सोमबार, १९ जेठ २०८२
ताजा लोकप्रिय
प्रथम नेपाली महिला

चन्द्रकला किरण : नेपालकी प्रथम महिला सचिव

‘सरकारी गाडी सचिवकी स्वास्नीले सपिङ गर्न लगी भन्नेसम्म रिपोर्ट हुन्थ्यो’
शनिबार, १७ जेठ २०८२

काठमाडौँ । नेपालको विकासमा पुरुषसरह महिलाको पनि ठुलो योगदान छ । नेपाली महिलाले परापूर्वकालदेखि विविध क्षेत्रमा विशिष्ट योगदान गर्दै आएका छन् । राजनीतिक, दार्शनिक, सांस्कृतिक, सामाजिक लगायत ज्ञान, विज्ञान, प्रविधि, कूटनीति, निजामती, प्रहरी, सेना, खेलकुद, यातायात आदि फाँटमा नेपाली महिलाले पुर्‍याउँदै आएको देन अविस्मरणीय छ । 

‘प्रथम नेपाली महिला’ कार्यक्रम तिनै नेपाली महिलाहरूप्रति समर्पित छ, जसले चुनौतीका अनेक पहाड छिचोल्दै अभूतपूर्व उपलब्धि हासिल गरेका छन् । यस कार्यक्रममा प्रथम नेपाली महिलाका अपूर्व उत्साह, सक्रियता, सीप, कला, प्रगति, सफलता तथा प्रसन्नताका पाटाहरू खोतल्ने प्रयास गरेका छौँ । साथसाथै तत्कालीन बाधा, अड्चन, उत्पीडन, अन्योल, बेथिति र सङ्घर्ष एवं आन्दोलनका पाटा पनि यहाँहरू माझ पस्कँदै आएका छौँ । 

‘प्रथम नेपाली महिला’ शृङ्खलाको २३ औँ एपिसोड चन्द्रकला किरणका सम्बन्धमा छ । चन्द्रकला किरणलाई नेपालमा प्रथम महिला सचिव हुने श्रेय प्राप्त रहेको छ । 

परिचय 

  • जन्ममिति : सन् १९२९ अक्टोबर १०
  • जन्मस्थान : कालिम्पोङ, भारत
  • माता : पवित्रा महत
  • पिता : कर्णबहादुर महत
  • निधन :   २०८१ वैशाख २०
  • शिक्षा : एम.ए.
  • कृति : साईबाबाको कृतिका नेपाली अनुवाद
  • अभिरुचि : अध्यात्म
  • पदक/विभूषण : गोर्खा दक्षिणबाहु (तेस्रो), विभिन्न अभिनन्दन र सम्मान 
  • विदेशभ्रमण : संयुक्त राज्य अमेरिका, फ्रान्स, इटली, जर्मनी, स्वीट्जरल्यान्ड, जापान, फिलिपिन्स, थाइल्यान्ड, सिंगापुर, भारत, बङ्गलादेश आदि

‘महिला शिक्षा, आर्थिक स्वतन्त्रता र सामाजिक न्याय नभएकाले नै यहाँ महिलाले पिछडिनुपरेको हो । शिक्षाको अभावले गर्दाखेरि महिलाहरू कुनै पनि क्षेत्रमा अगाडि बढ्न सकिरहेका छैनन् । 

महिला वर्गको जीवन स्तर माथि उठाउने हो भने महिलाका निम्ति १२ कक्षासम्मको शिक्षा निःशुल्क हुनुपर्छ । १२ कक्षा पास नगरीकन विवाह गर्नै नपाइने अनिवार्य व्यवस्था अँगाल्नुपर्दछ । 

त्यत्ति पढिसकेपछि महिलाहरू कुनै पनि क्षेत्रमा कमजोर हुँदैनन् । विवाहको उमेर र सन्तान जन्माउने अवस्था पनि त्यतिखेर ठिक्क हुन्छ । 

राजनीतिमा जान चाहनेका लागि पनि परिपक्वता पुग्छ । अधिकार भन्ने कुरो मागेर हुँदैन । 

त्यसैले १२ कक्षासम्मको निःशुल्क शिक्षा उपलब्ध गराउन सबै महिला सङ्घ, सङ्गठन कम्मर कसेर लाग्नुपर्छ । आर्थिक क्षेत्रमा पनि महिलाको परिश्रम कम छैन । 

खेत खन्ने, गोड्ने लगायतका सबै काम महिलाले नै गर्दछन् । तर खर्चबर्च सबै लोग्नेकै हातमा हुन्छ । 

तिनले दुई, चार पैसा पनि चलाउन पाउँदैनन् ।  मेरै कुरा गरौँ ! 

यत्ति बोल्न सक्ने हुनाका कारण मेरो आर्थिक स्वतन्त्रता नै हो । मैले केही कमाउन सकेकैले हो । 

त्यस कारण महिलाले कमाउनुपर्छ । यसका निम्ति पनि शिक्षै चाहिन्छ । 

सामाजिक न्यायको कुरो गर्दा महिलाहरू ज्यादै शोषित छन् । घर, परिवारमै भनौँ, कतिपय घरमा छोरीलाई भन्दा छोरालाई मीठो, मीठो खान दिने चलन छ । 

छोरीलाई बाहिर जान दिनुहुँदैन भन्ने अझै छन् । अफिसमा काम गर्नेलाई मिटिङमा ढिलाइ हुँदा पनि घरमा अप्ठेरो पर्छ । 

लोक सेवा आयोगको जाँचमा पनि महिला पिछडिएका छन् । प्राविधिक क्षेत्रमा महिला डाक्टर केही देखिए तापनि अधिकांश क्षेत्रमा महिला पछाडि नै परेका छन् । 

सामाजिक न्याय नपाएर महिलाले सधैँ पछाडि पर्नुपरेको छ ।’ नेपालमा प्रथम महिला सचिव हुने श्रेय प्राप्त गरेकी चन्द्रकला किरणको दृष्टिकोण हो यो । 

उनको भनाइ छ– ‘यिनै कारणले गर्दा नेपालमा धेरै महिला सचिव हुन सकेका छैनन् ।

हो, एउटी महिला सचिवको कुर्सीमा बस्दा कत्तिलाई पच्दैनथ्यो । टीकाटिप्पणी गर्थे । 

ठाउँ, ठाउँमा कुरा पुग्थ्यो । त्यति बेला दरबारमा पनि ‘रिपोर्ट’ गर्थे । 

‘मन्त्रालयको गाडी सचिवकी स्वास्नीले सपिङ गर्न लगी’ भन्ने ‘रिपोर्ट’सम्म हुन्थ्यो । किनभने त्यति बेला एउटी महिला पनि सचिव हुन सक्छे भन्ने धारणै थिएन । 

काम गर्दा पनि कठिनाइ र जटिलता हुन्थ्यो । सचिव–सचिवमा पनि भेला भयो, जाँड खायो, निर्णय गर्‍यो, सजिलो हुने । 

तर त्यस्तो बेलामा म चाहिँ सहभागी हुनसक्दिनथी । यसैले पो आफू पछाडि परेको हो कि जस्तो पनि लाग्ने !

अझ मूलकुरो त सचिवले मन्त्रीसँग सम्बन्ध राख्नै पर्ने हुन्छ । तर मन्त्रीहरू भने व्यवस्थापनबारे केही नजान्ने ! खालि ‘सचिवभन्दा त म पो ठुलो हुँ’ भन्ने गर्व मात्रै गर्ने ! 

सचिवले त्यत्रो ‘एडमिनिस्ट्रेसन’ लिएर बस्नुपर्छ । तर मन्त्रीहरू चाहिँ जथाभाबी काम गराउन चाहने । 

अनि, सचिव र मन्त्रीबिचमा कसरी तालमेल बस्नु ! त्यसैले, मलाई के लाग्छ भने मन्त्रीमा पनि व्यवस्थापकीय केही ज्ञान हुनुपर्छ । 

किनभने अहिले झन् व्यवस्थापनको स्तर धेरै माथि भइसक्यो । तर मन्त्री चाहिँ एसएलसी पास नगर्‍या’ पनि हुन्छन् । 

यस्तो अवस्थामा तिनका निजी सचिवले घुमाउँछन् । उनीहरूलाई सरकारी परिपाटीसँग मतलबै हुँदैन । 

यसले गर्दा पनि काममा सामञ्जस्य ल्याउन मलाई गाह्रो हुन्थ्यो’– चन्द्रकला किरणले यसरी विडम्बनापूर्ण वस्तुस्थिति दर्साएकी छिन् । 

सन् १९२९ अक्टोबर १० तारिखका दिन कालिम्पोङ, भारतमा उनको जन्म भएको हो । उनकी माता पवित्रा महत र पिता कर्णबहादुर महत हुन् । चन्द्रकला किरण अर्थात् चन्द्रकला महतको बाल्यावस्था कालिम्पोङको रेलीरोडस्थित घरमै बित्यो । उनले ‘गर्ल्स हाईस्कुल, कालिम्पोङ’ बाट मेट्रिक पास गरिन् ।  कलकत्ता विश्वविद्यालयबाट आई.ए. उत्तीर्ण गरेपछि ‘मन्टेश्वरी ट्रेनिङ’ लिएकी हुन् । 

शिक्षणकलासम्बन्धी ट्रेनिङ लिएर काठमाडौँ आइन् उनी । चन्द्रकलाले रानीपोखरी नजिकैको ‘मन्टेश्वरी स्कुल’ मा प्रधानाध्यापिकाका रूपमा काम गर्न थालिन् ।

‘यो २००५ सालको कुरो हो । मोहन शमशेरलाई दाम राखेर मैले जागिर खान सुरु गरेकी थिएँ’ भन्दै चन्द्रकला आफ्नो अतीतका पाना पल्टाए अनुसार २०१० सालतिर उनको विवाह जितेन्द्रध्वज किरणसित भयो । 

यो प्रेम विवाह अर्थात् ‘लभ म्यारिज’ थियो । जितेन्द्रध्वजले पनि दार्जिलिङमै पढेका हुन् । 

दुवैबीच परिचय त्यहीँ भएको हो । चन्द्रकलाले वि.सं. २०१२ सालमा पटना विश्वविद्यालयबाट बी. ए. फाइनल गरिन् । 

२०१३ सालमा ठुलो छोरो सानै थियो, शिक्षा विषयमा स्नातकोत्तर गर्न छात्रवृत्ति पाई संयुक्त राज्य अमेरिका पुगिन् । 

वर्ष दिनपछि यहाँ आएर ‘कलेज अफ एजुकेसन’ मा पढाउन थालिन् । ‘मन्टेश्वरी स्कुल’ यसै कलेजको ‘लेवोरेटरी स्कुल’ मा गाभिएको थियो । 

सन् १९७१ मा विशेष अध्ययनका निम्ति उनी फेरि संयुक्त राज्य अमेरिका गइन् । एक वर्षपछि थप डिग्री लिएर फर्किइन् । 

अनि, शिक्षा अध्ययन संस्थानको डीन भइन् । सन् १९७५ सम्म त्यहीँ डीनको कार्यभार सम्हालिन् । 

उनी विश्वविद्यालय सेवाको नभएर ‘श्री ५ को सरकार’ को द्वितीय श्रेणीकी कर्मचारी थिइन् । त्यसैले पुनः आफ्नै ठाउँमा आइन् । 

मध्यमाञ्चल शिक्षा निर्देशनालयको डाइरेक्टर भइन् । त्यसपछि प्रथम श्रेणीमा पदोन्नति भयो । 

अनि, पाठ्यक्रम विकास केन्द्रको प्रमुख भइन् । सन् १९८० मा पर्यटन मन्त्रालयमा का.मु. सचिव भइन् ।

र, सन् १९८१ मा स्वास्थ्य मन्त्रालयमा सचिव हुन पुगिन् । यसरी चन्द्रकला किरणलाई प्रथम महिला सचिव हुने सौभाग्य प्राप्त भएको हो । 

उनलाई यहाँसम्म आइपुग्न धेरै समय लाग्यो । साथै सङ्घर्ष पनि अति गर्नुपर्‍यो ।

त्यसपछि, चन्द्रकला दश महिना जति जनसङ्ख्या आयोगको सचिव भइन् । अनि, श्रम तथा समाज कल्याण मन्त्रालयमा सरुवा भइन् । 

यहीँबाट ६० वर्षको उमेर पुगेपछि सन् १९८९ मा अवकाश पाएकी हुन् । दाम्पत्य जीवनका सम्बन्धमा सोध्दा ‘अहँ, हाम्रो बिचमा त्यस्तो केही झैझगडा भएन । 

हाम्रो बिचमा के समझदारी थियो भने म अफिसको कुरो घरमा लान्नथे र उहाँ पनि पुलिसको कुरो ल्याउनुहुन्नथ्यो ।  

मेरो विवाह हुँदा उहाँ इन्सपेक्टर हुनुहुन्थ्यो (पछि, एस.पी./प्रहरी उपरीक्षक हुनुभयो) । हाम्रो समझदारीले नै हामीलाई राम्रो वातावरण दिएको हो’– चन्द्रकलाले प्रसन्नता प्रकट गर्दै भनेकी थिइन् । 

अवकाशपछि पनि विभिन्न प्रोजेक्टबाट काम गर्न बोलाइयो । तर उनी गइनन् । 

यसबारे उनको भनाइ थियो– ‘४१ वर्ष जागिर खाइएछ, ‘दिस इज नट ए जोक’ ‘जागिर–जागिर’ भन्दाभन्दै न घर न आफ्नै लागि केही गर्न सकियो ! 

सांसारिकपट्टि धेरै लागेको र अध्यात्मपट्टि केही गर्न नसकेको अनुभव भयो । अनि, पूरै समय अध्यात्मतर्फ पढ्न, लेख्न आदिमै लगाएँ । 

र, यसैमा मेरो जीवन समर्पित छ । खासगरी सन् १९७३ देखि  सत्य साई बाबाप्रति मेरो श्रद्धा अटल विश्वासमा परिणत भइसकेको छ । 

उनका श्रीमान् जीतेन्द्रध्वज किरण पनि अध्यात्मतर्फ प्रवृत्त रहेका थिए । उनलाई ‘अल्जाइमर’ भएको थियो ।

सन् २००८ मा उनको निधन भयो । उनकी बुहारी मोना महतका अनुसार २०८१ वैशाख २० गते उनको निधन भएको छ ।

दुई छोरा छन्– राजेन्द्रध्वज किरण र रवीन्द्रध्वज किरण । राजेन्द्र पोखरामा होटल व्यवसायमा संलग्न रहेका छन् । ‘इलेक्ट्रिल इन्जिनियर’ रवीन्द्र संयुक्त राज्य अमेरिकामा छन् । 

चन्द्रकलाले साईबाबाका कैयन् कृतिको नेपाली अनुवाद समेत गरेकी छिन् । २०७६ पुस दोस्रो साता उनीसित भेट हुँदा हँसिलो मुद्रामा पङ्क्तिकारलाई स्वागत गरेकी थिइन् ।

चन्द्रकलालाई विगतको भेटका पन्ना पल्टाउँदा स्मृतिले नछोए पनि हृदयले प्रसन्नता प्रकट गरिरहेको थियो । प्रथम नेपाली महिला सचिव चन्द्रकला किरणले नेपालको प्रशासन, शिक्षा, समाज र आध्यात्मिक क्षेत्रमा पुर्‍याएको योगदान अविस्मरणीय रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया