शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय
नेपाल भ्रमण

आइपुगिन् जापानी विदेशमन्त्री कामीकावा, यस्तो छ दिनभरको कार्यतालिका

आइतबार, २३ वैशाख २०८१, ११ : ५८
आइतबार, २३ वैशाख २०८१

काठमाडौँ । जापानी विदेशमन्त्री कामीकावा योको एक दिने भ्रमणका लागि नेपाल आइपुगेकी छन् । परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको निमन्त्रणामा उनी नेपाली भ्रमणमा आएकी हुन् ।

उनलाई एयरपोर्टमा परराष्ट्र सचिव सेवा लम्सालले स्वागत गरेकी थिइन् । एयरपोर्टबाट उनलाई सिधै होटल लागिएको थियो ।

भ्रमण तालिका अनुसार विदेशमन्त्री योकोले २ः३० बजे दरबार स्क्वायरको भ्रमण गर्नेछिन् भने तीन बजे परराष्ट्र मन्त्रालयमा मन्त्री श्रेष्ठसँग दुई पक्षीय वार्ता हुनेछ । 

३ः३० बजे मण्डला बुक प्वाइन्टको अवलोकन गरेपछि चार बजे प्रधानमन्त्री प्रचण्डसँग सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दुई पक्षीय शिष्टाचार भेटघाट हुने बताइएको छ । 

प्रधानमन्त्री प्रचण्डसँगको भेटपछि उनी पुनः होटल फर्किने कार्यक्रम रहेको छ । त्यसपछि साँझ ६ बजे परराष्ट्र मन्त्री श्रेष्ठले सोल्टी होटलमा दिने रात्रिभोजमा विदेश मन्त्री योको सहभागी हुने छिन् । डिनरपछि साँझ ७ बजे राष्ट्रपतिसँग मन्त्री कामीकावाले भेटघाट गर्ने कार्यक्रम रहेको छ ।

राष्ट्रपति पौडेलसँगको भेटघाटपछि ८ः३५ बजे जापानी पत्रकारहरुसँग भेटघाट गर्ने कार्यक्रम राखिएको छ । पत्रकारसँग भेटघाटपछि उनी राति १० बजे जापान फर्किने कार्यक्रम रहेको छ । 

परराष्ट्रका प्रवक्ता अमृतबहादुर राईले विदेश मन्त्री योकोको नेपाल भ्रमणको क्रममा कुनै सम्झौता तथा समझदारी नहुने बताए । यो मैत्रीपूर्ण भ्रमण भएको र भ्रमणको क्रममा दुई देश बिचको सम्बन्ध, विकास निर्माण, जापानले गर्दै आएको सहयोग लगायतका विषयमा कुराकानी हुने उनले जानकारी दिए । 

नेपाल र जापानबिच सन् १९५६ मा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो । ६८ वर्ष पुरानो सम्बन्धमा जापानबाट विदेश मन्त्री स्तरबाट भएको यो चौथो भ्रमण हो भने सन् २०१९ पछि विदेश मन्त्रीका रुपमा योकोको पहिलो नेपाल भ्रमण हो ।

नेपालमा भारत, चीन र अमेरिकाको प्रभाव रहेको बेला जापानी विदेशमन्त्रीको यो भ्रमणलाई कूटनीति हिसाबले महत्त्वपूर्ण मानिएको कूटनीतिक मामिलाका जानकारहरू बताउँछन् । खासगरि नेपालमा पछिल्लो समय चीनको बढ्दो प्रभावबिच जापानकी विदेशमन्त्री योकोले श्रीलंकासहित एसियाली मुलुकहरुको भ्रमण गर्दै नेपाल आएकी हुन् । उता अमेरिका र चीनबिच बढ्दो द्वन्द्वमा जापान अमेरिकाको मित्र शक्तिको रुपमा रहेको । 

यता, सन १९५६ सेप्टेम्बर १ तारिकका दिन नेपाल र जापानबीच औपचारिक कूटनैतिक संबन्ध स्थापना भएपश्चात आपसी सम्बन्धका विविध पक्षहरूमा बिस्तार हुँदै गएको जापानस्थित नेपाली दूतावासले जनाएको छ ।  

दुबै देशहरूमा आवासीय राजदूतावास स्थापना हुनुअघि नयाँ दिल्लीस्थित आ–आफ्नो राजदूतहरूलाई नै नेपाल तथा जापानका लागि पनि राजदूतका रूपमा नियुक्त गरेका थिए । 

सन १९६५ मा मात्र जापानमा नेपाली राजदूतावासको स्थापना भएको थियो र त्यहाँ भरत राज राजभण्डारीलाई पहिलो राजदूतको रूपमा नियुक्त गरेको जपानमा रहेको नेपाली दूतावासले जनाएको छ । 

त्यसपछि सन् १९६८ मा काठमाडौँमा पनि आवासीय जापानी राजदूतावासको स्थापना गरी पहिलो राजदूतको रूपमा हिदेमिची किरालाई नियुक्त गरेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप