शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

राप्रपा (अ)प्रजातान्त्रिक !  कमल थापालाई हाइसन्चो

मङ्गलबार, २७ भदौ २०७४, १४ : ०३
मङ्गलबार, २७ भदौ २०७४

काठमाडौं– राप्रपा विभाजन गर्दा पशुपति शम्शेर राणाले कमल थापा तानाशाही र एकांकी ढंगले चलेकाले पार्टी विभाजन गर्न बाध्य भएको बताएका थिए । तर, त्यसवेला राणाले थापालाई लगाएको आरोप अहिले राणामाथि नै फर्किएको छ ।
 राप्रपाबाट अलग भएर राप्रपा प्रजातान्त्रिक गठन गरेका अध्यक्ष पशुपति सम्शेर राणले पार्टी सञ्चालनका क्रममा चरम तानाशाही लादेको भन्दै उनकै पार्टीका नेताहरुले विद्रोहको तयारी गरेका छन् ।
राणा (अ)प्रजातान्त्रिक
सोमबार सरकारमा सहभागि भएको सो पार्टीमा प्रजातन्त्रको सामान्य सिद्धान्त अनुसार समानुपातिक, समावेशी र सहकार्यको कतैपनि कार्यन्वयन नभएकोमा धेरै नेता कार्यकर्ताले असन्तुष्टि पोखेका छन् ।
 ‘ पार्टीमा प्रजातान्त्रिक चरित्र नहुँदा धेरै नेता तथा कार्यकर्ता निरास बनेका छन् कतिपयले ४÷५ वटा पद ओगटेका छन् भने कोही रित्तो हात बस्न बाध्य छन् यस्तो अवस्थामा कसरी संगठन मजबुत बन्ला ?’ केन्द्रीय सदस्य राजेन्द्र गुरुङले भने, ‘केही न केही पाइन्छ भनेर नै राजनीति र पार्टीमा लाग्ने हो केहि पाइदैन भने किन राजनीति गर्नु ? ’ गुरुङले भनेझै अर्का पार्टी फुटाउन मुख्य भुमिका खेलेका रामकुमार सुव्वाले पनि यस्तै आक्रोश पोखे । उनले आफुमाथि अन्याय भएको भन्दै केही दिनभित्र अध्यक्षले नेता कार्यकर्ताका अपेक्षा पुरा गर्नेतर्फ कदम नचाले पार्टीमा ठुलो दुर्घटना हुनसक्ने चेतावनी दिए । भने ‘ त्यसपछि जे पनि हुन सक्छ ।’ सुव्वा मन्त्री वा प्रदेश संयोजक बन्न आकांक्षी थिए । तर दुवै पद नदिएपछि राणाको कार्यशैलीको चर्को विरोध गरेका छन् । 
हुन पनि राणाको पार्टीमा सिमित नेताले चारचार वटा पद ओगटेका छन् । केही नेता भने त्यतिकै बसेका छन् । ‘रामकुमार सुव्वा, जगत गौचन, राजेन्द्र गुरुङ, हरिवहादुर बस्नेत, किशोर कार्की, रमेश लामा लगायतका नेताहरुले पार्टीमा कुनैपनि जिम्मेवारी पाएका छैनन । तर, दिपक बोहरा, विक्रम पाण्डे र सुनिल थापाले भने काम गर्नै नभ्याउनेगरी पद ओगटेका छन् । महिलाहरु कसैलाई पनि जिम्मेवारी दिइएको छैन यो त राणाकाल भन्दा पनि चर्को भयो’ नेता राजाराम श्रेष्ठले भने, ‘यसरी त कसरी पार्टी चल्ला र ?’ 
सोमबार मात्रै मन्त्री बनेका दिपक बोहरा राप्रपा प्रजातान्त्रिकको ५ नम्बर प्रदेश संयोजक, संसदीय दलको नेता, पार्टी उपाध्यक्ष, विज्ञान प्रविधि मन्त्रीको पद सम्हालेका छन् । त्यस्तै विक्रम पाण्डे ३ प्रदेशको पार्टी संयोजक, बन मन्त्री, पार्टी उपाध्यक्ष र संसदीय दलको उपनेता छन् । अर्का नेता सुनिल थापा पनि १ नम्बर प्रदेशको संयोजक, महामन्त्री र उद्योगमन्त्री भएका छन् । त्यस्तै सहमहामन्त्री रहेका रेशम लामालाई पनि उद्योग राज्यमन्त्री बनाइएको छ । 
कानुनी परामर्शमा असन्तुष्ट
अध्यक्ष राणाले केहीका माग असोज २ पछि सम्बोधन गर्ने आश्वासन दिएका छन् । जसअनुसार केही महिलालाई राज्यमन्त्री बनाउने राणाको योजना छ । तर, त्यो योजना पुरा हुने सम्भावना अत्यन्त कम भएको सोही पार्टीका नेताहरुको बुझाई छ । ‘यसै त देउवा नेतृत्वको सरकारको आकार ठुलो भएको भनेर सर्वत्र आलोचना भइरहेको छ फेरी मन्त्री थप्ने कुरा असम्भव जस्तै छ ’ एक केन्द्रीय सदस्यले नाम उल्लेख नगर्न भन्दै भने ‘त्यो त भुल्याउने उपायमात्र हो ।’ यदि अध्यक्ष राणाले माग पुरा नगरे के गर्ने भन्नेमा असन्तुष्ट पक्ष कानुनी राय लिन जुटेको छ । त्यसका लागि कानुनका जानकारहरुसँग छलफल भइरहेको ति नेताले बताए । उनका अनुसार एक बर्षसम्म पार्टी फुटाउन नमिल्ने व्यवस्थाका कारण अरु नै उपायको खोजी भइरहेको छ । 
कमल थापालाई हाइसञ्चो
पार्टी फुटाएर राप्रपा प्रजातान्त्रिक बनेपछि बेचैन भएका राप्रपाका कमल थापा भने अहिले सो पार्टीमा बढेको असन्तुष्टिप्रति सन्तुष्ट भएका छन् । राणाको पार्टी नै अवैधानिक भनेर भन्दै आएका थापा सो पार्टीका नेताहरुलाई ठेगान लगाउन सर्वोच्च,अख्तियार र निर्वाचन आयोगमा धाइरहेका छन् । उनले मंगलबारै आफ्ना भातृ संगठनलाई दिपक बोहोरालगायतलाई कारवाही गर्न दवाव दिन अख्तियार दुरुपयोग अनुसन्धान पठाएका छन् भने यसअघि सर्वोच्च र निर्वाचन आयोग पनि पुगिसकेका छन् । कतिपयले राणाको पार्टीमा असन्तुष्टि चुलिएपछि थापाले खेल्ने मौका पाएको समेत चर्चा गर्न थालेका छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप