आइतबार, २० जेठ २०८१
ताजा लोकप्रिय

नगरको बजेट हरेक वर्ष फोहोर व्यवस्थापन खर्च, प्रगति शुन्य

मङ्गलबार, ०७ असार २०७९, ०७ : ३५
मङ्गलबार, ०७ असार २०७९

जुम्लाको एक मात्र नगरपालिका चन्दननाथ नगरपालिका फोहोरी नगरपालिकाको रुपमा चिनिन थालेको छ । हरेक वर्षको नीति तथा कार्यक्रम र बजेटमा फोहोर व्यवस्थापन प्राथमिकतामा पर्छ, तर नगरपालिका स्वच्छ र सफा हुन सक्दैन । 

अहिले पनि  नगरक्षेत्रको फोहोर उठाइएको छैन । फोहोर व्यवस्थापन दिगो रुपमा अगाडि बढ्न सकेको छैन। जताततै फोहोर थुप्रिँदा बजार दुर्गन्धित बढेको  छ । नगरपालिकाले समयमै फोहोर उठाउन  नसक्दा समस्या झन् जटिल बन्दै गएको छ । कुहिने र नकुहिने फोहोर एकै ठाउँमा जम्मा पारिदिँदा पनि समस्या बढेको बताइन्छ ।

नगरपालिकाका प्रमुख राजुसिंह कठायत फोहोर व्यवस्थापन मुख्य चुनौती भएको बताए । तर पछिल्लो समय नगरप्रमुख कठायत फोहोर उठाउन सजिलो नभएको भन्दै नागरिकलाई पनि सचेत हुन आग्रह गर्दै आएका छन् । स्थानीयहरू भने जनप्रतिनिधिलाई फोन गरेरै सेना वा प्रहरी लगाएर फोहोर उठाउन आग्रह दिने गर्छन् । 

चन्दननाथ नगरपालिकामा ३ हजार ९ सय ९६ परिवार छन् । प्रति परिवार १ सय ७० ग्राम फोहोर उत्पादन हुन्छ । प्रत्येक दिन नगरपालिकामा ६ सय ७९ केजी फोहोर उठ्छ । प्रतिमहिना २० हजार ३ सय ७९ केजी फोहोर उत्पादन हुँदा प्रति वर्ष २ लाख ४४ हजार ५ सय ५५ केजी फोहोर संकलन हुन्छ । प्रतिदिन कुहिने फोहोर ४ सय ४८ केजी उत्पादन भएकोमा नकुहिने फोहोर २ सय ३० केजी उत्पादन भइरहेको हुन्छ । 

क्रियसन नेपाल नामक संस्थाले गरेको अध्ययन अनुसार फोहोर व्यवस्थापनमा भौतिक पूर्वाधार अभाव मुख्य समस्या छ । नगरवासी ल्याण्डफिल्डमा आश्रित छन् । दैनिक २ सय ५० क्युविक फिट मात्र फोहोर उठाउने सवारीसाधन छन् । यस्तै सबैभन्दा बढी फोहोर उठ्ने क्षेत्र भने चन्दननाथ नगरपालिकाका ४, ५ र ६ वडा हुन् । क्रियसन नेपालका प्रतिक बज्राचार्यका अनुसार नगरक्षेत्रमा जानाजान फोहोर जलाएर प्रदूषण निम्त्याइँदैछ ।  

फोहोर व्यवस्थापनमा दीर्घकालीन विकल्प अघि नसारिँदा पनि समस्या जटिल बन्दै गएको छ । बढ्दो जनसंख्या र शहरीकरण, उपभोगमुखी जीवनशैली, बढ्दो फोहोर उत्पादन साथै व्यवहार परिवर्तन नहुँदा नगरक्षेत्र फोहोरबाट विमुख हुन सकेको छैन । 

चन्दननाथ नगरपालिका दुईका वडाध्यक्ष हेमबहादुर बुढ्थापा भने स्थानीयहरूले आफ्नो घरको फोहोर आफैं व्यवस्थापन गर्नसक्ने गरी व्यवहार सिक्नु पर्ने सुझाव दिन्छन् । यद्यपि यसबारे नगरपालिकाले फोहोरमैला व्यवस्थापनबारे कडा कानुन बनाउँदै गरेको उनी बताउँछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप