सोमबार, ३१ वैशाख २०८१
ताजा लोकप्रिय

नेपालबाट विदेश निर्यात हुने सुपारीको डिएनए परीक्षण गर्नुपर्ने

शुक्रबार, १३ साउन २०७९, १६ : ४८
शुक्रबार, १३ साउन २०७९

नेपालबाट विदेश निर्यात हुने सुपारीको डिएनए परीक्षण गर्नुपर्ने भएको छ । शुक्रबार राष्ट्रियसभा अन्तर्गतको दीगो विकास तथा सुशासन समितिको बैठकले सुपारी र उत्पादन भएको स्थान परीक्षण गर्न निर्देशन दिएको हो ।

विदेशबाट अवैध रुपमा नेपाल भित्रिएको सुपारी पुनः विदेश पठाउँदा नेपालमा उत्पादन भएको उत्पत्तिको प्रमाणपत्र भेटिन थालेपछि सरकारले नै चासो बढाएको छ । पछिल्लो समय निर्यात गर्न पाएको इजाजतभन्दा बढी सुपारी विदेश निर्यात हुन थालेको गुनासो बढ्दै गएपछि समितिले चासो देखाएको हो । समितिले शुक्रबारको बैठकमा छलफलपछि सुपारीको डिएनए परीक्षण गरेर मात्र आयात, निर्यात गर्न निर्देशन दिएको छ ।

समितिको बैठकमा भन्सार विभागका प्रमुख कमलप्रसाद भट्टराईले स्थानीय कृषिज्ञान र नेपाल उद्योग वाणिज्य संघले उत्पात्तिको प्रमाणसहित सिफारिस गरेपछि सामान्य प्रक्रिया पु¥याएर निर्यात गर्न दिने गरेको बताए । केही दिनअघि विराटनगर भन्सारबाट भारततर्फ निकासी भइरहेको सुपारी बोकेको ट्रकलाई नेपाल प्रहरीले रोकेर फिर्ता ल्याइ अनुसन्धान गरिरहेको छ । प्रहरीले अवैध भएको आशंकामा नियन्त्रणमा लिएको सुपारीबारे राजनीतिक दलका शीर्ष नेतातहमा समेत सम्बन्ध जोड्न थालिएको छ ।

समितिको बैठकमा अर्थ मन्त्रालयका राजश्व सचिव कृष्णहरी पुस्करले अर्थ मन्त्रालय र भन्सार विभागले व्यापार सहजिकरणमा मात्र जोडिने भएकाले सबै दायित्व नहुने बताए । सुपारीको उत्पादन व्यापार व्यवसायबारे अध्ययन भइरहेकाले त्यसको स्थानीय राजनीतिक कारण पनि खोज्नुपर्ने सचिव पुस्करले बताए ।

त्यस्तै बैठकमा प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहले विराटनगर भन्सार नजिक नियन्त्रणमा लिइएको सुपारी अनुसन्धानको क्रममा रहेको बताए ।   पक्राउ परेको सुपारी बोकेको ट्रकमा भारतीय भन्सारको सील लागेको उनले बताए । उनले यसरी नेपालबाट भारततर्फ जाने मालवाहक गाडीमा नेपालको भन्सारको सील लाग्नुपर्नेमा भारत भन्सारको सील पाइएकाले शंका उब्जाएको र अनुसन्धानको विषय बनेको बताए । बैठकमा सांसदहरुले नेपालमा आयात र निर्यात हुने सुपारीको विषयमा गहन अध्ययन हुन आवश्यक रहेको बताएका छन् । सांसदहरुले सुपारीमा राजनीतिक र अन्य सम्बन्ध खोज्न आवश्यक रहेको पनि बताए । 
 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप