मङ्गलबार, ०६ कात्तिक २०८१
ताजा लोकप्रिय

बीमा कम्पनीहरूले विश्वासको वातावरण बनाउन सकेनन्, मर्जरको खाँचो छ : अध्यक्ष सिलवाल

सोमबार, २३ फागुन २०७८, १४ : ११
सोमबार, २३ फागुन २०७८

बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमा कम्पनीहरूबिच मर्जरको खाँचो रहेको औँल्याएका छन् । सोमबार राजधानीमा आयोजित आईएमई जनरल इन्स्योरेन्सको नयाँ प्रोडक्ट सार्वजनिक कार्यक्रममा बोल्दै अध्यक्ष सिलवालले यस्तो बताएका हुन् । 

जीवन बीमा र निर्जीवन बीमाका दुबै क्षेत्रमा काम गर्ने कम्पनीहरूको सङ्ख्यात्मक वृद्धि भएता पनि तिनको गुणात्मक वृद्धि हुन नसकेको भन्दै सिलवालले त्यसका लागि पुँजी वृद्धिको आवश्यकता रहेको बताए । ‘अहिले जति बीमा कम्पनीहरू सञ्चालनमा छन्, ती सङ्ख्यात्मक रूपमा मात्र पर्याप्त छन् । अरू नयाँ लाइसेन्स जारी गर्न जरुरी छैन । तथापि, आवश्यक पुँजी कसैसँग पनि पर्याप्त छैन’ सिलवालले भने, ‘कुनै नयाँ कार्यक्रम गर्नुपर्‍यो, क्षेत्र विस्तार गर्नुपर्‍यो भने हाम्रा एउटा पनि बीमा कम्पनी एक्लै सक्षम छैनन् । यसले मर्जरको आवश्यक महसुस गराएको छ ।’

अध्यक्ष सिलवालले सोही अवसरमा बीमा कम्पनीहरूको उल्लेखनीय सङ्ख्या भए पनि तिनले अपेक्षित क्षेत्र विस्तार र सेवा विस्तार गर्न नसकेको आरोप लगाए । ‘सङ्ख्यात्मक रूपमा हाम्रा बीमा कम्पनीहरू पक्कै कमजोर छैनन् । तर सेवा विस्तार र पहुँच विस्तारमा भने निकै कमजोर छन् । यसमा समितिले एकाएक गरेर हेर्ने र सबै क्षेत्रमा प्रचार प्रसार गर्न सम्भव छैन । सर्वसाधारणलाई बीमाको सचेतना फैलाउन समेत समितिको सीमित स्रोत साधनले सम्भव हुँदैन । यसका लागि कम्पनीहरूले तल्लो स्तरसम्म गएर बीमा बारे जागरूकता ल्याउन आवश्यक छ । यसका लागि बीमा कम्पनीहरूले स्थानीय जनप्रतिनिधिहरूसँग मिलेर काम गर्न आवश्यक छ’ सिलवालले भने । 

तर, बीमा कम्पनीहरूकै गलत प्रवृत्तिका कारण बीमाप्रति आम सर्वसाधारणको वितृष्णा जागेको उनले आरोप लगाए । बीमा पोलिसीको बारे स्पष्ट व्याख्या नगरिदिने त माग दाबीको समयमै भुक्तानी नगरिदिने परिपाटीका कारणले पनि सर्वसाधारणको बीमाप्रति विश्वास गुमेको अध्यक्ष सिलवाले बताए । 

‘मान्छे मरिसक्यो, देखिएकै कुरा छ र पनि कम्पनी भुक्तानी दिन आनाकानी गर्छ । अनावश्यक झन्झट दिन्छ । अनि कसरी बीमाप्रति आकर्षण बढ्छ ?’ उनले प्रश्न गरे । अध्यक्ष सिलवाले यस्तो गलत कार्य नगर्न बीमा कम्पनीहरूलाई आग्रह गरे । सो अवसरमा अध्यक्ष सिलवालले बीमा कम्पनीहरूलाई समितिले जारी गरेको निर्देशन, ऐन नियममा समेत रहेर काम गर्न आग्रह गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप