मङ्गलबार, ०६ कात्तिक २०८१
ताजा लोकप्रिय
अर्थतन्त्र

ब्याजदरको कार्टेलिङ अन्त्य, वाणिज्य बैंकहरुले आफूखुसी तोक्ने

बिहीबार, २८ असार २०८०, ११ : २६
बिहीबार, २८ असार २०८०

काठमाडौँ । वाणिज्य बैंकहरुको ब्याजदर निर्धारण प्रक्रिया स्वयं बैंकहरुले नै तोक्ने भएका छन् । हालसम्म नेपाल बैंकर्स एसोसिएसन (एनबीए) ले बैंकको ब्याजदर तोक्दै आइरहेको थियो । अब भने बैंकहरुले खुला बजार प्रतिस्पर्धाको आधारमा ब्याजदर घटबढ गर्न पाउने भएका हुन् ।  यससँगै ब्याजदर निर्धारणमा एनबीएको कार्टेलिङको समेत अन्त्य भएको छ । हालसम्म वाणिज्य बैंकहरुको ब्याजदर तय गर्ने विषयमा एनबीएको बैठकमा उपस्थित प्रमुख कार्यकारी अधिकृतहरुको सहमति बमोजिम सबै वाणिज्य बैंकले लागू गर्दै आइरहेका थिए ।

मंगलबार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै अर्थमन्त्री डा.प्रकाशशरण महतले बैंकहरुले मिलेर ब्याजदरमा कार्टेलिङ गरिरहेको आरोप लगाएका थिए । खुल्ला अर्थतन्त्रको नीतिमा बैंकहरुबीच स्वस्थ प्रतिस्पर्धा हुनुपर्ने र ब्याजदर निर्धारणको अधिकार समेत बजारलाई नै छाडिदिनुपर्ने भए पनि बैंकहरुले भद्र सहमतिको नाममा मिलेर कार्टेलिङ गरिरहेको उनको आरोप थियो । 

यसमा केन्द्रीय बैंक समेत मूकदर्शक बनेको भन्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले दुखेसो पोखेका थिए । यस्तै विगत लामो समयदेखि देशभरका उद्योगी व्यवसायीहरुले समेत बैंकहरुको ब्याजदर कार्टेलिङविरुद्ध आन्दोलन गर्दै आइरहेका थिए । अर्थमन्त्रीको उक्त उद्घोषसँगै बैंक सञ्चालक र व्यवस्थापक तथा केन्द्रीय बैंक माथि नै तीव्र दबाब परेको थियो ।  दबाब बढेपछि बैंकरहरुले बैठकमा ब्याजदर आफूखुसी तय गर्ने सहमति भएको एनबीएका अध्यक्ष सुनील केसीले बताए । यो सहमति आगामी आर्थिक वर्ष २०८०/८१ को साउनदेखि लागू हुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप