शनिबार, २९ असार २०८१
ताजा लोकप्रिय
अन्तर्वार्ता

सदस्यसचिवको प्रतिबद्धता : चार महिनाभित्र कीर्तिपुरमा फ्लडलाइट र ३० महिनाभित्र अन्तर्राष्ट्रियस्तरको मुलपानी क्रिकेट मैदान

मङ्गलबार, २१ कात्तिक २०८०

 

नेपाली क्रिकेट टोली सन् २०२४ मा आयोजना हुने आईसीसी टी—२० विश्वकप क्रिकेट प्रतियोगितामा छनोट भएको छ । नेपाली क्रिकेटका लागि यो निकै ठुलो उपलब्धि हो । यसले अन्तर्राष्ट्रिय खेल वृत्तमा नेपाली खेलकुदको क्षितिजलाई अझ फराकिलो बनाउने पक्का छ ।

तर, देशभित्रै भने क्रिकेटको गतिलो पूर्वाधारसमेत तयार हुन सकिरहेको छैन । त्यसअघि चीनमा आयोजित एसियाली खेलकुदमा नेपाली टोली एउटा रजत र एउटा कांस्य पदक जितेर फर्किएको थियो । एसियाली खेलकुदमा नेपालको सहभागिता र नेपाली खेलाडीको प्रदर्शनलाई लिएर पनि विभिन्न प्रतिक्रिया आइरहेका छन् । यसबिचमा चीनमै सम्पन्न एसियाली पारा खेलकुदमा पनि नेपालले ऐतिहासिक कांस्य पदक जितेको छ । त्यसपछि पछिल्लो समय नेपाली खेलकुदलाई खेलाडी पलायनको पीडाले नराम्ररी बिथोल्दै लगेको छ ।

यी सबै परिदृश्यबिच घरेलु खेलकुदलाई मनैदेखि माया गर्ने एउटा पक्ष खेलकुदलाई अनुत्पादक क्षेत्रका रुपमा हेर्ने सरकारी नीतिका कारण खेलकुद क्षेत्रले अपेक्षित प्रगति गर्न नसकेको आरोप लगाउँछन् । अर्को पक्ष भने सरकारले उपलब्ध गराएको बजेटलाई समेत खेलकुद क्षेत्रका नेतृत्वले पूर्ण रुपमा सदुपयोग नगरेको दाबी गर्छन् ।

नेपाली खेलकुदमा देखिएका यिनै विषयमा केन्द्रित रही राष्ट्रिय खेलकुद परिषद्का सदस्चसचिव टंकलाल घिसिङसँग गरिएको कुराकानीको सम्पादित अंश :   

० तपाईं खेलकुदको नेतृत्वदायी कार्यकारी निकाय राष्ट्रिय खेलकुद परिषद्को सदस्यसचिव नियुक्त भएको दुई वर्ष पुग्न लाग्यो । आफ्नो दुई वर्षे कार्यकाललाई कसरी मूल्याङ्कन गर्नु हुन्छ ?

नियुक्तिको हिसाबले हेर्ने हो भने म राखेपको सदस्यसचिव भएको २३ महिना भयो । तर, काम गर्न पाएको अवधिको हिसाबले भने भर्खर १९ महिना लाग्दैछ । सदस्यसचिवमा नियुक्त भएर पनि काम गर्न नपाउँदाको पीडा आफ्नो ठाउँमा छँदैछ । त्यो अवधिमा सिङ्गो नेपाली खेलकुदले ब्यहोर्नु परेको घाटा पनि कसैबाट लुकेको छैन ।

मैले सदस्यसचिवको रुपमा काम गर्न पाएको अवधिलाई हेर्ने हो भने सात महिनाको अवधिभित्र नवौँ बृहत् राष्ट्रिय खेलकुद सफलतापूर्वक सम्पन्न गरेर देखाएँ । नवौँ राष्ट्रिय खेलकुद पनि निकै असहज स्थितिबिच आयोजना भएको थियो । एकातिर खेलाडीहरु लामो समयदेखि नवौँ राष्ट्रिय खेलकुदको प्रतीक्षामा थिए भने अर्कोतिर सिङ्गो देश दुई वटा ठुला निर्वाचनको सँघारमा थियो । त्यसमाथि ठुला चाडपर्व पनि नजिक आइसकेको थियो । यस्तो स्थितिमा हामीसँग नवौँ राष्ट्रिय खेलकुद गरेर देखाउनु पर्ने चुनौती थपिएको थियो । तर, हामीले त्यसलाई सफलतापूर्वक सम्पन्न गरेर देखायौँ ।

नवौँ राष्ट्रिय खेलकुद सकिएलगत्तै हामी चीनमा आयोजना हुने १९औँ एसियाली खेलकुदको तयारीमा जुट्यौँ र एसियाकै सबैभन्दा ठुलो प्रतियोगितामा पनि उल्लेख्य सफलता हात पार्न सफल भयौँ । एसियाली खेलकुदमा हामीले २५ वर्षपछि एकल स्पर्धामा रजत पदक जित्यौैँ । यसदेखि बाहेक एसियाली खेलकुदमा हामीले एउटा कांस्य पदक पनि जित्यौँ । त्यसलगत्तै भएको एसियाली पारा खेलकुदमा पनि ऐतिहासिक कांस्य पदक हात पा¥यौँ । समग्रमा भन्नु पर्दा आफूले काम गर्न पाएको छोटो समयमा पनि मैले उल्लेख्य काम गरेजस्तो लाग्छ । तर, यसको मूल्याङ्कन मभन्दा पनि नेपाली खेलकुदलाई नजिकबाट नियालेका अरुले गर्ने हो । म भने आफ्नो काममा सन्तुष्ट छु ।

० हामीले सन् १९९८ मा थाइल्यान्डको बैंककमा सम्पन्न एसियाली खेलकुदमा पहिलो पटक रजत पदक जितेको थियौँ । त्यसको २५ वर्षपछि आज आएर पनि हामी रजत पदकलाई नै ठुलो उपलब्धि भनिरहेका छौँ । हामी त अहिले पनि २५ वर्षअघि कै अवस्थामा रहेछौँ नि, होइन र ?

यसरी तुलना गरिरहँदा हामीले आफ्नो खेलकुदमा गरेको लगानी र अन्य राष्ट्रले गरेको लगानीलाई पनि तुलना गर्नुपर्ने हुन्छ । हामीले आफ्नो साधनस्रोतको सीमिततामा रहेर कुनै पनि प्रतियोगिताको तयारी गर्ने हो । यसदेखि बाहेक आजभन्दा २५ वर्षअघि बैंकक एसियाड हुँदा त्यहाँ सहभागी राष्ट्र र खेलाडीको संख्या पनि कम थियो । त्यसको तुलनामा आज एसियाली खेलकुदमा सहभागी राष्ट्र र खेलाडीको संख्या निकै बढेको छ । खेलकुदमा एसियाली राष्ट्रहरुले गरेको लगानी पनि हाम्रो तुलनामा निकै बढेको छ । खेलाडीको प्रदर्शन र स्तरमा पनि उल्लेख्य प्रगति भएको छ ।

० हामीले सन् १९५१ मा भारतमा भएको पहिलो एसियाली खेलकुददेखि नै सहभागिता जनाउँदै आएका छौँ । यसबिचमा ७२ वर्ष लामो समय बितिसकेको छ । तर, अझै पनि एसियाली खेलकुदमा हाम्रो स्तरमा भने कुनै परिवर्तन आएको देखिँदैन नि ?

फेरि पनि कुरा खेलकुदमा गरिने लगानीकै आउँछ । पहिलो संस्करणदेखि सहभागिता जनाए पनि हामीले पदक भने १०औँ संस्करणदेखि मात्र जितेका हौँ । त्यसयता भने हामीले एसियाली खेलकुदमा निरन्तर पदक जित्दै आएका छौँ । तर, सोचेजस्तो राम्रो उपलब्धि हासिल गर्न नसक्नुको पछाडिको कारण भने हामीले खेलकुद क्षेत्रमा आवश्यकता अनुसारको लगानी गर्न नसक्नु नै हो । एसियाका अन्य राष्ट्रले खेलकुदलाई आफ्नो प्राथमिकतामा राखेर गतिलो लगानी गर्दै गए, हामी भने उनीहरुको तुलनामा पछाडि प¥यौँ ।

० १९औँ एसियाली खेलकुदमा हामीले २९ खेलमा २५३ जना खेलाडी सहभागी गरायौँ । एक सय ५० जनाभन्दा बढी पदाधिकारीलाई चीन लग्यौँ । यसका लागि राज्यको ३० करोडभन्दा बढी लगानी भयो । राज्यको यति धेरै रकम खर्च हुँदा केवल एउटा रजत र कांस्य पदक बोकेर फर्कंदा सदस्यसचिवको हैंसियतले केही असहज महसुस गर्नु भएन ?

बिल्कुल । तर, हामीले यसो भनिरहँदा अन्य राष्ट्रको अवस्था पनि हेर्नुपर्छ । अहिले अन्य राष्ट्रले एसियाली खेलकुदमा एउटा स्वर्ण पदक जित्नका लागि गरेको खर्च हेर्ने हो भने हामीले एसियाली खेलकुदमा सहभागिताका लागि गरेको कुल खर्च बराबर हुन आउँछ । यो तथ्यलाई पनि हामीले बिर्सनु हुँदैन । हामीले एसियाली खेलकुदमा सहभागिताका लागि लगानी कति भयो भनेर हिसाब निकाल्छौँ । तर, अन्य राष्ट्रले एउटा पदक जित्नका लागि कति खर्च गरिरहेका छन् भन्ने कुरालाई ध्यान दिदैनौँ ।

० त्यसो भए एसियाली खेलकुदजस्ता ठुला प्रतियोगिताहरुमा किन यति धेरै खेलमा सहभागी हुने त ? पदक जित्ने सम्भावना बोकेका खेलमा मात्र सहभागी गराए हुँदैन र ? 

बृहत् राष्ट्रिय खेलकुद हाम्रो देशको सबैभन्दा ठुलो घरेलु प्रतियोगिता हो । त्यो प्रतियोगितामा हामीले ३६ वटा खेल समावेश गरेका छौँ । त्यो प्रतियोगितमा अब्बल प्रदर्शन गर्ने खेलाडीलाई पनि अन्तर्राष्ट्रिय अनुभवको आवश्यकता पर्छ । उनीहरुले अन्तर्राष्ट्रिय अनुभव बटुल्ने थलो भनेकै दक्षिण एसियाली खेलकुद र एसियाली खेलकुद प्रतियोगिता हुन् । त्यसमाथि दक्षिण एसियाली खेलकुद सधैँ अन्यौलमा पर्दै आएको छ । केही दक्षिण एसियाली राष्ट्रको आपसी सम्बन्धले दक्षिण एसियाली खेलकुदलाई प्रभावित बनाउने गरेको छ । अधिकांश संस्करण निर्धारित समयमा आयोजना हुन सकेको छैनन् ।

यस्तो स्थितिमा हाम्रा खेलाडीले अन्तर्राष्ट्रिय अनुभव आर्जन गर्ने थलो भनेकै एसियाली खेलकुद हो । यसका लागि आगामी दिनमा सबैभन्दा पहिले लगानीमा बृद्धि हुनुपर्छ र त्यसपछि ठोस मापदण्ड बनाइनु आवश्यक छ । हामी ठुला प्रतियोगिता सकिएपछि मात्र लगानी र सहभागिताको कुरा बढी गर्छौं । तर, अभूतपूर्व सफलता हात पार्ने हो भने हामीले निकै अघिदेखि सरकारलाई खेलकुद क्षेत्रमा लगानी बढाउन घचघच्याउनु आवश्यक छ ।

० नेपालले ठुला अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउँदा खेलाडीभन्दा बढी पदाधिकारीको लर्को लाग्ने प्रचलनलाई तपाईंले पनि रोक्न सक्नु भएन भन्ने आरोप छ नि ? यसपटक त झन् एउटा खेलका पदाधिकारीलाई अर्कै खेलको व्यवस्थापक बनाएर लगियो भन्ने गुनासो सुन्नमा आयो ?

यहाँ बुझाइ गलत भएको छ । बास्तवमा राखेपले कुनै पनि खेलको व्यवस्थापक तोक्ने नै होइन । अहिले आएर राखेपलाई घानमा पारिएको मात्र हो । सम्बन्धित खेल संघले नै खेलाडी, प्रशिक्षक र व्यवस्थापक चयन गरेर ओलम्पिक कमिटीलाई पठाउने हो । त्यसपछि ओलम्पिक कमिटीले एसियाली खेलकुदको स्थानीय आयोजक समितिलाई एक्रिडिएसनका लागि लेखेर पठाउने हो । हामीलाई त ओलम्पिक कमिटीले बोधार्थ मात्र पठाउने हो ।

यसपटक एसियाली खेलकुदमा जाँदा दुई वटा खेलको व्यवस्थापक भएनन् । त्यसपछि व्यवस्थापक बिना टोली पठाउँदा राम्रो सन्देश नजाने कुरा ओलम्पिक कमिटीले राखेपलाई भन्यो । अनि राखेप र ओलम्पिक कमिटीले सल्लाह गरेर ती दुई खेलमा फरक खेलकै भए पनि व्यवस्थापक पठाउने सहमति भएको हो । यसरी फरक खेलको व्यक्ति व्यवस्थापक पठाउँदा पनि हामीले अन्तर्राष्ट्रिय अनुभव भएका र खेलाडीका रुपमा देशलाई महत्त्वपूर्ण योगदान दिएका व्यक्तिलाई नै पठाएका छौँ । यसमा कुनै पनि खेलप्रेमीले विवाद गर्नुपर्ने र राखेपमाथि औंला उठाउनु पर्ने कारण देखिँदैन ।

यसभन्दा अघि आफू निकट रहेका राजनीतिक दलका नेता—कार्यकतालाई विभिन्न भूमिकामा ठुला अन्तर्राष्ट्रिय प्रतियोगितामा लैजाने प्रचलन थियो । तर, यसपटक हामीले त्यो परम्परा अन्त्य गरेका छौँ । खेलाडीका अतिरिक्त जोसुकै व्यक्ति एसियाली खेलकुदमा सहभागी भएका छन्, ती सबैले नेपाली खेलकुदको विकासमा महत्त्वपूर्ण योगदान पु¥याएका छन् । यसदेखि बाहेक हामीले यो एसियाली खेलकुदमा आवश्यकताभन्दा बढी एक जना पदाधिकारी पनि लगेका छैनौँ ।

० कुनै समय एसियाली खेलकुदमा बक्सिङ र तेक्वान्दोजस्ता खेलले उत्कृष्ट प्रदर्शनसहित महत्त्वपूर्ण पदक जित्दै देशको प्रतिष्ठा बढाएका थिए । अझ तेक्वान्दोको विषयमा त यो खेलबाट निकै लामो समयदेखि नेपालले एसियाली खेलकुदमा पदक जित्न सकेको छैन । तर, लामो समयदेखि यी खेलका पदाधिकारी र प्रशिक्षकमा भने एउटै अनुहार रहँदै आएका छन् । यस्ता ठुला प्रतियोगितापछि समीक्षा आवश्यक पर्दैन र ?

पक्कै पनि समीक्षा आवश्यक छ र हुन्छ पनि । यसपटक पनि हामीले तेक्वान्दो र बक्सिङलाई पदकको प्रबल सम्भावना भएको खेलमा राखेका थियौँ । तयारीका क्रममा पनि हामीले यी खेलका संघहरुलाई सबै सहयोग उपलब्ध गराएका थियौँ । प्रतियोगिताको तयारी, प्रशिक्षण, वैदेशिक प्रशिक्षणजस्ता कुराहरु सम्बन्धित संघको अधिकार क्षेत्रभित्र पर्छ । राखेप सिधै यसमा संलग्न हुँदैन । राखेपले आवश्यक बजेट र सहयोगमात्र गर्ने हो ।

हामीले पदकको सम्भावना भएका खेलहरुको सूची नै तयार पारेका थियौँ र ती संघहरुलाई विशेष तयारी गर्न सबै सहयोग उपलब्ध पनि गराउने प्रतिबद्धता व्यक्त गरेका थियौँ । तर, हामीले केही खेलबाट भनेको जस्तो उपलब्धि प्राप्त गर्न सकेनौँ । यस विषयमा गम्भीर समीक्षा हुनेछ । अब सधैँ यसरी चल्दैन । कुनै पनि खेललाई हामीले सधैँ प्राथमिकतामा राख्ने तर, पदक भने नल्याउने । अब यसमा गम्भीर समीक्षा आवश्यक छ र त्यो हुन्छ पनि ।

० पछिल्लो समय नेपाली क्रिकेटले एकपछि अर्को अन्तर्राष्ट्रिय प्रतियोगितामा सफलता हात पार्दै आएको छ । नेपालका लागि क्रिकेट निकै सम्भावना बोकेको खेलका रुपमा पनि अगाडि आएको छ । तर, पूर्वाधारको विषयमा भने हामी अझै पनि पुरानै अवस्थामा छौँ । यसतर्फ केही ठोस योजना बनाउनु भएको छ कि ?

हो, नेपालका लागि क्रिकेट ठुलै सम्भावना बोकेको खेल हो । त्यसैले क्रिकेटको पूर्वाधार विकासका लागि हामीले आफ्नो क्षमता अनुसार प्रयास पनि गरिरहेका छौँ । पूर्वाधार विकासका लागि प्राप्त भएको बजेटको ५० प्रतिशतभन्दा बढी रकम हामीले क्रिकेटमै लगानी गरेका छौँ । कीर्तिपुरमा फ्लड लाइट राख्न गत वर्ष नै टेन्डर गरिएको थियो । तर, नेपालको कानुन अनुसार पहिलो पटकको टेन्डर खारिज भयो । त्यसपछि फेरि अर्को टेन्डर आह्वान गरियो । सोही अनुरुप प्रक्रिया पनि अगाडि बढिसकेको छ । अबको चारदेखि पाँच महिनाभित्रै कीर्तिपुर मैदानमा फ्लड लाइट जडान भइसक्ने छ । डिजिटल स्कोर बोर्डका लागि गत साउनमै राखेपले बजेट माग गरेर मन्त्रालयमा पठाएको छ । बजेट स्वीकृति भएर आउनसाथ त्यसको काम पनि अगाडि बढ्ने छ ।

प्यारापिटका लागि भने यो वर्ष बजेट छैन । त्यसैले मैले क्रिकेट संघसँग फरक तरिकाले कुरा अगाडि बढाएको छु । कीर्तिपुर मैदानमा प्यारापिट निर्माणका लागि निजी क्षेत्रलाई सहभागी गराउने विषयमा कुरा भइरहेको छ । यसका लागि निजी क्षेत्रलाई संलग्न गराएर कर्पोरेट बक्सहरु बनाउन सकिने सम्भावना छ । निजी क्षेत्र क्रिकेटको विकासमा लगानी गर्न उत्साही पनि छ ।

मुलपानी मैदानका लागि भने हामीले यो वर्ष जम्मा १५ करोड बजेट पाएका छौँ । त्यो पनि पहिले नै तय भइसकेको काममा खर्च गर्नका लागि हो । यसका अतिरिक्त मुलपानी क्रिकेट मैदानका लागि छुट्टै डिजाइनसहितको प्रस्ताव पनि तयार हुँदैछ । त्यसमा २१ हजार दर्शक क्षमताको छतसहितको प्यारापिट, तीन तल्लाको अन्डरग्राउन्ड पार्किङ, जतिसुकै ठुलो पानी परे पनि वर्षा रोकिएको १० मिनेटभित्र पुनः खेल सुरु गर्न सकिने गरी पानी निकासको व्यवस्था, दिवा—रात्रि खेल खेलाउन मिल्ने गरी फ्लडलाइट, डिजिटल स्कोर बोर्डजस्ता पूर्वाधारलाई समेटिएको छ ।

त्यसपछि मुलपानीको तल्लो क्रिकेट मैदान देशको पहिलो सुविधा सम्पन्न अन्तर्राष्ट्रिय मापदण्डसहितको क्रिकेट मैदान बन्नेछ । त्यसको सम्पूर्ण लागत पाँच अर्ब ४० करोड रुपैयाँ छ । मुलपानी ग्राउन्डमा अहिले दुई वटा मैदानको बिचमा सडक छ । यसैगरी मेलम्चीको पानीको पाइप पनि त्यहीँबाट गएको छ । यी सबै कुरालाई व्यवस्थापन गर्नुपर्ने चुनौती पनि छ ।

मुलपानी क्रिकेट मैदानलाई हामीले क्रिकेट एकेडेमीका रुपमा विकास गर्न खोजेका हौँ । त्यसका लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको पौडी पोखरी, कम्तीमा चार सय खेलाडी बस्न मिल्ने गरी अन्तर्राष्ट्रियस्तरको छात्रावासलगायतका सुविधा पनि आवश्यक पर्छ । यी सबै पक्षलाई समेटेर हामीले प्रस्ताव अगाडि बढाइसकेका छौँ । सरकारको सहयोग रहेमा अबको २४ देखि ३० महिनाभित्र यी सबै काम सम्पन्न भइसक्ने छ । प्रधानमन्त्रीबाट पनि यसका लागि सकारात्मक सन्देश पाएको छु । उहाँ आफैँ पनि छिटोभन्दा छिटो क्रिकेट खेलको पूर्वाधार विकास गर्न आतुर देखिनु भएको छ ।

० हामीले आईसीसीबाट एकदिवसीय मान्यता पाएको पनि लामै समय बितिसकेको छ । त्यसमाथि नेपाली क्रिकेटले अन्तर्राष्ट्रिय प्रतियोगितामा गतिलो प्रदर्शन गर्दै आएको छ । हाम्रो अबको लक्ष्य भनेको टेस्ट मान्यता पनि हो । तर, हाम्रो घरेलु क्रिकेटमा प्रतियोगिताको ढाँचा भने त्यो अनुरुप देखिँदैन । अब त हामीलाई बढीभन्दा बढी ५० ओभर र त्योभन्दा पनि लामो ढाँचाको प्रतियोगिता आवश्यक पर्छ, होइन र ? 

प्रतियोगिताहरु राखेप आफैँले आयोजना गर्ने होइन । राखेपले प्रतियोगिता आयोजनाका लागि क्रिकेट संघलाई आवश्यक बजेट उपलब्ध गराउने हो । पक्कै पनि हामीलाई अब लामो ढाँचाको बढीभन्दा बढी प्रतियोगिता आवश्यक छ । घरेलु प्रतियोगिताको ढाँचा हाम्रो आवश्यकता अनुसारको छैन । यसमा सुधार आवश्यक छ र यस विषयमा क्यानसँग कुरा पनि भइरहेको छ ।

आफैँ खेलाडीको भूमिकामा रहेर देशको गौरव बढाएका व्यक्ति पनि अहिले क्यानको पदाधिकारी हुनुहुन्छ । क्यानको नवनिर्वाचित नेतृत्वले छिट्टै नै यस विषयमा स्पष्ट योजना बनाएर बुझाउने प्रतिबद्धता पनि व्यक्त गरेको छ ।

० थोरै प्रसङ्ग बदलौँ, विज्ञान र प्रविधिको क्षेत्रमा भएको द्रुततर विकासको प्रभाव विश्व खेलकुदमा पनि परेको छ । तर, नेपाली खेलकुदमा भने प्रशासनिक कार्यदेखि प्रशिक्षणको ढाँचासम्म अहिले पनि वर्षौं अघिको परम्परागत शैलीमै चलिरहेको छ भन्ने आरोप लाग्ने गरेको छ नि ?

सबै कुरामा परिवर्तन आएको छ भनेर त म ठोकुवा गर्दिनँ । तर, बिस्तारै विभिन्न पक्षमा सुधार ल्याउने र नेपाली खेलकुदलाई प्रविधिमैत्री बनाउने प्रयास भने सुरु भएको छ । यसदेखि बाहेक राखेपको व्यवस्थापन र संगठनको पुनर्संरचनाको विषयमा पनि कुरा अगाडि बढिसकेको छ । त्यसको नतिजा आएपछि राखेपमा आमुल परिवर्तन देख्न पाउनु हुनेछ ।

अहिलेको अवस्थामा हेर्नु भयो भने त कुनै खेलको एक सय जनाभन्दा बढी प्रशिक्षक छन् भने कुनै खेलमा एक जना पनि प्रशिक्षक छैनन् । यो संरचनालाई पूर्ण रुपमा परिवर्तन गर्नु आवश्यक छ । पछिल्लो समय हामीले प्रशिक्षकहरुलाई प्रदेश र स्थानीय तहसम्म खटाउने योजना बनाएका छौँ । खेलकुदमा पनि संघीयता कार्यान्वयन गर्नुको विकल्प छैन ।

राखेपले हेर्ने भनेको राष्ट्रिय टिमको तयारी हो । त्यसका लागि एक सय जना प्रशिक्षक आवश्यक छैन । त्यो राष्ट्रिय टिम पनि सम्बन्धित राष्ट्रिय संघले हेर्ने हो । कतिपय कुरा सरकारी नियम कानुनका कारण पनि आफूले सोचेअनुरुप गर्न सम्भव नहुँदो रहेछ । उदाहरणका लागि खेलकुद नियमावलीले कुनै अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जित्ने खेलाडीलाई कति नगद पुरस्कार दिने भन्ने कुराको व्यवस्था गरेको छ । त्यसमा स्वर्ण, रजत र कांस्य पदक जित्ने खेलाडीहरुलाई कति पुरस्कार दिने भन्ने व्यवस्था छ । तर, क्रिकेटका थुप्रै अन्तर्राष्ट्रिय प्रतियोगितामा मेडलको व्यवस्था हुँदैन ।

त्यसपछि मन्त्रालयका निजामती कर्मचारी साथीहरु मेडल छैन भनेर भन्नु हुन्छ । अन्तर्राष्ट्रिय प्रतियोगितामा हाम्रा क्रिकेट खेलाडीले ठुलो सफलता हात पारेका छन् तर, त्यो प्रतियोगितामा मेडल दिइँदैन । अनि हाम्रो कानुन र कर्मचारी साथीहरु मेडल खोज्नु हुन्छ । फेरि त्यो नियम परिवर्तन गर्न पनि हामीले ठूलै संघर्ष गर्नु प¥यो । यस्ता सामान्य कुराहरुमा बढी समय खर्चिनु पर्ने बाध्यता हामीसँग छ । यसका लागि सबैभन्दा पहिले खेलकुद भनेको प्राविधिक क्षेत्र हो भन्ने कुरा सबैले बुझ्नु आवश्यक छ ।

० पछिल्लो समय नेपाली खेलकुदलाई खेलाडी पलायनको पीडाले नराम्ररी सताएको छ । क्रिकेट, फुटबल, मार्सल आर्टका थुप्रै क्षमतावान खेलाडी विदेशिनेक्रम बढ्दो छ । यसलाई राखेपले कत्तिको गम्भीर रुपमा लिएको छ ?

पक्कै पनि नेपाली खेलकुदका लागि यो निकै ठुलो समस्या हो । यो विषयले सबैभन्दा बढी मलाई बिथोलेको छ । मभन्दा पनि बढी यो विषयले सम्बन्धित संघहरुलाई पीडा पुग्नु पर्छ । यस विषयमा मैले खेल संघहरुसँग छलफल पनि गरिरहेको छु । यसका लागि सबैभन्दा पहिले घरेलु प्रतियोगिताहरु नियमित रुपमा आयोजना हुनु आवश्यक छ । त्यसमा पनि बढीभन्दा बढी व्यावसायिक प्रतियोगिता आयोजना हुनु आवश्यक देखिन्छ । व्यावसायिक प्रतियोगिताले खेलाडीको आर्थिक गर्जोलाई पनि धेरै हदसम्म सम्बोधन गर्न सक्छ । यसका लागि सम्बन्धित संघहरुले सबैभन्दा ठुलो भूमिका निर्वाह गर्नु आवश्यक छ ।

अबको दिनमा राज्यले खेलकुद संघहरुलाई दुई प्रकारको बजेट उपलब्ध गराउनु पर्छ । एउटा बजेट खेलकुद विकासमा केन्द्रित हुनुपर्छ । अर्को बजेट भनेको राष्ट्रिय टिमको तयारीका लागि ‘हाई परफर्मेन्स बजेट’ उपलब्ध गराउनु पर्छ ।

यसका अतिरिक्त खेलाडीहरुलाई वर्गीकरण गरेर उनीहरुका लागि सम्माजनक मासिक रकम पनि उपलब्ध गराउनु पर्छ । यति हुँदा हुँदै पनि खेलकुदको चरित्र भनेको ‘ग्लोबल’ हुन्छ । त्यसैले एउटा खेलाडी विश्वव्यापी रुपमा जुनसुकै ठाउँमा गएर खेल्न पनि स्वतन्त्र हुन्छ । त्यसैले खेलाडीलाई पूर्ण रुपमा रोक्न भने सम्भव हुँदैन । त्यसैको प्रतिफल हो, आज देशभित्र राम्रो आम्दानी गरिरहेका खेलाडीहरु पनि विदेश पलायन भइरहेको पाइन्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया