शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

चितवन माछा, मासु, दूध र अण्डामा आत्मनिर्भर

आइतबार, ०९ वैशाख २०८१, २० : ३९
आइतबार, ०९ वैशाख २०८१

चितवन । माछा, मासु, दूध र अण्डा उत्पादनमा जिल्ला आत्मनिर्भर भएको छ । यहाँ उत्पादित माछा, मासु, दूध र अण्डा प्रतिव्यक्ति आवश्यकता भन्दा बढी उत्पादन हुने गरेको छ ।

पशुसेवा कार्यालय चितवनका अनुसार दूध प्रतिव्यक्ति न्यूनतम आवश्यकता भन्दा ४५ दशमलव ३३ लिटर बढी उत्पादन हुने गरेको छ । प्रतिव्यक्ति न्यूनतम आवश्यकता अनुसार दूध वार्षिक ९१ लिटर आवश्यक पर्नेमा जिल्लामा एक सय ३६ दशमलव ३३ लिटर उपलब्ध भएको हो । कार्यालयका प्रमुख सुशील केसीका अनुसार मासु ११ दशमलव ५३ किलो, अण्डा चार सय १३ वटा र माछा एक दशमलव ४४ किलो प्रतिव्यक्ति उपलब्ध हुने गरेको छ । 

जिल्लामा उत्पादित यी वस्तु जिल्लाको कूल जनसङ्ख्यालाई आवश्यक पर्ने न्यूनतम आवश्यकता भन्दा बढी उत्पादन हो ।

प्रतिव्यक्ति वार्षिक मासु १४ किलो, अण्डा ४८ वटा र माछा पाँच किलो न्यूनतम आवश्यक पर्ने उनले जानकारी दिए । अहिले जिल्लामा मासु प्रतिव्यक्ति २५ दशमलव ५३ किलो, अण्डा चार सय ६१ गोटा र माछा छ दशमलव ४४ किलो उपलब्ध छ । 

यहाँको कृषि क्षेत्रमा लाग्ने किसानले उत्पादन गरेको खाद्य वस्तुलाई व्यवस्थित गर्न सके राष्ट्रिय आवश्यकतालाई समेत पूर्ति गर्न सहज हुने उनले बताए । प्रतिव्यक्ति प्रतिवर्ष राष्ट्रिय उपलब्धता दूध ८५ लिटर, मासु १८ दशमलव एक किलो, अण्डा ५४ वटा, माछा तीन दशमलव तीन किलो रहेको छ । राष्ट्रिय न्यूनतम आवश्यकतालाई आधार मान्ने हो भने यो एकदमै न्यून  उपलब्धता हो । जिल्लामा भने न्यूनतम आवश्यकता भन्दाबढी यी खाद्य सामग्री उपलब्ध हुँदै आएको केसीले जानकारी दिए ।

यहाँ गाईभैँसी, बाख्रा, कुखुरा, बङ्गुर र माछा पालनलाई किसानले व्यावसायिक रूपमा अघि बढाएका छन् । जसमध्ये गाईफार्म तीन सय ५९ वटा, भैँसी फार्म ५० वटा, बाख्रा फर्म चार सय ५३ वटा, बङ्गुर फार्म ६० वटा, कुखुरा फार्म एक हजार नौ सय वटा र माछा फर्म पाँच सय सात वटा दर्ता भई सञ्चालनमा छन् । 

त्यसैगरी कुखुरा ह्याचरी ९५ वटा दर्ता भई ५२ वटा मात्रै सञ्चालनमा छन् ।  आर्थिक वर्ष विसं २०७९/८० को तथ्याङ्क अनुसार जिल्लामा दूध ९८ हजार एक सय ८३ मेट्रिकटन, मासु एक लाख ८३ हजार ८१ मेट्रिकटन, माछा ४६ हजार ३८ मेट्रिकटन र अण्डा ३३ करोड २४ लाख ६१ हजार दुई सय १२ वटा उत्पादन भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप