । अथवा अरु नै आकर्षक पेसा भए कि ? अथवा प्रविधिको प्रयोग गर्दै व्यक्तिले संस्थाभन्दा एक्लै गर्न थाले कि ? कारणहरू धेरैवटा हुनसक्छन् । तर, एउटा मूलभूत कारण के हो भने नयाँ पुस्तालाई पत्रकारिताले आकर्षित गर्न सकिरहेको छैन । यसको जवाफचाहिँ हामीले नै खोज्नुपर्छ । 

  • चुकेको छ पत्रकारिता

पहिले पहिले संविधान निर्माण, शान्तिप्रक्रियामा हुँदा अली बढी त्यसमै गयौँ होला । तर, अहिले पनि हामी सिंहदरबार, बालुवाटार, बानेश्वर यो सेरोफेरोमै बढी रुमल्लिरहेका छौँ कि ? यतिकै चारकिल्ला भन्दा बाहिर हामी जान सकका छैनौँ कि ? हाम्रो कमजोरी त्यो पनि हो कि जस्तो लाग्छ । खासगरी साँच्चै भन्नुहुन्छ भने काठमाडौँ बाहिरका मुद्दाहरूलाई हामीले कति उठायौँ त ? अथवा हाम्रो साथीभाइहरू बाहिर बसेर काम गरिरहेका छन् उनीहरूले गर्ने रिपोर्टिङलाई म आफैँले पनि कति ठाउँ दिएँ या कति प्राथमिकताका साथ अगाडि बढायौँ भन्नेकुराको प्रश्नहरू छन् । कताकता हामी पनि सानो बबलमा घुमिरहेका छौँ कि ? त्यो बबलले गर्दा पाठक, स्रोता, दर्शकहरूसँग कटिइरहेका छौँ कि ? ग्याप भइरहेको छ कि ? नयाँ पाठकलाई हामीले किन तान्न सकिरहेका छैनौँ वा भएका पाठहरूसँग पनि किन ग्याप बढिरहेको छ भन्ने कुरा त एउटा मूलभूत प्रश्न हो । यो कुराहरूमा नेपाली पत्रकारिताले आत्ममूल्यांकन गर्ने बेला आएको छ । 

हामी भयंकर हौँ हामीले जे दिएपनि मान्छेले हेरिहाल्छन् भन्ने मनोविज्ञानबाट चाहिँ पत्रकारिता बाहिर निस्कनुपर्छ ।

यति भन्दैमा मोफसलका इश्युहरूलाई मूलधारका मिडियामा स्पेश नदिएकै भन्न चाहिँ मिल्दैन । केहीकेही कुराहरू आएका पनि छन् । आएकैले मुद्दाहरू पनि भएका छन् । तर, जति प्राथमिकताका साथ दिनुपर्ने हो त्यो सायद हुन सकिरहेको छैन । जसरी पत्रकारिता समग्रमा रिडिफाइन हुने कुरा भइरहेको छ र संक्रमणबाट गुज्रिरहेको छ त्यसैगरी पत्रकारिताको अन्तरवस्तुमा पनि हामीले फरकपन कसरी दिने भन्नेचाहिँ प्रश्न छ । तर, यसको समाधान त्यही हो भन्ने प्रेसक्रिप्सन दिन त म सक्दिनँ । यद्यपि लिडरसिपमा बसेका हामीहरू जसले काम गर्यौँ र गरिरहेका छौँ घोत्लिनुपर्ने र अलि बुझ्नु्पर्नेचाहिँ छ । 

हामी भयंकर हौँ हामीले जे दिएपनि मान्छेले हेरिहाल्छन् भन्ने मनोविज्ञानबाट चाहिँ पत्रकारिता बाहिर निस्कनुपर्छ । त्यो अहम्लाई हामीले जति तल राख्न सक्यौँ त्यति क्रियटिभ काम र साँच्चै रियल पत्रकारिता हुन्छ कि भन्ने लाग्छ । 

मैले अघि पनि भनेँ प्रविधिमा निकै बदलाब आइसक्यो । खासगरी स्मार्टफोन रेभुलेसनले धेरै चेन्ज ल्याएको छ र हरेक पाठक पहिलेभन्दा धेरै स्मार्ट छ । त्यसले पाठकका अपेक्षा पनि धेरै बढेको छ । उ आफैँपनि स्चनाहरू समाचारहरू सम्प्रेषण गरिरहेको हुन्छ । उसले आफैँ पनि दिन सक्ने भयो । हामी पत्रकारहरूको सूचनामाथिको एकाधिकार भनौँ या विशेषधिकार भन्ने चिज अब गुम्दै गएको छ । जुन कुरा अब अरुले पनि गर्न सक्ने भए । तर, हामी परम्परागत ढर्रामै काम गरिरहेका छौँ । त्यसलाई हामीले चिर्न सकिरहेका छैनौँ । हामीले हिजोकै नजरियाबाट हेरिरहेकाछौँ भने पाठक र दर्शकको नजरियाचाहिँ अर्कै भइसक्यो । हाम्रो र पाठकबीचको यही तालमेल मिलिरहेको छैन ।

पाठक तथा दर्शक र हामीबीचको त्यो ग्याप हामी भर्न सक्छौँ कि सक्दैनौँ भन्ने कुरा नै हाम्रो औचित्य रहने नरहने कुरा निर्धारण हुन्छ । हामीले आफूले आफूलाई रूपान्तरण गर्न सक्छौँ कि सक्दैनौँ ? उनीहरूको अपेक्षाअनुसार हामी अपडेट हुन सक्छौँ कि सक्दैनौँ ? केही परम्परागत नेता कार्यकर्ताले हेरिदिने, कर्मचारीले हेरिदिने तर मासले हेर्यो कि हेरेन भन्ने कुराचाहिँ हामीले मतलबै नगर्ने ? हामी उत्तरदायी हुनुपर्ने त माससँग हो नि, अर्थात त्यहाँ भएका पाठक दर्शकप्रति हो । 

अर्को कुरा वर्तमान सन्दर्भमा प्रिन्ट र अनलाइन मिडियाले भोगिरहेको समस्या उस्तैउस्तै हो । प्रिन्टले गर्ने टेक्स्ट पत्रकारिता हो । अनलाइनले पनि लगभग त्यस्तै गरिरहेको अवस्था छ । तर, भिजुअल मिडिया अलिकति फरक ढंगले आइरहेको छ । यो पृष्ठभूमिमा अनलाइन वा प्रिन्टले आफूलाई कत्तिको अपडेट गर्न सक्छन् भन्ने कुरा हो । अब ट्रेडिसनल मिडिया वा लिगेसी मिडिया भनियो भने त्यो गलत हुन्छ । नेपाली पत्रकारिताको मेन स्ट्रिम भोलि के हुन्छ मैले यसै भन्न सकिन्नँ । त्यसमाथि केलाई मेनस्ट्रिम मान्ने, केलाई नमान्ने कुराहरू सबै खुला छन् भन्ने लाग्छ । यो चिजहरू एउटा थिग्रिने क्रममा रहकाले केही समय अझैँ लाग्नसक्छ । 

(वरिष्ठ पत्रकार शर्मासँगको कुराकानीमा आधारित)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया