शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

पौराणिक कथा : अन्नदानको महत्त्व

बुधबार, २२ चैत २०७९, १० : ४४
बुधबार, २२ चैत २०७९

गीताले अन्नलाई जीवनको आधार भनेको छ भने उपनिषद् ब्रह्म र पौराणिक ग्रन्थहरूले प्राणको संज्ञा दिएको छ । जीवन बनाउने पनि अन्नले हो बचाउने पनि अन्नले हो । सायद त्यसै भएर नै हुनुपर्छ अन्न र पानीको दानलाई विशिष्टतम दान मानिएको । भोका मानिसलाई खाना खान दिनु र तिर्खाएको मानिसलाई पानी पिउन दिनुभन्दा ठुलो पुण्य अर्को छैन भन्नेमा सबै धार्मिक ग्रन्थहरू एकमत देखिन्छन् । संसारमा अन्न र पानी मात्र यस्तो चीज हो, जसले पाउने मानिसलाई तृप्त पार्न सक्छन् । यस बाहेक संसारमा कुनै पनि त्यस्ता चीज छैनन्, जसले मानिसलाई सन्तुष्ट राख्न सकोस् । संसारभरीकै सम्पत्ति पाए पनि मानिसको मन अघाउँदैन भन्ने कुरा भागवतमा व्यासजीले उद्घोष नै गरेका छन् । त्यसैले पनि यसको विशेष महत्त्व गाइएको हो । 

रामायणमा एउटा कथा छ । भगवान् राम वनवासमा जाँदा महर्षि अगस्त्यको आश्रममा पुगेका थिए । महर्षि अगस्त्यले स्वागत सत्कारपछि एउटा बाला दिँदै भने–

‘वत्स राम ! तिमीलाई उपहारको रूपमा यो बाला समर्पण गर्दै छु । देख्नमा सामान्य भए पनि यसको विशेषता छुट्टै छ । जसले यस बालालाई श्रद्धापूर्वक धारण गर्छ उसलाई कसैले पनि जित्न । वनवासमा आएका छौ, के पर्छ के पर्छ । हुन सक्छ कुनै दिन ठूलै काममा आउन सक्छ । त्यसैले आशा छ श्रद्धापूर्वक स्वीकार गर्ने छौ ।’

महर्षि अगस्त्यको कुरा सुनेर राम निकै खुसी भए । उनले अगस्त्यलाई प्रणाम गर्दै भने–

‘महर्षिजी ! यो त मेरा लागि सौभाग्यको कुरा हो । मूल्य वस्तुको होइन श्रद्धाको हुन्छ । तपार्ईँले दिनुभएको चीज यसै पनि जे भए पनि अमूल्य हुन्छ । त्यसमाथि यति श्रद्धापूर्वक दिनुभएको छ भने अस्वीकार गर्ने भन्ने प्रश्नै रहन्न । आशीर्वादको रूपमा शिरोधार्य छ र सदैव रहने छ तर यो लगाउनेलाई कसैले पनि जित्न सक्दैन भन्ने जुन कुरा गर्नुभयो त्यसको रहस्य भने बुझ्न सकिरहेको छैन । त्यसबारे पनि जानकारी पाए थप आभारी हुने थिएँ ।’

त्यसपछि अगस्त्यले लामो सास फेर्दै भने–

‘यसको कहानी लामो छ । अघि कुनै समयमा श्वेत नामका राजा थिए । उनले भूमण्डलमा लामो समयसम्म एकछत्र शासन गरे । उनी जति पराक्रमी थिए त्यति नै  दयालु र परोपकारी पनि थिए । उनले गरेका दान र पून्यको लेखाजोखा नै थिएन । घर नहुनेलाई घर दान गर्थे । जग्गा नहुनेलाई जग्गा दान गर्थे । प्रजाजनमा जसलाई जुन चीजको आवश्यकता पथ्र्यो तत्कालै त्यसको अपूर्ति गरिदिन्थे ।

समयको बित्ने क्रमसँगै उनको अन्त्य आइपुग्यो । संसारमा अहिलेसम्म मृत्युलाई जित्न कसले सकेका छन् र उनले सकून् । तीनलोकमाथि विजय पाउनेहरूले त मृत्युमाथि विजय पाउन सकेका छैनन् भने उनी थिए आखिर मानिस नै । मानो पुग्यो देवदूतहरूले आएर ब्रह्मलोक पु¥याए । ब्रह्मलोकमा उनको भव्य स्वागत भयो । बस्नका लागि ब्रह्माजी आफैँले दिव्य महलको व्यवस्था गरिदिए । 

ब्रह्मलोकमा उनलाई कुनै चीजको कमी थिएन तर खाने चीज भने कतै देखेनन् । भरे पाइला भोलि पाइएला भन्दाभन्दै दुई चार दिन बित्यो तर त्यस्तो नसिव कतै जुरेन । जब भोकले प्राणै जाला जस्तो भयो त्यसपछि ब्रह्माजी समक्ष गएर आफ्नो समस्या देखाउँदै भने–

‘ब्रह्मदेव ! हजुरको लोकमा सबै चीज पाएर पनि खाने चीज पाइएको छैन । देवताहरूलाई खाना आवश्यकता नभए पनि मनुष्य योनीकालाई पर्छ भन्नेमा आफैँ परिचित हुनुहुन्छ । तैपनि मेरो यस्तो अवस्था भइरहेको छ भने पक्कै कुनै कारण हुनुपर्छ । जानकारी पाउन पाए आभारी हुने थिएँ ।’

राजाको प्रश्नपछि ब्रह्माजीले सम्झाउँदै भने–

‘राजन् ! तिमीले जीवनमा निकै ठुलो दान पुण्य गरेको थियौ । त्यसैको प्रभावले यहाँसम्म आउन सक्यौ, बस्ने स्थान पायौ तर अन्न र पानीको भने दान गरेका थिएनौ, जसले गर्दा न खान पाएका छौ न पिउन नै पाएका छौ । त्यसैले खानका लागि तिमीले वर्षको एक पटक त्यहीँ जानुपर्छ, जहाँ तिम्रो मृत शरीर लडिरहेको छ । यो क्रम त्यति बेलासम्म जारी रहनेछ जति बेलासम्म कुनै तपस्वीको सङ्गत पाउने छैनौ ।’

त्यसपछि श्वेत राजाको आत्मा प्रत्येक वर्ष हिमालयको फेदीमा आउँदै मृत शरीरको कुहिएको मासु खाँदै फर्कँदै गर्न थाल्यो । संयोगवश एक दिन त्यताबाट जाँदै थिएँ उनीसित जम्काभेट भयो । त्यसपछि उनले आफ्नो अवस्था र ब्रह्मदेवको आश्वासनको नालीबेली लगाउँदै भने–

‘ऋषिवर ! तपाईँको सङ्गतले मुक्ति प्राप्त गरेँ । अब मलाई कुनै चीजको आवश्यकता छैन । मेरो साथमा एउटा विजयी बाला छ । आशा छ आवश्यकता पर्ने मानिससम्म पु¥याइदिनु हुनेछ ।’ 

यति भनेर बाला मेरो जिम्मामा दिएर उनी ब्रह्मलोकतर्फ लागे । यसलाई जिम्मा लगाउने पात्रको खोजीमा थिएँ । आज तिमीले त्यो अवसर दियौ ।’ 

यति भनेर महर्षि अगस्त्य आफ्नो कामतिर लागे भने रामले आफ्नै बाटो समाए ।  यिनै बालाको प्रभावका कारण रामलाई रावण जस्तो त्रिलोक विजयीमाथि विजय पाउन सफलता मिलेको थियो । 

यस कथामा के कति सत्यता छ त्यो त महर्षि वाल्मीकिजी नै जानुन् तर अन्न र पानी दानको महत्त्व भने जहिले पनि जहाँ पनि बढी नै हुन्छ । किनकि यी भनेका प्राण हुन् ।    

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप