नेपालको विकासमा पुरुषसरह महिलाको पनि ठूलो योगदान छ । नेपाली महिलाले परापूर्वकालदेखि विविध क्षेत्रमा विशिष्ट योगदान गर्दै आएका छन् । राजनीतिक, दार्शनिक, सांस्कृतिक, सामाजिक लगायत ज्ञान, विज्ञान, प्रविधि, कूटनीति, निजामती, प्रहरी, सेना, खेलकुद, यातायात आदि फाँटमा नेपाली महिलाले पुर्याउँदै आएको देन अविस्मरणीय छ ।
‘प्रथम नेपाली महिला’ कार्यक्रम तिनै नेपाली महिलाहरूप्रति समर्पित छ, जसले चुनौतीका अनेक पहाड छिचोल्दै अभूतपूर्व उपलब्धि हासिल गरेका छन् । यस कार्यक्रममा प्रथम नेपाली महिलाका अपूर्व उत्साह, सक्रियता, सीप, कला, प्रगति, सफलता तथा प्रसन्नताका पाटाहरू खोतल्ने प्रयास गरेका छौँ । साथसाथै तत्कालीन बाधा, अड्चन, उत्पीडन, अन्योल, बेथिति र सङ्घर्ष एवं आन्दोलनका पाटा पनि यहाँहरू माझ पस्कँदै आएका छौँ ।
‘प्रथम नेपाली महिला’ शृङ्खलाको २५ औँ एपिसोड कोइलीदेवी माथेमाका सम्बन्धमा छ । कोइलीदेवी नेपाली गीत, सङ्गीतको क्षेत्रमा बहुचर्चित नाम हो । प्रथम नेपाली महिला सङ्गीतकार हुने श्रेय उनले प्राप्त गरेकी छिन् ।
परिचय
संसारको झमेला
लाग्दो छ क्या यो मेला
यो दुनियाँ सदा रसिला
गर्दै छ खूब लीला
कोइलीदेवीद्वारा आफ्नै रचना, स्वर र सङ्गीतमा गाइएको पहिलो गीत हो यो । पतिप्रति उनको ज्यादै प्रेमभाव थियो ।
पतिको निधनपछि उनी शोकाग्निमा विह्वल हुन पुगेकी थिइन् । अढाई दशक अघि, २०५६ सालमा उनी छेउ पुग्दा केही महिना मात्रै भएको रहेछ, पतिको निधन भएको ।
उनी २०५६ जेठ ०८ गते उनी पति शोकमा परेकी हुन् । ‘मेरो कर्मको देउता’ भनी बातैपिच्छे आँखा चिम्लिई पतिलाई स्मरण गरिरहन्थिन् उनी ।
आफ्नो विगत र आगतबारे बताउन कोइलीदेवीलाई खासै चासो थिएन । धेरै बेरको अनुनय, विनयपछि मात्र उनी मन खोल्न तयार भएकी हुन् ।
काठमाडौँको लगनटोलमा बहालमा बसेकी कोइली देवीका कोठामा बाजागाजा अलपत्र थिए । तानपुरा झुन्ड्याएर राखिएको थियो । तबला भित्री कोठामा थन्किएका थिए ।
हारमोनियम लगायतका बाजाहरू त्यसै असरल्ल थिए । कोठाका भित्ताभरि प्रशंसा पत्र तथा तस्बिरहरू थिए ।
र, तिनैका माझ नेपालकी कलासाधिकाले जीवनका पलहरू बिताउँदै गरेको बेला थियो त्यो । ‘अब त मैले सङ्गीतबाटै संन्यास लिइसकेँ,’ उनको भनाइ थियो ।
कोइलीदेवीको छातीभित्र अगाध विरह वेदना त थियो नै, साथसाथै त्यहाँ छटपटी, विरक्ति र नानाथरीका व्यथा पनि बग्रेल्ती थिए । उनी भावनामा बग्दै भन्न थालिन्– ‘कसैसित कुनै गुनासो छैन ।
किनभने आफ्नो पिरलो आफू सीतै छ । ‘मलाई कसैले हेरेन भनूँ भने भित्ताभरि प्रशंसा र प्रमाणपत्रहरू छन् ।
हेर्या’ छन् भनूँ भने आफ्नो दुःख आफैसित छ । आफ्नै पिरलोमा पिल्सिरहेकी छु । अरू के भनूँ !
यही डेरामा बसेको पनि १९ वर्ष हुन थालिसक्यो । यसै घरलाई माइती सम्झेर बसिरहेकी छु । फेरि, कसैलाई आफ्नो पिरलो सुनाएर पनि के गर्नु !
कत्तिले गुनासा सुन्न आए, अन्तर्वार्ता लिए । तर अवस्था सधैँ जहाँको त्यहीँ छ ।
प्रसङ्ग फेरियो ।
लामो निःश्वाससाथ कोइलीदेवीले आफूलाई अचेलका ‘झ्याल्टुङ प्याल्टुङ’ सङ्गीत मन नपर्ने कुरो बताइन् । उनलाई शास्त्रीय सङ्गीत मन पर्छ कि लोकगीत मनपर्छ ।
‘आधुनिक गीत पनि लोकसङ्गीतमा आधारित छ भने राम्रो हुन्छ कि शास्त्रीय सङ्गीतमै आधारित हुनुपर्छ’– उनको भनाइ थियो ।
छ/सात वर्षको उमेरदेखि नै सङ्गीतपट्टि लागेकी हुन्– कोइलीदेवी । राणादरबारमा बिताएकी हुन्, उनले बाल्यावस्थाका क्षणहरू ।
कोइलीदेवीलाई नेपालकी ‘कोइली’ बनाउन मद्दत पुर्याउने चाहिँ उनकी फुपू डिठ्ठिनी मानप्रिया हुन् । मानप्रिया सितारवादक थिइन् ।
उनी जुद्ध शमशेर जङ्गबहादुर राणाकी कान्छी महारानीलाई सितार सिकाउँथिन् । वि.सं. १९८७ भाद्र शुक्ल ऋषिपञ्चमी उनको जन्मतिथि हो ।
उनी चिसापानीगढी, मकवानपुरमा जन्मिएकी हुन् । उनकी माता निलम प्रधान क्षेत्री र पिता रामबहादुर क्षेत्री हुन् ।
कोइलीदेवीका बुवा मकवानपुरको चिसापानीगढीमा सुबेदार थिए । जागिरको सिलसिलामा गोरखाबाट मकवानपुर आएका हुन् ।
त्यतिखेर चिसापानी गढीमा बडाहाकिम, सेना, प्रहरी, कारागार आदिका कार्यालय थिए । २०१८ सालसम्म यो परिपाटी कायमै थियो ।
बुवा काठमाडौँमा सरुवा भएर आएपछि कोइलीदेवी पनि सँगै आइन् । अनि, उनी मखनटोलको पाठशालामा पढ्न थालिन् । तर उनलाई अरू विषयभन्दा सङ्गीतपट्टि नै चाख थियो । सङ्गीत पढ्न उनलाई उनकी फुपूले हौस्याएकी हुन् । उनका बुवा पनि विभिन्न देवालयमा गएर भजन गाउँथे । यही पारिवारिक वातावरणले उनको बालमनलाई यतातिर धकेलेको हुनुपर्छ ।
रेडियो नेपालका शास्त्रीय सङ्गीततर्फ तत्कालीन प्रबन्धक उस्ताद रामबहादुर तण्डुकारसँग उनले सङ्गीत शिक्षा थालेकी हुन् । उनकी फुपूले नै उनलाई त्यहाँ लगेकी थिइन् । उनकी फुपूले चाहिँ वीरबहादुर उस्तादसित सङ्गीत सिकेकी हुन् ।
सङ्गीतको आराधनामा कोइलीदेवीका दिन बित्न थाले । ११ वर्षकी हुँदा उनकी फुपूले उनलाई जुद्ध शमशेरकहाँ राख्न खोजेकी थिइन् ।
तर उनी सानी भएकीले त्यहाँ राखिएन । कान्छी महारानीले सिंहशमशेरकहाँ राख्न लगाइन् । ‘हजुरिया जर्नेल’ सिंहशमशेर सातसालमा प्रजातन्त्र बहालीपछि वनमन्त्री भएका थिए ।
सिंहशमशेरकहाँ उनी नाचगानको तालिम लिन थालिन् । हारमोनियम बजाएर गीत गाउँदा ‘श्री ३ महाराजा जुद्ध शमशेरले प्रशंसा गरेको’ उनी सम्झन्छिन् ।
सिंहमहल (हालको थापाथलीस्थित नेपाल राष्ट्र बैंक, थापाथली) मा पस्दा उनी ११ वर्षकी मात्रै थिइन् । २१ वर्ष पुगेपछि वि.सं. २००६ साल असोज ६ गते उनी त्यहाँबाट निस्किइन् ।
उनलाई त्यहाँ नाचगान आदिको तालिम ‘निर्मली दिदी’ ले दिएको बताएकी छिन् । गीत रचना गर्न पनि ‘निर्मली दिदी’ ले नै सिकाएकी हुन् ।
वि.सं. २००७ साल चैत २० गते सिंहदरबारमा ‘प्रजातन्त्र नेपाल रेडियो’ को स्थापना भयो । त्यसका डेपुटी डाइरेक्टर रश्मिराज्यलक्ष्मी देवी राणा थिइन् ।
रश्मिराज्यलक्ष्मीले चिठी लेखी उनलाई त्यही साल चैत २६ गते बोलाइएको थियो । कोइलीदेवीले आफ्नै स्वर, सङ्गीत र रचनामा ‘संसारको झमेला’ गीत गाएर सुनाइन् ।
त्यतिबेला डाइरेक्टर तारिणीप्रसाद कोइराला प्रभावित भए । अनि, त्यसै दिनदेखि उनलाई काममा लगाइयो ।
रेडियोमा काम गरेको १२ वर्षसम्म उनी ‘स्वयंपाकी’ थिइन् । २०१८ सालमा उनले सर्वोत्तम सङ्गीतकार स्वर्णपदक पाइन् ।
निरञ्जनभक्त माथेमाका सुपुत्र साकारभक्त माथेमासँग २०२१ साल अक्षय तृतीयाका दिन उनको विवाह भयो । भनिन्छ, साकारभक्तकी तेस्री पत्नी भएकीले उनलाई घरबाहिरै राखिएको थियो ।
२०२२ सालमा सांस्कृतिक प्रमण्डलमा सहभागी भई उनी चीन गइन् । त्यहाँ उनले आफ्नो प्रतिभा प्रदर्शन गरिन् ।
त्यतिखेर ‘नाइटिङ्गेल अफ नेपाल’ भनी उनको परिचय गराइएको थियो । चीनबाट आएपछि उनले भारतमा गई ‘डिस्क रेकर्ड’ मा गीत भर्ने अवसर पाइन् ।
पहिले यहाँ गीत रेकर्ड गरिंदैनथ्यो । २०२५ सालदेखि मात्रै टेप गर्ने चलन चलेको हो ।
२०४५ साल, असोज नौ गतेदेखि उनी ‘रेडियो नेपाल’ मा शास्त्रीय सङ्गीत प्रबन्धक भइन् । २०५१ सालसम्म उनले त्यहाँ काम गरिन् ।
त्यही साल माघ एकगते उनले अवकाश पाएकी हुन् । त्यसपछि घरमै पतिको सेवा गरेर बसेको उनको भनाइ छ ।
२०२२ सालमा एउटा बच्चा भएको थियो । पाँच महिनामै बित्यो ।
अनि उनले सङ्गीतमै आफ्नो जीवन अर्पने उद्देश्यले परिवार नियोजन गरेकी थिइन् । यसका लागि उनले आफ्ना श्रीमान्बाट अनुमति पाएकी थिइन् ।
हर कदममा श्रीमान्ले उनलाई सघाउने गरेका थिए । आँट दिने गरेका थिए ।
श्रीमान्कै प्रेरणा र प्रोत्साहनमा उनले भारतको इलाहावाद महाविद्यालयबाट सन् १९७५ मा सङ्गीत प्रभाकर (बी.ए.) र सन् १९७७ मा सङ्गीतप्रवीण (एम.ए.) उत्तीर्ण गरेकी हुन् ।
अन्तर्जातीय विवाह भए पनि केही फरक परेन । किनभने कोइलीदेवीका आमा, बावु कोही थिएनन्, श्रीमान्का पनि कोही थिएनन् ।
कोइलीदेवीलाई उनकी बज्यैले स्याहारेकी हुन् । उनका श्रीमान् पेसाले रङ्गका व्यापारी । तर शास्त्रीय सङ्गीततर्फ ज्यादै रुचि राख्ने मान्छे ।
यसैले गर्दा पनि दुवैको सजिलै मन मिलेको हुनुपर्छ । विभिन्न पत्रपत्रिकामा कोइलीदेवीका गीत, कविता प्रकाशन भएका छन् ।
उनका दुई वटा गीतसङ्ग्रह पनि छापिएका छन् । २०१९ सालमा प्रकाशित ‘सेवा’ मा १२५ वटा गीतरचना छन् ।
२०२५ सालमा प्रकाशित ‘समर्पण’ मा चाहिँ ७१ वटा रचना रहेका छन् । सेवा र समर्पणबाहेक ‘कोइलीदेवी भजन सङ्ग्रह/चित्त निरन्तर र हजुरलाई’ कृति पनि रहेको छ ।
मुटुको रोगबाट पीडित कोइलीदेवीको ७८ वर्षको उमेरमा वि.सं. २०६४ पुस ०६ गते घट्टेकुलो, काठमाडौंमा निधन भयो । कोइलीदेवी ‘राधा’ तथा ‘पान्तरी’ नामले समेत चिनिएकी थिइन् ।
‘राधा’ उनको न्वारनको नाम हो । काली तथा पातली भएकीले सानी छँदा उनलाई ‘पान्तरी’ भनेर बोलाइन्थ्यो । आमाले बोलाउने नाम त झन् अर्कै थियो– ‘बुद्धलक्ष्मी’ ।
कोइलीदेवीको सङ्गीतमा गाउने पुराना, नयाँ गायकहरू अनेक छन् । विभिन्न गीत, सङ्गीतद्वारा श्रोताका मनमा बस्न सफल थिइन् उनी । उनी अनेक पदक र पुरस्कारबाट सम्मानित थिइन् । कोइलीदेवी भजन गाउनेतर्फ पनि पहिलो नेपाली गायिका हुन् । नेपाली गीत, सङ्गीतको इतिहासमा उनको योगदान अविस्मरणीय छ ।
प्रतिक्रिया