शनिबार, ०५ साउन २०८१
ताजा लोकप्रिय
अस्थिरतामा वैदेशिक हस्तक्षेप स्वतः हाबी
११ औँ वार्षिकोत्सव विशेषाङ्क : राजनीतिक स्थायित्वको तृष्णा

अस्थिरतामा वैदेशिक हस्तक्षेप स्वतः हाबी

आइतबार, २७ जेठ २०८१

राजनीति र कुटनीतिको अन्तरसम्बन्धबारे चर्चा गर्दा हामी एउटा कुरामा स्पस्ट हुनुपर्छ– गृह नीति र परराष्ट्र नीतिमध्ये कुनचाहिँ साध्य हो, कुनचाहिँ साधन हो ?

यस विषयमा धेरै मान्छे भ्रमित भएको म पाउँछु । यथार्थचाहिँ गृह नीति नै साध्य हो । परराष्ट्र नीति भनेको गृह नीतिको साधन हो । हामीले आफ्नो देश बनाउनका लागि परारष्ट्र नीतिको पनि प्रयोग गर्दछौँ, त्यो हाम्रो साधन हो । यस विषयमा भ्रमित हुँदा नै अहिले नेपालमा देखिएको राजनीतिक परिस्थिति सिर्जना भएको हो । अहिलेको राजनीतिक परिस्थिति भनेको अस्थिरता हो । त्यो अस्थिरताको कारक भनेको हाम्रो संविधान हो । किनभने हामीले बनाएको संविधानकै संरचनाले राजनीतिक स्थिरता हुनै सक्दैन ।

अहिलेको संविधान अनुसार चुनावमा प्रत्यक्ष र समानुपातिकतर्फबाट आएको परिणाम मिसाएर संसदमा पार्टीको सिट निर्धारण हुने भयो । यो प्रणालीबाट कुनै एक पार्टीले पूर्ण बहुमत ल्याउन नसक्ने भए । त्यसले गर्दा देशमा गठबन्धन सरकार निर्माण हुने भयो । गठबन्धनका लागि अवसरवाद हाबी हुने भयो । सिद्धान्त नै नमिल्ने पार्टीसँग पनि सरकार गठनका लागि सहयोग लिनुपर्ने भयो ।

केही दिन अघिमात्र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चौथो पटक प्रतिनिधि सभाबाट विश्वासको मत लिनुभयो । यो एक प्रकारले प्रजातन्त्रका निम्ति बिडम्बना हो । उहाँ प्रधानमन्त्री भएको कति नै समय भयो र ? यति छोटो समयमा चार पटकसम्म विश्वासको मत लिनुपर्ने अवस्था आउनु भनेको सामान्य विषय होइन । अहिलेको प्रणालीकै लागि यो लज्जास्पद विषय हो ।

अर्कोतिर केन्द्रमा भएको गठबन्धनको परिवर्तनले सातै प्रदेशमा असर गर्ने र त्यहाँ पनि सत्ता परिवर्तन हुने अवस्था हामीले भोगिरहेका छौँ । अहिलेको सिस्टमले केन्द्रमा मात्र नभएर प्रदेशमा पनि अस्थिरता निम्त्यायो । यस्तो अवस्थामा हामीले विश्वसनीय र प्रभावकारी परराष्ट्र नीति निर्माण गर्न सक्दैनौँ । परराष्ट्र नीति नै विश्वसनीय नहुने र दिशाहीन हुने परिस्थिति भएपछि त्यसलाई कार्यान्वयन गर्ने मेकानिजम अर्थात् कूटनीति लथालिङ्ग हुने नै भयो ।

बीपी कोइराला प्रधानमन्त्री हुँदा १० वटा देशसँग हाम्रो कूटनीतिक सम्बन्ध थियो । त्यतिबेलाको नीति अन्तर्राष्ट्रिय सम्बन्ध विस्तार गर्ने थियो । त्यसैले १८ महिनाको अवधिमा १६ वटा देशसँग कूटनीतिक सम्बन्ध राख्यो र २६ पुग्यो । त्यो सूचीमा पाकिस्तान र इजरायलसम्म परे ।

तपाईं काठमाडौँबाट पोखरा जाने हो कि धनकुटा या विराटनगर जाने भन्ने नै निधो भएन भने तपाईंलाई चालकले कहाँ लैजाने ? त्यसैले परराष्ट्र नीति नै गतिलो भएन भने त्यसलाई गन्तव्यमा लैजाने चालक अर्थात् ‘कूटनीति’ले कसरी काम गर्छ ? आफू कहाँ जाने भन्ने प्रस्ट भए पो चालकले सोही अनुसार लैजान्छ !

अहिले हाम्रो गृह नीतिमा र परराष्ट्र नीतिमा पनि ‘कन्फ्युजन’ छ । नेपालको परराष्ट्र नीतिबारे बनिबनाउ शब्द हामी घोकिरहेका छौँ । असंलग्नता, संयुक्त राष्ट्र सङ्घको सिद्धान्तमा विश्वास, पञ्चशीलको सिद्धान्तमा विश्वास, सबैसँग मित्रवत् सम्बन्ध राख्ने भनेर हाम्रो परराष्ट्र नीतिको व्याख्या गरिन्छ । यो त सबैले भन्ने कुरा हो । हामीले यो भनिरहँदा पृथ्वीनारायण शाहको परराष्ट्र नीति, जंगबहादुर राणाको परराष्ट्र नीति, महेन्द्र शाहको परराष्ट्र नीति, बीपीको परराष्ट्र नीतिका भिन्नता के थिए ? राजा वीरेन्द्रले ल्याएको शान्ति क्षेत्रको प्रस्तावको उद्देश्य के थियो ? यी कुरामा कतै हामीले अध्ययन, विवेचना गर्‍यौँ र ?

dr jayraj acharya (2)

यो कुरा गरिरहँदा मलाई ऋषिकेश शाह (संयुक्त राष्ट्र सङ्घमा नेपालको पहिलो स्थायी प्रतिनिधि) को एउटा लेखको सम्झना आउँछ । उहाँ राम्रै विद्वान हुनुहुन्थ्यो । २०४८ सालमा उहाँले एउटा लेख लेख्नुभएको छ, जो विश्व सम्बन्ध परिषदको जर्नलमा छापिएको छ । पञ्चायती व्यवस्था हुँदा राजा वीरेन्द्रले नेपाललाई शान्ति क्षेत्र प्रस्ताव गरे, ११६ देशले स्वीकार गर्दागर्दै पनि भारतले अस्वीकार गर्दा त्यो असफल भयो । पञ्चायती संविधानमा शान्ति क्षेत्र प्रस्तावलाई नेपालको परराष्ट्र नीतिको निर्देशक सिद्धान्त भनेर लेखिएको थियो । प्रजातन्त्र स्थापनापछि बनेको संविधानमा त्यसलाई हटाइयो । त्यतिबेला नेपाली कांग्रेसको सरकार थियो भने विपक्षमा एमाले । लेखमा उहाँ (ऋषिकेश शाह)ले छिमेकीसँग, त्यसमा पनि भारतसँगको सम्बन्ध कस्तो हुनुपर्ने हो, त्यो निर्णय गर्नुपर्ने बेला आएको छ भनेर लेख्नुभएको थियो । त्यो लेख कतिले पढे र कतिले बुझे भन्ने मलाई थाहा छैन । उहाँले आफ्नो लेखमा परराष्ट्र नीति भनेको सत्ताधारी पार्टीको र विपक्षी अलगअलग हुने कुरै छैन, सबैको एउटै हुनुपर्छ भन्नुभएको थियो ।

कूटनीति यस्तो युद्ध हो, जहाँ पराजित भइयो भने सानो देशको अस्तित्व त मेटिन पनि बेर लाग्दैन ।

छिमेकी देश भारतकै कुरा गर्ने हो भने त्यहाँका कुनै पनि पार्टीले छिमेकी वा कुनै मुलुकको बारेमा कुरा गर्नु परेमा एउटै भाषा बोल्छन् । हाम्रोमा त्यो छैन । त्यो गर्नुपर्ने आवश्यकता छ भनेर उहाँले त्यतिबेला लेख्नुभएको थियो । त्यो कुरालाई मानिसले गम्भीरतापूर्वक लिएको मैले पाइनँ ।

मित्र राष्ट्रहरू, खासगरी छिमेकी मुलुकमध्ये एउटा दलले एउटालाई खुसी पार्ने र अर्को दलले अर्कोलाई खुसी पार्नेजस्तो देखिन्छ । यस्तो हलुका तरिकाले परराष्ट्र नीति र कूटनीतिको अभ्यास नेपालमा भइरहेको मैले पाएको छु । तर यो यति गम्भीर विषय हो कि यतिबेला हामीले जनवादी गणतन्त्र चीनको पहिलो प्रधानमन्त्री चाउ एन लाईको एउटा भनाइ सम्झनु पर्छ । उहाँले कूटनीति पनि एउटा युद्धकै निरन्तरता हो, कूटनीतिमा हातहतियारबाहेक अरु सबै अस्त्र प्रयोग हुन्छ भन्नुभएको थियो । कूटनीति कति गम्भीर विषय हो भन्ने कुरा उहाँको त्यो अभिव्यक्तिबाट पनि थाहा हुन्छ ।

कूटनीति यस्तो युद्ध हो, जहाँ पराजित भइयो भने सानो देशको अस्तित्व त मेटिन पनि बेर लाग्दैन । सन् १९६२ मा भारत र चीनबिच युद्ध भयो । त्यो युद्धमा भारत पराजित भयो तर भारतको नक्शा मेटिएन । तर सानो मुलुकले ठुलो मुलुकसँग नचाहिँदो कूटनीतिक ‘वार’ गर्ने हो भने उसको अस्तित्व नै समाप्त हुन सक्छ ।

हामीले हाम्रै छिमेकमा हेर्ने हो भने उत्तरतिरको शक्ति राष्ट्रले तिब्बत खाइदिएको, दक्षिणतिरको शक्ति राष्ट्रले सिक्किम खाइदिएको, दक्षिणतिरकै शक्ति राष्ट्रले एउटा मुलुक टुक्य्राइदिएर पाकिस्तान र बंगलादेश बनाएको उदाहरण छन् । यस्ता विषयको अध्ययन र विश्लेषण हाम्रा नेताहरूबाट भएन ।

नेपालमा राजनीतिक नेताहरूको अध्ययन, अनुभव र दूरदर्शिताको अभाव छ । स्वर्गीय यदुनाथ खनाललाई एउटा टेलिभिजन अन्तर्वार्तामा वर्तमान नेताहरूबारे तपाईंको भनाइ के छ भनेर प्रश्न सोधिएको थियो । जवाफमा उहाँले ‘अध्ययन नै भएन’ भन्नुभएको थियो ।

महेन्द्र र बीपीको परराष्ट्र नीति करिब एउटै थियो तर कूटनीतिमा महेन्द्रले केही जितेजस्तो र बीपी अलि पछि परेजस्तो देखियो ।

पृथ्वीनारायण शाहको विदेश नीतिबारे हाम्रा नेताहरूले गहिरो अध्ययन गर्नुभएको छ ? जंगबहादुर राणाकै विदेश नीतिको गहिरो अध्ययन गर्नुभएको छ कसैले ? सन् १८५० मा जंगबहादुर राणा बेलायतको भ्रमणमा गए । उनी बेलायतप्रति भक्ति देखाउनमात्रै गएका थिएनन्, बेलायतको शक्ति हेर्न गएका थिए ।

उनलाई ठुलो सम्मानका साथ सलामी दिने निहुँमा बेलायतले आफ्नो सैन्य शक्ति प्रदर्शन गरेको थियो । उनी फर्केर आएपछि ‘अब यो शक्तिसँग भीमसेन थापाले जस्तो लडेर होइन, यसलाई मित्र बनाएर फाइदा लिनुपर्छ’ भन्ने नीति बनाए । त्यो नीति अनुसार उनले सन् १८५७ मा भारतमा अङ्ग्रेजलाई मद्दत गरे । भारतमा अङ्ग्रेजविरुद्ध पुलिस विद्रोह हुँदा त्यसलाई दबाउन उनी सैन्य लिएर आफैँ गएका थिए । त्यसपछि हामीले नयाँ मुलुक (बाँके, बर्दिया, कैलाली र कञ्चनपुर) फिर्ता पायौँ । यस्ता कुरा हाम्रा नेताले कति अध्ययन गरेका छन् ? भीमसेन थापाले पृथ्वीनारायण शाहकै विदेश नीति पछ्याउँदा पछ्याउँदै पनि कहाँनेर गल्ती गरे ? हाम्रा नेताले त्यो अध्ययन गरेको छ कि छैन ? हामी पश्चिममा काँगडा पुगेका थियौँ, किन पछि खुम्चिएर महाकालीमा सीमित भयौँ ? त्यो गल्ती के थियो ? त्यसको अध्ययन छ कि छैन ?

महेन्द्र र बीपीको परराष्ट्र नीति करिब एउटै थियो तर कूटनीतिमा महेन्द्रले केही जितेजस्तो र बीपी अलि पछि परेजस्तो देखियो । २०१७ साल पुस १ गतेको काण्ड हुनमा सायद बीपी कोइरालाले अख्तियार गरेको गृह नीति र परराष्ट्र नीति पनि कारक देखियो कि भनेर कसैले गहिरो अध्ययन, विश्लेषण गरेको छ कि छैन ? म त्यस्तो अध्ययन र विश्लेषण भएको देख्दिनँ । त्यसकारण हाम्रा नेतामा इतिहासको अध्ययन भएन । अनुभव पनि भएन । दूरदर्शिता पनि भएन ।

भारतमा अङ्ग्रेजहरूले उपनिवेश बनाएर जति शोषण गरे पनि त्यहाँ विश्वविद्यालयहरू स्थापना गरे । भारतमा अहिले डेढ सय, दुई सय वर्ष पुराना विश्वविद्यालय छन् । ती विश्वविद्यालय अङ्ग्रेजले बनाइदिएका थिए । त्यहाँका उत्पादन नै हुन् महात्मा गान्धी लगायत भारतका स्वतन्त्र सेनानी । उनीहरू अङ्ग्रेजले नै बनाएका शिक्षण संस्थाका उपज हुन् । हाम्रो नेपालको कुरा गर्ने हो भने पहिलो कलेज त्रिचन्द्र भर्खर एक सय वर्ष भयो । त्रिभुवन विश्वविद्यालय मभन्दा १० वर्ष कान्छो छ । दुर्दशा कस्तो छ भने विश्वविद्यालयका विभिन्न विभागमा विद्यार्थी छैनन्, बन्द भइरहेका छन् । शिक्षा नभइ अध्ययन पनि हुँदैन, अनुभव पनि हुँदैन । यी दुवै कुरा नभएपछि दूरदर्शिता पनि हुँदैन ।

अहिले हाम्रो गृह नीतिमा र परराष्ट्र नीतिमा पनि ‘कन्फ्युजन’ छ । नेपालको परराष्ट्र नीतिबारे बनिबनाउ शब्द हामी घोकिरहेका छौँ । असंलग्नता, संयुक्त राष्ट्र सङ्घको सिद्धान्तमा विश्वास, पञ्चशीलको सिद्धान्तमा विश्वास, सबैसँग मित्रवत् सम्बन्ध राख्ने भनेर हाम्रो परराष्ट्र नीतिको व्याख्या गरिन्छ । यो त सबैले भन्ने कुरा हो ।

हाम्रा पूर्वपरराष्ट्रमन्त्रीहरू धेरैजसोको कार्यकाल ९÷१० महिनामात्र छ । उहाँहरूले त्यस अवधिमा कति अध्ययन गर्न सक्नु हुन्छ ! अध्ययन गर्ने क्षमता नै कति होला ? भारतकै उदाहरण लिउँ, नरेन्द्र मोदीले सुव्रमण्यम जयशंकरलाई विदेशमन्त्री बनाउनु भयो । जयशंकर त व्यूरोक्रेसीमा धेरै बसेर खारिएको मान्छे । पहिला एकेडेमीकल्ली साउण्ड, त्यसपछि जापान, यूरोपका कतिपय देश र अमेरिकामा बसेर काम गरेको, आफ्नै देशको विदेशसचिव भएर काम गरेको, अङ्ग्रेजीमा क्षमता भएको, अनुभव भएको । यो मान्छे मलाई काम लाग्छ भनेर मोदीले पार्टीको झोला बोक्ने मान्छे नभए पनि जयशंकरलाई विदेशमन्त्री बनाउनु भयो । हाम्रोमा त पार्टीको झोला बोक्ने मान्छे नै खोज्ने चलन छ । तर मोदीले त्यसो गर्नुभएन, जो दक्ष र अनुभवी छ, उसैलाई जिम्मेवारी दिनुभयो ।

राजा महेन्द्रले यदुनाथ खनाललाई परराष्ट्रसचिव, राजदूत किन बनाउनुभयो ? यदुनाथ खनाल त २०१२ सालमा टंकप्रसाद आचार्यले त्रिचन्द्र कलेजबाट सिंहदरबार लगेको प्रोफेसर हो । टंकप्रसाद आचार्यले सचिव बनाएर खनाललाई लैजानुभएको हो । टंकप्रसाद आचार्यको सरकार हटेपछि पनि राजा महेन्द्रले खनाललाई प्रयोग गरिरहनु भयो । योजना मण्डलमा राख्नुभयो । त्यसपछि चुनाव भयो, बीपी कोइराला प्रधानमन्त्री हुनुभयो । बीपी कोइरालाले उहाँलाई पहिलो वर्ष सूर्यप्रसाद उपाध्यायको नेतृत्वमा संयुक्त राष्ट्रसङ्घको महासभामा पठाउनु भयो भने दोस्रो वर्ष आफैँ जाँदा पनि बीपीले सँगै लैजानुभयो । यदुनाथ खनाल राष्ट्रसङ्घबाट फर्केर आउँदा यहाँ सत्ता नै परिवर्तन भइसकेको थियो । व्यवस्था नै परिवर्तन भइसकेको थियो । बीपी जेलमा हुनुहुन्थ्यो । त्यो अवस्थामा पनि राजा महेन्द्रले यदुनाथ खनाललाई यो बीपीसँग गएको, यो बीपीको मान्छे नभनी विश्वासका साथ जिम्मेवारी दिनुभयो । बुबाले ल्याएको प्रजातन्त्र बिगार्न होइन, कांग्रेसले भन्दा छिटो यो देशमा विकास गर्न सकिन्छ कि भन्ने लागेर मैले यस्तो कदम चालेँ भनेर महेन्द्रले खनालसँग सहयोग माग्नुभयो । खनालले कस्तो सहयोग चाहिएको हो भनेर सोध्दा राजा महेन्द्रले ‘तपाईं मेरो परराष्ट्र सचिव भइदिनुपर्‍यो भन्नुभयो । अब भन्नुस्– यदुनाथ खनाल टंक प्रसाद आचार्यको मान्छे कि बीपीको मान्छे कि राजा महेन्द्रको मान्छे भनेर बुझ्ने त अब ?

dr jayraj acharya (6)

हामीले उहाँलाई राष्ट्रको मान्छे भनेर बुझ्नुपर्ने हुन्छ । उहाँ कसैको मान्छे नभएर राष्ट्रकै मान्छे भएकाले सबैले उहाँको सहयोग खोजे, आवश्यक जिम्मेवारी दिए । यसरी मान्छेको मूल्याङ्कन गर्न सक्नुपर्छ देश चलाउने मान्छेले ।

हाम्रो कूटनीतिक सफलताको सबैभन्दा राम्रो समय भनेको राजा महेन्द्रको बेला नै हो । महेन्द्रकै पालामा हो बीपी कोइराला प्रधानमन्त्री हुनुभएको । बीपी कोइराला प्रधानमन्त्री हुँदा १० वटा देशसँग हाम्रो कूटनीतिक सम्बन्ध थियो । त्यतिबेलाको नीति अन्तर्राष्ट्रिय सम्बन्ध विस्तार गर्ने थियो । त्यसैले १८ महिनाको अवधिमा १६ वटा देशसँग कूटनीतिक सम्बन्ध राख्यो र २६ पुग्यो । त्यो सूचीमा पाकिस्तान र इजरायलसम्म परे । बीपीको भ्रमण दुवै छिमेकी मुलुक भारत र चीनमा मात्र नभएर अमेरिकामा पनि भयो । संयुक्त राष्ट्रसङ्घको महासभामा पनि उहाँले नेपालको प्रतिनिधित्व गर्नुभयो । बीपी जेल गइसकेपछि भारतसँग नेपालको सम्बन्ध बिग्रिएको थियो ।

त्यसपछि पनि राजा महेन्द्रले यदुनाथ खनालको माध्यमबाटै कूटनीति गर्दा भारतसँगको सम्बन्ध क्रमिक रुपमा सुधार भयो । २०२६ सालमा महेन्द्रकै कार्यकालमा हाम्रो उत्तरी सिमानामा रहेको भारतीय सैनिकको १८ वटा पोस्ट हटाइयो, त्यो पनि भारतसँगको सम्बन्धमा कटुता नल्याइकन । भारतको चित्त बुझाएर, उसलार्ई विश्वासमा लिएर यत्तिको काम गर्नु भनेको असाधारण हो । किनकि भारतीय सैनिकको १८ वटा पोस्ट १७ वर्षदेखि बस्दै आएको थियो । २००९ सालमा मातृका प्रसाद कोइराला प्रधानमन्त्री भएको बेलामा सिंहदरबारमा ‘कु’ भयो । केआई सिंहले गरेको ‘कु’ दबाउन तत्काल हाम्रो सेनाले सकेन । हाम्रो सेनालाई आधुनिकीकरण गर्ने, तालिम दिने, त्रिभुवन विमानस्थललाई स्तरोन्नति गर्ने, उत्तरी नाकामा सैन्य पोस्ट राखेर सुरक्षा हेर्ने उद्देश्यका साथ दुई÷चार वर्षका लागि भनेर भारतीय सेना नेपाल आएको थियो । तर उनीहरू उत्तरी सिमानामा बसेको बस्यै गरे । त्यसलाई १७ वर्षपछि सौहार्द्रपूर्ण वातावरणमा फिर्ता गराइएको थियो ।

यतिमात्र होइन, महेन्द्रकै पालामा नेपाल पहिलो पटक संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद सदस्य बन्न सफल भयो । १२ सालमा राष्ट्रसङ्घको सदस्य भएको, २६÷२७ सालमा हामी सुरक्षा परिषदको सदस्यमा निर्वाचित भयौँ । त्यसैले कूटनीतिक सफलताको कुरा गर्दा आधुनिक कालको ‘गोल्डेन पिरियड’का रुपमा महेन्द्रको कार्यकाललाई लिन सकिन्छ ।

राजनीतिक स्थिरता पहिलो नम्बरमा आवश्यक छ भने दोस्रो नम्बरमा हाम्रो नीति–नियममा पनि स्थिरता हुनुपर्छ ।

त्यसअघिको कुरा गर्ने हो भने जंगबहादुरले ‘आइसोलेसन’ मै राखेको भए पनि कूटनीतिचाहिँ सफलतापूर्वक नै सञ्चालन गरेको हो । यद्यपि अङ्ग्रेजसित मिलेर राष्ट्रको हितलाई उनले प्रबर्द्धन गरे । कसैसित पनि नमिलीकन साँच्चै स्वतन्त्र ढङ्गले कूटनीति गरेर सफलता हासिल गरेको पृथ्वीनारायण शाहले नै हो ।

आन्तरिक राजनीतिमा कमजोरी र अस्थिरता भएपछि वैदेशिक हस्तक्षेप स्वतः हाबी हुन्छ । भूराजनीतिको चुनौतीलाई सम्बोधन गर्न सबैभन्दा पहिला हामी आन्तरिक रुपमा स्थिर हुनुपर्छ । हामीले भर्खरै लगानी सम्मेलन गर्‍यौँ । कहिलेकाहीँ विदेशी राजदूतसँग मेरो भेट हुँदा उनीहरू हामीप्रति सद्भाव राखेकै पाउँछु । तर नेपालमा राजनीतिक स्थिरता नभइ हामी कसरी लगानी गर्न सक्छौँ र भनेर मलाई सुनाउँछन् । लगानी गर्न इच्छुक, हामीप्रति सद्भाव राख्ने देशका राजदूतले समेत राजनीतिक स्थिरता नभएका कारण चाहेजति सहयोग गर्न नसकेको बताउने गरेका छन् । उनीहरू ‘पहिला राजनीतिक स्थिरता हुनुपर्‍यो’ भन्छन् ।

राजनीतिक स्थिरता पहिलो नम्बरमा आवश्यक छ भने दोस्रो नम्बरमा हाम्रो नीति–नियममा पनि स्थिरता हुनुपर्छ । हाम्रोमा सरकारैपिच्छे नीति–नियम बदलिन्छ । कहिलेकाहीँ त सरकारको नीति–नियम विपरीत एउटा मन्त्रीले अर्कै निर्णय गरिदिन्छ । त्यस्तो अवस्थामा वैदेशिक लगानी हुन सक्दैन । अहिले सबैभन्दा ठुलो चुनौती भनेको हाम्रो गृह नीतिमै छ ।

एक जना पूर्वराजदूतले मलाई बहुध्रुवीय विश्वभन्दा दुई ध्रुवीय विश्व नै नेपालका लागि सजिलो हुन्छ कि भनेर भन्नुभयो । मैले उहाँलाई भनेँ– होइन, बहु ध्रुवीय विश्व नै हाम्रोलागि लाभदायक छ । किनभने दुई ध्रुवीय विश्वमा यो कि ऊ छान्ने भन्ने दुईमात्र विकल्प हुन्छ भने बहु ध्रुवीय विश्वमा त्योभन्दा बढी विकल्प हुन्छ ।

अहिले साउदी अरब र अमेरिकाबिच सम्बन्ध सुधारको निकै राम्रो प्रयास भइरहेको म सुन्दैछु । यहाँसम्म कि अमेरिकाले साउदी अरबलाई परमाणु प्रविधि उपलब्ध गराउने सम्बन्धमा कुरा भइरहेको छ । ठुला शक्ति राष्ट्रहरू दुई ध्रुवमा रहे पनि उनीहरूको हातमा धेरै ‘कार्ड’ (विकल्प) हुन्छ, जो बहु ध्रुवीय विश्वमा खेलिरहेका हुन्छन् । जस्तो कि अमेरिका र चीनको बिचमा दुई ध्रुवीय विश्वको परिकल्पना गरौँ न, चीनले अमेरिकासँग डिल गर्न रुससँग पनि सम्बन्ध अगाडि बढाइरहेको छ । अमेरिकाले चीनसँग डिल गर्नका लागि भारत, जापान, कोरियाजस्ता मुलुकसँग सम्बन्ध बढाइरहेको छ । त्यसैले धेरै विकल्प भएकै संसारमा हामीले काम गर्नुपर्छ तर यत्ति हो कि हाम्रो प्राथमिकताचाहिँ प्रस्ट हुनुपर्छ । हाम्रो क्षमता र कमजोरी पनि हामीलाई थाहा हुनुपर्छ । जस्तो कि जंगबहादुरले आफ्नो कमजोरी देखे, अङ्ग्रेजसँग युद्ध गरेर नेपालले जित्छु भन्नु पहरालाई कुहिनोले हानेर फुटाउँछु भनेजस्तो हो । यसलाई कुहिनोले हानेर फुटाउने होइन, सानो–सानो छिनोले हानेर पानी निकाल्नुपर्छ भन्ने रणनीति उनले बनाए । त्यसैले कूटनीतिमा समय, परिस्थिति अनुसार नीति बनाएर अघि बढ्न सक्नु पर्छ । देशको हितकै लागि यस्तो नीति बन्ने गर्दछ । राजनीतिक स्थिरताले यस्ता नीतिलाई निरन्तरता दिन मद्दत गर्दछ र लक्ष्य अनुसार देशले सफलता प्राप्त गर्न सक्छ ।

(परराष्ट्रविद् डा. जयराज आचार्यसँग रातोपाटीका लागि सुदर्शन आचार्यले गरेको कुराकानीमा आधारित)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया