कुशलको कीर्तिमानी ब्याटिङमा नेपालको विशाल स्कोर
सारांश
- नेपालले एसियन गेम्स पुरुष छनोट २०२६ अन्तर्गत मलेसियाविरुद्ध २ सय ७६ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ ।
- ओपनर कुशल भुर्तेलले १२६ रन र आसिफ शेखले ६८ रनको योगदान दिएका छन् ।
- कुशल भुर्तेल टी–२० अन्तर्राष्ट्रियमा नेपालका लागि सर्वाधिक रन बनाउने खेलाडी बनेका छन् ।
काठमाडौँ । । एसियन गेम्स पुरुष छनोट २०२६ अन्तर्गत दोस्रो खेलमा नेपालले मलेसियासामु २ सय ७६ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ । टस हारेर पहिले ब्याटिङमा उत्रेको नेपालले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा २ सय ७५ रन बनाएको हो ।
समूह ए मा रहेको नेपालले पहिलो खेलमा पनि चीनविरुद्ध विशाल लक्ष्य प्रस्तुत गर्दै कीर्तिमानी जीत हात पारेको थियो । नेपालले निर्धारित २० ओभरमा २ विकेटको क्षतिमा ३ सय १३ रन बनाएको थियो भने चीन ९२ रनमा अलआउट हुन पुग्यो । टोली २ सय २१ रनको विशाल अन्तरले विजय भएको थियो ।
बिहीबार सिंगापुरमा जारी खेलमा ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेखले नेपाललाई विस्फोटक सुरुवात दिलाए । पावरप्लेमा नै रेकर्ड ९५ रन बनाएका दुई जनाले शतकीय तीव्र गतिमा रन बनाउँदै शतकीय साझेदारी गरे ।
कुनै पनि टी–२० अन्तर्राष्ट्रिय खेलमा नेपालले पावरप्लेमा बनाएको यो सबैभन्दा उच्च स्कोर हो । यसअघि सन् २०२३ को एसियन गेम्समा नेपालले ८२ रन बनाएको थियो ।
नवौँ ओभरमा आउट हुन अघि शेखले मात्र २४ बलमा ६८ रन बनाए । उनले यसक्रममा ५ चौका र ७ छक्का प्रहार गरे ।
भुर्तेलले भने आफ्नो टी–२० अन्तर्राष्ट्रिय करियरको तेस्रो शतक बनाउन सफल भए । उनले मात्र ५४ बलमा १२६ रनको योगदान दिए । उनले १४ चौका र ८ छक्का प्रहार गरे ।
उनी नेपालका लागि टी–२० अन्तर्राष्ट्रियमा सबैभन्दा धेरै रन बनाउने खेलाडी पनि बनेका छन् । यसअघि यो रेकर्ड दीपेन्द्र सिंह ऐरीको नाममा थियो । दीपेन्द्रले ९८ खेलमा २ हजार १८० रन बनाउँदै यो रेकर्ड कायम गरेका थिए । भुर्तेलले मात्र ७८ खेलमा यो रेकर्ड उछिन्न सफल भए ।
शेख आउट भएपछि मैदान प्रवेश गरेका सन्दीप जोराले १४ बलमा १५ रन जोडेर पभेलियन फर्किए । उनले २ छक्का प्रहार गरे ।
कप्तान दीपेन्द्र सिंह ऐरीले विस्फोटक ब्याटिङ गर्दै मात्र ११ बलमा ३१ रन हिर्काए । उनले १ चौका र ४ छक्का प्रहार गरे । लोकेश बमले ६ बलमा २ चौका प्रहार गर्दै १० रन जोडे ।
कुशल मल्लले ९ रन तथा करन केसीले ७ रन बनाए । रोहित पौडेल पहिलो बलमा नै पभेलियन फर्किन बाध्य भए ।
मलेसियाका लागि वीरनदीप सिंहले ४ ओभर बलिङ गर्दै २२ रन खर्चर ३ विकेट लिए । विजय उन्नीले र सयेद अजिजले २-२ विकेट लिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘रैथाने उत्पादन संरक्षण गर्न भौगोलिक सङ्केतसम्बन्धी कानुन तर्जुमा गरिने’
-
औषधिको मूल्य समायोजन प्रक्रिया अघि बढाउँदै सरकार
-
ठमेलमा पर्यटकलाई दुःख दिने र प्रहरीमाथि अभद्र व्यवहार गर्ने २३ जना पक्राउ
-
नेपाल–दक्षिण कोरिया शिक्षा सहकार्य विस्तारबारे शिक्षामन्त्री र राजदूतबिच छलफल
-
यसरी सम्भव छ बाह्रैमास पर्यटन
-
जर्मन फरवार्ड करिम अदेयेमी बार्सिलोनामा अनुबन्ध, २२ मिलियन युरोको सम्झौता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण