‘अबको १५ वर्ष भलिबलको युग हुनेछ’
नेपाल भलिबल संघले आयोजना गरेको सातौँ संस्करणको प्रतियोगितामा दर्शकको भीड थाम्न मुस्किल थियो । यसले इङ्गित गर्छ, नेपाली भलिबलमा अहिले दर्शकहरूको राम्रो चार्मिङ छ । त्यसो त अहिले पोखरामा भइरहेको टाइगर कप भलिबलमा पनि दर्शकहरूको घुइँचो देख्न सकिन्छ । लामो समयपछि भएको प्रतियोगिताले नेपाली भलिबलका दर्शकलाई आकर्षित गरिरहेको छ ।
नेपाली भलिबलले पाएको सफलताले त्यसको क्रेज पनि सोही रूपमा बढ्न थालेको बुझ्न सकिन्छ । गत महिना मात्र नेपाली यु २३ टिमले बङ्गलादेशमा भएको प्रतियोगितामा सहभागिता जनायो । नतिजा राम्रो नभए पनि प्रदर्शन र सहभागिताको रूपमा नेपाली टोलीले ठुलो सफलता हात पार्न सफल भयो । अर्को प्रतियोगितामा नेपाली टोलीको सफलता देख्न सकिन्छ ।
यता नेपालको बिच भलिबलले सेन्टर एसियन जोनमा महिला र पुरुष दुवै टोली दोस्रो भयो । बिच भलिबलका लागि यो ऐतिहासिक सफलता थियो । नेपाली महिला भलिबल टोलीले साग खेलमा रजत पदक जितेको छ । अब नेपाली महिला टोली एसियाली क्षेत्रमा पहिलो पाइला टेक्ने योजनामा छ ।
यसै क्रममा प्रस्तुत छ, नेपाली महिला भलिबलको सफलता, भावी योजना र लक्ष्यको विषयमा नेपाली महिला टोलीका मुख्य प्रशिक्षक जगदीश भट्टसँग रातोपाटीले गरेको कुराकानीको सम्पादित अंशः
नेपाली भलिबलको हालको अवस्था कस्तो छ ?
नयाँ समितिको कार्यकालसँगै एसियन कपमा सहभागिता भएको छ । सातौँ संस्करणमा राम्रो भएको छ । राष्ट्रपति रनिङ शिल्डको माहौल पनि राम्रो छ । यसरी भलिबलमा सकारात्मक सन्देश प्रवाह भएको छ । मैले २०५० सालदेखि २०६५ सालसम्म फुटबलको युग देखे । २०६५ देखि २०७५ सम्म क्रिकेटको युग देखे । मलाई लाग्छ, अबको १५ वर्ष भलिबलको युग हुनेछ ।
क्रिकेटले ग्रास रुटदेखि लिएर विदेशी प्रशिक्षक पायो । त्यसैले, खेलाडी र व्यवस्थापकको हिसाबले अरू खेलभन्दा माथि छ । भलिबल खेलाडीले एउटा बाइक चढ्ने हैसियत बनायो । अनि, अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउने हैसियत बनायो भने अबको १५ वर्ष भलिबलको युग हो ।
खेलाडी उत्पादनको हिसाबले नेपालको भलिबल कहाँ छ ?
यहाँको सबैभन्दा ठुलो समस्या प्राविधिक पाटो हो । ७७ जिल्लामा जम्मा ८ जना प्रशिक्षक मात्र छन् । जबसम्म राम्रो प्रशिक्षक हुँदैन, कुनै पनि खेल अघि बढ्न सक्तैन । स्पोर्ट्सलाई स्कुलबाट ल्याउनका लागि त्यहाँबाट प्रशिक्षक र खेलाडीको विषयलाई बलियो बनाउन सकिन्छ । जबसम्म यस्तो कुरामा राज्यले ध्यान दिँदैन, तबसम्म नेपाली भलिबलको अवस्था माथि उक्सने अवस्था छैन ।
यहाँ भौतिक पूर्वाधारलाई कमै ध्यान दिइएको छ । भौतिक पूर्वाधारसँगै प्रशिक्षणको पाटोलाई पनि जोड्न सकिन्छ । एउटा राम्रो खेलाडीको खेल जीवन पाँच वर्ष हुन्छ । तर यहाँ त एउटा कभर्ड हल बनाउन पाँच वर्ष लाग्छ । भौतिक पूर्वाधार, खेलाडीको भविष्य र गरिखाने पाटो नहुँदा खेलाडी उत्पादन र निरन्तरताको पाटो कमजोर हुन्छ ।
महिला टोलीले राम्रो सफलता हात पारेको छ । अझ राम्रो कसरी बनाउन सकिन्छ ?
जबसम्म सिनियर खेलाडीलाई टक्कर दिने नयाँ खेलाडी उत्पादन हुँदैनन्, तबसम्म टिमको प्रगति राम्रो हुँदैन । टिम राम्रो बन्ने भनेको आजको नम्बर एक खेलाडीलाई भोलि टिममा पर्छु पर्दैन भनेर चिन्ता हुनु हो ।
हाम्रोमा दसौँ वर्षसम्म एउटै खेलाडीहरू छन् । तलको नयाँ खेलाडी ल्याउने । नेपालको ए, बी र सी टिम तयार पारेर सधैँ तयारी गर्ने अवस्था भयो भने टिम राम्रो बन्छ । नेपालको सबै जिल्लाबाट खेलाडी छनोट गरेर टिम तयार पार्ने अवस्था नभएसम्म प्रगति हुँदैन, हामीले दक्ष खेलाडी उत्पादन गर्न पनि सक्दैनौँ ।
भलिबलमा लाग्न चाहना देखाउने खेलाडीहरूको अवस्था कस्तो छ ?
अहिले खेलकुदमा आउन खेलकुदमा लामो समय लागेका व्यक्ति, पदाधिकारी र जति जमात छ, ती व्यक्तिका छोरा छोरी पनि आउनु पर्छ । खेलकुदमा लागेका व्यक्तिहरूको परिवार नै लागेमा उनीहरूलाई खेलकुदमा राम्रो गर्ने अवस्था छ ।
पछिल्लो समय भलिबलमा आएको सफलताले आम युवाको चासोको विषय बनेको छ । तर, त्यसले दिगो टेवा दिँदैन । अहिले नेपाली भलिबलमा लाग्ने खेलाडीहरू कमै छन् । जीवन निर्वाह गर्ने अवस्था छ । तर, भविष्य छैन । त्यो अवस्था नभएसम्म भलिबल मात्र होइन, कुनै खेलमा खेलाडी आउन चाहन्नन् ।
भलिबललाई परिणाममुखी बनाउन के गर्नु पर्छ ?
अहिलेको अवस्था हेर्दा खेलकुदमा भइरहेका कुनै क्रियाकलाप परिणाममुखी छैन । एउटा मास खडा गरेर फोटो खिच्ने र त्यही नै हो काम भनेजस्तै देखाउने उपाय छ । खेलकुदमा आउने बजेट पनि त्यति परिणाममुखी देखिँदैन ।
छुट्याइएको बजेट पनि साँच्चिकै खेलकुदको हितमा छ या छैन । त्यो बजेट माथिदेखि ग्रास रुटसम्म छ छैन भन्ने विषयमा पनि हेक्का छैन । स्थानीय तहदेखि केन्द्रसम्म छुट्याइएको बजेट अरबौँ छ तर वार्षिक कति खेलाडी उत्पादन भयो भन्ने तथ्याङ्क हालसम्म देखिँदैन ।
प्रशिक्षकको पाटोलाई कसरी माथि उकास्न सकिन्छ ?
प्रशिक्षकको पाटो सबैभन्दा महत्त्वपूर्ण पाटो हो । जबसम्म प्रशिक्षकको पाटो बलियो बनाउन सकिँदैन, तबसम्म खेलाडीहरू उत्पादनको पाटो पनि कमजोर हुन्छ । ७७ जिल्लामा मात्र ८ प्रशिक्षक हुँदा खेलाडीको उत्पादनको पाटो कस्तो होला आफै बुझ्न सकिन्छ । केन्द्र स्तरमा एक सय जना प्रशिक्षक राखेर त्यसको प्रशिक्षकको पाटो बलियो बनाउन सकेमा पनि खेलाडी उत्पादन सहज हुन्छ ।
२ सय जना खेलाडीलाई राम्रो प्रशिक्षक पाउँदा २० जनालाई छानेर राष्ट्रिय टोली उत्पादन गर्न सकिएमा परिणाम राम्रो हुन्छ । त्यसको लागि खेलाडी र प्रशिक्षक दुवै पाटो बलियो बनाउन आवश्यक छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उच्च करदातालाई नेपाल उद्योग परिसंघको सम्मान
-
बिआरआईमा ऋण लिने/नलिने सर्वाधिकार नेपालसँग छः सेमन्त दाहाल
-
‘पुष्पराज’ लाई छाडेर यी हिरोसँग मुभी डेटमा गइन् रश्मिका
-
नेपालले बीआरआईमा हस्ताक्षर गर्दा भारत तर्सिनु पर्दैनः महासेठ
-
बाबा सिद्दिकीभन्दा अघि सलमानलाई मार्ने थियो योजना
-
नेपालमा तीन विषादी प्रतिबन्धित