सोमबार, ३१ वैशाख २०८१
ताजा लोकप्रिय

प्रेस रिभ्यूः प्रधानमन्त्री ओलीलाई संक्रमणको आशंका, सरकारी जग्गा नेकपा नेतालाई ठेक्का

बिहीबार, २९ फागुन २०७६, ०७ : ४८
बिहीबार, २९ फागुन २०७६

आज मिति २०७६ साल फागुन २९ गते बिहीबार देशका ठूला राष्ट्रिय दैनिकहरुले प्रथम पृष्ठमा प्राथमिकता दिएर प्रकाशित गरेका छन् । प्रधानमन्त्रीलाई संक्रमणदेखि लिएर ट्यांकरबाट तेल चोरीसम्मको विषयलाई पत्रपत्रिकाले स्थान दिएका छन् । 

कान्तिपुर दैनिकले ‘प्रधानमन्त्री ओलीलाई संक्रमणको आशंका’ शीर्षकमा समाचार प्रकाशित गरेको छ । समाचारमा कान्तिपुरले लेखेको छ । 

प्रधानमन्त्री केपी शर्मा ओलीको पिसाबमा संक्रमण भएको आशंका गरिएको छ । उपचारमा संलग्न चिकित्सक टोलीलाई ‘क्लेबसेला ब्याक्टेरिया’ को संक्रमण भएको शंका लागेसँगै पिसाबको कल्चर गर्न पठाइएको छ । कल्चरको रिपोर्ट आउन कम्तीमा ४८ घण्टा लाग्ने भएकाले त्यो हेरेपछि मात्र डिस्चार्जबारे निर्णय लिन सकिने चिकित्सकहरूले बताएका छन् । 

प्रधानमन्त्रीका निजी चिकित्सक प्रा.डा. दिव्यासिंह शाहले ओलीलाई हाल संक्रमण हुने जोखिम उच्च रहेको स्वीकार गर्दै पिसाब कल्चर गर्न पठाइएको जानकारी दिइन् । उनका अनुसार बिहीबार परीक्षणको रिपोर्ट आएपछि मात्र थप केही भन्न सकिन्छ । ‘उहाँलाई अहिले संक्रमण जोखिम छ, त्यसैले हामीले हरेक दिन केही न केही परीक्षण गरी नै रहेका हुन्छौं । पिसाबको पनि त्यहीअनुरूप कल्चर गर्न पठाइएको हो,’ उनले भनिन्, ‘रिपोर्ट ४८ घण्टापछि आउँछ अनि मात्र थप भन्न सकिन्छ ।’

चिकित्सकका अनुसार प्रधानमन्त्री ओलीलाई पहिला पनि ‘क्लेबसेला ब्याक्टेरिया’ को संक्रमण देखिएकाले अहिले शरीरको रोग प्रतिरोधात्मक क्षमता कम भएका बेला त्यो फेरि फर्किने सम्भावना प्रबल रहन्छ । उनलाई त्यसबेला ‘पिपेरासिलिन–ट्याजोब्याक्टम’ नामक एन्टिबायोटिक प्रयोग गरिएको थियो ।

यसैगरी, नागरिक दैनिकले ‘सरकारी जग्गा नेकपा नेतालाई ठेक्का’ शीर्षक दिएर समाचारलाई प्रथम पृष्ठमा प्रकाशित गरेको छ । घोराहीस्थित १६ कट्ठा सरकारी जग्गा सत्तारुढ नेकपाका नेतालाई ठेक्कामा दिइएको छ। खाद्य व्यवस्था तथा व्यापार कम्पनीका नाममा रहेको १५ कट्ठा १४ धुर खाली जग्गा नेकपाका नेतालाई ठेक्कामा दिइएपछि चर्को आलोचना भएको छ। सो जग्गामा मेला, महोत्सवलगायत विभिन्न कार्यक्रम हुन्थे। कम्पनीले सत्तारुढ नेकपाका नेतालाई ठेक्कामा दिएपछि घोराहीमा सार्वजनिक कार्यक्रम गर्ने स्थलको समेत अभाव खड्किएको छ।

‘अब घोराही बजार क्षेत्रमा खाली जमिन सकियो भन्दा पनि हुन्छ, भोलि कुनै प्राकृतिक विपत् आइपरेको अवस्थामा घोराहीवासीलाई राख्ने ठाउँसमेत मेटाइयो, मेला, महोत्सवलगायत कार्यक्रम आयोजना गर्ने ठाउँ पनि मासियो’, नेकपा घोराही नगर संयोजक राममणि पाण्डेले भने, ‘जग्गा ठेक्का दिनु नीतिनियमले ठीक या बेठीक जे भए पनि भोलिका बारेमा केही नसोचिनु ठीक होइन।’

साबिकका साल्ट ट्रेडिङ कम्पनी र खाद्य संस्थान गाभिएपछि साउनमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी बनेको थियो। कम्पनीका दाङ प्रमुख माधव मिश्रका अनुसार कम्पनीलाई गत साउन २८ मा सरकारले स्वायत्तता प्रदान गरी कम्पनीका नाममा रहेको सरकारी जमिनको उचित व्यवस्थापन गर्न भनेको थियो। ‘सरकारले स्वायत्तता प्रदान गरेसँगै कम्पनीको नाममा रहेको सम्पत्तिको उचित व्यवस्थापन गर्न पनि अधिकार दियो,’ मिश्रले भने, ‘यसै अधिकारमा टेकेर सरकारी सम्पत्ति उचित व्यवस्थापन गर्ने प्रक्रियामा कम्पनी लागेको हो।’ उनका अनुसार मन्त्रिपरिषद्को साउन २८ को निर्णयमा टेकेर सम्पत्ति महाशाखाले समेत खाली रहेको सरकारी जमिनमा भौतिक संरचना निर्माण वा जग्गा भाडामा दिनेगरी व्यवस्थापन गर्न कम्पनीको जिल्ला शाखालाई निर्देशन दिएको थियो। ‘सम्पत्ति महाशाखाले खाली जमिन लथालिंग नछोड्नु भनेर निर्देशन दिएको थियो,’ मिश्रले भने, ‘खाली जग्गाको व्यवस्थापन भनेको भाडामा दिनु थियो।’

त्यस्तै, नागरिकले पेट्रोलियम पदार्थ नेपालका किन महङ्गो भन्ने विषयमा अर्को समाचारलाई प्राथमिकताका साथ छापेको छ । अन्तर्रा्ष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको भाउमा पछिल्लो साता करिब २० प्रतिशतले कमी आउँदा पनि नेपाली उपभोक्ताले महँगोमा किन्नुपरेको छ। पेट्रोलियम पदार्थ आयातमा सरकारले उच्च कर लगाएपछि नेपाल आयल निगमले नाफा राखेर महँगो मूल्यमा बिक्री गर्दा त्यसको भार उपभोक्तालाई परेको हो।

अन्तर्रा्ष्ट्रिय बजारमा सन् २०१९ को डिसेम्बर ३० मा प्रतिब्यारेल ६३.०५ डलर पुगेको कच्चा तेलको मूल्य बुधबार करिब आधा घटेर ३४.६५ डलरमा झरेको छ। साढे दुई महिनाको अवधिमा तेलको मूल्यमा भारी गिरावट आए पनि नेपाली उपभोक्ताले त्यसको फाइदा लिन पाएका छैनन्। उपभोक्ता चर्को मूल्यमा इन्धन किन्न बाध्य छन्। अहिले काठमाडौंमा पेट्रोलको भाउ प्रतिलिटर एक सय आठ रुपैयाँ छ। त्यस्तै डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ९७ रुपैयाँ छ।

अन्तर्रा्ष्ट्रिय बजारमा अहिले इन्धनको मूल्यमा कमी आएकाले केही दिनमा नेपाली बजारमा पनि मूल्य घट्ने निगमका अधिकारी बताउँछन्। मार्च १६ (चैत ३ गते) मा नयाँ मूल्य आउने भएकाले त्यसपछि सस्तिने निगमका प्रवक्ता वीरेन्द्र गोइत बताउँछन्। ‘मार्च १६ मा मूल्य घटेर आयो भने हामी पनि घटाउछौं,’ उनले भने, ‘नयाँ भाउ समायोजन भएर आउने मूल्यसूचीमा भरपर्छ।’ निगम सकेसम्म उपभोक्तालाई सस्तोमा पेट्रोलियम पदार्थ बिक्री गर्न प्रयत्नशील रहेको दाबी उनको छ।

यता, अन्नपूर्ण पोस्ट् दैनिकले ‘युरोपका नेपाली सुरक्षित’ भन्ने शीर्षकमा युरोपमा रहेका नेपालीमा कोरोना भाइरसको जोखिम छ कि छैन भनेर समाचार छापेको छ । इटालीको मिलान सहर बुधबार सुनसान अवस्थामा । कोरोना भाइरसको तीव्र संक्रमणबाट जोगाउन इटालीको सरकारले सर्वसाधारणलाई घरबाट निस्कन कडाइ गरेको छ । यो विपतले र्पुयाउन ठूलो आर्थिक क्षतिबाट राहत दिन सहायता कार्यक्रमसमेत ल्याएको छ ।  

युरोपका विभिन्न मुलुकमा रहेका नेपाली कोरोना भाइरस संक्रमणबाट सुरक्षित छन्। संक्रमण भइहाले कसरी बच्ने भन्ने चिन्ता रहेको उनीहरूले बताएका छन्।

इटालीमा करिब १५ सय नेपाली रहेको अनुमान छ। एनआरएनए इटालीका उपाध्यक्ष छविलाल कँडेलका अनुसार धेरै नेपाली रहेको रोमनजिकका क्षेत्रमा कोरोना प्रभाव न्यून छ। उनले सबैभन्दा बढी प्रभावित लोमबार्दिया क्षेत्रका नेपाली पनि सुरक्षित रहेको बताए।

इटालीमा बुधबार अपराह्नसम्म करिब साढे ६ सय जनाको मृत्यु भएको छ भने १० हजारभन्दा बढीमा संक्रमण भेटिएको छ। चीनपछि सबैभन्दा बढी कोरोना भाइरस प्रभावित मुलुक इटाली हो।

प्रधानमन्त्री जुसेपे कोन्टेले सबै नागरिकलाई आफ्नै घरमा बस्न र यात्रा नगर्न आग्रह गरेपछि ६ करोड जनसंख्या रहेको इटाली पूरै ‘लक–डाउन’ छ। देशभरका सबै शिक्षण संस्था आगामी महिनासम्मका लागि बन्द गरिएका छन्।

मिलानमा बस्ने कँडेलले भने, ‘हामीलाई कोही नेपाली संक्रमित बनेको खबर छैन। हामी सबै नेपालीसँग निरन्तर सम्पर्कमा छौं।’ बाहिरबाट देखिएजस्तो भयावह स्थिति नभएको उनले बताए। ‘सरकारले ‘लकडाउन’ घोषणा गरेपछि सर्वसाधारण थप सचेत बनेका छन्,’ उनले भने, ‘हामी नेपाली पनि अत्तालिएका छैनौं। तर, संक्रमण बढ्दै गयो भने के होला भन्ने अन्योल छ।’

यता, नयाँ पत्रिका दैनिकले ‘एउटै ट्यांकरबाट २५२ लिटरसम्म तेल चोरी’ हुने गरेको खुलासासहित समाचार छापेको छ । 
 
इन्डियन आयल कर्पोरेसन (आइओसी)को बरौनी रिफाइनरीबाट आयल निगमको थानकोट डिपोमा डिजेल बोकेर आएका चार ट्यांकरमा मट्टीतेल मिसावट भएको भेटिएको छ । मट्टीतेल मिसाइएका डिजेलका थप २० ट्यांकर बाटोमै रोकेर राखिएको छ । 

थानकोट डिपोमा तेल ओसार्ने करिब दुई सय ट्यांकरको ताल्चा खोल्ने साझा साँचो (मास्टर की) हराएपछि यति धेरै ट्यांकरमा मिसावटको घटना भेटिएको हो । अहिले तेल मिसावट भएका सबै ट्यांकर हराएको एउटै साँचोले खोल्न मिल्छ । ट्यांकरचालकले साँचो दुरुपयोग गरी डिजेल लोड भएको ट्यांकरमा मट्टीतेल मिसाएर आर्थिक लाभ लिन खोजेको प्रारम्भिक अनुमान गरिएको छ ।

एक व्यवसायीका अनुसार बरौनी रिफाइनरीबाट २५ फागुनमा डिजेल बोकेर आएका ट्यांकरमा मट्टीतेल मिसावट भएको भेटिएको हो । ‘थानकोट डिपोमा तेल बोकेर आएका ट्यांकरको सुरुमा गुणस्तर परीक्षण हुने गरेको छ । डिपोपरिसरमै रहेको प्रयोगशालाका सामग्री प्रयोग गरेर हेर्दा ना.५ख १३१०, ना.४ख २१७९ र ना.७ख ०८३९ नम्बरका ट्यांकरले बोकेर ल्याएको डिजेलमा मट्टीतेल मिसावट भएको भेटियो,’ स्रोतले भन्यो । डिजेल बोकेका तीनवटै ट्यांकर २० किलोलिटर क्षमता हुन् । त्यस्तै, २७ फागुनमा ना.७ख २४७० नम्बरको डिजेल बोकेको ट्यांकर परीक्षण गर्दा पनि मट्टीतेल मिसावट भएको भेटिएको हो । २० किलोलिटर क्षमताको यो ट्यांकर ग्रेट हिमालय ढुवानी सेवाको नाममा दर्ता छ । यो कम्पनी पेट्रोलियम ट्यांकर ढुवानी व्यवसायी महासंघका महासचिव विश्व अर्यालको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप