बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
स्थलगत

५५ रुपैयाँमा घरमै आउँछ पासपोर्ट, तर त्रिपुरेश्वरमा थामिनसक्नु भिड !

बिहीबार, २१ जेठ २०८३, २० : ००
बिहीबार, २१ जेठ २०८३

काठमाडौँ । पछिल्ला दिनमा पासपोर्ट (विद्युतीय राहदानी) पाउन कत्तिको सहज छ ? यसबारे रिपोर्टिङ गर्न रातोपाटी टिम त्रिपुरेश्वरस्थित राहदानी विभाग पुग्यो ।  

बालेन्द्र शाह नेतृत्वको सरकार बनेसँगै घर-घरमा राहदानी वितरण सेवा केही जिल्लामा विस्तार भइसकेको छ । घरमै राहदानी प्राप्त गर्न चाहने सेवाग्राहीले हुलाक शुल्क स्वरूप ५५ रुपैयाँ बराबरको टिकट खर्च व्यहोर्नुपर्ने व्यवस्था गरिएको छ । 

हुलाक सेवा विभागले सेवाग्राहीको घरदैलोमै राहदानी उपलब्ध गराउँदै आए पनि सेवाग्राही भने त्रिपुरेश्वरस्थित राहदानी विभागसम्मै धाउने गरेका छन् । धनुषाबाट पासपोर्ट बनाउन काठमाडौं आएका सर्वजीतकुमार ठाकुरले विभागमा काम सुस्त गतिमा भएको प्रतिक्रिया दिए । सेवा लिन गाह्रो र झन्झट भएको उनले बताए । 

‘जनहितको कार्य भएको छैन,’ इजरायल जाने तयारीमा रहेका उनी भन्छन्, ‘धेरै बाधाहरू छन् ।’

धनगढीदेखि पहिलो पटक पासपोर्ट बनाउन काठमाडौं आएकी देउमा कठायत बोहराले विभागमा निकै भिड देखिएको सुनाइन् । भिडभाड बढे पनि काम सजिलो र एकदम छिटो–छरितो भइरहेको उनलाई लागेको छ । 

नुवाकोटकी शोभा तामाङ पासपोर्टका लागि फर्म बुझाउन बिहान साढे ९ बजेदेखि लाइनमा बसेकी थिइन् । बेलुकासम्म पासपोर्ट आउँछ भनेपनि उनले साँझसम्म नपाएको गुनासो गरिन् । अहिलेसम्म म्यासेज पनि आएको छैन । 

महोत्तरीका सञ्जय यादवले बिहानै ६ बजेदेखि ४ बजेसम्म भोक–भोकै लाइनमा बसेको दुखेसो पोखे । यति भिड थियो कि दिउँसो ४ बजेसम्म भ्याइएन । पासपोर्टको पर्खाइमा बसेको छु । ‘पहिला भन्दा धेरै गाह्रो लाग्यो । आउन पनि धेरै गाह्रो छ जिल्लाबाट,’ इटहरीका सन्तोष विकले पासपोर्ट बनाउन आफूलाई त्यति गाह्रो नभएको अनुभव सुनाए । ‘भिडभाड धेरै छ, तर काम एकदम छिटो–छरितो भयो,’ उनी भन्छन्, ‘कर्मचारीहरूको व्यवहार पनि राम्रो छ ।’
 
राहदानी विभागका अनुसार सामान्यतया २ देखि १५ दिनभित्र पासपोर्ट पाउन सकिन्छ भने द्रुत सेवाबाट एकै दिनमा पनि बनाउन सकिन्छ । राहदानी वितरणमा हुलाक सेवाको प्रयोगपछि केही जिल्लाका सेवाग्राहीलाई सहज भएको छ । यसले गर्दा समय र खर्च बचत भएको विभागले जनाएको छ । 

इजरायलमा नेपाली कामदारका लागि आवेदन खुला गरिएपछि त्रिपुरेश्वर राहदानी विभागमा भिडभाड बढेको छ । नेपाल सरकार र इजरायल सरकारबिच भएको श्रम सम्झौताअनुसार इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा (केयर गिभर) सहायक कामदारका लागि आवेदन खुला गरिएपछि भिड बढेको हो । जसमा पहिलो चरणमा एक हजार जनालाई यथाशीघ्र रोजगार प्रक्रियामा समावेश गरिने वैदेशिक रोजगार विभागले जनाएको छ । बाँकी १ हजार ३०० पहिलो चरणको प्रक्रिया पूरा भएपछि पीआईबीएको आवश्यकताअनुसार रोजगार प्रक्रियामा समावेश गरिनेछ ।

थप भिडियोमा

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

नरेन्द्र रौले
नरेन्द्र रौले
लेखकबाट थप