शनिबार, २९ वैशाख २०८१
ताजा लोकप्रिय

घट्दै सडक बालबालिका

शुक्रबार, २९ मङ्सिर २०८०, १४ : ४५
शुक्रबार, २९ मङ्सिर २०८०

काठमाडौँ । पछिल्लो समयमा सडकमा जीवनयापन गर्ने बालबालिकाको सङ्ख्या घट्दो क्रममा रहेको पाइएको छ । राष्ट्रिय बालअधिकार परिषद्का सूचना अधिकारी रामबहादुर चन्दले आर्थिक वर्ष २०७६–७७ देखि सडक बालबालिका मुक्त राष्ट्र अभियान सञ्चालन भएपछि सडकमा जीवनयापन गर्ने बालबालिकाको सङ्ख्या घट्दो क्रममा रहेको जानकारी दिए । योसँगै उद्धार गरिएका बालबालिकाका सङ्ख्यामा पनि कमी आएको उनको भनाइ छ ।

सडकमा जीवनयापन गरिरहेका बालबालिकामध्ये २०७३ सालदेखि २०८० असार मसान्तसम्म जम्मा दुई हजार एक सय १४ जनाको संरक्षण तथा व्यवस्थापन गरिएको थियो । साथै आर्थिक वर्ष २०७९–८० मा मात्र एक सय २६ जना बालबालिकाको उद्धार, संरक्षण तथा व्यवस्थापन गरेको परिषद्ले जनाएको छ ।

 परिषद्का अनुसार पछिल्लो पाँच वर्षमा उद्धार, संरक्षण तथा व्यवस्थापन गरिएका बालबालिकाको सङ्ख्या एक हजार दुई सय ४१ जना छ । जसमध्ये छ सय १७ जनाको परिवारमा पुनर्मिलन गरिएको, सात सय ६५ जनालाई संस्थागत पुनःस्थापना गरिएको, दुई सय १४ जनाले सीपमूलक तालिम लिएका र ५५ जना स्वरोजगारमा लागेका छन् । 

परिषद्का अनुसार, आव २०७५–७६ मा एक सय ७७ बालक र तीन जना बालिका गरी जम्मा एक सय ८० बालबालिकाको उद्धार गरिएको छ । एक सय ६२ जनालाई परिवारमा पुनर्मिलन गरिएको, २१ जना सीपमूलक तालिम तालिम लिएका र १३ जना स्वरोजगार संलग्न छन् ।  आव २०७६–७७ मा तीन सय बालक र ८७ बालिका गरी जम्मा चार सय ६५ बालबालिकाको उद्धार गरेको छ । दुई सय २८ जनालाई परिवारमा पुनर्मिलन गरिएको, तीन सय ५१ जनालाई संस्थागत पुनःस्थापना गरिएको, ८४ जना सीपमूलक तालिम लिएका र १४ जना स्वरोजगारमा संलग्न छन् । 

आव २०७७–७८ मा तीन सय एक बालक र ५४ बालिका गरी जम्मा तीन सय ५५ बालबालिकाको उद्धार गरिएको छ । कूल ५८ जनालाई परिवारमा पुनर्मिलन गरिएको, दुई सय ९७ जनालाई संस्थागत पुनः स्थापना गरेको छ । त्यस्तै ३० जनाले सीपमुलक तालिम लिएका र ११ जना स्वरोजगारमा संलग्न रहेका छन् । 

आव २०७८–७९ मा बालक एक सय ३२ र २५ बालिका गरी जम्मा एक सय ५७ बालबालिकाको उद्धार गरेको छ । सोही आवमा सय जनालाई परिवारमा पुर्नमिलन गरिएको, एक सय १४ जनालाई संस्थागत पुनः स्थापना गरेको, ६९ जनाले सीपमूलक तालिम लिएका र १३ जना स्वरोजगारमा संलग्न छन् । आव २०७९–८० मा एक सय एक बालक र २५ बालिका गरी जम्मा एक सय २६ बालबालिकाको उद्धार गरेको छ । सोही आवमा ६९ बालबालिकाको परिवारमा पुनर्मिलन गरिएको, तीन जनालाई संस्थागत पुनः स्थापना गरेको, दश जनाले सीपमूलक तालिम लिएका र चार जना स्वरोजगारमा संलग्न छन् । 

सडकबाट उद्धार गरिएका बालबालिकालाई परिषद्ले अस्थायी संरक्षण सेवा केन्द्रमा संरक्षण र पुनः स्थापनासम्बन्धी काम गर्ने गरेको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको नेतृत्व र परिषद्को संयोजन र प्राविधिक सहयोगमा बालबालिका खोजतलास समन्वय केन्द्र एवं प्रदेश, स्थानीय सरकार, विभिन्न सङ्घसंस्थाको सहकार्यमा मुलुकभर सडक बालबालिकाको उद्धार र व्यवस्थापन कार्य प्रभावकारीरुपमा सञ्चालन भइरहेको परिषद्ले जनाएको छ । 

विसं २०७३ बाट सुरु भएको काठमाडौँ उपत्यकाका सडक बालबालिकाको उद्धार र व्यवस्थापन कार्यको अभियान निरन्तर छ । आव २०७६–७७ देखि सडक बालबालिका मुक्त राष्ट्रिय अभियानको सुरु भएको थियो । प्रदेशले समेत सडकमा आश्रित बालबालिका र मानवमुक्त सडकका अभियानात्मक कार्यक्रम सुरु गरेका छन् । 

बालबालिकासम्बन्धी ऐन, २०७५ को दफा ७ को उपदफा (४) मा जोखिममा परेका वा सडकमा बस्ने बालबालिकालाई सुनिश्चित भविष्यका लागि राज्यबाट तोकिएबमोजिम विशेष संरक्षण पाउने अधिकार रहेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप