आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय
उपनिर्वाचन

तनहुँ र बारा उपनिर्वाचनको केन्द्रमा ‘किसान’

आइतबार, १९ चैत २०७९, १७ : ३९
आइतबार, १९ चैत २०७९

काठमाडौँ । एकीकृत समाजवादीका नेता तथा बारा–४ का सांसद कृष्णकुमार श्रेष्ठ ‘किसान’ यतिबेला खुट्टामा चोट लागेर ‘बेड रेस्ट’ मा छन् । चोटग्रस्त भएर ओछ्यानमा हुँदासमेत श्रेष्ठलाई फुर्सद छैन । कारण, वैशाख १० मा हुने उपनिर्वाचन ।

चितवन–२, तनहुँ–१ र बारा–२ गरेर एकै पटक तीन निर्वाचन क्षेत्रमा निर्वाचन हुँदैछ । यी तीन क्षेत्रमध्ये तनहुँ र बाराको चुनावमा श्रेष्ठ केन्द्रमा छन् । तनहुँ र बारा दुवै जिल्लामा उत्तिकै प्रभाव रहेकाले त्यस क्षेत्रका उम्मेदवारहरूले श्रेष्ठलाई भेटेर सहयोग माग्न थालेका हुन् । 

तनहुँ–१ बाट कांग्रेसका उम्मेदवार गोविन्द भट्टराई, एमाले उम्मेदवार सर्वेन्द्र खनाल, राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार स्वर्णिम वाग्लेले श्रेष्ठलाई भेटेरै सहयोग मागेका छन् । त्यस्तै बारा–२ मा उम्मेदवार रहेका जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले समेत फोन गरेर श्रेष्ठसँग सहयोग मागेका छन् । यादवले श्रेष्ठलाई ‘तपाईं चुनावी मैदानमा नआउँदासम्म जित्न कठिन हुने’ बताएका छन् । 

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले समेत श्रेष्ठलाई आइतबार दिउँसो फोन गरेर गठबन्धनका उम्मेदवारलाई सहयोग गर्न आग्रह गरेका छन् ।

यसअघि २०७४ को निर्वाचनमा कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेललाई हराएका श्रेष्ठको तनहुँमा जनमत बलियो भएको मानिन्छ ।

‘मैले यसअघि तनहुँबाट र अहिले बारा–४ बाट चुनाव जितेँ । अब उपनिर्वाचन हुने भएपछि सहयोग माग्नु स्वाभाविक हो,’ श्रेष्ठले भने, ‘तर म खुट्टामा चोट लागेर बेड रेस्टमा छु । आवश्यक सहयोग गठबन्धनका उम्मेदवारलाई गर्नुपर्ने हुनसक्छ ।’ 

एकीकृत समाजवादीबाट तनहुँ–१ बाट चुनाव लड्न प्रतापलाल श्रेष्ठको नाम सिफारिस भएको छ । उनी उठ्ने/नउठ्ने टुङ्गो लागेको छैन । पार्टीबाट उम्मेदवार सिफारिस भएसँगै उनले पनि श्रेष्ठलाई चुनावमा सहयोग मागिरहेका छन् । 

यसअघि २०७४ को निर्वाचनमा कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेललाई हराएका श्रेष्ठको तनहुँमा जनमत बलियो भएको मानिन्छ । उद्योग वाणिज्य क्षेत्रमा पनि श्रेष्ठको राम्रो प्रभाव रहेको छ । तर २०७९ को निर्वाचनमा यस क्षेत्रबाट चुनावमा एकीकृत समाजवादीको समानुपातिकमा ९०५ मत मात्र आएको थियो । 

तनहुँ–१ बाट एमाले उम्मेदवार सर्वेन्द्र खनालले श्रेष्ठलाई सहयोग माग्नुभन्दा पनि बिरामी भएर भेट्न गएको रातोपाटीलाई बताए । ‘उहाँ(किसान श्रेष्ठ) तनहुँको नेता हुनुहुन्छ । बिरामी हुनुहुन्छ भेट्न पनि जानुपर्‍यो,’ खनालले भने, ‘अरू चुनावी गतिविधि वा अन्य कुनै कारणले सहयोग माग्न मात्र गएको होइन ।’

माओवादी केन्द्रबाट तनहुँ–१ ‘ख’ बाट निर्वाचित हरिबहादुर चुमान भन्छन्, ‘यस क्षेत्रबाट एकीकृत समाजवादीबाट एक जनाको नाम सिफारिस भएको छ । उम्मेदवार नउठाउनुस् हामीलाई सहयोग गर्नुस् भनेर पनि उहाँसँग भेट्न गएका हुन सक्छन् । जे जस्तो भए पनि एकीकृत समाजवादीको भोट छ ।’ 

तनहुँमा जन्मे हुर्केका श्रेष्ठ दोस्रो संविधान सभा(२०७० साल)मा राष्ट्रपति रामचन्द्र पौडेलसँग पराजित भएका थिए । २०७४ सालको चुनावमा उनै पौडेललाई ६ हजार मत अन्तरले पराजित गरे । पौडेलले २७ हजार ६७५ मत ल्याउँदा श्रेष्ठ ३४ हजार ४८९ मत ल्याएर निर्वाचित हुन सफल भए । 

गत चुनावमा उनै पौडेललाई निर्वाचन क्षेत्र छोड्नुपर्ने दबाबपछि उनी बारा–४ बाट चुनाव लड्न पुगे । तराई झरेर बारा ४ बाट जसपाका एकवाल मिँयालाई पराजित गरेर श्रेष्ठ निर्वाचित हुन सफल भए । एमाले–जसपा गठबन्धनबाट उम्मेदवारी दिएका मियाँले १९ हजार ४३९ मत ल्याए भने श्रेष्ठले २९ हजार ५०५ मत ल्याएर निर्वाचित भएका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

वीरेन्द्र ओली
वीरेन्द्र ओली
लेखकबाट थप