पोखरा बसपार्कका सुकुमबासी सार्न प्रस्ताव गरिएका यी हुन् ६ ठाउँ
सारांश
- पोखरा महागनरलाई सुकुमबासी व्यवस्थापनका लागि ६ ठाउँको जग्गा सिफारिस गरिएको छ ।
- जग्गा खोजी समितिले १० दिनको अध्ययनपछि मेयरलाई प्रतिवेदन बुझाएको छ ।
- सिफारिस गरिएका जग्गाहरूमा रामघाट, भेडीफर्म, मजुवा, प्रगति टोल, सहारा पार्क, दोविल्ला र हेम्जा क्षेत्रका जग्गाहरू समावेश छन् ।
पोखरा । पोखरा बसपार्कका सुकुमबासी व्यवस्थापन गर्न पोखरा महागनरलाई ६ ठाउँको जग्गा सिफारिस गरिएको छ ।
१० दिनअघि गठित जग्गा खोजी समितिले विहीबार मेयर धनराज आचार्यलाई प्रतिवेदन बुझाएको हो । तयार भएको प्रतिवेदनअनुसार प्राथमिकताका आधारमा विभिन्न ६ वटा ठाउँ प्रस्ताव गरिएको हो ।
पहिलो प्रस्तावमा वडा नम्बर ११ को रामघाट क्षेत्रमा रहेको जग्गा छ । पुन समाजले चर्चेको करिब ४६ रोपनी पर्ति जग्गामा सुकुमबासी स्थानान्तरण गर्न सकिने प्रतिवेदनमा उल्लेख छ । सेती नदीको ३० मिटर मापदण्डले समेत नछुने भएकोले यही जग्गामा सुकुमबासी सार्न सकिने सिफारिस छ । पानी, बिजुली, सडकलगायत पूर्वाधारसमेत पुगिसकेको छ ।
वडा नम्बर १४ को भेडीफर्मको २ सय ४८ रोपनी जग्गा पनि बस्ती बसाल्न उपयुक्त देखिएको समितिको रिपोर्ट छ । बाच्छेबुडुवा र भेडीफर्म समेत गरेर केही सुकुमबासी परिवार यहाँ सार्न सकिने रिपोर्ट बुझाइएको हो । यहाँको जग्गा खाली छ । यहाँ पनि सडक, बिजुली र पानीको उपलब्धता छ । पर्याप्त जग्गा भएकोले बसपार्कसँगै फिर्के कोरिडोरका सुकुमबासीलाई पनि यहाँ स्थानान्तरण गर्न सकिने रिपोर्टमा उल्लेख छ ।
वडा नम्बर १५ को मजुवालाई पनि उपयुक्त विकल्पका रूपमा अघि सारिएको छ । यो ठाउँमा ९९ रोपनी जग्गा छ । त्यसमध्ये केही प्रदेश प्रहरीको स्वामित्वको जग्गा छ भने बाँकी भागको पुनर्रेखाङ्कन गर्नुपर्ने अवस्था छ । वडा नम्बर १७ को प्रगति टोल पनि सुकुमबासी स्थानान्तरणको लागि उपयुक्त हुने सिफारिस छ । यो ठाउँमा करिब २३ रोपनी जग्गा छ । त्यसमध्ये केही हिस्सामा बसोबास भइरहेको र केही खाली रहेको समितिले जनाएको छ । १७ कै सहारा पार्कको जग्गा पनि हेरिएको थियो ।
यो पार्कमा २० रोपनी पर्ती जग्गा देखिएको छ । तर, सेतीको मापदण्डमा पर्ने भएकोले जग्गा बस्ती राख्न उपयुक्त नहुने सिफारिस छ । वडा नम्बर २१ को दोविल्लामा झन् धेरै जग्गा खोजी गरिएको छ । यहाँ ४ सय ३० रोपनी प्रयोग गर्न मिल्ने खालको छ । केही भाग मापदण्डमा परे पनि धेरैजसो भाग व्यवस्थापनका लागि उपयुक्त रहेको समितिको निष्कर्ष छ । वडा नम्बर २५ हेम्जाको करिब ८ सय ९३ रोपनी जग्गा पनि स्थानान्तरणका लागि उपयुक्त हुने समितिको ठहर छ । बगर भएकोले यहाँ हाल खेती भइरहेको छ ।
महानगरपालिकाले वर्षौंदेखि विभिन्न सार्वजनिक पर्ती र सरकारी जग्गामा बसोबास गर्दै आएका सुकुमबासी, अव्यवस्थित बसोबासी र भूमिहीनहरूको व्यवस्थापनका लागि नयाँ विकल्पको खोजी गरेको हो । यसैका लागि १० दिनअघि वडा नम्बर १७ की अध्यक्ष राधिका शाही योगीको संयोजकत्वमा ७ सदस्यीय जग्गा खोज्न समिति गठन भएको थियो । तत्कालका लागि महानगरले बसपार्क र फिर्के कोरिडोर क्षेत्रका ६ सय परिवारलाई व्यवस्थापन गर्ने लक्ष्यका साथ आवश्यक जग्गा पहिचान गरी प्रतिवेदन तयार पारेको छ ।
समितिमा वडा नम्बर ९ का अध्यक्ष दीपेन्द्र मर्सानी, १५ का अध्यक्ष तोरण बानियाँ, १४ का अध्यक्ष बोधराज कार्की, २५ की कार्यवाहक अध्यक्ष धना पोख्रेल, नापी शाखा पोखराका प्रमुख सीता कार्की र प्रशासन महाशाखाका अधिकृत टिकाराम बजगाईं (सदस्य सचिव) थिए । समितिले प्रतिवेदन बुझाउँदै बस्ती स्थानान्तरण गर्दा प्राकृतिक विपद्को जोखिम, वन विनाश र पारिस्थितिक प्रणालीमा पर्ने प्रभावबारे अध्ययन गर्नुपर्ने सुझाव दिएको छ ।
पहिचान गरिएका अधिकांश जग्गाहरू खोलाको बहाव क्षेत्रभन्दा सुरक्षित उचाइमा र मापदण्डभन्दा बाहिर रहेको प्रतिवेदनमा उल्लेख छ । अब महानगरले सिफारिस भएका जग्गाहरूको प्राविधिक परीक्षण, कानूनी प्रक्रियाको टुंगो लगाउनुपर्ने अवस्था छ । किनकी सार्वजनिक जग्गाबाट उठाएर सुकुमबासीलाई पुनः सार्वजनिक जग्गामै सार्दा भविष्यमा पनि असर पर्न सक्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारत भ्रमणमा रहेका रवि लामिछाने र अमेरिकी राजदूत गोरबीच भेटवार्ता
-
सुरक्षाको माग गर्दै छिन्नमस्ता गाउँपालिकाका कर्मचारीले बुझाए प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र
-
कांग्रेसमा क्रियाशील सदस्यताको डिजिटल अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप
-
१०५ सदस्यीय प्रतिनिधिसभा बनाउन आयोगको सुझाव
-
सिमेक्स इंकको प्रष्टीकरण– नियमित तालिका अनुसार सवारी ल्याएका हौँ, अनुचित लाभ लिएका छैनौँ
-
करिब ७ घण्टा सोधपुछपछि सचिव कृष्णहरि पुष्कर छुटे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण