आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय
कृषि उपज

कृषि काममा महिला सहभागिता बढ्दो, कृषियन्त्र भने पुरुषमैत्री

बुधबार, २४ माघ २०८०, ०७ : १८
बुधबार, २४ माघ २०८०

काठमाडौँ । कृषि पेसामा महिलाको संलग्नता बढी रहे पनि कृषि कर्मका लागि प्रयोग हुने अधिकांश यन्त्र पुरुषमैत्री छन् । राष्ट्रिय तथ्याङ्क कार्यालयका अनुसार नेपालमा सक्रिय रुपमा कृषिमा कुल १ करोड ३२ लाख ११ हजार ३ सय ४९ जनसंख्या संलग्न छ । यसमध्ये महिलाको संख्या ६८ लाख ६३ हजार ४१२ र पुरुषको संख्या ६३ लाख ४७ हजार ९३६ छ ।

तर नेपालमा उपलब्ध भएका ट्याक्टर, थ्रेसर, फलामे हलो, पावर ट्रिलर जस्ता कृषियन्त्र पुरुषमैत्री रहेको विज्ञहरुको भनाइ छ । नेपालमा पाइने कृषियन्त्रहरु महिलामैत्री बनाउन सके यन्त्रको सदुपयोग हुनुका साथै उत्पादन लगात पनि घट्ने राष्ट्रिय धानबाली अनुसन्धान कार्यक्रम हर्दिनाथका पूर्वसंयोजक तथा वरिष्ठ धान बाली वैज्ञानिक तथा डा. रामवरण यादवले बताए ।

‘हाल नेपालमा मेनुफेक्चरिङ भएका कृषियन्त्रहरु पुरुष मैत्री छन्,’ उनले भने, ‘यसलाई महिलामैत्री बनाउन सके उत्पादन लागत घट्नुका साथै यन्त्रहरु बढी उपयोग हुन्छ ।’ युवा र पुरुष रोजगारीका लागि घर बाहिर बस्ने भएकाले कृषि कर्ममा महिलाको संलग्नता बढी भएको विज्ञहरुको भनाइ छ ।

महिलाको सहजताका लागि महिलामैत्री यान्त्रीकरणमा जोड दिनुपर्ने कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा. रेवती पौडेलले बताए । ‘ठुला कृषियन्त्र भारी हुने भएकाले पहाडी क्षेत्रमा महिलालाई ती यन्त्र प्रयोग गर्न समस्या हुन्छ,’ उनले भने, ‘हाते ट्याक्टर जस्ता साना कृषियन्त्रमा जोड दिनुपर्छ ।’

नेपालमा पछिल्लो समय कृषि–यान्त्रीकरण बढ्दै गएको छ । कम जनशक्तिबाट धेरै र सहज तरिकाले कृषि कार्य गर्न सकिने भएकाले कृषियन्त्रको प्रयोग बढेको हो । तर यी यन्त्र पुरुषमैत्री भएको विज्ञहरुको दाबी छ ।

पौडेलले सजिलो तरिकाले प्रयोग गर्न सक्ने मिनीट्रिलर जस्ता साना औजार प्रवर्द्धन गर्न सुझाएका छन् । नेपालमा बढी मात्रामा प्रयोग हुने स्प्रेयर तथा कृषि औजारका पार्टपुर्जा महँगो पर्ने भएकाले सो विषयमा ध्यान दिनुपर्ने उनको भनाइ छ ।

नेपालमा पछिल्लो समय कृषि–यान्त्रीकरण बढ्दै गएको छ । कम जनशक्तिबाट धेरै र सहज तरिकाले कृषि कार्य गर्न सकिने भएकाले कृषियन्त्रको प्रयोग बढेको हो । यस क्रममा ट्याक्टर, थ्रेसर, फलामे हलो, पावर ट्रिलर, स्यालो ट्युबवेललगायत कृषि औजार तथा साधनको प्रयोग बढेको छ । यी यन्त्र पुरुषमैत्री भएको विज्ञहरुको दाबी छ ।

सरकारी तथ्याङ्क अनुसार देशभर कुल खेती गरिएको ३० लाख ९१ हजार हेक्टर जमिन छ । सो जमिनमध्ये २२ लाख १८ हजार ४ सय ९ हेक्टरमा कृषियन्त्र प्रयोग भइरहेको राष्ट्रिय कृषिगणना २०७८ मा उल्लेख छ ।

कस्ता कृषियन्त्र प्रयोग भइरहेका छन् ?

कृषि गणनाका अनुसार देशभरका ७ लाख २ हजार ७ सय ९८ परिवारले ५ लाख ९ हजार ८ सय २५ फलामे हलो प्रयोग गरेको पाइएको छ । यस्तै, देशभर जम्मा कृषकमध्ये ४ लाख ७१ हजार २ सय ६० परिवारले १ लाख १७ हजार ९ सय ९१ पावर ट्रिलर÷मिनी ट्रिलर प्रयोग गरेको पाइएको छ ।

मुलुकभरका कृषकमध्ये १६ लाख ३८ हजार ७ सय ६२ परिवारले ५ लाख ८ हजार ४ सय ९२ वटा ट्याक्टर प्रयोग गरेको कृषि गणनामा उल्लेख छ । नेपालभर ४ लाख ८९ हजार ९ सय ५७ कृषक परिवारले सिँचाइका लागि स्यालो ट्युबवेल प्रयोग गर्छन् । देशभरका ३ लाख ३१ हजार ३ सय ५० किसानले सिँचाइका लागि २ लाख २८ हजार ७९ वटा डिप ट्युबवेल प्रयोग गरेको पाइएको छ ।

बालीबाट दाना छुट्याउनका लागि देशभरका ११ लाख ७५ हजार ८१ किसानले १ लाख १४ हजार ८ सय ५४ वटा थ्रेसर प्रयोग गरेको पाइएको सरकारी तथ्याङ्कले देखाएको छ ।

देशभर दुध दुहुने मेसिन प्रयोगकर्ता ३० हजार २५ छन् । यी प्रयोगकर्ताले ३ हजार ३ सय ८९ वटा मेसिन प्रयोग गरेको तथ्याङ्क छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सरिता थारू
सरिता थारू

सरिता थारूले कृषि र समसामयिक विषयमा रिपोर्टिङ गर्छिन् ।

लेखकबाट थप