बुधबार, ०५ असार २०८१
ताजा लोकप्रिय
सत्ता राजनीति

कोशी प्रदेशमा मन्त्री बनाउने दौड

१७ महिनामा १६ पटक सरकार बिस्तार, २८ जनाले पहिरिए मन्त्रीको ताज
शनिबार, ०५ जेठ २०८१, १९ : ५९
शनिबार, ०५ जेठ २०८१

विराटनगर । कोशी प्रदेशसभाको दोस्रो कार्यकालमा बनेका ६ वटा सरकारमा पटक–पटक गरेर २८ जनाले मन्त्रीको ताज पहिरिएका छन् । यस्तै १६ पटक मन्त्रीमण्डल विस्तार भएको छ ।

तेस्रोपटक कोशी प्रदेशको मुख्यमन्त्री बनेका हिक्मतकुमार कार्कीले शुक्रवार १० सदस्यीय मन्त्रीमण्डल निर्माण गरे । उक्त मन्त्रीमण्डलमा सहभागी भएकी पर्यटन, वन तथा वातावरण मन्त्री वन्दना झाँगर बाहेक सबै मन्त्री पुरानै अनुहार हुन् ।

प्रदेशसभाको दोस्रो कार्यकालको छैटौँ सरकार बन्दासम्म केही मन्त्रीले भने ३ पटकसम्म दोहोर्‍याउने अवसर पाएका छन् । मुख्यमन्त्री हिक्मतकुमार कार्की आफैँले ३ पटक मुख्यमन्त्री बन्ने अवसर पाए । उद्धव थापा दुई पटक मुख्यमन्त्री बन्दा केदार कार्की १ पटक मुख्यमन्त्री बने । 

यस्तै सबैभन्दा धेरै तीनपटक मन्त्री बन्नेहरूमा एमालेका रामबहादुर मगर, माओवादीका राजेन्द्रकुमार कार्की, कांग्रेसका प्रदीपकुमार सुनुवार, नेकपा (एकीकृत समाजवादी) का कमलप्रसाद जबेगू रहेका छन् ।

दोस्रो पटक दोहोर्‍याउनेमा भने एमालेका पाँचकर्ण राई, एकराज कार्की, लिलाबल्लभ अधिकारी, तिलकुमार मेन्याङ्बो, बुद्धिकुमार राजभण्डारी रहेका छन् । यस्तै माओवादीका गणेशप्रसाद उप्रेती, नारायणबहादुर मगर, जीवन आचार्य तथा कांग्रेसका रामकुमार खत्रीले दोस्रो पटक मन्त्री बनेका छन् । 

एक पटक मन्त्री हुनेहरूमा कांग्रेसका शमशेर राई, माओवादीका बाबुराम गौतम, दुर्गाप्रसाद चापागाईँ र राप्रपाका भक्तिप्रसाद सिटौला रहेका छन् । राज्यमन्त्रीहरूमा एमालेकी सिर्जना राईले दोहोर्‍याउँदा कांग्रेसकी इन्दिरा थापा, सुनिताकुमारी गुरुङ, गयानन्द मण्डल, एमालेका रामप्रसाद महतो र निरन राई तथा माओवादीकी वन्दना झाँगर एक पटक मन्त्री बन्न सफल भएका छन् । 

जारी कार्यकालमा दोस्रोपटक सरकार विस्तार भएको छ । तथापि सरकारले भने अझै पूर्णता भने पाएको छैन । कृषि तथा सहकारी मन्त्रालय मुख्यमन्त्रीले कार्की आफैँले राखेका छन् । मुख्यमन्त्री कार्कीले सञ्चारकर्मीलाई सामान्य प्रतिक्रिया दिँदै अब सरकार स्थिर हुने बताएका छन् ।

‘अब सरकार स्थिर हुन्छ । हामीले हतार गरेर पनि हुँदैन,’ उनले भने, ‘सुशासन र स्थायित्व अहिलेको सरकारले बनाउने भएको हुँदा अब त्यता ध्यान हुन्छ ? ।’ सो क्रममा केही सञ्चारकर्मीले भने प्रदेशसभामा रहेका ९३ जना नै सांसदलाई कहिले मन्त्री बनाउनु हुन्छ भनेर व्यङ्ग्यात्मक प्रश्न गरेका थिए ।

१६ पटक सरकार बिस्तार

२०७९ पुस २४ गते हिक्मतकुमार कार्की प्रदेशसभाको दोस्रो कार्यकालको पहिलो मुख्यमन्त्री बनेका थिए । उनले पुस २५ गते तीन जना तिलकुमार मेन्याङ्बो, भक्तिप्रसाद सिटौला र निर्मला लिम्बूलाई मन्त्री नियुक्त गर्दै चार सदस्यीय मन्त्रीमण्डल बनाए ।

त्यसको ४ दिनपछि पुस २९ गते दुर्गाप्रसाद चापागाईँ, जीवन आचार्य र बुद्धिकुमार राजभण्डारीलाई मन्त्रीमण्डलमा सामेल गराए । मन्त्रीहरुलाई जिम्मेवारी भने माघ ६ गते मात्रै दिए । 

यस्तै उनको सरकार ढलेपछि उद्धव थापाले २०८० असार २२ गते कमलप्रसाद जबेगू र प्रदीपकुमार सुनुवार सहभागी मन्त्रीमण्डल बनाए । त्यसको २ दिनपछि जीवन आचार्य, राजेन्द्र कार्की र रामकुमार खत्रीलाई मन्त्रीमण्डलमा सहभागी गराए ।

थापा नेतृत्वको सरकार सर्वोच्चबाट विघटन गरेसँगै पुनः साउन १७ गते थापाकै नेतृत्वमा बनेको सरकारमा बाबुराम गौतम, प्रदीपकुमार सुनुवार र कमलप्रसाद जबगू मन्त्री बने । त्यसको ९ दिनपछि साउन २६ गते निर्मला लिम्बूलाई मन्त्री नियुक्त गर्दै थापाले सरकार विस्तारलाई निरन्तरता दिए ।

पुनः उनले गयानन्द मण्डललाई साउन ३१ गते सरकारमा सहभागी गराए । तर, उनको सरकार पुनः अदालतको परमादेशबाट ढल्यो । त्यसपछि बनेको हिक्मतकुमार कार्की नेतृत्वको सरकारमा भदौ २२ गते पुनः तिलकुमार मेन्याङ्बो, पाँचकर्ण राई, एकराज कार्की र सिर्जना राईलाई मन्त्रीमण्डलमा सहभागी गराइयो ।

कार्कीले पुनः असोज ८ गते सरकार विस्तार गर्दै लिलाबल्लभ अधिकारी, बुद्धिकुमार राजभण्डारी, रामप्रसाद महतो र निरन राईलाई मन्त्रीमण्डलमा सहभागी गराउँदै मन्त्रीमण्डल विस्तार गरे । 

उनले राजीनामा दिएपछि पुनः केदार कार्कीको नेतृत्वमा अर्को सरकार बन्यो । केदार कार्कीले असोज २८ गते रामबहादुर मगर र शमशेर राईलाई मन्त्री नियुक्त गरे । कार्कीले कार्तिक १७ गते गणेशप्रसाद उप्रेती र कमलप्रसाद जबेगूलाई मन्त्रीमण्डलमा समावेश गराए ।

रामबहादुर मगरले राजीनामा दिएपछि कार्कीले मङ्सिर १७ गते नयाँ कार्यविभाजन गरे । फेरि मुख्यमन्त्री कार्कीले माघ २६ गते प्रदीपकुमार सुनुवार, राजेन्द्र कार्की, रामकुमार खत्री, नारायण बहादुर मगर, इन्दिरा थापा र सुनिताकुमारी गुरुङलाई मन्त्रीमण्डलमा सहभागी गराउँदै मन्त्रीमण्डलको सङ्ख्या १० पुर्‍याए । 

कार्की नेतृत्वको सरकार ढलेर पुनः २०८१ वैशाख २७ गते हिक्मतकुमार कार्की नेतृत्वमा सरकार निर्माण भएको छ । कार्कीले सोही दिन गणेशप्रसाद उप्रेती र रामबहादुर मगरलाई मन्त्री नियुक्त गरे ।

त्यसको एक हप्तापछि जेठ ४ गते मुख्यमन्त्री कार्कीले राजेन्द्र कार्की, पाँचकर्ण राई, एकराज कार्की, नारायणबहादुर मगर, लिलाबल्लभ अधिकारी, सिर्जना राई र वन्दना झाँगरलाई मन्त्रीमण्डलमा सहभागी गराए । 

Mantriko List ss

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन आचार्य
अर्जुन आचार्य
लेखकबाट थप