शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय
उपनिर्वाचन

गोविन्दलाई गोविन्दको समर्थन जुटाउने कसरत, स्वर्णिम रोक्न गगन मैदानमा

सोमबार, २० चैत २०७९, ०५ : ४७
सोमबार, २० चैत २०७९

काठमाडौँ । नेपाली कांग्रेसले तनहुँ–१ को उपनिर्वाचनमा गोविन्दराज जोशी समूहको समर्थन जुटाउने प्रयास थालेको छ । २०७४ को आम निर्वाचनमा तनहुँ–१ मा कांग्रेसका तत्कालीन वरिष्ठ नेता रामचन्द्र पौडेललाई असहयोग गरेको भन्दै २०७५ मा पार्टीका पूर्व सहमहामन्त्री जोशीलाई साधारण सदस्य नरहे गरी कारबाही गरिएको थियो । तनहुँ–१ मा वैशाख १० हुने उपनिर्वाचनलाई लक्षित गरी कांग्रेसले आइतबार जोशी लगायतको कारबाही फुकुवा गरेको छ । 

कांग्रेसले तनहुँ–१ मा पार्टीका केन्द्रीय सदस्य गोविन्द भट्टराईलाई उम्मेदवार बनाएको छ । कांग्रेसमा ४५ वर्षदेखि सक्रिय राजनीति गरिरहेका भट्टराई पहिलो पटक प्रतिनिधिसभा निर्वाचन लड्दै छन् । २०३५ सालबाट कांग्रेसको भ्रातृ संस्था नेविसंघबाट राजनीति थालेका थिए । उनी नेविसंघको स्कुलको एकाइ, तनहुँ–काठमाडौँमा विद्यार्थीको जनसम्पर्क समिति र पब्लिक युथ क्याम्पसको एकाइ समितिलगायत विभिन्न जिम्मेवारीमा थिए ।

शङ्करदेव क्याम्पसमा नेविसंघ एकाइ सह–सचिव भएका भट्टराई सोही क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको सचिव समेत भए । त्यसपछि नेविसंघको केन्द्रीय कमिटीको कोषाध्यक्ष र नेविसंघ त्रिवि समितिको सभापति समेत भए । २०५३ मा नेविसंघको केन्द्रीय सभापति भएका भट्टराईले विश्वप्रकाश शर्मालाई नेतृत्व सुम्पिएका थिए । त्यसपछि तरुण दलको महामन्त्री बने । उनी २०४८ सालदेखि लगातार पार्टीको महाधिवेशन प्रतिनिधि हुँदै आएका उनी लगातार तीन पटक कांग्रेसको केन्द्रीय समितिमा छन् । 

उनीभन्दा पछि नेविसंघको सभापति भएकाहरू पार्टी र राज्यको महत्त्वपूर्ण पदमा पुगिसक्दा पनि भट्टराई कांग्रेसभित्र अवसरबाट वञ्चित नेता हुन् । रामचन्द्र पौडेल राष्ट्रपति बनेपछि मात्र तनहुँ १ मा उनका लागि ढोका खुलेको छ । भट्टराईका विरुद्धमा नेकपा एमालेले सर्वेन्द्र खनाल, राष्ट्रिय स्वतन्त्र पार्टीले स्वर्णिम वाग्ले र राप्रपाले शोभा गुरुङलाई उम्मेदवार बनाएको छ ।

गत आम निर्वाचनमा गठबन्धनको सहयोगसहित तनहुँ–१ बाट निर्वाचित भएका नेपाली कांग्रेसका रामचन्द्र पौडेलले २५ हजार ३ सय ६१ मत प्राप्त गरेका थिए । एमालेका एकबहादुर रानामगरले १९ हजार ९ सय ८१ मत पाएका थिए । यस्तै रास्वपाका विकास सिग्देलले ६ हजार ४४ मत ल्याउँदा राप्रपाका विनोदकुमार घर्तीले २ हजार ४ सय ८४ प्राप्त गरेका थिए ।

समानुपातिकतर्फ कांग्रेसले २० हजार १ सय ५८ एमालेले १६ हजार ६ सय ८३ मत र रास्वपाले १२ हजार ७ सय ७३ मत पाएको थियो । यस्तै माओवादी केन्द्रले ७ हजार ३ सय २६ राप्रपाले ३ हजार ५ सय ७७ र एकीकृत समाजवादीले ९ सय ५० मत प्राप्त गरेका थिए ।

स्वर्णिम रोक्न गगन मैदानमा

तनहुँ–१ मा कांग्रेसका भट्टराई, एमालेका खनाल र रास्वपाका वाग्लेबीच मुख्य प्रतिस्पर्धी हुने देखिन्छ। पूर्व आइजिपी खनालअघि गत मङ्सिरमा काठमाडौँ–६ मा राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनालसँग पराजित भएका थिए । 

तनहुँ–१ को टिकटका लागि कांग्रेस छाडेर अर्थशास्त्री वाग्ले चैत १६ मा रास्वपा प्रवेश गरेका हुन् । कांग्रेसले राष्ट्रिय योजना आयोगको सदस्य र अध्यक्ष बनाएका उनी गत मङ्सिरमै उम्मेदवार हुन चाहन्थे । चितवन–१, काठमाडौँ ५ र गोरखा–१ मा कांग्रेसबाट उम्मेदवार हुने वाग्लेको उत्कट चाहना थियो । कांग्रेस महामन्त्री गगन थापा वाग्लेकै लागि काठमाडौँ–४ को आफ्नो निर्वाचन क्षेत्र छाड्न तयार पनि भएका थिए । तर कांग्रेस सभापति शेरबहादुर देउवाले वाग्लेलाई टिकट नदिने अडान लिएपछि मङ्सिरमा उनी उम्मेदवार बन्न रोकिए ।

त्यतिबेला पनि एमाले र रास्वपाले उनलाई उम्मेदवार बन्न गरेको प्रस्ताव नगरेका होइनन् । तर, उनले ती प्रस्तावहरू अस्वीकार गरेको आफैले खुलासा थिए । तर उपनिर्वाचनमा पनि कांग्रेसबाट टिकट पाउने सम्भावना नदेखेपछि उनी रास्वपा प्रवेश गरेर तनहुँ–१ मा उम्मेदवारी दिँदै छन् ।

रोचक कुरा, कांग्रेसले तनहुँ– १ को उपनिर्वाचनका लागि वाग्लेसँग निकट सम्बन्ध रहेका महामन्त्री गगन थापालाई खटाएको छ । चुनावका बेला वाग्लेले थापालाई ‘राजनेता बन्न सक्ने क्षमता भएको नेता’ भनेर तारिफ गरेका थिए । तर अहिले तिनै वाग्लेलाई हराउने कमान्डर बनेर भट्टराईको उम्मेदवारी दर्ता कार्यक्रममा सहभागी हुन भोलि (सोमबार) महामन्त्री थापा तनहुँ जाँदैछन् । चितवन–२ का उम्मेदवार जीतनारायण श्रेष्ठको मनोनयन दर्तामा कार्यक्रममा अर्का महामन्त्री विश्वप्रकाश शर्मा सहभागी हुने छन् । उनीहरूले मनोनयन दर्तापछि चुनावी र्याकलीलाई सम्बोधन गर्ने कार्यक्रम छ ।

जोशीको कति छ शक्ति ?

भट्टराईलाई जोशी समूहको समर्थन जुटाउन महामन्त्री गगन थापाको दौडधुप तीव्र छ । उनले नेता जोशीका छोरा दीपकसँग संवाद गरेका थिए । दीपकले रातोपाटीसँग भने, ‘गगनजीले भेटेर कुरा गर्नुपर्यो  दाइ भन्नुभएको छ । कुराकानी गर्न हामी खुला छौँ । कुरा गरौँ नत भनेको छु ।’

राजनीतिमा कम्प्रमाइज हुने भए पनि दुवै पक्षले जित्ने गरी खेल अघि बढ्नुपर्ने उनको भनाइ छ । ‘कारबाही फुकुवा भन्दैमा यत्तिकै गोविन्द भट्टराईको झोला बोकेर हिँड्न सकिँदैन । तर हामीले जिन्दगी दिएको पार्टी हो । सहकार्यका लागि हामी तयार छौँ,’ उनले भने ।

कांग्रेस सभापति शेरबहादुर देउवाले भट्टराईका लागि सहयोग माग्दै नेता जोशीसँग कुराकानी गर्ने बुझिएको छ । जोशीले रातोपाटीसँग भने, ‘कुरा गर्न खोज्यो हो भने कुरा नगर्ने भन्ने हुँदैन । तनहुँको टोलीले पनि कुराकानी गर्नुपर्छ । संवाद हुँदा सहमति हुनसक्छ ।’

तनहुँमा केन्द्रदेखि वडासम्म समस्या रहेको जोशीले बताए । कांग्रेसको उम्मेदवारलाई समर्थन गर्न केन्द्रदेखि वडासम्म नेता–कार्यकर्ताको व्यवस्थापन हुनुपर्ने गोविन्दराज जोशीको माग छ । ‘प्याकेजमा सहमति हुनुपर्छ । म एक्लैले केही गर्न सक्दिनँ । केन्द्रदेखि वडासम्मको समस्याको समाधान चाहिन्छ । ७ हजारले क्रियाशील भरेका छैनन् । २ हजारले राजीनामा दिएका छन् । मसँग संवाद गरेर मात्र हुन्छ र ?,’ जोशीको प्रश्न छ ।

जोशी समूहले उपनिर्वाचनमा उम्मेदवार नबन्ने निर्णय गरे पनि कसलाई समर्थन गर्ने भनेर पनि निर्णय लिएको छैन । नेता जोशीले भने, ‘अहिले हामी कतै पनि लाग्दैनौँ । समय आएपछि नेतृत्व तहबाट हुने निर्देशनलाई मान्ने निर्णय भएको छ ।’

तनहुँ–१ मा जोशीसँग निर्णयक मत छ । गत आम निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिएका जोशीले ६ हजार ८ सय ८६ मत प्राप्त गरेका थिए । पौडेललाई कांग्रेस, माओवादी, एकीकृत समाजवादी राष्ट्रिय जनमोर्चाले समर्थन गरेको थियो । कांग्रेसलाई यसपटक माओवादी, एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चाका साथै जसपाले पनि समर्थन गर्ने छ  । जसपाका उम्मेदवारले गत निर्वाचनमा २६० मत पाएका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लोकेन्द्र भट्ट
लोकेन्द्र भट्ट

भट्ट रातोपाटीका लागि राजनीति तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् । 

लेखकबाट थप